सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आए पछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीहरुलाई भनेका थिए । त्यसलगत्तै मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताए । ‘हामीले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौं,’ उनले भने, ‘त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ ।’ मन्त्रालयले केही दिनअघि औषधीको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै संघीय अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले बताए ।
सम्पदा लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठलाई
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठले पाएका छन् । मंसिर १० गते सोमबार बसेको कम्पनी सञ्चालन समितिको बैठकको निर्णयअनुसार संस्थाका नायक महाप्रबन्धक पवनकुमार श्रेष्ठले सचिव पदको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जरपश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २८ वर्षको अनुभव रहेको छ । साविक सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई बनेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका ४५ वटा जिल्लामा १५५ वटा शाखा सञ्जालबाट १,७८,३७८ घरधुरीहरूमा सेवा विस्तार गरेको छ । यस वित्तीय संस्थाले ९ अरब ७४ करोड ५७ लाख रुपैयाँ लगानीमा रहेको रकम र २ अर्ब ४७ करोड रुपैयाँ बचत परिचालन गरी रहेको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा शुक्रबारसम्म सार्वजनिक हुने, के हुँदैछ परिवर्तन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साताभित्र चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरेकाे छ । राष्ट्र बैंक स्रोतका अनुसार यही साताको शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी छ । ‘राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ । मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा छ । शुक्रबारसम्म सार्वजनिक गर्छाैं, शुक्रबारसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ,’ स्रोतले भन्यो । हाल अर्थतन्त्र सहज अवस्थातर्फ उन्मुख छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर औसत ९ प्रतिशत बिन्दुमा झरिसकेको छ भने निक्षेपको ब्याजदर औसत ५ प्रतिशत बिन्दुको हाराहारीमा छ । बैंकिङ क्षेत्रमा ब्याजदर न्यून बिन्दुमा हुँदा पनि कर्जाको माग नरहेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले पनि कर्जा विस्तार गर्ने गरी विगतका मौद्रिक नीतिमार्फत सहजीकरण गरिसकेको छ । तर पनि कर्जाको माग उल्लेख्य रूपमा नबढ्दा राष्ट्र बैंकले यसपटक पनि कर्जा विस्तारसँग सम्बन्धित व्यवस्था चलाउने देखिन्छ । जसका लागि राष्ट्र बैंकले क्षेत्रगत रूपमा जाने कर्जामा केही व्यवस्थामा हेरफेर गर्न सक्ने सम्भावना देखिन्छ । सेयर लगानीकर्ताहरूले सेयर कर्जाको व्यक्तिगततर्फको १५ करोडको सीमा खारेज गर्नुपर्ने माग राखेका छन् । साथै, संस्थागत लगानीकर्ताहरू (बैंक तथा वित्तीय संस्था)लाई दोस्रो बजारमा सेयर कारोबारमा खुला गर्नुपर्ने माग उनीहरूले राखेका छन् । पछिल्लो समय कर्जाको माग पनि नआएकाले बैंकरहरू पनि सेयर धितो कर्जामा जाने कर्जामा राष्ट्र बैंक अझै लचिलो बन्नु पर्ने गरी लबिङ गरिरहेका छन् । महँगो ब्याजदरमा निक्षेप संकलन गरेर सस्तोमा राष्ट्र बैंकमा थुपार्नु परेको छ । त्यसैले राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् । यस्तै, निर्माण व्यवसायीहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म छ । उक्त व्यवस्थालाई थप गर्नुपर्ने माग व्यवसायीहरूले गरिरहेका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षमा धेरै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । ब्याजदर न्यून बिन्दुमा झरेको र पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले धेरै चलाउनुपर्ने विषय नरहेको उनको भनाइ छ । ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नयाँ विषय केही छैन । किनभने ब्याजदर न्यून बिन्दुमा झरेको छ । तरलता फालाफाल छ, यसैले राष्ट्र बैंकले चलाउनुपर्ने धेरै विषय केही छैन,’ उनले भने, ‘मौद्रिक नीतिले ब्याजदर र तरलता हेरेर समीक्षा गर्छ, अहिले दुईटै विषय बजारलाई फेरबदल छ ।’ ब्याजदर न्यून भएपनि कर्जा लगानी हुन सकेको छैन । सेयर बजारमा जाने कर्जामा हेरफेर गर्ने विषयमा अहिलेसम्म छलफल नभएको उनले बताए । हाल जुन व्यवस्था छ सोही अवस्थामा कायम रहने सम्भावना रहेको उनले बताए ।
सुनको मूल्य घटेपछि माग बढ्यो, न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीड
काठमाडौं । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउँछन् । ‘बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्’, उनले भने । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ । पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो । हिजो र आज दुई दिन काठमाडौंको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासङ्घका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउँछन् । ‘हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्यांक उपलब्ध छैन । महासङ्घले कारोबारको तथ्याङ्कसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्’, उनले भने । सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासङ्घका पूर्व अध्यक्ष शाक्य बताउँछन् । ‘बैंकहरुले आयात गरेका छ्र्रैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ’, उनले भने । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् । बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ । भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले रू २८ करोड ५५ लाख सात हजार बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा रू २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार बराबरका दुई हजार छ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ । जसबाट सरकारले रू तीन अर्ब ६४ करोड ८३ लाख बराबर भन्सार राजस्व प्राप्त गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रू २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले रू दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा रू ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो । सो वर्ष सुन आयातबाट सरकारले रू चार अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्षमा रू २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले रू तीन अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा रू १३ अर्ब ४६ करोड पाँच लाख बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट रू एक अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव, १२ सय रोजगारी सिर्जना
काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो । नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ । ‘नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौं,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, ‘तीन वर्षको दौरानमा देशमा सयौं मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौं ।’ स्थापनाकालदेखि हालसम्म नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ । सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ । नबिल एसएसईअन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् । तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ । यस कोर्सका सहभागीहरूमध्ये ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् । नबिल एसएसईले सामाजिक उद्यमीहरूलाई महत्त्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ । यसले सामाजिक उद्यमका लागि अवधारणा निर्माण, त्यसलाई लगानीयोग्य बनाउने र साना उद्यमीहरूलाई सशक्त बनाउने कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ । तेस्रो वार्षिक उत्सव मनाउँदै नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा सामाजिक उद्यमशीलतालाई अझ विस्तार गर्ने र नेपालका समुदायहरूको उत्थानमा निरन्तर योगदान दिने लक्ष्य राखेको छ ।
सेयर बजारमा छायो हरियाली, साढे ७ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको हाे । आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर बजार २ हजार ७ सय १६.६६ बिन्दुमा पुगेको छ । मंगलबार २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यस दिन १ करोड ४२ लाख कित्ता सेयरको किनबेच हुँदा ७ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, न्याग्दी गुप्र पावर लिमिटेडको ३३ करोड, एनआरएन इन्फ्राक्टर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड र कर्णाली डेभलपमेन्ट बैंकको २५ करोड बढीको सेयर कारोबार भएको छ । यो दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै उपसूचकमा हरियाली छाएकाे छ । तर सबैभन्दा बढी जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर, एक करोड बजेट विनियोजन
चितवन । हरियाली प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ । नर्सरीका लागि कम्पाउण्ड, नर्सरी घरलगायत भौतिक संरचना निर्माण सुरु गर्न लागिएको छ । दाहालका अनुसार एक वर्षमा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य महानगरको छ । बाहिरबाट बिरुवा खरिद गर्दा महङ्गो पर्ने भएकाले आफैले उत्पादन गरेर सडक किनारामा बिरुवा रोप्न लागिएको हो । सुन्दरता दिने र फलफूलका बिरुवा उत्पादन गरेर रोप्ने योजना महानगरको रहेको छ । उपप्रमुख चित्रसेन अधिकारीले गत वर्षबाट महानगरपालिकाले महानगरभित्रका सडकमा वृक्षरोपण गरेर हरियाली बनाउन थालेको बताए । आफ्नै नर्सरी बनेसँगै अहिले प्रतिगोटा एक हजार रुपैयाँसम्म पर्ने बिरुवा ३०–४० रुपैयाँमा तयार हुने उनको भनाइ छ । अधिकारीले भने, ‘आर्थिक रुपमा पनि महानगरलाई फाइदा पुग्छ ।’ महानगरपालिकाका इञ्जिनियर साकार लामाले यही महिनाबाट काम थालिने बताए । सिजनल र बहुवर्षे बिरुवाहरु उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । उनले भने, ‘महानगरपालिकाको सुन्दरता बढाउन, तापक्रम घटाउन र वातावरण संरक्षणमा योगदान पुग्नेछ ।’ महानगरपालिकाले गत वर्ष पाँच हजार हाराहारी बिरुवा रोपेको थियो । यस वर्ष २० हजार हाराहारी बिरुवा खरिद गरेर लगाउँदैछ । आफ्नै नर्सरी बनेसँगै वार्षिक एक लाख बिरुवा उत्पादन गरेर रोप्ने योजना छ । बालबालिकालाई ‘प्ले थेरापी’ सेवा भरतपुर अस्पतालमा उपचाररत बालबालिकालले उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसरसमेत प्रदान गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई बिरामी छु भन्ने कुरा बिर्साउन प्ले थेरापी सुरु गरिएको बताए । उनले भने, ‘यसरी उपचार गर्दा बच्चाको रोगसमेत छिटो निको हुन्छ ।’ अस्पतालको उपचार र घरको जस्तो वातावरण सृर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाइ छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा सुरु गरिएको उनले बताए । विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको भन्दै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिनसक्ने उनको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ शय्या रहेका छन् । अस्पताल आफैँले सामग्री खरिद गरी सुरु गरेसँगै विभिन्न दाताले थप सामग्री सहयोग गर्ने वचन दिएको प्राडा पौडेलले बताए । अस्पतालमा एनआइसियू, पिआइसियु सेवासमेत रहेको छ । यो सङ्घीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।
परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध वारेन बफेट, गरे थप १.१ बिलियन डलर दान
काठमाडौं । अमेरिकाका लगानीकर्ता वारेन बफेटले परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध गई तीन स्वतन्त्र ट्रस्टी नियुक्त गरेका छन् । साथै १५० बिलियन डलर व्यक्तिगत सम्पत्ति भएका बफेटले आफ्नो परिवारको चार फाउण्डेशनलाई बर्कशायर हाथवे स्टकको १.१ अर्ब दान गरे । ९४ वर्षीय बफेटले आफ्नो तीन सन्तानलाई ठूलो सम्पत्ति छोड्नुको सट्टा बर्कशायरमा बनाएको आफ्नो सम्पत्तिको ९९ प्रतिशत दान दिने प्रतिबद्धता लामो समयदेखि गर्दै आएका थिए । उनले बर्कशायर हाथवेलाई सन् १९६५ देखि नेब्रास्का राज्यको ओमाहामा आधारित एक विशाल समूहका रूपमा सञ्चालन गर्दै आएका छन् । बफेटका अनुसार परिवारिक सम्पत्तिको वंश परम्पराले व्यक्तिगत विकासमा बाधा पुर्याउन सक्ने र पछि सम्बन्धहरूमा जटिलता थप्न सक्ने सम्भावना छ । साथै, यस्तो सम्पत्तिले भविष्यका पुस्ताहरूले त्यसलाई कसरी बाँडफाँड गर्ने भन्ने अन्योल पनि सिर्जना गर्न सक्छ । ‘मैले कहिल्यै वंश परम्परा सिर्जना गर्ने चाहना राखिनँ वा बच्चाहरूभन्दा पर जान सक्ने कुनै योजना बनाइनँ,’ बफेटले सोमबार लामो पत्रमा लेखेका छन्, ‘म आफ्ना तीन सन्तानलाई राम्ररी चिन्छु र उनीहरूमा पूर्ण विश्वास गर्छु । तर भविष्यका पुस्ताहरू अर्कै कुरा हुन् । असाधारण सम्पत्तिको वितरणलाई सम्हाल्न उनीहरूको प्राथमिकता, बुद्धिमत्ता र निष्ठा कस्तो हुनेछ भन्ने कुरा अनुमान गर्न सकिँदैन ।’ तीन ट्रस्टी नियुक्त ‘ओराकल अफ ओमाहा’ भनेर चिनिने बफेट जसले बर्कशायरका क्लास ए सेयरहरूको करिब ३७.६ प्रतिशत स्वामित्वमा राखेका छन् । उनका अनुसार आफूले जोडेको सम्पत्ति सन्तानहरूको जीवनभन्दा लामो समय बाँडफाँडमा जानसक्छ । त्यसैले उनले सम्पत्ति बाँडफाँड गर्न तीन ट्रस्टी नियुक्त गरेका छन् । बफेटका सन्तान ७१, ६९ र ६६ वर्षका छन् । ‘तीन सम्भावित उत्तराधिकारी ट्रस्टीहरू छनोट गरिएका छन् । मेरा सन्तानले उनीहरूलाई राम्ररी चिन्छन् र यो सबैलाई उपयुक्त देखिन्छ । उनीहरू मेरा सन्तानभन्दा केही कान्छा पनि छन्,’ बफेटले लेखेका छन्, ‘तर यी उत्तराधिकारीहरू प्रतीक्षाको सूचीमा छन् । म आशा गर्दछु कि सुसी, होवी र पिटरले नै मेरो सबै सम्पत्ति बाँडफाँड गर्नेछन् ।’ ट्रस्टीहरूको पहिचान भने खुलाइएको छैन । बफेटले २००६ देखि परिवारका चार फाउण्डेशनलाई वार्षिक रूपमा दान गर्दै आएका छन् । उनले आफ्ना सन्तानको व्यवस्थापकीय क्षमता र परोपकारी आकांक्षामा विश्वास रहेको बताए । ‘२००६-२०२४ को अवधिले मलाई मेरा प्रत्येक बच्चाहरूको काम अवलोकन गर्ने मौका दियो । उनीहरूले ठूलाठूला परोपकार र मानवीय व्यवहारका बारे धेरै सिकेका छन्,’ उनले भने, ‘उनीहरूलाई आर्थिक रूपमा सहज रहन मन पर्छ, तर सम्पत्तिमा उनीहरूको ध्यान केन्द्रित छैन । उनीहरूको आमा, जसबाट उनीहरूले यी मूल्य र मान्यताहरू सिकेका थिए, उनीहरूप्रति गर्व गर्ने थिइन् । जसरी म पनि गर्व गर्छु ।’ सोमबार बफेटले १ हजार ६०० ए सेयरलाई २४ लाख बी सेयरमा रूपान्तरण गरेर परिवारका चार फाउण्डेशनलाई दान गरे । तीमध्ये १५ लाख सेयर ‘द सुसन थोम्पसन बफेट फाउण्डेशन’ र प्रत्येक ३-३ लाख सेयर ‘द शेरवुड फाउण्डेशन’, ‘द होवार्ड जी. बफेट फाउण्डेशन’ र ‘नोभो फाउण्डेशन’ लाई प्रदान गरियो । बफेटको बर्कशायर, जसले यस वर्ष १ ट्रिलियन अमरेकी डलरको बजार मूल्य पार गरेको छ । (एजेन्सीहरूको सहयोगमा)