झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजना बनाएको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीले गरेको छ । ‘मलाई लाग्छ, आउँदाे वर्ष २०२५ मा बीवाईडीले हाम्रो उत्कृष्ट ब्लेड ब्याट्रीको नयाँ पुस्ता प्रस्तुत गर्नेछ,’ बीवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक तथा युरोपियन अटो सेल्स डिभिजनका प्रमुख काओ शुआङले भने । ‘यसले हाम्रा गाडीको यात्राको दूरी बढाउनेछ र ब्याट्री लाइफ पनि लम्ब्याउनेछ,’ उनले थपे । शुआङले यो कुरा हालै सम्पन्न भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना महासन्धिको २९औं सम्मेलन (कोप २९) को क्रममा अजरबैजानको बाकुमा बताएका हुन् । उनका अनुसार बीवाईडीले आफ्नो ब्याट्री लाइफ व्यवस्थापन प्रणालीमा ध्यान केन्द्रित गर्दैछ र विभिन्न उद्योगका साझेदारसँग मिलेर ब्याट्री पुन: प्रयोग प्रणाली विकास गर्न काम गरिरहेको छ । उदाहरणका लागि, गाडीमा प्रयोग भएको ब्याट्रीको पहिलो जीवनपछि तिनीहरूलाई ऊर्जा भण्डारणजस्ता विभिन्न प्रकारका काममा प्रयोग गर्न सकिन्छ । काओले भने, ‘बीवाईडीले विश्वभर नयाँ ऊर्जा गाडी (एनईभी) उत्पादन र नवीनतम प्रविधिहरू मानिसहरूका लागि उपलब्ध गराउँदै राम्रो उदाहरण प्रस्तुत गरेको छ ।’ ‘यो प्रतिबद्धता विभिन्न देशहरूमा जे भए पनि अडिग रहनेछ,’ उनले थपे । बीवाईडीले पहिलो पुस्ताको ब्लेड ब्याट्री मार्च २०२० मा सार्वजनिक गरेको थियो । लिथियम आयरन फस्फेट (एलएफपी) रसायनमा आधारित यो ब्याट्री सुरक्षाको विषयमा केन्द्रित भइ बनेकाे छ र अहिले एनईभी निर्माता कम्पनीका सम्पूर्ण मोडलहरूमा प्रयोग भइरहेको छ । बीवाईडीले विगत केही वर्षमा आफ्नो ब्याट्री अपडेट गरेको थिएन । यो बीचमा ब्याट्री कम्पनी (सीएटीएल) जस्ता अन्य कम्पनीहरूले नयाँ ब्याट्री उत्पादन सार्वजनिक गरेका छन् । जुन १३ मा स्थानीय मिडिया ३६ केआरले बीवाईडीसँग नजिकको स्रोतलाई उद्धृत गर्दै कम्पनीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री चाँडै सार्वजनिक हुन सक्ने बताएकाे थियाे । अक्टोबर ३० मा स्थानीय अटोमोटिभ मिडिया एक्ससुजिङका प्रधान सम्पादक वु यिङले बीवाईडीको लक्जरी उप-ब्रान्ड याङवाङको यू ७ सेडानलाई दोस्रो पुस्ताको ब्लेड ब्याट्रीद्वारा सञ्चालन गरिने जानकारी दिएका थिए । याङवाङ बीवाईडीको उप-ब्रान्ड हो, जसलाई जनवरी ५, २०२३ मा सार्वजनिक गरिएको थियाे । एक लाख ३८ हजार अमेरिकी डलर मूल्यको उक्त गाडी अल्ट्रा लक्जरी बजारलाई लक्षित गरी सार्वजनिक गरिएको हो । यसको पहिलो मोडल यू ८ अफ-रोड एसयूभी हो । याङवाङले यस वर्षको जनवरी १० मा ब्रान्डको पहिलो सेडानको हर्सपावर एक हजारभन्दा बढी हुने र यसको मूल्य १ मिलियन युआन बराबरको हुने घोषणा गरेको थियाे । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिव १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढौं- चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, करिब १८ लाख श्रमिक सूचीकृत
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ । कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न सुविधा योजनाअन्तर्गत ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम जम्मा भइसकेको छ ।
जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य
काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे । कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले “शिरमै फुर्के रिबन” शीर्षकको संगीत भिडियो सार्वजनिक गरे । यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् । नेपालमा बालविवाह अझै पनि लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तिकरणको लागि प्रमुख चुनौती बनेको छ । यहाँ तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘बालविवाह मानव अधिकारको उल्लङ्घन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।’ महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तिकरणका कार्यक्रमहरुले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् । महिला अधिकारकर्मी तथा यूनाइटेड नेशनकी सीइडीएडब्ल्यु, कमिटी सदस्य बन्दना रानाले भनिन्, ‘महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैङ्गिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।’ निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैङ्गिक समानता तथा बाल संरक्षण प्रवर्धन गर्ने निती आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तिकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् । यस कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् ‘नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैङ्गिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभइ सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।’ बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव, र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् । जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टु भायोलेन्स अगेंस्ट वुमन’ अभियानमार्फत, हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं । २०१८ देखि जोन्टा इन्टरनेशनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपीए, र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छ ।’
सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिदैँन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए । ‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन’, प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, ‘त्यसका निम्ति राज्य छ र सरकार छ ।’ वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दैै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने स्पष्ट पारेका छन् । उनले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रहसमेत गरेका छन् । नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको स्पष्ट पारे । ‘ती अवधारणाअनुसारका कार्ययोजनाहरू तयार गर्नु, तिनलाई नीति कार्यक्रम र बजेटमा सामेल गर्नु आवश्यक छ र हामी त्यसलाई क्रमशः अगाडि बढाइरहेका छौँ’, प्रधानमन्त्रीले भनेका छन् । विसं २०५१ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तत्कालीन सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको स्मरण गर्दै उनले त्यसपछि मात्रै लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थालेको बताए । ‘यहाँसम्म आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य र समाज सञ्चालनको एउटा अभिन्न अङ्गका रुपमा बुझिरहेका छौँ र ती अनुसारको व्यवहार गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भनेका छन् । हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्दछ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको उनले जानकारी दिए ।
पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी, ७ अर्बको कृषि बाली भारत निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार चार अर्ब ४८ लाखको चिया रुपैयाँ, एक अर्ब ५५ करोड रुपैयाँको अलैँची, एक अर्ब पाँच करोड रुपैयाँको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाख रुपैयाँको अम्लिसो २० करोड ५५ लाख रुपैयाँको अदुवा, छ करोड ४८ लाख रुपैयाँको बन्दाकोभी, एक करोड ५५ लाख रुपैयाँको मसुरो दाल, ५१ लाख १९ हजार रुपैयाँको जडीबुटी र ११ करोड ५३ लाख रुपैयाँको अन्य कृषि बाली भारत निर्यात भएको छ । सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा २२ करोड ३१ लाख रुपैयाँको गेडागुडी, १५ करोड ३० लाख रुपैयाँको आलु, १४ करोड १३ लाख रुपैयाँको ताजा फलफूल, ११ करोड सात लाख रुपैयाँको लसुन, छ करोड ४४ लाख रुपैयाँको कोदो, पाँच करोड ३४ लाख रुपैयाँको सागसाब्जी र पाँच करोड दुई लाख रुपैयाँको अन्य कृषि बाली आयात भएको छ । कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उनी बताउँछन् । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ । पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।
एनपिएलका लागि टिकट मूल्य सार्वजनिक, ३०० रुपैयाँदेखि सुरु
काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ । एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ एक हजार टिकट रुपैयाँको मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० रुपैयाँ र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँमूल्य निर्धारण गरिएको छ ।
मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ । दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिए । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताए । यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरु गरिएको जानकारी दिए । उनले भने, ‘यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यहीँ ठाउँमा थप चार सेन्टिमिटरको काम हुनेछ ।’ अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म दुई दशमलव चार किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’ पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एक–दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताए । दमौली बजारमा पनि सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । पश्चिमखण्ड (जामुने–पोखरा)को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ । रासस
गार्डियन माइक्रोले मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ । यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस ३ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।