नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं । चितवनमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोबाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा वृहत छलफल भएको थियो । छलफलमा प्रदेशहरूको संरचनाअनुसार नाडालाई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा र खुल्ला बोर्डरले पारेको समस्याहरूको विषय उठान भएको थियो । यस्तै, व्यवसायीहरूको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिँदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरू बीचको समस्याका सम्बन्धमा, हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्ट्सहरूको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरूका सम्बन्धमा र चितवन अटोमोबाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरूमा क्रमबद्ध रूपमा छलफल गरिएको नाडाले जनाएको छ । कार्यक्रमको अन्त्यमा नाडाका निबर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए । कार्यक्रममा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दीपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, चितवन अटोमोवाइल्स एशोसिएशनकातर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, हेटौंडा अटोमोबाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दीपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो । त्यस्तै, चितवन अटोमोबाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कुल ३९ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम सञ्ञ्चालन केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले गरेका थिए । यस किसिमका कार्यक्रमहरूले नाडा र नाडा प्रदेश एशोसिएशनहरू बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको जनाइएको छ ।
श्रीनगरमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामाडा एन्कोर बाई विन्धम श्रीनगर राजबाग होटल’
भारत । काश्मिरको राजबागमा ‘रामाडा एन्कोर बाई विन्धम श्रीनगर राजबाग होटल’को उद्घाटन भएको छ । होटल तथा विकास कम्पनी अल हबीब एम्पोरियोले सोमबार उक्त होटलको उद्घाटन भएको जानकारी दिएको हो । होटल विश्वकै सबैभन्दा ठूलो होटल फ्रेन्चाइज कम्पनी ‘विन्धम होटल्स एण्ड रिसोर्ट्स’ सँगको साझेदारीमा सञ्चालन गरिएको हो, जसले ९५ भन्दा बढी देशमा ९ हजार २०० भन्दा धेरै होटलहरू सञ्चालन गर्दै आइरहेको छ । यो होटल श्रीनगरको झेलम नदीको किनारमा अवस्थित छ । होटल प्रसिद्ध डल झीलबाट २.५ किमी र श्रीनगर विमानस्थलबाट १२.५ किमी टाढा छ । यस होटलमा ४८ आधुनिक कोठाहरू छन् । यसमा लबी लाउन्ज, अल-डे डाइनिङ सुविधा, स्विमिङ पुल, फिटनेस सेन्टर, इभेन्ट स्पेस र व्यापारिक केन्द्रजस्ता सुविधा उपलब्ध छन् । श्रीनगर प्राकृतिक वातावरण, विभिन्न बगैंचा, जलमार्ग र हाउसबोटहरूका लागि प्रसिद्ध छ । विन्धम होटल्स एण्ड रिसोर्ट्सका अध्यक्ष डिमिट्रिस म्यानिकिसले भारतमा आफ्नो उपस्थिति बलियो बनाउन होटल खोलेको बताए ।
रवि लामिछानेलाई वीरगञ्ज लगियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ । यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ । त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ । लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ ।
इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताए । प्रचण्ड अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे । संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रश्तावहरु पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए । ७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरुले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले सुरु गर्यो हेल्लो हेल्थ, नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं,’ मन्त्री पौडेलले भने, तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’ अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी, भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ । यसैगरी, इमेलमार्फत हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ । मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेल्लो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो । मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् । यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरू माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार अध्यक्ष सिलवालविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो । ‘अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुनपर्ने,’ भन्दै मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिलवालले पर्साबाट लिएको नागरिकता र काठमाडौंबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रुपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले जारी गरेको विज्ञप्ति : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुन भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौवाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी Diploma तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोवाट निज प्रतिवादीले मिति २०१५।०४।१५ लाई नै जन्म मिति कायम/स्वीकार गरे/गराएको, निजामती सेवामा नै वहाल रहेको अवस्थामा निज प्रतिवादीले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न निज स्वंयले भरेको PASSPORT APPLICATION FORM मा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्म मिति २०१८।०७।२४ (०९ Nov.१९६१) कायम गरेको देखिएकोले निज प्रतिवादीले आफ्नो वास्तविक जन्ममिति भन्दा करिव ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको। बीमा समितिको अध्यक्ष नियुक्ति गर्ने सम्वन्धमा अर्थ मन्त्रालयले साविकको बिमा समितिको अध्यक्षको पदमा निजलाई नियुक्तिको प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गर्दा नै उल्लेख भएको अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिवन्धात्मक वाक्यांशसमेत वमोजिम नियुक्ति दिने गरी भएको प्रस्ताव नै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।१०।१९ गते स्वीकृत भई सोही मापदण्ड उल्लेख गरी अर्थ मन्त्रालयले निजलाई बिमा समितिको अध्यक्ष पदको नियुक्ति पत्र दिएको, उक्त मापदण्डको दफा ५ को प्रतिवन्धात्मक बाक्यांशमा “पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुनेछ” भनि स्पष्ट कानूनी व्यवस्था रहेको देखिएकोमा सो कानूनी व्यवस्थालाई स्वीकार गरी निजले मिति २०७७।१०।२२ स्वःघोषणा तथा शपथ ग्रहण गरी पद स्वीकार गरेवाट निज सूर्य प्रसाद सिलवाल Ipso facto (स्थापित तथ्यका आधारमा) मिति २०८०।०४।१५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानी जानी सो ओहदामा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा निज प्रतिवादीको उक्त कार्यहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर गरे भएको पुष्टि भएको, यसैगरी निजले मिति २०७७।१०।२० गते बिमा प्राधिकरणको अध्यक्षमा राष्ट्रसेवकको रुपमा नियुक्ति पाउन आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतमा आफ्नो जन्म मिति २०१६।०७।२२ को जन्म मिति हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेश गरेको, उमेर ढाँटी/झुट्टा विवरणको वैयक्तिक विवरण पेश गरी, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहिनै रहेको, निजले आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी आँफूलार्इ हुँदा हुँदै आफ्नो उमेर ढाँटी मिति २०१८।०७।२४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिव ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेश गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सवूद प्रमाणबाट पुष्टी भइरहेको देखिदा निज प्रतिवादीको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित एवं निषेधित कसूर समेत गरे भएको देखियो। यसर्थ; नेपाल बिमा प्राधिकरणको अध्यक्षको रुपमा कार्यरत निज प्रतिवादी सूर्य प्रसाद सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण/व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको पुष्टि भएकोवाट निज सूर्य प्रसाद सिलवालको उक्त कार्यहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन, नेपाल बिमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद-२ (भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदावी बमोजिमको कसूर गरेको हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवाललार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र निज प्रतिवादी सूर्य प्रसाद सिलवालले मिति २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम रु.