बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार
चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।’ अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, ‘धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।’ पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउँछन् । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उनको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए । उनले भने, ‘कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।’ बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उनले विश्वास व्यक्त गरे ।
१ हजार करोडको विकास ऋणपत्र जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब अर्थात् १ हजार करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै ३ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ३ वर्षे विकास ऋणपत्र-२०८४ मंसिर १२ गते बोलकबोल मार्फत बिक्री गर्नेछ । साथै मंसिर १३ गते निष्कासन गरिने कार्यालयले जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।
अवरुद्ध राहदानी सेवा सञ्चालन, इलाका प्रशासन र विदेशमा सेवा विस्तार गरिने
काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । विभागले सोमबार साँझ एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो । सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ । यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मङ्गलबारदेखि परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ । ‘सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बुटवलपछि काठमाडौं ल्याइँदै रास्वपा सभापति लामिछाने
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइने भएको छ । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने तयारी छ । काठमाडौंमा लामिछानेलाई २÷३ दिन राखेर बयान लिने सम्भावना छ । त्यसपछि उनलाई पुनः पोखरा लगिनेछ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि गत कात्तिक २७ गते पोखराबाट भैरहवा लगिएको थियो । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा ३ दिन बयान लिएर पुनः पोखरा फर्काइएको थियो ।
आजको मौसम: तराईमा हल्का हुस्सु, हिमालमा हिमापात
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ भने यी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५.५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान साढे ९ बजे ३८औँ वार्षिक साधारण सभा बोलाएको छ ।
घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मुद्राको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.०८ रुपैयाँ र बिक्रीदर १४१.७१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.२० रुपैयाँ र बिक्रीदर १६९.९६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.२२ रुपैयाँ र बिक्रीदर १५१.८९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५७ रुपैयाँ र बिक्रीदर ८७.९६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३५ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९२ रुपैयाँ र बिक्रीदर १००.३७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५८ रुपैयाँ र बिक्रीदर १८.६६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८४ रुपैयाँ र बिक्रीदर ३६.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८९ रुपैयाँ र बिक्रीदर ३.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२३ रुपैयाँ र बिक्रीदर ३०.३६ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १९.०० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२९ रुपैयाँ र बिक्रीदर १७.३७ रुपैयाँ तोकेको छ यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.२१ रुपैयाँ र बिक्रीदर ४३९.१६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५६.९८ रुपैयाँ र बिक्रीदर ३५८.५७ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३४९.५५ रुपैयाँ र बिक्रीदर ३५१.१० रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ गतेदेखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो । प्राधिकरणका अनुसार मङ्सिर १ गते ११ वटा विपद्का घटना भएका थिए । त्यसमध्ये ८ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो । मङ्सिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न ८ स्थानमा आगलागी भएका थिए । झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए । मङ्सिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ । मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । यसैगरी मङ्सिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए । मङ्सिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ । त्यसदिन आगलागीमा परी एक जना घाइते भएका छन् । मङ्सिर ६ गते १० वटा घटना घटेकामा नौ वटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुई जना घाइते भएका उल्लेख छ । मङ्सिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो । आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ । मङ्सिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए । लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए । मङ्सिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । सो दिन नवलपरासी पूर्वमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए । मङ्सिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् । आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ । प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ । यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ । प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर आदि) सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ । आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजङ्गलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन प्राधिकरणले अनुरोध गरेको छ ।