विकासन्युज

एप्पलले भारतमा बेच्यो १० अर्ब डलरभन्दा बढी मूल्यका आइफोन, कुन मोडल बढी बिक्री ?

काठमाडौं । एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ । एप्पलले हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ । इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ । भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ । आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम हो । कुन मोडल धेरै बिक्री ? एप्पलले सेप्टेम्बरको त्रैमासिकमा भारतमा ४० लाख फोन बिक्री गरेको थियो । तीमध्ये दुईवटा मोडल धेरै बिक्री भएका छन् । यी मोडलहरू आइफोन १५ र आइफोन १३ हुन् । आईडीसी र काउन्टरपोइन्टका अनुसार एप्पलले २०२४ मा भारतमा १२ मिलियन भन्दा बढी आईफोनहरू पठाउने लक्ष्य राखेको छ । यो वर्ष एप्पलको बिक्रीमा केही पुराना मोडलका फोन बढी संलग्न भए । यसको मुख्य कारण ई-कमर्स प्लेटफर्ममा दिवाली र केही अन्य विशेष अवसरहरूमा दिइएको छुट हो । यी फोनको सेयर बढ्ने एप्पलको उत्कृष्ट प्रदर्शनका कारण बजारमा ३० हजार भारुभन्दा माथिका स्मार्टफोनको सेयर बढ्ने सम्भावना छ । काउन्टरपोइन्टले यो वर्ष ३० हजार भारुभन्दा माथिको ह्यान्डसेटको सेयर १८ प्रतिशतबाट २० प्रतिशतसम्म बढ्ने जनाएको छ ।

साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडलमा बनाइने

काठमाडौं । ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाइने भएको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ । त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ । यसका लागि नेपाली नागरिक र नेपाली नागरिकमात्र प्रवर्द्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिने समेत कम्पनीले जनाएको छ । किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाट हो । जसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ । कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै आइतबार सूचना जारी गरेको छ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । महासंघकाअनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । घटेसँगै आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार हुनेछ । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको थियो ।

बजारमा अत्यधिक तरलता भएपछि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी ७० अर्ब रुपैयाँ बराबरसम्म कबोल गर्न पाउनेछन् । उनीहरूले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत् कबोल गर्नुपर्नेछ । आज प्रशोचन गरेको रकम पुस १४ गते ब्याजसहित फिर्ता हुनेछ । कति ब्याजदरमा राख्ने भन्ने बैंकहरूले नै प्रस्ताव गर्नुपर्छ । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो । यसअघि १९ गते केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्नका लागि आवेदन माग गरेकामा बैंकहरूले जम्मा २४ अर्ब ५ करोडमात्र राख्न इच्छा राखेका थिए । राष्ट्र बैंकका अनुसार निक्षेप कबोलमार्फत् खिचेको रकम हाल केन्द्रीय बैंकसँग २ खर्ब १५ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब ४६ अर्ब रुपैयाँ खिचेको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो । व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ । टिगमा राखिएको बिलहरु अब एआईले नै स्वतः सिस्टममा राखिदिने छ । एआईमार्फत टिगले अकाउन्टिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन खोजेको छ । प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याएको टिगका सीईओ रमेश केसीले बताए । ‘एआई फिचरले समयको मात्रै बचत गर्दैन् । यसले समग्र प्रक्रियालाई नै सहज बनाउने छ,’ उनले भने, ‘टिग एआईले भविष्यको अकाउन्टिङलाई प्रतिनिधित्व गर्दछ । अकाउन्टिङ क्षेत्रलाई रूपान्तरण गर्न हामी एककदम अगाडि बढेका छौं । यसले अकाउन्टेन्टहरूलाई पनि सशक्तिकरण गर्नेछ ।’ प्रयोगकर्ताहरूले टिगमा बिलहरुको  फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विथ एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल  रिड गर्नेछ र आफै स्वत सिस्टममा लेखिदिने छ । अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिने छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीले जनाएको छ । म्यानुअल इन्ट्रीभन्दा टिग एआईबाट बिल इन्ट्री गर्दा ११५ गुणा बढी छिटो हुनेछ । गज्जबको कुरा त, टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ । कम्पनीका अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरिरहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ । प्रयोगकर्तालाई छिटो र सहज सेवा दिने कार्यलाई टिगले सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ । त्यसै अनुसार एआई फिचर ल्याइएको हो । यो सुरूवात मात्र भएको र अकाउन्टिङ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन अझै रूपान्तरणकारी एआई फिचर ल्याएर आउने कम्पनीले प्रतिबद्धता जनाएको छ । टिग क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । देशभर ५ हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको टिग आईएसओ 270001 सर्टिफाइड कम्पनी समेत हो ।

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।

जीडीपीमा ठूलो हिस्सा ओगटेको बंगलादेशको गार्मेन्ट उद्योग संकटमा, भारततिर ‘सिफ्ट’ हुने योजनामा उद्योगी

काठमाडौं ।  बंगलादेशको कपडा (गार्मेन्ट) उद्योग अहिले संकटमा परेको छ । बंगलादेशको कपडा उद्योग चीनपछि विश्वको दोस्रो ठूलो कपडा उद्योग हो । संसारका धेरै ठूला ब्रान्डहरूले आफ्नो कपडा बंगलादेशमा बनाउँछन् वा त्यहाँबाट किन्छन् । यहाँ बनाइएका कपडाहरू संसारको कुना-कुनामा ठूला शोरुममा बेचिन्छन् । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि देशको स्थिति झन् नाजुक बन्दै गइरहेको छ । यसको सबैभन्दा ठूलो असर त्यहाँको कपडा उद्योगमा परेको छ । अहिलेको अवस्था यस्तो बनेको छ कि धेरै कम्पनीहरू बन्द हुने बाटोमा छन् । बंगलादेशको वर्तमान अवस्थालाई हेर्दा विश्वव्यापी ब्रान्डहरू बंगलादेशसँग व्यापार गर्न असहज महसुस गरिरहेका छन् । बंगलादेशको जीडीपीमा ठूलो हिस्सा बंगलादेशको गार्मेन्ट उद्योगको जीडीपीमा ठूलो हिस्सा छ । बंगलादेशको गार्मेन्ट उद्योगले देशको जीडीपीमा ११ प्रतिशत योगदान दिने गर्छ । यस क्षेत्रमा धेरै राजस्व (८० प्रतिशत) निर्यातबाट आउँछ । बंगलादेशको कपडा उद्योगले घाटा बेहोरेमा त्यहाँको आर्थिक अवस्था झन् बिग्रिन सक्ने अनुमान गरिएकाे छ । कामदारले पनि जागिर गुमाउनु पर्ने हुर्ने र बंगलादेशले फेरि ठूलो ऋण लिनुपर्ने सम्भावना पनि देखिएको छ । ठूला ब्रान्डको नजर भारततिर विश्वका धेरै ठूला ब्रान्डहरू अहिले भारतमा नजर लगाइरहेका छन् । इकोनोमिक टाइम्सका अनुसार गुजरातको सूरतमा धेरै कम्पनीले सोधपुछ गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनीहरूले तयारी पोशाकको उत्पादन र आपूर्तिको लागि सोधपुछ गरिरहेका छन् । सम्झौता भएको खण्डमा सूरतको कपडा उद्योगको वृद्धि प्रतिवर्ष १२ प्रतिशतले बढी २०-२५ प्रतिशतसम्म बढ्ने बताइएको छ । सुरतका साथै तमिलनाडुको तिरुपुर र कोइम्बटूर, पञ्जाबको लुधियाना र उत्तर प्रदेशको नोएडाले पनि फाइदा लिनसक्ने जनाइएको छ ।

नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन् : डा. दिवित अधिकारी

काठमाडौं । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेको छ । जति चिसो बढ्दै जान्छ बिरामी पर्नेहरूको संख्या पनि बढ्ने गर्दछ । हाम्रो दैनिक बानी, व्यवहार, आहारविहारले चिसोमा हुने संक्रमणको जोखिम निर्धारण गरिरहेको हुन्छ । हाम्रो सानो हेलचेक्राँई र लापरवाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याइरहेका हुन्छन् । चिसोमा श्वासप्रश्वास सम्बन्धी समस्या र पेट सम्बन्धी समस्या बढी देखिन्छ । उमेरगत समस्या पनि उत्तिकै हुन्छ । गर्भवती, सुत्केरी, नवजात शिशु, साना बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाहरूमा चिसोमा बढी जोखिम हुन्छ । यी सबै अवस्था र उमेरका व्यक्तिहरूको दैनिक हेरचाह र सावधानी अपनाउन सकियो भने चिसोमा हुने संक्रमण र त्यसको जोखिमबाट बचाउन सकिन्छ । अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.दिवित अधिकारीले चिसोमा सावधानी अपनाउनुको सट्टा औषधि खाने चलनले व्यक्तिको स्वास्थ्य जोखिम बढिरहेको बताए । चिसोको बेलामा सबैभन्दा पहिला नाक, कान र घाँटीमा समस्या देखिने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधिको प्रयोग गर्न आग्रह गरे । चिकित्सकको सल्लाह बिनै मेडिकलबाट औषधि ल्याएर खाने चलनले जोखिम बढिरहेको उनको भनाइ छ । नाक, कान र घाँटीको समस्यामा नेपालीहरू सबैभन्दा बढी लापरवाह देखिएको बताए । प्रस्तुत छः डा. दिवित अधिकारीसँग चिसो मौसम र स्वास्थ्य हेरचाहसम्बन्धी गरिएको कुराकानीको सम्पादित अंश । चिसो समय सुरु भएको छ, यसबेला नाक, कान र घाँटीका समस्या बढी देखिन्छन् नि किन ? मैले विगत २२ वर्षदेखि नाक, कान र घाँटीसँग सम्बन्धीत रोगहरूको उपचार गर्दै आइरहेको छु । नाकसम्बन्धी रोगहरूमा नाकबाट सिंगान धेरै बग्ने, हाच्छिउँ आउने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने रोगहरू हुन्छन् । त्यस्तै, कानसम्बन्धी रोगहरुमा कान पाक्ने, कान नसुन्ने, कान चिलाउने र चक्कर लाग्ने जस्ता समस्याहरू हुन्छन् भने घाँटीसम्बन्धी समस्यामा घाँटी सुन्निने लगायतका समस्याहरू हुन्छन् । नाक, कान