‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड, व्यापार बढाउँदै
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहेको निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताए । ‘दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो,’ निर्देशक कँडेलले भने । निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुगेका थिए । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताए । ‘यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु,’ अभिनेता ठकुरीले भने । विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताए । ‘म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु,’ उनले भने । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।
नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति
काठमाडौं । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो । उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । उनकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त नयाँ प्रजाति फेला पारेको हो । उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अग्रवाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए । नयाँ फेला परेका प्रजातिमध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङगढीलगायत तनहुँको बन्दीपुर र दमौलीदेखि भिमादसम्म फेला परेको प्रजातिको नामकरण ‘चितवन वेन्ट–टोड गेक्को’ भनेर नामकरण गरिएको छ । दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाँडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिकाको कदरस्वरूप तथा अन्नपूर्ण हिमशृङ्खलाका नाममा ‘एक्याप वेन्ट–टोड गेक्को’ भनेर नाम राखेको छ । तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो । सो प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको यागदानस्वरूप सो प्रजातिको नामाकरण ‘करण वेन्ट–टोड गेक्को’ भनेर राखिएको छ । यसरी फेला पारिएका नयाँ प्रजाति यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विद्यावारिधि अध्ययनका क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए । उक्त प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो । वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि तीन वटा प्रजाति फेला परेका र सो प्रजातिको नमुना विदेशका सङ्ग्रहालयमा राखिएकाले अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकीन गर्न विदेशमा सङ्ग्रहित नमुनाको अध्ययन तथा तुलना साथै तिनीहरुकै आनुवंशिक अध्ययन गरी यकीन गरिएको हो । यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीका अनुसन्धानकर्ताको टोली सामेल भएको थियो । साथै सो अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएका दुई प्रजाति अनुवांशिक अध्ययन गर्दा ती प्रजाति नभई एक प्रजाति भएको यकीन गरेको छ । गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभरि तीन सय ५० भन्दाबढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजातिमात्र पाइएको छ । सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मी बताउँछन् । सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन, अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको अध्ययन टोलीको नेतृत्व गर्नुभएका भट्टराईले बताए ।
प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी, छुट्टै धार्मिक महत्व
काठमाडौं । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । तीमध्ये एउटा अनुपम सौन्दर्य बोकेको पोखरी हो सिदिङवा गाउँपालिकाको कालिखोलामा अवस्थित तिम्बुङ पोखरी । सदरमुकाम फुङ्लिङबाट करिब ७ घण्टा गाडी यात्रा र एक दिनको पैदल यात्रापछि पुग्न सकिने यो पोखरी हाल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पोखरीलाई लिम्बू समुदायले ‘तिम्मक वरक’ भन्ने गर्थे । लिम्बू भाषामा‘तिम्मक’को अर्थ बन्दुक र ‘वरक’ को अर्थ पोखरी हो । किम्बदन्तीअनुसार परापूर्वकालमा यहाँबाट बन्दुक पड्किएको जस्तै आवाज आउने भएकाले यसलाई तिम्मक वरक भनिन्थ्यो, जुन अहिले ‘तिम्बुङ पोखरी’ का बारेमा जानकार इन्द्रप्रसाद बेघाको भनाइ छ । तिम्बुङ पोखरी प्राकृतिक रूपमा अनुपम त छँदैछ, धार्मिक हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । जनविश्वासअनुसार यहाँ वरदान मागेमा पूरा हुन्छ । पौराणिक कथाअनुसार देवीदेवताहरू घना बस्तीका कारण स्वच्छ वातावरण खोज्दै हिँड्दा यो स्थानमा बसोबास गर्न पुगेका थिए । त्यसैले पनि यो ठाउँ आध्यात्मिक रूपमा पवित्र मानिन्छ । हिमाली क्षेत्रकै सुन्दर पोखरीमध्ये एक मानिने तिम्बुङ पोखरी ४ हजार ३५० मिटर उचाइमा अवस्थित छ । पोखरीको पानी स्वच्छ, नीलो र मनमोहक देखिन्छ, जसले आगन्तुकलाई लोभ्याउने गर्छ । हिमाली हावापानी, अग्ला पहाड, शीतल बतास र सुगन्धित जडीबुटीको सुगन्धले यहाँको वातावरणलाई स्वर्गीय बनाएको छ । सरकारले २०७५ सालमा नेपालका १ सय नयाँ पर्यटन