३६,६२,१५४।१६(छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६२ करोड बढीको कारोबार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको छ । सोमबार ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । यस्तै, ३१७ वटा कम्पनीको १ करोड १५ लाख सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनआरएनको ३५ करोड २७ लाख रुपैयाँ बढीको करोबार भएको छ । हिमालयन डिस्टीलरीको २७ करोड ९१ लाख रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको १२ करोड, ४६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको ११ करोड १७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, आज ५ वटा उपसमूह बाहेक अरू सबै राताम्मे रहेका छन् । फाइनान्स उपसमूहको ०.०५ प्रतिशत, लगानी उपसमूहको ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०६ प्रतिशत, म्युचल फन्डको ०.१४ प्रतिशत र अन्य उपसमूह ०.११ प्रतिशतले बढेको छ । सोमबार श्वाभिमान लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।
चार महिना बित्दा पनि सरकारले भासिएको खाल्डो पुर्न सकेन, बेहालमा कमलादी र दरबारमार्ग
काठमाडौं । काठमाडौंको सबैभन्दा प्रिमिय ठाउँ दरबारमार्गको निकास र प्रवेशद्वारको बीचमा छ- काठमाडौं प्लाजा । नेपालको अधिकांश वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालय रहेको ठाउँ कमलादी पनि यही ठाउँमा पर्छ । ठूल्ठूला कर्पोरेट कार्यालयहरू कमलादीमै छन् । देशकै सबैभन्दा ठूला महानगरपालिका काठमाडौं महानगरपालिकाको कार्यालय पनि त्यही काठमाडौं प्लाजामा छ । तर, काठमाडौं प्लाजाको आँगनमै रहेको सडक भाँसिएको चार महिना अर्थात् १२० बितिसक्दा पनि अहिलेसम्म बन्न सकेन । यो भासिएको खाल्डोले हाम्रो विकास संयन्त्र कति कमजोर र दलदलमा फँसेको छ भन्ने विषयको चित्र प्रष्ट पारेको छ । सडक गत साउन २५ गते भासिएको थियो । सडक सञ्चालनमा आउन अझै केही दिन लाग्न सक्ने देखिएको छ । काठमाडौंको मुख्य ठाउँको एउटा खाल्डो पुर्न यति धेरै समय लाग्छ भने देशका कुनाकन्दरामा सडक बनाउन कति समय लाग्छ होला ? कमलादीको सडकको एउटा खाल्डो पुर्न यति धेरै समय किन लाग्यो ? यो समाचारमा हामीले यस जिज्ञासाको जवाफ खोजेका छौं । भासिएको सडक लामो समयसम्म नबन्दा दरबारमार्ग-कमलादी हुँदै चल्ने सवारीसाधनले सास्ती खेप्दै आएका छन् । पैदलयात्रीले पनि त्यस्तै दुःख पाउनु परेको छ । कर्पोरेट क्षेत्रले भरिएको ठाउँमा भासिएकै सडकको कारण व्यापार व्यवसाय पनि ठप्प रहेको व्यवसायीले गुनासो गरेका छन् । सडककै कारण अहिले सो क्षेत्र सुनसान बन्ने गरेको छ । सडक डिभिजन काठमाडौंका इन्जिनियर खगेन्द्र जोशीले सडक निर्माण सम्पन्न भइसकेको तर फुटपाथको काम बाँकी भएकाले सडक सञ्चालनमा ल्याउन समय लागेको बताए । ‘सडक निर्माणको काम सम्पन्न भइसकेको छ, अब फुटपाथ बनाउने, रेलिङ हाल्ने र कलर गर्न मात्रै बाँकी छ, अबको दुई चार दिनपछि बाटो खुल्छ,’ उनले भने ।’ सडक विभागले दुई महिनामा काम सक्नेगरी डीजी प्रकाश कन्सक्ट्रक्सनलाई सो सडक बनाउन जिम्मा दिएको थियो । यो सडक निर्माणको लागि सडक विभागले भदौको पहिलो साता ठेक्का आह्वान गरेको थियो । जसमा सडक निर्माणको लागि डिजी प्रकाश कन्सक्ट्रक्सनले ठेक्का पाएको थियो । डिजी कन्सक्ट्रक्सनले ४९ लाख ६३ हजार ६९४ रुपैयाँमा ठेक्का पाएको हो । सम्झौताअनुसार गत असोज १८ गतेबाटै काम सुरु हुनुपर्थ्यो । तर, ढिला गरी काम सुरु भयो । निर्माण कम्पनीले कार्तिक ४ गतेबाट मात्रै काम सुरु गरेको थियो । ठेक्का पाएलगत्तै दशैं सुरु भएको हुँदा त्यसपछि मात्रै काम सुरु भएको डिजी कन्सक्ट्रक्सनको भनाइ छ । निर्माण पक्षले खोलाभित्रको काम ढिलागरी सुरु