विकासन्युज

नबिल बैंकले विदेशी साझेदार भित्र्याउने, सेयरधनीलाई २.७० अर्ब रुपैयाँ बाँड्ने

काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नदेखि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ अर्ब ७० करोड ५६ लाख ९९ हजार रुपैयाँ नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन, संस्थापक सेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको प्रतिनिधित्व गर्ने सञ्चालक सइद मन्सुर मुस्तफाको नियुक्तलाई अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित

काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवाली यही असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले ज्ञवालीलाई आगामी तीन वर्षको लागि निर्वाचित गरेको हो । त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रूपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन् त्यस्तै, कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोषाध्यक्षमा मञ्जु गौतम विजयी भएकी छन् । त्यस्तै, सदस्यहरूमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् । त्यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोष खतिवडा, पूर्णबहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्विरोध), आदिवासी जनजातिमा गोपालकृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओली निर्वाचित भएका छन्। तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । युनियनमा करिब पाँच सय कर्मचारी आबद्ध छन् ।

नाडेप लघुवित्तको कामु सीईओमा आचार्य

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद आचार्य नियुक्त भएका छन् । कात्तिक ३० गते बसेको संस्था सञ्चालक समितिको बैठकले आचार्यलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभए सम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । उनी हाल संस्थामा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् ।