र घाटीहरु अन्तरसम्बन्धित छन् । जस्तै हाम्रो नाक कानसँग सिधै जोडिएको हुन्छ । यसलाई मस्क्युलर ट्युब भन्छ । त्यही ट्युबले नाकको भागलाई सिधै कानमा लगेर जोडिदिन्छ । अनि कानबाट त्यो कनेक्सन घाँटीमा पनि आउँछ । त्यसकारण नाकको घाँटीसँग सम्बन्ध हुन्छ । मुखको पनि पछि गएर घाँटीमै सम्बन्ध हुन्छ । कान पनि नाकको पछाडिको भागबाट ट्युबको माध्यममबाट घाँटीमा आउने भएको कारणले हामीले यो सबै कुराहरूलाई यसमै राखेर काम गर्छौं । यसलाई इएनटी पनि भन्ने गरिन्छ । नाक, कान र घाँटीका रोगहरू गर्मी याममा बढी देखिन्छन् की जाडो याममा ? जलवायु परिवर्तनले पनि मान्छेमा लाग्ने रोगहरूमा असर गर्दछ । हाम्रोमा रोग भनेकै ब्याक्टेरियलमा हुँदैन । जीवाणुको माध्यमबाट लाग्ने रोग मात्र हुँदैन । एलर्जी पनि एकदमै महत्वपूर्ण हुन्छ । एलर्जी भनेको चिसो धुवाँ र धुलोको माध्यमबाट हुने हो । त्यसैले जब जाडो याम तथा चिसो बढ्दै जान्छ तब नाकको समस्या, घाँटी दुख्ने समस्या र श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै जान्छ । त्यसैगरी गर्मीयाम सुुरु हुने बित्तिकै कान पाक्ने रोग फेरि बढ्दै जान्छ । गर्मीमा मान्छेहरूले धेरै नुहाउने गर्दछन् । त्यसरी नुहाउँदा कानभित्र पानी पर्ने भएका कारण कान पाक्ने रोग बढी मात्रामा देखिन्छ । घाँटी दुख्ने समस्या पनि चिसोभन्दा गर्मी महिनामा बढी देखिन्छ । चिसोको तुलनामा गर्मीमा चिसो खानेकुराहरु खाने भएकाले यस्तो समस्या आउने गर्दछ । जलवायु परिवर्तनले गर्दाखेरि मौसमका आधारमा रोग लाग्ने कुराहरू पनि सम्बन्धित भएका कारणले गर्दा यसले समस्या पारिरहेको छ । पछिल्लो समय संक्रमण बढ्दै गएको हो ? हो, समय मानव स्वास्थ्यमा संक्रमण बढ्दो देखिन्छ । खासगरी कोरोना भाइरस संक्रमणपछि अलि बढेर गएको छ । पहिले—पहिले भाइरल भाइरसहरू कम मात्रामा थिए । अहिले ति भाइरसहरू बढी भएका कारण संक्रमणहरू अझ बढी भएको हामीले देखेका छौं । संक्रमण बढ्दै गएको अनि घातक पनि बनेको देखिन्छ, सामान्य लाग्ने रुघाखोकीमा पनि मान्छे ओछ्यान परेको देखिएको छ ? धेरैजसो संक्रमणको लक्षणहरू कम मात्र देखिने गरेको छ । घातकभन्दा पनि नाक र घाँटीबाट संक्रमण छातीमा गएर श्वासप्रश्वासमा समस्या हुनेकुरा पहिले भन्दा अहिले अलि बढी देखिएको छ । यो के करणले भइरहेको छ । त्यो त अहिलेसम्म हामीले पत्ता लगाउन सकेका छैनौं । कोरोना संक्रमणपछि र पछिल्लो समय बढेको वायु प्रदुषणका कारण श्वासप्रश्वासका रोगीहरू बढेको हामीले देखेका छौं । अहिले रुघाखोकी निको हुन छोड्यो, एन्टीबायोटिक नै खानुपर्छ भन्छन् ? सामान्य रुघाखोकीहरू सामान्य घरेलु उपचारले निको हुन छोडेको छैन । तर पहिलेभन्दा अहिलेका जीवाणुहरू झन् सशक्त भएर आएको जस्तो देखिन्छ । केही बिरामीहरूले यत्रो वर्षसम्म केही भएन एक,दुई वर्षदेखि घाँटी खसखस हुने, रुघा लाग्ने गरेको भनेर अनुभवहरू सुनाउनु हुन्छ । पहिले—पहिले दुई दिनमा रुघाखोकी ठिक हुनेमा अहिले १४ दिनसम्म पनि ठिक भइरहेको छैन भन्नुहुन्छ । त्यसमा इन्फेक्शनको जुन प्याथोजेम भन्छौं हामीले त्यसले भाइरसको भिरोलेन्स अर्थात त्यसको रोगको संक्रमण गराउने क्षमता बढेको हो कि । त्योबारे