ह्याविट्याट पावरले माग्यो आईपीओको अनुमति
काठमाडाैं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रुपमा चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मेवा क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आवको चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कम्पनीका अनुसार आयोजनाको प्रति मे।वा। लागत रु १९ करोड मात्र रहेको छ ।
दुई डाक्टर मिलेर बनेको अस्पतालको आम्दानी २ अर्ब, १२८ प्रतिशतको ग्रोथ
काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालले राम्रो आम्दानी गरेको देखिएको छ । सन् १९९४ देखि सेवा सुरु गरेको यस अस्पतालले चालु आर्थिक वर्षको यो अवधिसम्म करिब २ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको हो । यस अस्पतालले २०२४ को हालसम्म १ अर्ब ९५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन हालसम्मकै उच्च हो । अस्पतालले २०२३ मा १ अर्ब ४२ करोड ६० लाख रुपैयाँ, २०२२ मा १ अर्ब ३२ करोड ७० लाख र २०२१ मा ९४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको तथ्यांकबाट देखाउँछ । यस अस्पतालले २०२० मा ८५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पाँच वर्षको अवधिमा यस अस्पतालको आम्दानी निरन्तर वृद्धि हुँदै गएको देखिन्छ । २०२० को तुलनामा यस अस्पतालको सञ्चालन आम्दानी अहिले १२८ प्रतिशतले बढेको छ । ४ दशकअघि देशको सेवा गर्न नेपाल फर्किएका डा. जगदिशलाल वैद्य र डा.अशोककुमार बास्कोटाले मिलेर खोलेको यस अस्पतालले सेवा सुविधा पनि बढाउँदै लगेको छ । बी एण्ड बी अस्पतालको नाम दुवैको थरबाट राखिएको थियो । बी अर्थात् बास्कोटा र वैद्य । डा. वैद्यले शल्य चिकित्सामा विशेषज्ञ हुन् भने डा.बास्कोटा बाल विशेषज्ञ हुन् । बास्कोटा अर्थोपेडिक सर्जन हुन् । बी एण्ड बी अस्पताल बहु-विशेषताले भरिएको अस्पतालसमेत बनेको छ । जहाँ विभिन्न प्रकारका उपचारहरू हुने गर्छन् । यस अस्पतालले १ अर्ब बढी ऋणका लागि रेटिङ पनि गराएको छ । अस्पतालले ए फोर प्लसको रेटिङ पाएको छ ।
गोर्खाज फाइनान्सबाट बाहिरिए स्वतन्त्र सञ्चालक र कम्पनी सचिव
काठमाडौं । गोर्खाज फाइनान्सबाट स्वतन्त्र सञ्चालक र कम्पनी सचिव बाहिरिएका छन् । कम्पनीका स्वतन्त्र सञ्चालक प्रविण भट्टराईले व्यक्तिगत कारण देखाई मंसिर २३ गते दिएको राजीनामा सोही दिन स्वीकृत गरेको छ । यस्तै, कम्पनीबाट कम्पनी सचिव मुकुन्द श्रेष्ठले दिएको राजीनामा पनि २३ गते नै स्वीकृत भएको छ । श्रेष्ठको राजीनामासँगै संस्थाका वरिष्ठ प्रबन्धक दिपक न्यौपानेलाई साेमबारदेखि लागू हुनेगरी जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।
कांग्रेसले गण्डकीको सांसदमा सुनिता थापाको नाम अनुमोदन गर्यो
काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिकाे बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए । ‘समानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्यो,’ महतले भने ।
रवि लामिछानेलाई पर्सा लगिँदै
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।
हुन्डाई नेपालको ‘डिसेम्बर डिलाइट’ अभियान सुरु, ६ लाख रुपैयाँसम्मको छुट
काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि डिसेम्बर ‘डिसेम्बर डिलाइट’को अभियान सुरु गरेको छ । मंसिर ३० सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । ‘डिसेम्बर डिलाइट’अन्तर्गत ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ग्राहकहरूले जिरो कस्ट अनरसिप प्लानअन्तर्गत आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुन लागेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपालपे) बीच भएको सम्झौताअनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको हो । सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपालपे क्युआर लिएका यस बैंकका मर्चेन्टहरूले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने छन् । नेपालपे क्युआर हालसम्म नलिएका ग्राहकहरूले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । खासगरी चीन, थाइल्याण्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा इटालीलगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरूबाट आएका पर्यटकहरूले आफ्नो देशको विभिन्न वालेटमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरबाट बैंकले सेवा दिँदै आइरहेको छ ।
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरु, अब ग्राहकले रोजेको समयमै सेवा
काठमाडौं । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको केन्द्रीय कार्यालय, तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको बताए । ‘हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौं । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्नेछ,’ ढुंगानाले भने । नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन् । नगद र चेक कारोबारजस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ । सुरुवातदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंक लिमिटेडले ग्राहकको अनुभवका आधारमा नयाँ–नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ । अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटलाइजेसन अन्तर्गतकै नयाँ आयमको रूपमा लिइएको छ । यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैंकले जनाएको छ । समय व्यवस्थापनका लागि उपयुक्त यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरू र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रूपमा डिजाइन गरिएको हो । सहज बुकिङ प्रक्रियाः ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन् । ग्राहकले बैंकमा जानुअघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ। नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।