६ होटलको व्यापार चिरफार : पर्यटक बढे पनि किन घट्यो आम्दानी ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा होटल कम्पनीहरूको नाफा घटेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको खुद नाफा १३ प्रतिशत घटेर १२ करोड ७७ लाख रुपैयाँ मात्रै आर्जन गरेका हुन् । जबकि गत वर्षको असोजमा ६ वटा होटलको नाफा १४ करोड ६८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा पर्यटकीय व्यावसायिक गतिविधि तथा क्रियाकलापहरूमा वृद्धि भएको दाबी गरिए पनि नाफामा भने संकुचन आएको देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार तीन महिनामा हवाईमार्गबाट मात्रै ३ लाख ५८ हजार १७ विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटकहरूमध्ये भारतीय पर्यटक पहिलो स्थानमा रहेका छन् भने चिनियाँ पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चन्द्रागिरी हिल्सले तीन महिनामा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले १९.४५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । बाढी पहिरोका कारण भ्रमणमा आउने पर्यटकहरूको संख्यामा करिब दुई सातासम्म उल्लेख्य कमी आएको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीका अधिकांश बुकिङ्गहरू समेत रद्द भएका थिए । तर पनि कम्पनीले नाफा बढाउन सफल भएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेर १९ करोड ५८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी ५.६९ प्रतिशत घटेर १६ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत घटेर ७ लाख ५४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६१ लाख ९ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । असोजसम्म कम्पनीको कुल खर्च ४.०६ प्रतिशत घटेर ७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपेयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २७ पैसा बढेर १.६६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.०६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ । कम्पनीका अनुसार स्थलमार्गबाट भारतीय र बंगलादेशका पर्यटकहरूको उल्लेख्य मात्रामा आवागमन भएको छ । पर्यटकको आवागमनले कम्पनीका सेवाको उपभोगमा समेत वृद्धि भएको बताइएको छ । सोल्टी होटलले तीन महिनामा १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १८.३४ प्रतिशत नाफा बढेको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा अनावश्यक तथा तत्कालका लागि आवश्यक नभएका व्यावसायिक खर्चहरूमा कटौती गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइनेछ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.६९ प्रतिशत बढेर ५१ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल खर्च २९.२३ प्रतिशत बढेर ३६ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा सञ्चित नाफा १ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४१४.९५ गुणा रहेको छ । समीक्षा अवधिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक एयरलाइन्सहरूका अन्तर्राष्ट्रिय हवाई उडानका गतिविधिहरू नियमित रूपमा सञ्चालनमा रहेकाले होटेलमा पर्यटक आगमनको अवस्था सन्तोषजनक रहेको कम्पनीको भनाइ छ । तारागाउँ रिजेन्सी होटल्सले तीन महिनामा ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३.५२ प्रतिशत बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.५० प्रतिशत बढेर २७ करोड ५२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड २२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ५४ लाख रुपैयाँ र कुल आम्दानी १४.७० प्रतिशत बढेर ३० करोड ६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९ड लाख रुपैयाँ अन्य आम्दानी र २६ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन खर्च १६ करोड २० लाख रुपैयाँ र प्रशासनिक खर्च ५ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ अन्य खर्च र ६ करोड ३९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको थियो । १ अर्ब ९६ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९६ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.३३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.१९ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६७.८१ गुणा रहेको छ । होटलका अनुसार नेपालको सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमनका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यावसायिक प्रतिस्पर्धा सिर्जना छ । हालको अवस्थामा यस होटलले व्यावसायिक प्रतिस्पर्धामा आफूलाई सबल राखेको र आगामी समयमा पनि कडा व्यावसायिक प्रतिस्पर्धालाई सामना गर्न थप आवश्यक पूर्वाधारहरूको निर्माणमा होटल सक्रियतापूर्वक लागेको कम्पनीको भनाइ छ । साथै, त्रिभुवन विमानस्थल १० घण्टाका लागि बन्द हुँदा त्यसको प्रभाव होटलमा पर्ने सक्ने बताइएको छ । ओरियण्टल होटलले तीन महिनामा ३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ९७.४८ प्रतिशत घटेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २१ करोड ७ लाख रुपैयाँ, अन्य आम्दानी ५८ लाख रुपैयाँ र कुल आम्दानी २१ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड १४ लाख रुपैयाँ सञ्चालन आम्दानी, १ करोड ४१ लाख रुपैयाँ अन्य आम्दानी र २२ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च ८ करोड २१ लाख रुपैयाँ, प्रशासन तथा सामान्य खर्च ४ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ८५ लाख २० हजार रुपैयाँ र कुल खर्च २० करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ कर्मचारी खर्च, ३ करोड ९९ लाख रुपैयाँ प्रशासन तथा सामान्य खर्च, १ करोड २४ लाख रुपैयाँ वित्तीय खर्च र १९ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको थियो । १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ रहेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४३.५९ रुपैयाँ छ । नयाँ होटलहरू सञ्चालनमा आएका र पुराना होटलहरूले रिनोभेसन गर्दै लगेका छन् । तर, यस होटलले सोहीअनुसार रिनोभेसन नगरेको हुँदा कोठा आम्दानीमा ह्रास आएको कम्पनीको भनाइ छ । साथै यस अवधिमा विवाह, ब्रतबन्धनजस्ता लगन र साइत कम भएका र कर्मचारी तथा अन्य खर्चहरूमा वृद्धि भएका कारण कम्पनीको आम्दानीमा ह्रास आएको कम्पनीको भनाइ छ । सिटी होटलले तीन महिनामा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पानीले ७ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । यस अवधिमा होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशत घटेर ११ करोड २ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको कुल आम्दानी १.०४ प्रतिशत घटेर १३ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च १५.२७ प्रतिशत घटेर ७ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड १ लाख रुपैयाँ वित्तीय खर्च गरेको थियो । होटलको कुल खर्च ७.०६ प्रतिशत बढेर ९ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा होटलको प्रतिसेयर आम्दानी ३.३६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९०.४९ रुपैयाँ रहेको छ । कालिञ्चोक दर्शनले असोजसम्म ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा बेहोरेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेर ४४ लाख ६५ हजार रुपैयाँ, सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेर २० लाख २० हजार रुपैयाँ गरेको छ भने सञ्चालन नाफा ५७ लाख २१ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ४५ लाख ६१ हजार रुपैयाँ, सञ्चालन आम्दानी ४१ लाख १० हजार रुपैयाँ थियो भने सञ्चालन नाफा ६८ लाख १ हजार रुपैयाँ ऋणातमक थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च ५२.०८ प्रतिशत घटेर २८ लाख २८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ लाख २ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.४४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९.३२ रुपैयाँ रहेको छ ।

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीकाअनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । बैठक आज विहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।

आज सार्वजनिक बिदा, पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ‘पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने, ‘राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।’ प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेलेको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उनको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचारमा थिए । उनको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रोड रेस कम्पिटिसन गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । खुल्लातर्फको १० किलोमिटरतर्फ इच्छुक व्यक्तिहरुले प्रतिस्पर्धामा सहभागिता जनाउनसक्ने तथा कर्पोरेट तर्फको ५ किलोमिटरमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारहीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् । गरिमा रोड रेस कम्पिटिसन २०८१ का महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन् । निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने बैंकले जनाएको छ । मंसिर ७ गते १८ औं वार्षिकोत्सव मनाउन गईरहेको यो विकास बैंकले सो अवसरमा काठमाडौं बाहिर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।