काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी संस्थापक सेयर धारण गर्ने सेयरधनीलाई पाँच वर्षभित्र सीमा कायम गर्न निर्देशन दिएको छ । तोकिएको सीमाभन्दा बढी भएको सेयर आफूले धारण गरेको मितिले पाँच वर्षसम्म सीमाभित्र नल्याए बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३)(क) बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सीमा कायम नभएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्यस्ता सेयरधनीले धारण गरेको सम्पूर्ण सेयरको नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाउनुपर्नेछ । साथै, त्यस्ता सेयरधनीलाई हकप्रद सेयरमा सहभागी हुनसमेत बन्देज लगाइनेछ ।
राष्ट्र बैंकले प्रचलित कानुन तथा आफ्ना निर्देशन पालना गर्ने सन्दर्भमा संस्थापक–संस्थापकबीच संस्थापक सेयर हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा भने तोकिएको सीमाभन्दा बढी सेयर भए पनि खरिद–बिक्री वा हक हस्तान्तरण गर्न सकिने स्पष्ट पारेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । प्रतिव्यक्ति, फर्म, कम्पनी, संस्था तथा समूहका लागि तोकिएको सीमाभन्दा बढी सेयर भए पनि स्वीकृति लिएर संस्थापक–संस्थापकबीच सेयर कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।
यस्तो अवस्थामा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीलाई भने उक्त अवस्था आउनुअघि आफूले धारण गरेको सेयरमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।