विकासन्युज

गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

काठमाडौं ।  काठमाडौंकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै  थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार उनलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा बम भन्छन्, ‘बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।’ जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् । मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ । डा बम भन्छन्, ‘जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नलिएर आओस् ।’ झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा. बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ । ‘कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बोन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बोन मोनोअक्साइड पोइजनिङ हुन्छ’, उनी भन्छन् । कार्बोन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरु देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरुलाई अनुभव गर्न नपाइ बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउनुहुन्छ । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ । छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ भन्छन्, ‘आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बोन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।’ उनले कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा  भारी हुने, टाउको दुख्ने अनि बेहोस् हुने खालका लक्षण देखिने गरेको बताउँछन्। डा श्रेष्ठ भन्छन्, ‘सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला बाल्नु हुँदैन । पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका  पूर्ण रुपमा बन्द गरेर नुहाउनु हुँदैन ।’ विज्ञकाअनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने ,घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकी प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ । डा श्रेष्ठ भन्छन्, ‘उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।’ धेरै जसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोस पछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभएपनि अक्सिजनको कमीले मष्तिष्कलाई क्षति पुर्‍याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पुर्‍याउँछ । त्यस्तो बिरामी बाँचेपनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ । भने बिरामी श्ययामा बसेर जीवन बिताउने बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा श्रेष्ठको भनाइ छ । चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिनुहुन्छ । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ की छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने उनको सुझाव छ । रासस

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि

काठमाडौं । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्यांक श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भएपनि खुद्रा व्यापार व्यवसायी गुमाएको छ । अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म मात्रै भएको छ । नोभेम्बरमा, निजी गैर–फार्म पेरोल सबै कर्मचारीहरूको औसत प्रतिघण्टा आम्दानी १३ सेन्ट वा ०.४ प्रतिशतले बढेर ३५.६१ अमेरिकी डलर छ । गत १२ महिनामा, औसत प्रतिघण्टा आय ४.० प्रतिशत बढेको थियो ।

एप्पलले भारतमा बेच्यो १० अर्ब डलरभन्दा बढी मूल्यका आइफोन, कुन मोडल बढी बिक्री ?

काठमाडौं । एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ । एप्पलले हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ । इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ । भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ । आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम हो । कुन मोडल धेरै बिक्री ? एप्पलले सेप्टेम्बरको त्रैमासिकमा भारतमा ४० लाख फोन बिक्री गरेको थियो । तीमध्ये दुईवटा मोडल धेरै बिक्री भएका छन् । यी मोडलहरू आइफोन १५ र आइफोन १३ हुन् । आईडीसी र काउन्टरपोइन्टका अनुसार एप्पलले २०२४ मा भारतमा १२ मिलियन भन्दा बढी आईफोनहरू पठाउने लक्ष्य राखेको छ । यो वर्ष एप्पलको बिक्रीमा केही पुराना मोडलका फोन बढी संलग्न भए । यसको मुख्य कारण ई-कमर्स प्लेटफर्ममा दिवाली र केही अन्य विशेष अवसरहरूमा दिइएको छुट हो । यी फोनको सेयर बढ्ने एप्पलको उत्कृष्ट प्रदर्शनका कारण बजारमा ३० हजार भारुभन्दा माथिका स्मार्टफोनको सेयर बढ्ने सम्भावना छ । काउन्टरपोइन्टले यो वर्ष ३० हजार भारुभन्दा माथिको ह्यान्डसेटको सेयर १८ प्रतिशतबाट २० प्रतिशतसम्म बढ्ने जनाएको छ ।

साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडलमा बनाइने

काठमाडौं । ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाइने भएको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ । त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ । यसका लागि नेपाली नागरिक र नेपाली नागरिकमात्र प्रवर्द्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिने समेत कम्पनीले जनाएको छ । किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाट हो । जसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ । कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै आइतबार सूचना जारी गरेको छ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । महासंघकाअनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । घटेसँगै आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार हुनेछ । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको थियो ।

बजारमा अत्यधिक तरलता भएपछि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी ७० अर्ब रुपैयाँ बराबरसम्म कबोल गर्न पाउनेछन् । उनीहरूले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत् कबोल गर्नुपर्नेछ । आज प्रशोचन गरेको रकम पुस १४ गते ब्याजसहित फिर्ता हुनेछ । कति ब्याजदरमा राख्ने भन्ने बैंकहरूले नै प्रस्ताव गर्नुपर्छ । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो । यसअघि १९ गते केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्नका लागि आवेदन माग गरेकामा बैंकहरूले जम्मा २४ अर्ब ५ करोडमात्र राख्न इच्छा राखेका थिए । राष्ट्र बैंकका अनुसार निक्षेप कबोलमार्फत् खिचेको रकम हाल केन्द्रीय बैंकसँग २ खर्ब १५ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब ४६ अर्ब रुपैयाँ खिचेको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो । व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ । टिगमा राखिएको बिलहरु अब एआईले नै स्वतः सिस्टममा राखिदिने छ । एआईमार्फत टिगले अकाउन्टिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन खोजेको छ । प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याएको टिगका सीईओ रमेश केसीले बताए । ‘एआई फिचरले समयको मात्रै बचत गर्दैन् । यसले समग्र प्रक्रियालाई नै सहज बनाउने छ,’ उनले भने, ‘टिग एआईले भविष्यको अकाउन्टिङलाई प्रतिनिधित्व गर्दछ । अकाउन्टिङ क्षेत्रलाई रूपान्तरण गर्न हामी एककदम अगाडि बढेका छौं । यसले अकाउन्टेन्टहरूलाई पनि सशक्तिकरण गर्नेछ ।’ प्रयोगकर्ताहरूले टिगमा बिलहरुको  फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विथ एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल  रिड गर्नेछ र आफै स्वत सिस्टममा लेखिदिने छ । अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिने छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीले जनाएको छ । म्यानुअल इन्ट्रीभन्दा टिग एआईबाट बिल इन्ट्री गर्दा ११५ गुणा बढी छिटो हुनेछ । गज्जबको कुरा त, टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ । कम्पनीका अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरिरहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ । प्रयोगकर्तालाई छिटो र सहज सेवा दिने कार्यलाई टिगले सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ । त्यसै अनुसार एआई फिचर ल्याइएको हो । यो सुरूवात मात्र भएको र अकाउन्टिङ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन अझै रूपान्तरणकारी एआई फिचर ल्याएर आउने कम्पनीले प्रतिबद्धता जनाएको छ । टिग क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । देशभर ५ हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको टिग आईएसओ 270001 सर्टिफाइड कम्पनी समेत हो ।

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।