सुविधासम्पन्न ‘ईकुटर ई थ्री’ सार्वजनिक, मूल्य २ लाख २५ हजार
काठमाडौं । जिरो इमिसन राइड एनले नयाँ स्कुटर ‘ईकुटर ई थ्री’ सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ईकुटर ई थ्री सार्वजनिक गरिएको हो । २०१७ मा स्थापना भएको इकुटरले इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । यो स्कुटरमा नवीनतम प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री यातायात संयोजन रहेको छ । ईकुटर ई थ्रीले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्रा समाधान प्रदान गर्ने जीरो इमिसन राइड एनले जनाएको छ । १ हजार ५०० वाट रेटेड मोटर पावर र ३ हजार वाट पिक पावर रहेको ईकुटर ई थ्रीले १२ डिग्रीसम्मको उकालो सजिलै पार गर्न सक्छ । यसमा एक पटक चार्ज गर्दा १००-१२० किमी सजिलै यात्रा गर्न सकिने आयोजकले जनाएको छ । यसैगरी ५/६ घण्टामै ब्याट्री फूल चार्ज हुन्छ । ब्याट्रीको वारेन्टी २० हजार किमी अथवा दुई वर्षसम्म रहेको छ । ईकुटर ई थ्रीको मोटरमा दुई वर्षको वारेन्टी पनि रहेको छ । यसैगरी, यसमा रेजेनेरेटिभ ब्रेकिङ, क्रूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, डबल डिस्क ब्रेक, एन्टी थिप्ट अलार्म, ह्वील लक र एलसीडी डिस्प्ले पनि उपलब्ध रहेको छ । इकुटर ई थ्रीको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ । जिरो राइड इमिसन एन नेपालमा लुयुआन इलेक्ट्रिक स्कूटरको एकमात्र वितरक हो । सारथी ईकुटर नेपालमै पूर्ण रूपमा असेम्बल गरिँदै आएको छ ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत काठमाडौं ओपन भोलिदेखि सुरु, प्रथम पुरस्कार १ लाख २५ हजार
काठमाडौं । सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिताको रूपमा ‘सूर्य नेपाल काठमाडौं ओपन’ हुन लागेको हो । प्रतियोगिता भाेलि बिहान साढे १० बजे रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ । ७२ होलमा खेलिने प्रतियोगिता शुक्रबार समाप्त हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजकका अनुसार प्रतियोगितामा ३२ जना पेशेवर र १२ जना अमेच्योर खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्, जहाँ ३६ होलपछि कट हुनेछ । शीर्ष २१ पेशेवर खेलाडीहरू (टाइ हुनेहरू समेत) र पेशेवर कट पार गर्ने अमेच्योर खेलाडीहरूले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि मैदानको अवस्था विशेष रूपमा सुधारिए आयोजकले जनाएको छ। प्रतियोगितामा कुल पुरस्कार राशि ७ लाख ३५ हजार ५०० रुपैयाँ रहेको छ । विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् भने द्वितीयले ८५ हजार र तृतीयले ६८ हजार रुपैयाँ जित्नेछन् । यसैगरी, चौथो र पाँचौं हुनेले क्रमशः ५५ हजार र ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी शीर्ष २१ खेलाडीहरूले पनि पुरस्कार राशि बाँड्नेछन् । डिफेन्डिङ च्याम्पियन्स निरज तामाङ, नेपालको नम्बर एक गल्फर भुवन नगरकोटी, अनुभवी पेशेवर खेलाडीहरू रवि खड्का र दिनेश प्रजापति प्रतियोगिताका प्रमुख दाबेदार हुन् । उनीहरूलाई अमेच्योर खेलाडीहरू जस्तै राहुल विश्वकर्मा र नेपालका नम्बर एक अमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अपेक्षा गरिएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा धेरै खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन देख्ने आशा गरेको बताए । उनले प्रायोजक सूर्य नेपाललाई निरन्तर समर्थनका लागि धन्यवाद पनि दिएका छन् । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका थिए ।
घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
झापा । संघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उनले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पुर्याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताए । दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्त्व हुने हुँदा स्वच्छ तथा सुलभ ढंगले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पारे । जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उनले भने, ‘अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।’ खानेपानी आयोजनामा उपभोक्तासहित संघीय सरकारको करिब रु. ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ । नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार पाँच सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिए । सो आयोजना आर्थिक वर्ष २०७६/७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उनको भनाइ थियो । यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताए ।
विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १ सय ५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेमा आधा किलो सुनसहित २ जना पक्राउ
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।
देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार दृढ छ : गृहमन्त्री लेखक
सुर्खेत । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले साेमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताए । देशमा स्थायी सरकार आवश्यक परेका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु रहेको बताए । ‘देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ’, गृहमन्त्री लेखकले भने ‘मूलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई/दुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,’ उनले भने ‘सरकार अत्यन्त अस्थिर हुँदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढंगले अगाडि बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको शासनमा प्रतिकुल असर पर्न थाल्यो ।’ समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरिरहेको उनले उल्लेख गरे । आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताए । कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।’ कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उनले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाए ।
उद्योगीले सिमेन्टको मूल्य २०० रुपैयाँले बढाएपछि निर्माण व्यवसायी आक्रोशित, सरकारले खोज्यो मूल्यसूची
काठमाडौं । सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य बढाएपछि निर्माण व्यवसायी आक्रोशित भएका छन् । समस्यामा रहेको बेला उत्पादकले कार्टेलिङ गरेको सिमेन्टको मूल्य बढाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । निर्माण व्यवसायीले निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छलफलमा बोलाएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफल गरेको थियो । सो छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् । सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरू थप अन्यायमा परेको उनको भनाइ छ । छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढ्दा यसले ठूलो समस्या सिर्जना गरेको उनको धारणा छ । सरकारले निर्माण व्यवसायी र उद्योगीसँगको छलफलपछि सिमेन्टको मूल्यसूची माग गरेको छ । सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले विभागमा धेरै उजुरी परेपछि मन्त्रालयमा व्यवसायीहरूसँग छलफल गरिएको जानकारी दिए । उनले निर्माण व्यवसायीको उजुरीका आधारमा के कारणले मूल्य बढाइएको हो, त्यसको कारणसहित मूल्यसूची पेस गर्न निर्देशन दिइएको छ ।
ह्याविट्याट पावरले माग्यो आईपीओको अनुमति
काठमाडाैं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रुपमा चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मेवा क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आवको चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कम्पनीका अनुसार आयोजनाको प्रति मे।वा। लागत रु १९ करोड मात्र रहेको छ ।