हामीले रिसर्च त गरेका छैनौं । पहिलेपहिले राइनो अर्थात रुघाखोकी लाग्ने भाइरसले आक्रमण गथ्र्यो । अहिले इन्फ्लुएन्जा भनेर आएको छ । त्यसको संक्रमण अझै व्यापक देखिएको छ अहिले । एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने संक्रमण तिव्र छ, एकै दिनमा धेरै व्यक्तिमा एक व्यक्तिले संक्रमण गराइरहेको देखिन्छ ? अहिले संक्रमण बढ्दो गतिमा छ । पछिल्लो समय जलवायु परिवर्तनको असर पनि बढेर आएको छ । त्यसको कारण एक्सपोजर सबैलाई एउटै हो । तर रोगसँग लड्ने क्षमता एउटा वयस्क पुरुषमा जति छ त्यति महिला, बालबालिका र वृद्धा अवस्थाका मानिसहरूमा कम भएर जान्छ । त्यो क्षमता कम हुने बित्तिकै किटाणु तथा जीवाणुहरुले झन छिटो आक्रमण गर्छ । अर्को इम्युनिटी कम हुने बित्तिकै हाम्रो रोगसँग लड्ने क्षमता पनि हाम्रो घट्यो । त्यसो हुँदा जति समयमा रोग निको हुनुपर्ने हो त्यति समयमा रोग निको हुन पनि पाउँदैन । त्यस कारण वृद्धवद्धा, बालबालिका र गर्भवती महिलाहरूमा अझ तिव्र गतिले बढेको देखिन्छ । यसको रोकथामको लागि हामीले वातावरणीय कुरामा मुख्य ध्यान दिनुप¥यो । पछिल्लो समय काठमाडौंमा तुवाँलो जुन देखिएको छ । धुलो धुवाँबाट बच्नको लागि हामीले मास्कको प्रयोगहरू गर्ने, अनि वायु प्रदुषण कम गर्ने क्रियाकलापहरू गर्ने, चिसोबाट बच्नको लागि न्यानो लुगाहरू लगाउने, मनतातो पानी पिउने गर्नुपर्छ । घरायसी उपचारमा हाम्रो पहिलेदेखिको परम्परा बेसार पानीहरु पिउने लगायत कामहरू गर्न मिल्छ । कुनैपनि रोगका लागि एक, दुई दिन कुर्न खासै समस्या होइन । तर चिकित्सकको परामर्श बिना कुनैपनि मेडिकलमा गएर दिएको औषधि केहिले पनि नखानुहोला । किनभने विदेशमा धेरै अध्ययन तथा अनुसन्धान गरेर यो कुरा पत्ता लगाइएको छ । धेरै ठाउँमा अहिले पनि डाक्टरको पुर्जाबिना त्यत्तिकै अ‍ैषधि कसैले पनि दिदैन । तर नेपालको सन्दर्भमा हामीले मेडिकलमा पुर्जा देखाउँदा पनि त्यहाँ पढेको मान्छे नभएको कारण सामान्य रोगलाई पनि ठूलोठूलो औषधि दिने गरेको छ । त्यसपछि बिरामी ठिक नभएर चिकित्सक कहाँ आइपुग्दा चिकित्सकले कुन औषधि चलाउने भन्ने समस्या हुन्छ । उसले पहिले नै खाएर आइसकेको हुन्छ । त्यस्तो नगर्न आग्रह गर्न चाहन्छु । समय र पैसा खर्च भएपनि चिकित्सकलाई देखएर खाएको औषधि रामो हुन्छ । घरेलु उपचार सामानय कुरालाई एकदुई दिन गर्न मिल्छ । तर कसैको एकदमै छाति दुखेर आयो भने त्यसमा हामी कुर्न मिल्दैन । किनभने त्यस अवस्थामा मुटुको समसया हुनसक्छ । लगातार वान्ता भइरहेको छ भने त्यो राम्रो संकेत होइन । एक दुई दिन घाँटी दुख्नु पनि सामान्य हो तर थुक नै निल्न नसकेको अवस्थामा तुरुन्त चिकित्सक कहाँ आएको राम्रो भन्छु । रुघाखोकी र अन्य रोगको संक्रमण कसरि छुट्याउने, लक्षण कसरि छुट्याउने ? म जहिले पनि फ्लुलाई तीन दिन हेर्नुपर्ने भन्छु । त्यो तीन दिनमा हाम्रो रोगसँग लड्ने क्षमता ठिक छ भने रुघा लाग्ने, हाच्छिउँ आउने, सिंगान आउने, टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने यो सबै घट्ने क्रममा जान्छ । कुनैपनि यी लक्षणहरु २४ देखि ४८ घण्टासम्म नघटेको अवस्थामा त्यो जटिल हुँदै गएको अवस्थाको