विकासन्युज

बिपी अस्पताल सुधार गर्ने

नारायणगढ । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।      मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए ।      कर्मचारी र सेवाग्राहीबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राहीबीच सहमति भएको छ ।  अस्पतालका निमित्त कार्यकारी निर्देशक उमेश नेपालले सेवाग्राहीबाट उठाइएका विषयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सुधारात्मक कार्यान्वयन गरिने बचन व्यक्त गरेका थिए ।       सेवाग्राहीले बिमाका बिरामीको थप चाप बढेको उल्लेख गर्दै  स्वास्थ्य बिमा तथा विपन्न नागरिक लक्षित सेवामा देखिएका समस्याको समाधानका लागि आवाज उठाएका थिए ।       हाल दैनिक रूपमा करिब एक हजार २०० जना बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिने गरेका छन् । तीमध्ये अधिकांश फलोअपका बिरामी रहने तथा दैनिक २५ देखि ३० जना नयाँ क्यान्सरका बिरामी पहिचान हुने गरेको निर्देशक नेपालले बताए ।     

वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न २ लाख रुपैयाँ, अन्य पदमा कति ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४ औं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ । संस्थाको मौजुदा विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको इप्पानले जनाएको छ । संस्थाको विधानको धारा १५ (१२) बमोजिम जेठ २५ गते अर्थात् सोमबार बसेको कार्यसमितिको बैठकले निर्वाचन प्रयोजनका लागि उम्मेदवारी मनोनयन शुल्कसमेत निर्धारण गरेको थियो । सोही बमोजिम १ जना वरिष्ठ उपाध्यक्षका लागि २ लाख रुपैयाँ तथा ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप-महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका लागि जनही १ लाख ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।  त्यसैगरी, खुलातर्फका ७ जना सदस्य र महिलातर्फका ३ जना सदस्य पदका लागि उम्मेदवारी दिन चाहनेले जनही १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने इप्पानले जनाएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मनोनयन फारम दस्तुर छुट्टै १०० रुपैयाँ लाग्ने जानकारी दिएको छ । इप्पानको २४ औं वार्षिक साधारण सभा भोलि (शुक्रबार) हुँदैछ ।

‘मारिया अस्पताल’ विना अनुमति सञ्चालन

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ ।      मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा  सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।   उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका  सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा पत्राचार गरिएको बताए ।       काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता  तत्कालका लागि निलम्बन गरेको छ ।      संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा. पाण्डेले जानकारी दिए ।     

विद्युतीय गाडी आयातमा अनियमितता भएको भन्दै संसदीय छानबिनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विद्युतीय सवारीसाधन (ईभी) आयातका क्रममा भन्सारमा अनियमितता भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् । सांसद शाहीले मंगलबारको संसदीय बैठकमा बोल्दै ईभी आयात प्रक्रियामा पारदर्शिता अभाव देखिएको र राज्यलाई ठूलो राजस्व घाटा हुन सक्ने आशंका व्यक्त गरे ।  उनले भन्सार मूल्यांकनदेखि लिएर कर निर्धारणसम्मका प्रक्रियामा गम्भीर त्रुटि भएको दाबी गर्दै तत्काल उच्चस्तरीय छानबिन आवश्यक रहेको बताए । उनले यस्ता विषयमा निष्पक्ष छानबिन नगरे सार्वजनिक विश्वास कमजोर हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन् ।

