परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौंमा ल्याण्ड हुन सकेन, कोलकत्ता डाइभर्ट
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकत्ता डाइभर्ट भएको बुझिएको छ । काठमाडौंको आकाशमा खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि जहाज भारतको कोलकत्ता डाइभर्ट भएको हो । कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने प्रयास गरेपनि सम्भव नभएपछि डाइभर्ट भएको हो । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।
प्राधिकरणले ६ महिनामा साढे ७० अर्ब आम्दानी गर्दा नाफा ११ अर्ब ३६ करोड, १३ अर्ब बढीको बिजुली निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणका अनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ । यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।
एकैदिन २२ सयले घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ६८ हजार १०० मा कारोबार
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।
विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो
तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था भएपनि ९० दिनपछि लाइन काटिएको उनले बताए । लाइन काटिएका आठ सय ८८ ग्राहकबाट रु ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ । यी बाहेक एक हजार ७३३ ग्राहकबाट रु तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र जनाएको छ । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ । माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट रु सात करोड ५९ लाख ५३१ राजश्व सङ्कलन भएको छ । अग्रिम विद्युत् महशुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म १३ लाख नौ हजार चार सय ९८ रुपैयाँ अग्रिम भुक्तानी हुने गरेको छ । आल अनलाइनबाट विद्युत् महशुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।
पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं । पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् । प्रहरीअनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेको खुलासा भएको छ । घटनाको विवरणअनुसार इशालप्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो । यसै विवादको क्रममा मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले मिलेर इशालप्रसाद कुर्मीलाई हत्या गरी भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताएअनुसार फागुन ७ गते वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको १९ वर्षीय छोरा इशालप्रसाद कुर्मी घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए । तर अबेर रातीसम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए । निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते भेडाहा खोलामा इशालप्रसाद कुर्मीको तैरिरहेको शव फेला पारेको थियो। प्रहरीले अनुसन्धान क्रममा फागुन ७ गते नै इशालप्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको थियो । पक्राउ परेका तीन जनालाई ज्यान सम्बन्धि कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप जानकारी र अनुसन्धानको प्रगतिबारे जानकारी दिने बताएको छ ।
बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
गलकोट । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । काठमाडौंको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
अध्यादेश पारित हुन नसकेपछि दौडधूपमा सत्तासीन दल, छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित हुनका लागि बहुमत नपुगेपछि सत्तासिन दल दौडधूपमा लागेका छन् । विशेष गरेर नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु नै नेताहरुसँग भेटघाट गरेर अध्यादेशको पक्षमा मत दिन आग्रह गरिरहेका छन् । सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । त्यस्तै, भूमि अध्यादेशसहित संसदमा पेस भएका छन् । ६ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा अहिले नेताहरु छलफल गरिरहेका छन् । केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । पुनले आफूलाई पोखरेलले आग्रह गरेको विषय सार्वजनिक गरेपछि पोखरेलले पनि सामाजिक सञ्जालमार्फत् पुनको आलोचना गरेका थिए । अहिले अधिकांश नेताहरु अध्यादेश कसरी पास गर्ने भन्ने विषयमा दौडधूप गरिरहेका छन् । यही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आव्हान गरेका छन् । ओलीले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, अध्यादेश र सरकार सञ्चालनका विषयमा छलफल हुने बुझिएको छ । संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा सहभागी हुने बुझिएको छ ।
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ । उम्मेदवारहरुले प्रत्येक चरणको परीक्षामा उपस्थित हुँदा प्रवेश पत्र र नागरिकताको सक्कल प्रति साथमा लिएको हुनु पर्नेछ । प्रत्येक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन हुने छ, उत्तीर्ण उम्मेदवारहरुलाई मात्र अर्को चरणको परीक्ष सम्मिलित हुन पाउने छन् । परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशीतर्फ एउटै परीक्षा सञ्चालन गरिने छ र निजहरुले प्राप्त गरेको अङ्गको आधा समावेशीतर्फ उम्मेदवारहरु बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने विभागले जनाएको छ ।