परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध वारेन बफेट, गरे थप १.१ बिलियन डलर दान
काठमाडौं । अमेरिकाका लगानीकर्ता वारेन बफेटले परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध गई तीन स्वतन्त्र ट्रस्टी नियुक्त गरेका छन् । साथै १५० बिलियन डलर व्यक्तिगत सम्पत्ति भएका बफेटले आफ्नो परिवारको चार फाउण्डेशनलाई बर्कशायर हाथवे स्टकको १.१ अर्ब दान गरे । ९४ वर्षीय बफेटले आफ्नो तीन सन्तानलाई ठूलो सम्पत्ति छोड्नुको सट्टा बर्कशायरमा बनाएको आफ्नो सम्पत्तिको ९९ प्रतिशत दान दिने प्रतिबद्धता लामो समयदेखि गर्दै आएका थिए । उनले बर्कशायर हाथवेलाई सन् १९६५ देखि नेब्रास्का राज्यको ओमाहामा आधारित एक विशाल समूहका रूपमा सञ्चालन गर्दै आएका छन् । बफेटका अनुसार परिवारिक सम्पत्तिको वंश परम्पराले व्यक्तिगत विकासमा बाधा पुर्याउन सक्ने र पछि सम्बन्धहरूमा जटिलता थप्न सक्ने सम्भावना छ । साथै, यस्तो सम्पत्तिले भविष्यका पुस्ताहरूले त्यसलाई कसरी बाँडफाँड गर्ने भन्ने अन्योल पनि सिर्जना गर्न सक्छ । ‘मैले कहिल्यै वंश परम्परा सिर्जना गर्ने चाहना राखिनँ वा बच्चाहरूभन्दा पर जान सक्ने कुनै योजना बनाइनँ,’ बफेटले सोमबार लामो पत्रमा लेखेका छन्, ‘म आफ्ना तीन सन्तानलाई राम्ररी चिन्छु र उनीहरूमा पूर्ण विश्वास गर्छु । तर भविष्यका पुस्ताहरू अर्कै कुरा हुन् । असाधारण सम्पत्तिको वितरणलाई सम्हाल्न उनीहरूको प्राथमिकता, बुद्धिमत्ता र निष्ठा कस्तो हुनेछ भन्ने कुरा अनुमान गर्न सकिँदैन ।’ तीन ट्रस्टी नियुक्त ‘ओराकल अफ ओमाहा’ भनेर चिनिने बफेट जसले बर्कशायरका क्लास ए सेयरहरूको करिब ३७.६ प्रतिशत स्वामित्वमा राखेका छन् । उनका अनुसार आफूले जोडेको सम्पत्ति सन्तानहरूको जीवनभन्दा लामो समय बाँडफाँडमा जानसक्छ । त्यसैले उनले सम्पत्ति बाँडफाँड गर्न तीन ट्रस्टी नियुक्त गरेका छन् । बफेटका सन्तान ७१, ६९ र ६६ वर्षका छन् । ‘तीन सम्भावित उत्तराधिकारी ट्रस्टीहरू छनोट गरिएका छन् । मेरा सन्तानले उनीहरूलाई राम्ररी चिन्छन् र यो सबैलाई उपयुक्त देखिन्छ । उनीहरू मेरा सन्तानभन्दा केही कान्छा पनि छन्,’ बफेटले लेखेका छन्, ‘तर यी उत्तराधिकारीहरू प्रतीक्षाको सूचीमा छन् । म आशा गर्दछु कि सुसी, होवी र पिटरले नै मेरो सबै सम्पत्ति बाँडफाँड गर्नेछन् ।’ ट्रस्टीहरूको पहिचान भने खुलाइएको छैन । बफेटले २००६ देखि परिवारका चार फाउण्डेशनलाई वार्षिक रूपमा दान गर्दै आएका छन् । उनले आफ्ना सन्तानको व्यवस्थापकीय क्षमता र परोपकारी आकांक्षामा विश्वास रहेको बताए । ‘२००६-२०२४ को अवधिले मलाई मेरा प्रत्येक बच्चाहरूको काम अवलोकन गर्ने मौका दियो । उनीहरूले ठूलाठूला परोपकार र मानवीय व्यवहारका बारे धेरै सिकेका छन्,’ उनले भने, ‘उनीहरूलाई आर्थिक रूपमा सहज रहन मन पर्छ, तर सम्पत्तिमा उनीहरूको ध्यान केन्द्रित छैन । उनीहरूको आमा, जसबाट उनीहरूले यी मूल्य र मान्यताहरू सिकेका थिए, उनीहरूप्रति गर्व गर्ने थिइन् । जसरी म पनि गर्व गर्छु ।’ सोमबार बफेटले १ हजार ६०० ए सेयरलाई २४ लाख बी सेयरमा रूपान्तरण गरेर परिवारका चार फाउण्डेशनलाई दान गरे । तीमध्ये १५ लाख सेयर ‘द सुसन थोम्पसन बफेट फाउण्डेशन’ र प्रत्येक ३-३ लाख सेयर ‘द शेरवुड फाउण्डेशन’, ‘द होवार्ड जी. बफेट फाउण्डेशन’ र ‘नोभो फाउण्डेशन’ लाई प्रदान गरियो । बफेटको बर्कशायर, जसले यस वर्ष १ ट्रिलियन अमरेकी डलरको बजार मूल्य पार गरेको छ । (एजेन्सीहरूको सहयोगमा)
रविको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको भन्दै कार्यकर्ताहरूले यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले रवि दाइलाई रिहा गर, रवि दाइलाई न्याय दे लगायतका नारा र प्लेकार्ड बोकेका थिए । लामिछानेलाई गत कार्तिक २ गते पार्टी मुख्यालयबाट पक्राउ गरिएको थियो, जसको विरोधस्वरूप रास्वपाले विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ । लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको भन्दै कार्यकर्ताहरूले यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले रवि दाइलाई रिहा गर, रवि दाइलाई न्याय दे लगायतका नारा र प्लेकार्ड बोकेका थिए । लामिछानेलाई गत कार्तिक २ गते पार्टी मुख्यालयबाट पक्राउ गरिएको थियो, जसको विरोधस्वरूप रास्वपाले विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।
