काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.५० अंकले बढेर २६५७.७७ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
मंगलबार ३२५ कम्पनीको १ करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । सप्तकोशीको ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २९ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, हिमालयन पावर पार्टनरको १९ करोड र न्यादी ग्रुप पावरको १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, सिक्लेस हाइड्रो, थ्री स्टार हाइड्रो र जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, आज सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा धेरै विकास बैंकको उपसमूह ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।