रुपमा हामीले सोच्नुपर्छ । अनि सम्बन्धित चिकित्सकलाई देखाएको राम्रो हुन्छ । शरीरमा जे कुरा पनि छिर्ने भनेको नाक र मुखबाट नै हो । त्यसका लागि हामीलाई लड्ने क्षमता दिएको छ । त्यसमा हामी माथिबाटै काउण्टर अट्याक गर्छौं । हामीले त्यस आक्रमणको प्रतिरोध गर्न सकेनौं, हाम्रो रोगसँग लड्ने क्षमता ठिक छैन भने त्यसले तल छातिमा गएर असर गर्न सक्छ । बिस्तारै मुटु र पेटमा गएर असर गर्नसक्छ । यी त संवेदनशील अंगहरू भएको कारणले यी अंगहरूमा पुग्नुभन्दा पहिले नै हामी सचेत हुनु राम्रो हो जस्तो लाग्छ । खोकी भनेको छातिको खोकि पनि हुन्छ । घाँटीको खोकी पनि हुन्छ । रुघापन नाकको पनि हुन्छ र मुखतिरको पनि हुन्छ । नाक, मुख र घाँटीमा आउने खोकी जहिले पनि खसखसे खोकी हुन्छ । त्यसमा स्वाँस्वाँ हुदैन । तर कोही मान्छेलाई खोकी पनि लाग्यो । ज्वरो पनि आयो १०२ देखि १०३ डिग्रीको भने त्यसले छातीमा संक्रमण भयो है भनेर जनाउँछ । सामान्य खोकिमा खसखसे खोकी मात्र हुन्छ । तर ज्वरो धेरै आउने र श्वासप्रश्वासमा समस्या आयो भने त्यो चाहीँ छातीमा संक्रमण भएर आएको खोकीको रुपमा बुझ्नुपर्छ । यो अति जटिल समस्या हो भनेर पनि जनाउँछ । त्यही भएर यस्तो अवस्थामा हामी सचेत हुनुपर्दछ । यस कुरामा शहरमा त हामी केही हदसम्म सचेत भएका छौं । ग्रामिण भेगमा त अहिले पनि छैनौं जस्तो लाग्छ । गाउँबाट आउने बिरामीहरू अलिकति सिरियस नै भएपछि मात्र आउनुहुन्छ । शहरमा शिक्षित भएको हुनाले सबैलाई थाहा हुन्छ । अलिकति समस्या हुनासाथ उहाँहरू आउनुहुन्छ । गाउँमा जबसम्म गाह्रो हुँदैन तबसम्म आउँदैनन् । उमेरगत र अवस्था अनुसार कसरि उपचार हेरचाह गर्ने ? रुघाखोकी त सबैभन्दा बढी संक्रमण भएको बच्चा उमेरका मानिसहरूमा देखिएको छ । वयस्क मानिसहरूमा यसको संक्रमण अलिकति कम भएको पाइन्छ । तर कानको समस्या बच्चामा अलिकति कम देखिएको छ । कान पाक्ने समस्याहरू बच्चाभन्दापनि वयस्क मानिसमा मैले देखेकोछु । र घाँटी दुख्ने, टन्सिल हुने समस्याहरू यस्ता समस्याहरू भने बच्चा उमेरको भन्दा वयस्कमा अलि बढी देखेको छु । घाँटी दुख्यो कि उनीहरूले टन्सिल भनेर औषधि दिन्छन् । प्रत्येक घाँटी दुखाई टन्सिल होइन । फ्यारेनजाइटिक्स पनि हुन्छ । यो तीन, चार प्रकारको हुन्छ । यो ब्याटेरियल हुन्छ, भाइरल हुन्छ । टन्सिल भनेको जहिले पनि ब्याक्टेरियल नै हुन्छ । विशेषज्ञ चिकित्सकको नाताले के सन्देश दिन चाहनुहुन्छ ? अन्तिममा सबै नागरिकलाई मेरो सन्देश के छ भने तपाईहरू नाक, कान, घाँटीलाई हेलचेक्र्याँई नगर्नुहोला । यी अंगमा हुने संक्रमणलाई सामान्य रुपमा नलिनुहोला । यसमा हुने संक्रमणले कहिले कहीँ जटिल समस्याहरु पनि सिर्जना हुन सक्छन् । नाक, कान घाँटीलाई मान्छेले केहिले पनि ठूलो रोगको रुपमा लिँदैन । तर यदि यही नाक, कान घाँटीको इन्फेक्सन फैलियो भने टाउको मा जानसक्छ । यसले ठूलो समसया निम्त्याउन सक्छ । कानमा पाकेको पिप टाउकोमा गएर त्यसमा इन्फेक्न गर्नसक्छ । अनि टन्सिल भएर छाती र मुटुमा असर गर्नसक्छ । त्यसैले नाक, कान घाँटीलाई सामान्य रुपमा नलिन म सबैलाई आग्रह गर्न चाहन्छु । समस्या भएको खण्डमा चिकित्सकको सल्लाह लिनुहोला ।