बसाइँसराइले विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
गलकोट । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएको छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ । नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताए । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ । बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो । ‘विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ’, उपप्रमुख शर्माले भने, ‘आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।’ शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिए । एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शङ्कर प्रावि राङ्खानी रहेका छन् । बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ । विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका–५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा (लिड) विद्यालयका रुपमा अगाडि बढाएको छ । रासस
ब्लूस्काईले जानकारी खुलासा गर्ने नियम उल्लंघन गरेको ईयूको आरोप
काठमाडौं । सामाजिक मिडिया प्लेटफर्म ब्लूस्काईले महत्त्वपूर्ण विवरणहरू खुलासा नगरी यूरोपियन यूनियन (ईयू) का नियमहरू उल्लंघन गरेको ईयूका प्रवक्ताले आरोप लगाएका छन् । सोमबार दैनिक ब्रिफिङका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । प्रवक्ताले ब्लूस्काई थ्रेसहोल्डभन्दा तल रहेको र ईयूको डिजिटल सेवा ऐनअन्तर्गत’ विशाल प्लेटफर्म’ का रूपमा वर्गीकृत नभएकाले यूनियनले हालसम्म कम्पनीलाई प्रत्यक्ष सम्पर्क गरेको छैन । यसैगरी, यूनियनले २७ वटा राष्ट्रिय सरकारहरूलाई ब्लूस्काईको कुनै पनि प्रमाण फेला पार्न सकिन्छ कि भनेर जाँच्न सम्पर्क पनि गरेको छ । ब्लूस्काईले तुरुन्तै ईमेलमार्फत गरिएको टिप्पणीको अनुरोधमा प्रतिक्रिया दिएको छैन । ब्लूस्काई एक्स (पूरानो ट्वीटर)का फाउन्डर ज्याक डोर्सेको हो । यसको सुरुवातमा ट्वीटरका पूर्वकर्मचारीहरू पनि संलग्न भएका थिए, जसमा ट्वीटरको सीईओसमेत रहेका पराग अग्रवाल पनि थिए । २०२२ को अन्त्यतिर एलन मस्कले ट्वीटरको जिम्मा लिएपछि उनले ब्लूस्काईको प्रविधि प्रयोग गरेर विकेन्द्रीकृत प्लेटफर्महरूको वेबमा ट्वीटरलाई समेट्ने पूर्वसम्झौता तुरुन्तै खारेज गर्दै त्यो प्रविधि समावेश गर्न काम गरिरहेका व्यक्तिहरूलाई बर्खास्त पनि गरेका थिए । पछिल्लो समय ब्लूस्काईका प्रयोगकर्ताकाे संख्या बढ्दै गइरहेको छ ।
आइसिटी अवार्डमा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक, पब्लिक भोटिङ सुरु
काठमाडौं । आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ । उत्कृष्ट ५ छनौटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरू १४ जना विज्ञ जुरीसमक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुति दिएका थिए । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्डअन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् । त्यस्तै, राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन् । साथै यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् । आइसिटी अवार्ड २०२४ का यी ४ विधाहरूमा ३०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो । सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आईडिया फेस्ट २०२४ मा सहभागी हुने अवसरसमेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरु भएको छ । पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ । साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ मा सहभागी हुन पाउनेछन् । हाम्रो पेबाटै आफूलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्टहरूलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिने छ । यसैगरी, आइसिटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्थातर्फका विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ । व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । साथै साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा पनि छनौट प्रक्रिया चलिरहेको छ । यस विधामा सार्क राष्ट्रबाट १०० बढीको आवेदन प्राप्त भएको थियो भने सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् । यसबाहेक सातै प्रदेशका एक-एक स्टार्टअपलाई प्रोभिसियल स्टार्टअप आइसिटी रिकग्निसनसमेत प्रदान गरिने छ । यसले मोफसलमा स्टार्टअप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि सातै प्रदेशमा केही समय अगाडि स्टार्टअप मिटअपसमेत आयोजना गरिएको थियो । सन् २०१६ बाट लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको यो नवौं संस्करण हो । सर्वोत्कृष्ट छनौटका लागि ६ महिनासम्म निरन्तर सञ्चालन हुने यस कार्यक्रम सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ । अवार्डमा १४ जना विज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिति रहको छ । ६ महिनासम्म विभिन्न २५ बढी जुरी मिटिङ र दर्जन बढी प्रि-इभेन्टहरू हुने गरेका छन् ।
समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओमा सूचीकृत भएको हो । यो एफपीओ सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असाजेदेखि पुल निर्माण सुरु गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ । ‘तीनतिर टावरको काम सुरु भइसकेको छ, चालु आवभित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको छ’, इन्जिनियर नेपालले भने, ‘जग निर्माणमा समय बढी लाग्यो, अब टावरलगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ ।’ उनका अनुसार हालको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्नेछन् । एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोड रुपैयँको ठेक्का लागेको हो । उक्त पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण थप बढ्ने आशा गरिएको छ । पुलको डिजाइन आकर्षक रहेको इन्जिनियर नेपालले बताए । निर्माणमा कुनै बाधा नआए आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने जनाइएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । रासस
मेक्सिको, क्यानडा र चीनविरुद्ध कठोर हुँदै ट्रम्प, भारी शुल्क लगाउने वाचा
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएदेखि नै डोनाल्ड ट्रम्प चीनलगायत धेरै देशका लागि टाउको दुखाइको विषय बनेका छन् । हालचालै उनले क्यानडा, मेक्सिको र चीनमा भारी शुल्क लगाउने वाचा गरेका छन् । ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आउने सबै उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने वाचा गरेका हुन् । इकोनोमिक टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले चीनबाट आउने सामानमा थप १० प्रतिशत ट्यारिफ लगाउने वाचा पनि गरेका छन् । उनले जनवरी २० मा राष्ट्रपतिको रूपमा पहिलो दिन क्यानाडा र मेक्सिकोमा ट्यारिफसहित धेरै आदेशहरूमा हस्ताक्षर गर्ने जानकारी दिए । ट्रम्पले के भने ? ‘सबैलाई थाहा छ, हजारौं मानिस मेक्सिको र क्यानडा हुँदै आउँदैछन् । यीमध्ये अधिकांश अपराधी हुन् र अवैध रूपमा लागूऔषध ल्याइरहेका छन्,’ उनले भने, ‘ जनवरी २० मा पदभार ग्रहण गरेको पहिलो दिनमै धेरै आदेश जारी गर्नेछु । यसमा मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने आदेश समावेश हुनेछ । यसका लागि आवश्यक कागजातमा पहिलो दिनमै हस्ताक्षर गर्नेछु ।’ उनले सबै लागुऔषध र अवैध आप्रवासन नरोकेसम्म यो शुल्क लागू हुने पनि बताए। चीनविरुद्ध झन् कडा नीति ट्रम्पले चीनबाट ठूलो परिमाणमा लागूऔषध विशेषगरी फेन्टानिल अमेरिका पठाइँदै आएको बताए । ‘हामी चीनबाट संयुक्त राज्य अमेरिकामा आउने सबै उत्पादनहरूमा कुनै पनि अतिरिक्त करमाथि १० प्रतिशत थप ट्यारिफ लागू गर्नेछौं,’ उनले भने। विशेषज्ञको चेतावनी विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले यस प्रकारको कर लगाउने चेतावनी दिएका छन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)