सुभास श्रेष्ठले तिरेनन् हिमालयन बैंकको ऋण, बिक्रीमा राख्यो ३ कम्पनीको सेयर

काठमाडौं । हिमालयन बैंकले धितोमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको पाटन शाखाले ऋणी सुभास श्रेष्ठको नाममा रहेको सेयर कर्जा अन्तर्गत धितो राखिएका विभिन्न कम्पनीका संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो । बैंकका अनुसार ऋणी श्रेष्ठले सेयर कर्जा लिँदा प्राइम बैंकको ४६ हजार ८९४ कित्ता, युनाइटेड अजोड इन्सुरेन्सको ३८ हजार २७२ कित्ता र महालक्ष्मी विकास बैंकको ७३ हजार ८५३ कित्ता सेयर धितोमा राखेका थिए । कर्जाको साँवा, ब्याज तथा हर्जाना समयमै भुक्तानी नभएपछि बैंकले लिलाम प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।  बैंकका अनुसार ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिए पनि कुनै पहल नभएपछि धितोमा रहेको सेयर बिक्री प्रक्रिया अगाडि बढाइएको हो । बैंकले यसअघि ३५ दिनको समय दिएको भएपनि हालसम्म रकम भुक्तानी नभएपछि पुनः १५ दिनको समय दिएको हो ।  हाल बैंकको धितो सुरक्षणमा रहेको सेयर जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बिक्री गरिनेछ । इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाले पाटन शाखाबाट निर्धारित शुल्क तिरी बोलपत्र फारम खरिद गरी आवेदन दिन सक्नेछन् । 

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो ।      यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।      

‘दुई अर्ब होइन, दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनूस्, राजनीति छाडिदिन्छु’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।   बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।   नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ । अर्थमन्त्रीले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनूस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’

कांग्रेसको गतिरोध फुकाउन 'साझा संयन्त्र' गठन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व हुने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । आफ्नो निवासमा बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा महतले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको संरचनालाई समन्वय गर्दै दुवै पक्षबीचको विवाद समाधान गर्न यस्तो संयन्त्र आवश्यक रहेको बताएका हुन् । उनका अनुसार पार्टीभित्र देखिएका असमझदारी अन्त्य गरी बृहत्तर एकता कायम गर्न वर्तमान नेतृत्वले अग्रसरता लिनुपर्ने र यसका लागि सभापति गगनकुमार थापाबाट पहल हुनु आवश्यक छ ।   महतले भने, ‘फाट्टफुट्ट भेटघाटले मात्र समस्या समाधान हुँदैन, दुवै पक्ष बसेर स्पष्ट समझदारी गर्नुपर्छ ।’   उनका अनुसार उनको पक्षले कुनै पदको भागबन्डा नखोजेको तर १५ औं महाधिवेशन निष्पक्ष हुने आधार र विश्वासको वातावरण चाहिन्छ । महतले प्रस्तावित संयन्त्रमार्फत मुख्यतः तीनवटा विषय समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।   उनका अनुसार पहिलो, १५ औँ महाधिवेशनको निष्पक्षता र पारदर्शितासँग सम्बन्धित विषय सुनिश्चित गर्नु हो । दोस्रो, लामो समयदेखि विवादित रहेको क्रियाशील सदस्यता व्यवस्थापन गरेर टुंग्याउनु र तेस्रो, विधान संशोधनसम्बन्धी विषयमा सहमति कायम गर्नु रहेको छ । महतका अनुसार क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्न पनि दुवै पक्षबीच संवाद आवश्यक छ । उनले केन्द्रले जिल्लास्तरबाट विवरण संकलन गरी डिजिटल रूपमा अद्यावधिक गर्न सक्ने विकल्पसमेत प्रस्तुत गरे । नेता महतले पार्टीभित्र संवादको अभावले असमझदारी बढेको भन्दै तत्काल बृहत एकताको प्रयास आवश्यक रहेको दोहोर्‍याए । साथै विभिन्न विवाद र अन्यौलका कारण केही नेता तथा कार्यकर्ता पार्टी छोड्ने अवस्थामा पुगेको महतको दाबी छ । महतले पार्टी एकताकै पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै सबै पक्षलाई सहमति र सहकार्यमार्फत १५ औं महाधिवेशनलाई सर्वस्वीकार्य बनाउने वातावरण निर्माण गर्न आग्रह पनि गरे ।