विकासन्युज

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

कर्णाली । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् । कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात/सात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको विसं २०८० कात्तिक १८ गतेको भूकम्पमा परी निधन भएपछि रिक्त रहेको पदमा नेपाली काँग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गरेका छन् । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाज दैलेखका अनुसार नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जङ्गबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् । त्यसैगरी, दुल्लु नगरपालिका-१३ दैलेखको वडाध्यक्ष पदका नेपाली काँग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी छ जनाले उम्मेदवारी दिएका छन् । दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित काँग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा विसं २०७९ माघ २७ गते निधन भएको थियो । एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा विसं २०८० माघ २२ गते निधन भएको थियो । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा बस दुर्घटना हुँदा विसं.२०८१ भदौ ४ गते मृत्यु भएको थियो । उनी माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका भएका थिए । नेपाली काँग्रेसका सविता बुढा, एमालेका जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट सङ्गीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबा बाँचा बुढाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सो पदका रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पाको रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ काँग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, माओवादी केन्द्रबाट नरबहादुर झाँक्री र एकीकृत समाजवादीबाट ज्योति घर्तीको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको विसं २०८० माघमा मृत्यु भएको थियो । तिलागुफा नगरपालिका–४ कालीकोटको वडाध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, माओवादी केन्द्रबाट नौशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए। माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही विसं २०७९ असोज २३ गते राँचुलीमा आएको खोलाको बाढी परी बेपत्ता भएका थिए । त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ जाजरकोट मा हुने वडाध्यक्षको निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । काँग्रेसबाट खम्बबहादुर सिंह, एमालेबाट डम्मरबहादुर घर्ती, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ । यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको विसं २०७९ असार ४ गते निधन भएको थियो । रुकुमपश्चिम भागमा पर्ने सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको विसं २०८० माघ २० गते जण्डिसका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा काँग्रेसबाट मोतिराम खत्री, माओवादी केन्द्रबाट जसीराम बस्नेत र एकीकृत समाजवादीबाट हंसराज पुरीले उम्मेदवारी दिएका छन्  । वीरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रासस

एकैपटक ४ वटा कम्पनीबाट बाहिरिँदै एनआईसी एशिया बैंक, १०१ रुपैयाँमै सेयर बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्री गरेर बाहिरिने भएको हो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २९७ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १७८ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ । सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ । यसैबीच, सभामुख देवराज घिमिरेले पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइ सकेको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्ने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनले ठूलो योगदान छ । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित थिए ।

मर्जरका लागि जोडि खोज्दै फरवार्ड माइक्रोफाइनान्स, १४ प्रतिशत लाभांश दिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ मर्जरमा जाने भएको छ । कुनै संस्थासँग एक आपसमा मर्ज तथा प्राप्तिका सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान दिने गरी लघुवित्तले एजेण्डा अघि सारेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मर्जर र लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते सुनसरीमा बिहान ११ बजे १२औँ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले लघुवित्तको पुँजी वृद्धिसँगै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसँगै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

लक्ष्मी सनराइज बैंकको साढे ४० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक सेयरधनीहको आफ्नो नाममा रहेको सेयरमध्ये ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीहले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ आवेदनुपर्नेछ । उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

यूरो र पाउण्डको भाउ निरन्तर घट्दै, उच्च मूल्यमा अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७३ रुपैयाँ र बिक्रीदर १५२.४० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८७.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६२ रुपैयाँ र बिक्रीदर ९६.०५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३५ रुपैयाँ र बिक्रीदर १००.७९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०१ रुपैयाँ र बिक्रीदर ४३९.९६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४७ रुपैयाँ र बिक्रीदर ३५९.०६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड राजस्व

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो । विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७२० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५ रुपैयाँ, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२ रुपैयाँ, कलङ्की मालपोत कार्यालयले १७ करोड ८ लाख ४४ हजार ७५१ रुपैयाँ, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९४२ रुपैयाँ, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६३२ रुपैयाँ, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६६५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ रुपैयाँ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१ रुपैयाँ, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपैयाँ सङ्कलन गरेको छ । विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

चीनले अनुमति नदिँदा कर्णालीमा नुन ढुवानी गर्न कठिन

काठमाडौं । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्‍याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए । चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । कर्णालीका जिल्लाहरुमा प्रति पोका रु नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ । ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको उनले बताए । डोल्पाको सदरमुकाम दुनैमा २ हजार ५ क्वीन्टल कोटामध्ये हालसम्म १ हजार १ सय क्वीन्टल नुन ढुवानी भइसकेको छ । जुफाल डिपोमा ५ सयमध्ये ३ सय क्वीन्टल, काइगाउँमा ३ सय कोटामध्ये हालसम्म नुन पुर्‍याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ । त्रिपरासुन्दरीको लिकुमा ३ सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिए । मुडकेचुलाको सर्मीमा ३ सय क्वीन्टलमा सबै नुन पुगेको उनको भनाइ छ । तिन्जेमा १ हजार ८ क्वीन्टल कोटा निर्धारण गरेकामा हालसम्म पुर्‍याउन सकेको छैन । हुम्ला सदरमुकाम सिमीबोटमा १ हजार ६ सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म १ हजार १५० क्वीन्टल ढुवानी भइसकेको छ । याल्वाङ डिपोमा ५ सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा ९ सय क्वीन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी दिए । श्रीकोट डिपोमा ९ सय क्वीन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ । श्रीकोट र सार्केगाड साल्ट ट्रेडिङ् कर्पोरेशनका बिक्री केन्द्र हुन् । मुगु सदरमुकामका डिपोमा २ हजार ५ सय क्वीन्टलको कोटा रहेकामा हालसम्म १ हजार १ सय क्वीन्टल ढुवानी भइसकेको छ । बाँकी ढुवानीको क्रममा छ । सोरुकोटमा ९ सय क्वीन्टलमध्ये ५ सय क्वीन्टल ढुवानी भएको छ । श्रीकोटमा ९ सय क्वीन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा १ हजार क्वीन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्ट ट्रेडिङले जनाएको छ । जुम्लाका सबै स्थानीय तहमा नुन पुर्‍याउन स्थानीय तहहरुसँग सहकार्य भइ सोही अनुसार ढुवानी भइरहेको चौधरीले जानकारी दिए । उनका अनुसार सदरमुकाममा ४ हजार क्वीन्टलमध्ये २ हजार १५० क्वीन्टल ढुवानी भएको छ । नराकोटमा १ हजारमा हालसम्म ४५० क्वीन्टल पठाएको छ । गोरुचौरमा १ हजारमध्ये ५ सय क्वीन्टल नुन पुर्‍याएको छ । जाजरकोटका सात पालिकामध्ये सदरमुकामसहित चार ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा २ हजार ५ सयमा १ हजार २ सय मात्र ढुवानी भएको छ । नलगाडको दल्लीमा १ हजार ५ सय क्वीन्टल ढुवानी भएको छ । पश्चिम जाजरकोटको थलहमा १ हजार २ सय क्वीन्टलमध्ये ४५० क्वीन्टल ढुवानी भएको छ । तागामा ३ सय क्वीन्टल कोटामध्ये सबै पुगेको छ । रुकुम पश्चिमको ४ हजार ५ सय क्वीन्टल कोटा मध्य हालसम्म ८५० क्वीन्टल ढुवानी भएको छ । चौरजहारीमा ८ सय क्वीन्टल मध्य ३४० क्वीन्टल मात्र ढुवानी भएको छ । कालिकोटमा ३ हजार ५ सय क्वीन्टलमध्ये ७५० क्वीन्टल ढुवानी भएको छ । रासकोट डिपोमा १ हजार २ सय क्वीन्टलमध्ये २४० क्वीन्टल ढुवानी भएको छ । बाँकी ढुवानीको प्रक्रियामा छ । ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकुलमा ढुवानी गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिड देखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ । उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ । स्थानीय तहहरुले समन्वय गरेर नुन लिएमा सबेलाई सहज हुने लिमिटेडको भनाइ छ । हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसङ्ख्यलाई अपुग भएको स्थानीय तहका प्रमुखहरुले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै छैन । कर्णालीको सबै स्थानीय तहमा साल्ट ट्रेडिङसँग सहकार्य गरेर नुन लिन पु(याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ । आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनी कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।