भएपनि त्यसभन्दा बाहिरको काम भने निर्धारित समयअनुसार नै सुरु भएको दाबी गरेको छ । ‘हामीले सडक निर्माण सम्पन गरी मंसिर १७ गते नै सडक विभागलाई हस्तान्तरण गर्याैं, विभागले फुटपाथको बाँकी काम पनि हामीलाई जिम्मा दिएको हुँदा त्यसलाई पनि निर्माण गर्दैछौं, अब काम लगभग सकिएको छ,’ कन्सक्ट्रनका कुशव ढुंगानाले भने । ठेक्का प्रक्रिया नै लामो हुने हुँदा सडक निर्माण ढिला सम्पन्न भएको उनको भनाइ छ । ‘भत्केको लामो समयमसम्म नबन्नुमा प्रक्रिया ढिला भएर हो । भत्किसकेपछि ठेक्काको प्रक्रिया हुन्छ, ठेक्का पाएपछि मात्रै काम सुरु हुने हो, यसले ढिला भएको हो ।’ किन समयमै बन्दैनन् सडक ? काठमाडौं उपत्यकाभित्रैको कुरा गर्ने हो भने धेरै स्थानमा अहिले पनि खाल्डाखुल्डी छन्, जुन निर्माण हुन सकेका छैनन् । उपत्यका जहाँ दिनमा लाखौंको संख्यामा सवारीसाधन आवतजाव हुन्छ । समयमै आयोजनाहरू सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपर्छ नै साथसाथै राज्यले पनि ठूलो आर्थिक घाटा बेहोर्नुपर्ने हुन्छ । उपत्यकालाई छाडेर त्यसभन्दा बाहिरका सडकको स्थिति झन् नाजुक छ । ती सडकहरु वर्षौसम्म नबनेका थुप्रै उदाहरणहरू छन् । पूर्वाधारविद् रामबहादुर घिमिरे लगानीको सुनिश्चिता नहुनु, बजेटिङको समस्या र काम गर्ने प्राविधिक दक्ष टिम नहुँदा सडक आयोजनाहरू ढिला गरी सम्पन्न हुने गरेको बताउँछन् । अर्को कारण निर्णय प्रक्रियाहरू पनि झन्झटिलो भएको हुँदा ढिला हुने पूर्वाधारविद घिमिरेको भनाइ छ । ‘आयोजना निर्माण हुनुअघि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, जुन विभिन्न निकाय भएर निर्णय हुन्छ । स्थानीय सरकार, प्रदेश, विभाग, अर्थमन्त्रालय सबैतिर जाँदा प्रक्रिया लम्बिन्छ । जसले समयमै सम्पन्न हुँदैन । जसले गर्दा निर्माणको लागत पनि बढेर जान्छ,’ उनले भने । समयमै निर्माण आयोजना सम्पन्न नहुँदा त्यसको असर देशको अर्थतन्त्रमा पर्ने उनको भनाइ छ । ‘काठमाडौं उपत्यकामा विभिन्न उद्देश्यले देशभरबाट मान्छेहरू आएका हुन्छन्, यही उपत्यकाभित्र आधा घण्टामा पुग्ने बाटो निर्माण नहुँदा २ घण्टा लाग्ने बाटो भएर यात्रा गर्नुपर्ने हुन्छ, यसले एकातिर समयको खर्च हुन्छ, अर्को धुलो धुँवाले स्वास्थ्यमा ठूलो असर पर्न जान्छ,’ पूर्वाधारविद घिमिरेले भने । समयमै सडक निर्माण सम्पन्न नहुने अर्को कारण मल्टिपल-अपरेटर हो । सिंगल अपरेटर बनाउन सके समयमै आयोजना सम्पन्न हुन सहज हुने उनी बताउँछन् । त्यसबाहेक समयमै भुक्तानी नहुँदा काम सक्न समय लाग्छ । काम गर्ने टिम पनि गुणस्तरीय र अनुभवी हुनुपर्छ । ‘नेपालमा दक्ष प्राविधिक जनशक्ति कम भएको पूर्वाधारविद घिमिरे बताउँछन् । निर्माण आयोजनामा सिकारु कर्मचारी हुन्छन् । तर, उपकण सञ्चालक त्यहीअनुसार राख्नुपर्छ । त्यसो भयो भने आयोजना छिटो सम्पन्न हुन्छ,’ उनले भने । पूर्वाधारविद् श्रीराम ढकाल बिग्रेका, भत्केका या नयाँ सडक निर्माण समयमै सम्पन्न हुन नसक्नुमा संरचनात्मक समस्यालाई जोड दिन्छन् । पूर्वाधार विकास प्रणालीमा भएको संरचनात्मक समस्या समाधान हुन सके सडक आयोजनाहरू समयमै निर्माण हुने उनको भनाइ छ । ‘चाहेर पनि समयमै सडक निर्माण सम्पन्न गर्न नसक्नु हाम्रो संरचनाले असर गरेको छ । भत्केका, बिग्रेका मर्मतसम्भार समयमै गर्न प्रणालीको विकास हुनुपर्छ,’ उनले भने, ‘यस्ता भत्केका सडक मर्मतसम्भारको प्रक्रिया पनि अलि लामो नै हुन्छ । हामीसँग खरिद ऐन अन्तर्गत सम्बन्धित निकायले काम गर्न ठेक्का आह्वान गर्छन् । ठेक्का आह्वानमा पनि समय लाग्छ । ठेक्का पाउनेले पनि चुस्त दुरुस्त बनाउँछ भन्ने प्रणाली छैन ।’ पूर्वाधारविद् ढकाल मर्मत सम्भारका आयोजनाहरू तत्काल सम्बोधन गर्न त्यहीअनुसारको फ्रेमवर्क बनाउनुपर्ने र प्राथमिकताको आधारमा काम गर्दा यस्ता समस्या सम्बोधन हुने विचार राख्छन् । उनका अनुसार विश्वमा यस्तो अभ्यास भएपनि नेपालमा भने परम्परागत प्रणाली नै अपनाउँदै आएका छन् । यसबाहेक पूर्वाधारविद ढकाल समयमै नियमन तथा समन्वय नगर्दा आयोजना ढिला हुने बताउँछन् । प्रणालीको विकास गर्ने, सम्झौता मोडल स्मार्ट बनाएर सक्षम तथा दक्ष जनशक्तिले काम गर्ने हो भने समस्या विस्तारै हल हुँदै जाने उनको भनाइ छ ।