लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलुकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी, होटलका कोठाहरू भरिभराउ
काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपालि दोस्रो पटक आएका छन् । ‘यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्टिकको समस्या दोहरिन नदिन यसपालि पनि आएको उनले बताए । उनले भने, ‘तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महसुस गरेको छु ।’ धवलागिरि गाउँपालिका-३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएका आइतबार ६ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुँदै गएको उनले अनुभव गरे । चितवनको भरतपुरकी चमेली घर्ती क्षेत्री पछिल्लो १० वर्षयता नियमित रुपमा वर्षको एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्छिन् । ‘खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक बर्ष तातोपानी डुब्न आउने गरेकी छु,’ उनले भनिन्, ‘तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जान-आउन लाग्ने समय र औषधी किन्दा हुने खर्चको बचत भएको छ ।’ चालिसे, पुन र घर्ती क्षेत्री जस्तै धेरै सर्वसाधारणहरूको लागि तातोपानी कुण्ड बरदान बनेको छ । वार्षिक २० हजार जना भन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरू प्राकृतिक उपचारका लागि आउने गरेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए । ‘म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरे नुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘बिरे नुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्टिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।’ महिला र पुरुषको लागि स्नानका लागि फरक/फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कामा नसर्ने सचिव केसीले बताए । एक पटकमा २५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ । छोटो समय स्नान गर्नेहरूका लागि अर्को पोखरी बनाइएको छ । एकान्तमा स्नान गर्नेहरूका लागि उपल्लो बजार नजिकै अर्को पोखरी पनि सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले बेरेर शरीरलाई न्यानो बनाउने गरिन्छ । पोखरीमा स्नानका साथै तातोपानी सेवन पनि गर्ने चलन छ । हिजोआज दैनिक १ हजार २ सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताइन् । ‘बिहान ५:३० देखि साँझ ५:३० बजेसम्म महिला र पुरुषको ६ वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएका छौ ,’ उनले भनिन्, ‘असोज-कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।’ चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरूको संख्या कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । गत वर्ष नेपालका ६६ वटा जिल्लाका साथै कोरिया, पोल्याड, युक्रेन, स्कटल्याण्ड, रसीया, जापान र भारतका २० हजार ३४७ जना बिरामीहरू तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ४०३ र २०७९/८० मा १८ हजार जनाले स्नान गरेका थिए । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरूले त्यहाँका होटल र होमस्टे भरिएका छन् । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सिता घलेले होटल र घरबासका कोठाहरू भरिभराउ भएका बताए । ‘साना ठूला २० वटा होटल छन् । घरको कोठा र ग्याँस भाडामा लिएर पाहुनाहरूले आफै पकाएर खाने र बस्न पनि मिल्छ,’ उनले भने । म्याग्दी नदीको असला माछा तातोपानीको विशेष परिकार हो ।
एनआरएनए अध्यक्षमा हेमराज शर्मा, आज कार्यसमिति सार्वजनिक गरिने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नतिजा एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ ५ बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । शनिबारदेखि शुरु भएको एनआरएनए १२औं अधिवेशन आज सम्पन्न हुँदैछ ।
पूर्वी नाकाबाट भित्रिए ६ हजार ७९१ पर्यटक, विदेश फर्किए साढे ६ हजार
काठमाडौं । पूर्वी नाका काँकडभिट्टा हुँदै ८ महिनामा ६ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन् । उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १ हजार ३९५ र फागुनमा १ हजार ५ जना पर्यटक भित्रिएको जानकारी दिए । सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका ३ हजार १३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या ६ हजार ५५२ रहेको छ भने १ हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट ८ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद: उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी आयोगमा आवेदन दिएका थिए । सो आवेदनमाथि आयोगमा सुनुवाइ भएको थियो । प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । प्राधिकरणको आग्रह बमोजिम पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले १ लाख ८६ हजार रुपैयाँ बराबर महसुल बुझाइसकेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार उद्योगीको मागदाबी नपुग्ने निर्णय भएको छ । आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने मार्ग प्रशस्त भएको छ । आयोगको निर्णय चित्त नबुझेको अवस्थामा व्यवसायी अदालत जान समेत सक्नेछन् । आयोगले निरन्तर रुपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित भएका थिए । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरूपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्रै आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पुग्यो ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने भएको छ । पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य उच्चदरले बढिरहेको निगमले जनाएको छ । यसले आपूर्ति प्रणालीमा समेत समस्या सिर्जना गरेको बताइएको छ । निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । नयाँ समायोजनअनुसार तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । त्यसैगरी, पहिलो वर्गका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज आदि) मा पेट्रोल १६९.५० र डिजेल १४९.५० रुपैयाँमा उपलब्ध हुनेछ । दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १७१ र डिजेलको १५१ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यअनुसार समायोजन नगरेमा भारतलाई भुक्तानी गर्नुपर्ने बक्यौता बढ्ने र आपूर्ति प्रणाली नै प्रभावित हुन सक्ने अवस्था रहेको छ । विगतमा पनि मूल्य वृद्धि समायोजन गर्न नसक्दा निगमले ठूलो आर्थिक दायित्व व्यहोर्नुपरेको उल्लेख गरिएको छ । निगमले सार्वजनिक सवारीसाधन तथा ढुवानी क्षेत्रमा असर कम पार्न डिजेलको मूल्य वृद्धि अपेक्षाकृत कम राख्ने रणनीति अपनाइएको जनाएको छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य घटाइने प्रतिबद्धता व्यक्त गरिएको छ । मूल्य वृद्धि पश्चात पनि निगमलाई करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २१६ रुपैयाँले बढेको भए पनि हाललाई यसको बिक्री मूल्यमा कुनै फेरबदल नगरिएको निगमको भनाइ छ ।
रास्वपाका किशोरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, धनुषा–१ बाट मातृका निर्वाचित हुने बाटो खुला
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । आयोगको निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै साहको उम्मेदवारी औपचारिक रूपमा खारेज भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर्याएको हो । यसअघि निर्वाचन आयोगले साहको उम्मेदवारी कानुन विपरीत रहेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साह आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चको यो आदेशसँगै धनुषा-१ को निर्वाचन परिणामको अन्योल हटेको छ । अदालतले आयोगको निर्णयमा हस्तक्षेप नगरेपछि निर्वाचन अधिकृतको कार्यालयलाई मातृका यादवलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने कानुनी बाटो खुलेको छ ।
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, भरत गिरीदेखि खुस्बु ओलीसम्म सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुंगो लगाएको हो । बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङ लाई सिफारिस गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको हो ।