एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा डेढ लाख नेपालीको लगानी, ११ सेयरधनीले होल्ड गरे ७ अर्ब
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ११ सेयरधनीले ७ अर्ब बढीको सेयर होल्ड गरेका छन् । गत असारसम्म बैंकमा १ लाख ४० हजार ९८५ सेयरधनी रहेका छन् । जसमध्ये ११ सेयरधनीसँग ७ अर्ब २ करोड २५ लाख ४७ हजार ८ सय रुपैयाँको ७ करोड २ लाख २५ हजार ४७८ कित्ता सेयर रहेको छ । बैंकका अनुसार एक कित्तादेखि एक सय कित्ता सेयर धारण गरेका १ लाख १४ हजार २०५ सेयरधनी छन् । यस्तै, १०१ सेयरदेखि ५ सय कित्ता धारण गरेका १८ लाख १४० सेयरधनी, ५०१ देखि १ हजार कित्ता धारण गरेका ३ हजार ८६९ सेयरधनी, १ हजार १ देखि २ हजार ५ कित्ता धारण गरेका ३ हजार १६९ सेयरधनी रहेका छन् । यस्तै, २ हजार ५१ देखि ५ हजार कित्ता धारण गरेका १ हजार ११६ सेयरधनी, ५ हजार १ देखि १० हजार कित्ता धारण गरेका २८८ सेयरधनी, १० हजार १ देखि २५ हजार कित्ता धारण गरेका १४२ सेयरधनी, २५ हजार १ देखि ५० हजार कित्ता धारण गरेका ३१ सेयरधनी र ५० हजार १ देखि १ लाख कित्ता धारण गरेका १४ सेयरधनी रहेको बैंकले जनाएको छ । बैंकमा ५ जना नेपाली लगानीकर्तासहित ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा विदेशी लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाई लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत लगानी छ । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६.८१ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ३६ हजार ३३८.६९ कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात् २ करोड २० लाख ६८ हजार १६९.३५ कित्ता सेयर स्वामित्व छ । बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ । जसमध्ये शशि अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ताक सेयर स्वामित्व छ । यस्तै, अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता र शंकरलाल अग्रवालको ०.६६ प्रतिशत अर्थात् ६ लाख २० हजार ८९ कित्ता सेयर स्वामित्व रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा रहेको छ । स्ट्याण्डर्ड चार्टड समूहको अभिन्न अंगको रूपमा रहेको बैँकमा नेपाली सर्वसाधारणको २९.७९ प्रतिशत स्वामित्व रहेको छ ।
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आइतबार पुनः अदालतमा पेस गरिँदैछ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ । पछिल्लो पटक कास्की जिल्ला अदालतले ९ मंसिरमा लामिछानेमाथि अनुसन्धान गर्न १५ दिनको समय अवधि दिएको थियो । यो अवधि शुक्रबार राति समाप्त भएपछि प्रहरीले आइतबार अदालतमा म्याद थपका लागि लामिछानेलाई पेश गर्न लागेको हो । गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ । लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसहित सहकारी ठगी प्रकरणमा जोडिएका लीला पछाई, रामबहादुर खनाललगायतकालाई पनि आज अदालतमा पेश गरिने कास्की प्रहरीले जनाएको छ ।
मह बेचेर एक याममा १२ लाख आर्जन
घोराही । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा १२ लाख रुपैयाँको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ । उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । ‘परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्’, किसान मगरले भने, ‘मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।’ उनको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । मौरीपालनबाट उनी वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उनले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताए । उनले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ । साथै उनले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गरेका छन् । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उनले बताए । नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको पाँच सय रुपैयाँ र जङ्गली स्रोतको छ सय रुपैयाँमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ । रासस
सिद्धार्थ बैंकको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित, लाखौं आम्दानी
बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रूपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । ‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु दुई-चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’ तामाङले एउटै बगैँचालाई तीन लाख रूपैयाँसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए । खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीको भनाइ छ । धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको रु एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए । अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महंगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् । रासस
नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरू सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा सुदुर पश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी यस प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिए सँगै सीइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी जनाउने सबै अभिकर्ताहरूलाई धन्यावाद तथा बधाई ज्ञापन गरे। उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुसरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको बताए ।
सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ
काठमाडौं । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । भारतभारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।