सुन तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो । त्यसको भोलिपल्ट शुक्रबार फेरि २ हजार ४०० रुपैयाँले घटेसँगै सुनको मूल्य थप ओरालो लागेको हो । चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्दो क्रममा रहेको छ । शुक्रबार सुन प्रतिऔंस ४ हजार ५८० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
रसुवा बाढी अपडेटः तीन जिल्लाका लागि १५ हेलिकोप्टरले उद्धार गर्दै
काठमाडौं । रसुवाको बाढीमा उद्धार तथा राहत वितरणका लागि १५ वटा हेलिकोप्टर सञ्चालनमा रहेका छन् । नेपाली सेनाका ४ र निजी क्षेत्रका ९ वटा हेलिकोप्टर चालु अवस्थामा रहेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले राहत तथा उद्धारमा १५ वटा हेलिकोप्टर सञ्चालनमा ल्याइएको जानकारी दिइन् । 'हिजो मात्र हेलिकोप्टरले ४० वटा उडान भरेका छन्,’ उनले विकासन्युजसँग भनिन्,’ आजको विवरण आइसकेको छैन । साँझसम्म आजको पूर्ण विवरण आउनेछ ।' उनका अनुसार हेलिकोप्टर रसुवा, नुवाकोट र धादिङमा मुख्य गरेर तीन जिल्लामा उडान भरिरहेका छन् । आवश्यकता अनुसार गोर्खा र चितवनमा पनि हेलिकोप्टर लैजाने गरेर व्यवस्थापन गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४६९ जनाको शव फेला परेको हो । बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
बाढीपहिरोमा नेपालतर्फ रहेका एक सय चिनियाँ नागरिक बेपत्ता
काठमाडौं । नेपालतर्फ गएको भीषण बाढीपहिरोमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधबार आएको प्राकृतिक विपत्तिका कारण नेपालमा रहेका आफ्ना नागरिक सम्पर्कविहीन भएको जानकारी दिएका हुन् । प्रवक्ता लिनका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन तथा प्रमाणीकरण गरिरहेको छ । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका तथा आसपासका क्षेत्रमा गएको पहिरोबाट ठूलो मानवीय क्षति भएको बताइएको छ । लिनले दुवै देशका अधिकारीबीच खोजी तथा उद्धारका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको जानकारी दिँदै नेपालको आवश्यकताअनुसार आपत्कालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको बताए । चिनियाँ स्थानीय अधिकारीलाई उद्धृत गर्दै प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रमा हालसम्म २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन छन् । यद्यपि, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण यकिन विवरण प्राप्त हुन नसकेको र प्रमाणीकरणको काम जारी रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । ‘सबैको जीवन महत्वपूर्ण छ’ भन्दै लिनले सम्बन्धित देशका दूतावासलाई समेत प्रभावित क्षेत्रमा रहेका नागरिकको पछिल्लो अवस्थाबारे जानकारी गराइरहेको बताए । यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कतासम्बन्धी सूचना जारी गरेको छ। दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन तथा थप प्राकृतिक जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। समस्यामा परेका नागरिकलाई दूतावाससँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
भारतको गण्डक नदीमा सातवटा शव फेला
काठमाडौं । बाढीका कारण बगेका सात जनाको शव सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशका महाराजगन्ज र कुशीनगरमा फेला परेका छन् । भारतीय अधिकारीहरूका अनुसार गण्डक (नारायणी) नदीमा तैरिरहेको अवस्थामा सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले पाँच महिला र दुई पुरुषका शव फेला पारेको हो । जसमध्ये महाराजगन्जमा तीन महिला र एक पुरुष गरी चार वटा तथा कुशीनगरमा दुई महिला र एक पुरुष गरी तीन वटा शव बरामद गरिएको छ । निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ता र कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार मोटरबोटको प्रयोग गरी नदीबाट निकालिएका ती शवहरू हाल पहिचानका लागि सदरमुकामका फ्रिजरमा सुरक्षित राखिएका छन् । शवहरू नेपालको माथिल्लो क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको बलियो सम्भावना रहेको बताउँदै भारतीय प्रशासनले पहिचानको प्रक्रिया अघि बढाउन नेपाली स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।
नेशनल लघुवित्तकी स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठको राजीनामा स्वीकृत
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले आफ्नो स्वास्थ्य स्थिति तथा घरायसी जिम्मेवारीको कारण देखाउँदै गत साउन २२ गते सञ्चालक समिति समक्ष राजीनामा पेस गरेकी थिइन् । पेस गरिएको उक्त राजीनामालाई संस्थाको भदौ ११ गते बसेको २१० औँ सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।
रसुवा हाइड्रोको सुरुङबाट दुई जनाको जीवित उद्धार, खोजी अभियान जारी
काठमाडौं । रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले शुक्रबार बिहानैदेखि अभियान तीव्र पारेको छ । नेपाली सेनाका अनुसार जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच सञ्चालन गरिएको उद्धार अभियानमा हालसम्म सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार गरिएको छ । सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन विवरण आइसकेको छैन । फसेकाहरूको खोजी तथा उद्धार कार्य भने निरन्तर जारी रहेको सेनाले जनाएको छ । अप्ठ्यारो र जोखिमयुक्त सुरुङभित्र उद्धार गर्न सेनाले विशेष तालिमप्राप्त उद्धार टोली र आवश्यक प्राविधिक उपकरण परिचालन गरेको छ । बाँकी फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्न उद्धार अभियानलाई निरन्तरता दिइएको सेनाले जनाएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा खोजी अभियान विभिन्न स्थानमा जारी छ ।
नेपाली सेनाद्वारा ७२४ जनाको उद्धार
काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरबाट ७ सय २४ जनाको उद्धार गरेको छ । रसुवाको बाढीले अलपत्र परेका १ सय १ विदेशीसहित अन्य नेपालीलाई उद्धार गरेको हो । खोला किनारा, जंगल तथा विभिन्न ठाउँबाट २ सय जनालाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ । बाढीमा परेर घाइते भएका १ हजार १४५ जनालाई उपचार गरेको सेनाले जनाएको छ । त्यसैगरी, नेपाली सेनाले बाढीमा परेर हराएका खोजलाई निरन्तरता दिएको छ । घाइतेको उपचार, आश्रयस्थलको व्यवस्थापनलाई पनि निरन्तरता दिइरहेको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४६९ जनाको शव फेला परेको हो । बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
भदौ १३ देखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
काठमाडौं । सरकारले यही भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका विभिन्न विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित गरेको छ । बाढीका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न औपचारिक निर्देशन दिएको हो । शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकारको प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिइएको छ । साथै, शुक्रबार सञ्चालित परीक्षामा परिस्थितिवश सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि समेत उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । यी हुन् विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयका ५ निर्देशन: नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन गर्दछौं । साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ ! । साथै, देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन अनुरोध गर्दछौंः १. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने । २. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने । ३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने । ४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने । ५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने । वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं । विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं । सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्री