म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस जाँदै हुनुहुन्छ ? अपनाउनुस् यी सावधानी
फाइल फोटो काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो । आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ । पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, रोजगारदाताले राहदानी खोसिदिने, १२÷१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ । रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ । ‘वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
अमेरिकी डलरको मूल्य सर्वाधिक उचाईमा, यस्तो छ अन्य देशको मुद्रा भाउ
काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरी नयाँ उचाई कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत पुस ५ गते अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ थियो । उक्त मूल्य रेकर्डलाई तोड्दै आज पुनः नयाँ रेकर्ड कायम गरेको हो । आज युरोपियन यूरोको एकको खरिदर १४१.३२ रुपैयाँ र बिक्रीदर १४१.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.४४ रुपैयाँ र बिक्रीदर १७१.१९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.६५ रुपैयाँ र बिक्रीदर १५२.३२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.९५ रुपैयाँ र बिक्रीदर ८५.३३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.३८ रुपैयाँ र बिक्रीदर ९४.८० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१८ रुपैयाँ र बिक्रीदर ३६.३४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२७ रुपैयाँ र बिक्रीदर ३०.४० रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३५ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४९ रुपैयाँ र बिक्रीदर १७.५७ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.०२ रुपैयाँ र बिक्रीदर ४४२.९७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.१९ रुपैयाँ र बिक्रीदर ३६१.७८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.९७ रुपैयाँ र बिक्रीदर ३५४.५३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ५ कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । भोलि पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा भएका कारण आज अन्तिम दिन रहेको हो । मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २८ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । यस्तै, आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते बुटवल रुपन्देहीमा ११औँ वार्षिक साधारण सभा बिहान साढे ९ बजे बोलाएको छ । यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २८ गते मिथिला नगरपालिका ६ ढल्केबर, धनुषामा १६औँ वार्षिक साधारण सभा बिहान ११ बजे डाकेको छ । यस्तै, माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौंमा ११औँ वार्षिक साधारण सभा बिहान १० बजे आह्वान गरेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते काठमाडौंमा १३औँ वार्षिक साधारण सभा साढे १० बजे डाकेको छ ।
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जम्यो
काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जको ७५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्बको करसहित ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे नेप्से कै कार्यालयमा ४३औँ वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको ५/५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर लगानी छ ।
सुदूरपश्चिमबाट मौसम बदली सुरु, माइनस ७.२ डिग्रीमा भर्यो तापक्रम
काठमाडौं । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए । उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए । महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ । हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ । चिसो बढ्न सुरु मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे । विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौंको तापक्रम ४.८ डिग्री थियो । यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस ७.८ डिग्री झरेकोमा पुस ४ गते त्यहाँ माइनस ७.२ डिग्री थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक सेयय (एफपीओ)मा आवेदन दिने आज पुस ९ गते अन्तिम दिन रहेको छ । लघुवित्तले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सूचनादाताको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याउन माग
काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचनादाताको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याउन माग गरेको छ । सोमबार सञ्चारकर्मी तथा अभियानकर्तासँग छलफल गर्दै महासंघले जतिस्कदो छिटा सो विधेयक कार्यान्वयनमा ल्याउन माग गरेको हो । विभिन्न समयमा नागरिक समाजका संस्थाहरुसँग छलफल गर्दै आएको महासंघले शनिबार सञ्चारकर्मीसँग छलफल गर्दै सो विधेयकमा राय सुझाव पनि माग गरेको हो । विभिन्न गैर सरकारी संघ संस्था, नेपाल पत्रकार महासंघ, महिला संघ, युवा तथा सिमान्तकृत समुदाय र नागरिक समाज लगायत १८ वटा संघ संस्थासँग सो विधेयकका लागि सुझाव माग गरेको बताउँदै महासंघका अध्यक्ष उमिद बागचन्दले यो विधेयक छिटोभन्दा छिटो कार्यान्वयनमा ल्यउनु पर्ने बताए । उनका अनुसार नेपालले सन् २०२३ मा भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरी सन् २०१५ को मार्च २० मा अनुमोदन पनि गरेको र त्यस महासन्धिको धारा ३२ र ३३ मा भएको व्यवस्था बमोजिम राज्य पक्षले महासन्धिद्वारा स्थापित कसुरका सम्बन्धमा बकपत्र गर्ने साक्षी र विशेषज्ञ एवं उनीहरूका नातेदार र अन्य निकटस्थ व्यक्तिलाई सम्भावित दुव्र्यव्यवहार र धम्कीबाट प्रभावकारी सुरक्षा गर्न (ह्विसल ब्लोर प्रोटेक्सन ऐन) पास गर्न भने अझै अग्रसर नदेखिएको बताए । यो महासन्धिको धारा ३२ र ३३ मा उल्लेखित प्रतिबद्धता पूरा गर्न सन्धिमा हस्ताक्षर गर्ने १४० मुलुकमध्ये करिब ६० देशले ‘ह्विसल ब्लोर प्रोटेक्सन ऐन’ बनाएर लागू गरिसकेको जानकारी गराउँदै उनले नेपाल सरकारले पनि यसमा तदारुकता देखाउनु पर्ने धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले पनि यो विधेयकका लागि अनुसन्धान प्रक्रियाका क्रममा सूचना दिनेलाई मनोसामाजिक परामर्श दिनुपर्ने, नैतिक र मानसिक स्वास्थ्यलाई थप आत्मबल प्रदान गर्ने गरी व्यवस्था मिलाउनुपर्ने सुझाव प्राप्त भएको जानकारी दिए । उनले यो विधेयक सरकारी अधिकारीलाई मात्रै जस्तो रहेको र विधेयकले सार्वजनिक निकायको कर्मचारी वा निवृत कर्मचारी र सेवाग्राही, निजी क्षेत्रका कर्मचारी र सूचना प्राप्त गर्ने वा जानकारी भएको कुनै पनि सम्बन्धित सरोकारवाला नागरिकलाई समेट्नु पर्ने सुझाव आएको बताएका छन् । विभिन्न व्यक्ति तथा संस्थाले बोल्न नसक्ने जस्ता अपाङ्गता भएका व्यक्तिले कसरी सूचना दिने स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने सुझाव दिएका छन् भने बेनाम रूपमा जानकारी दिने व्यवस्था सम्बन्धी दफा विधेयकमा थप गर्नुपर्ने सुझाव पनि दिएका छन् । विधेयकले सूचना दिने व्यक्तिको गोपनीयताको स्पष्ट ग्यारेन्टी र भौतिक सुरक्षाको प्रष्ट प्रबन्ध गर्नुपर्ने, सम्बन्धित नियामक निकायलाई प्रत्यक्ष रिपोर्टिङ गर्न अनुमति दिने गरी गुनासो गर्ने संयन्त्रलाई विस्तार गरिनुपर्ने, जानकारी दिनेहरूलाई सम्भावित भ्रष्टाचारको सूचना दिएर लिने जोखिमको तुलनामा पर्याप्त पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।