गन्तव्य पहिचान गर्दा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको थियो । त्यसयता यहाँ आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि अझै पनि पर्याप्त लगानी र प्रचारप्रसारको अभाव देखिन्छ । हालसम्म आउने पर्यटकको अनुभव भने रोमाञ्चक छ । ‘यस्तो सुन्दर पोखरी देख्न पाइने कल्पना पनि गरेको थिइन, कठिन यात्रा भए पनि यहाँ आएपछि प्रकृतिको काखमै हराएको अनुभूति हुने गरेको छ,’ तिम्बुङ पोखरी पुगेकी पवित्रा साउदेनले भनिन् । पर्याप्त पूर्वाधार नहुँदा धेरै सम्भावना भएको यो ठाउँ अझै ओझेलमा परेको उनी बताउँछिन् । उचित प्रवद्र्धन भएमा पर्यटनको मुख्य केन्द्र बन्नसक्ने झापाबाट तिम्बुङ पोखरी घुम्न आएका आन्तरिक पार्यटक माङ्गा उराउ बताउँछन् । स्थानीय पालिकाले आफ्नै स्रोतबाट यो क्षेत्रमा केही लगानी गर्नसकेमा पर्यटनबाट आन्तरिक आम्दानीको राम्रो स्रोत बन्नसक्ने सुनसरीबाट घुम्न आउनुभएका पर्यटक घनश्याम साहको भनाइ छ । तिम्बुङ पोखरीको संरक्षण र प्रवद्र्धनका लागि एक संरक्षण समिति गठन गरिएको छ । समितिले तीनै तहका सरकारसँग समन्वय गरेर विकासका केही काम अघि बढाइसकेको छ । पाँचथर र ताप्लेजुङ दुवै जिल्लाबाट पोखरी पुग्न पैदलमार्ग निर्माण गरिएको छ । पोखरीबाट ढुङ्गाको सोलिङ र सिँढी निर्माण गरिएको छ । थप पूर्वाधार विकासका लागि आवश्यक समन्वय भइरहेको संरक्षण समितिका सल्लाहकार कैलाश राई बताउँछन् ।
तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का
काठमाडौं । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न २ः३५ बजे उक्त स्थान केन्द्र भएर ५.९ रिक्टर स्केलको भूकम्प भएको हो । यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो । आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४.१ रिक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो ।
५ करोड चुक्ता पुँजी र १० करोड कारोबार गर्ने इन्भेस्टमेन्ट धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने
काठमाडौं । सर्वसाधारणलाई आईपीओ जारी नगरेका लगानीमुलक कम्प पनि नेपाल नेपाल धितोपत्र बोर्ड (सेबोन)मा सूचीकृत हुनुपर्ने भएको छ । धितोपत्र बोर्डले लगानीमुलक (इन्भेस्टमेन्ट) कम्पनीहरूलाई सूचीकृत हुन आउन आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (२)ले दिएको अधिकार प्रयोगरी समन्वय समितिको सिफारिसमा ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेस्टमेन्ट कम्पनीको हकमा धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको छ । सोही निर्णय बमोजिम धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम २० को व्यवस्था अनुसार सूचीकृत हुन जानकारी गराएको हो । बोर्डका अनुसार सूचीकृत हुनका निवेदन दिनुपर्ने, सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत), कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र हुनुपर्नेछ । यस्तै, कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर), कम्पनीको सञ्चालक समितिबाट धितोपत्र बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबारसमेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्तापुँजी खुल्ने कागजात तथा विवरण समावेश गर्नुपर्नेछ ।
सम्झौताको समयभन्दा अघि नै इटहरी बसपार्क निर्माण, साढे ९ करोड लागत
काठमाडौं । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा ६ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन ३ तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए । वडा नं ६ का अध्यक्षसमेत रहेका प्रवक्ता पोख्रेलका अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि समय माग गरेको छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपमहानगरलाई पत्राचार गरिसकेको निर्माण कम्पनीका ठेकेदार अङ्कुर गौतमले बताए । केही दिनमै उपमहानगरलाई भवन हस्तान्तरण गर्ने योजना रहेको गौतमले जनकारी दिए । एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न ३ तले टर्मिनल भवन बनेको छ । भवनको भुइँ तलामा १ सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रुम निर्माण गरिएको उपमहानगरका इञ्जिनियर भविन्द्र चौधरीले जानकारी दिए । भवनको पहिलो तलामा व्यावसायिक प्रयोजन गर्न सकिने सात कोठा छन् भने दोस्रो तलामा क्याफेसहितको रेस्टुरेन्ट रहेको इञ्जिनियर चौधरीले जानकारी दिए । बसपार्क ९ करोड ४८ लाख ८३ हजार ५५६ रुपैयाँमा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ । सो योजना नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो । दुई दशकअघि निर्माण भएको बसपार्क बढ्दो सवारीसाधनको चापसँगै अव्यवस्थित बनको थियो । बसपार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ ।
देशको बजेट कसरी बनाइन्छ ?
काठमाडौं । यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय छलफलगत थालिसकेका छन् । मन्त्रालयगत छलफलपछि अबको केही दिनमै संसदमा प्रि-बजेट छलफल चल्नेछ । सबैको चासो नयाँ बजेटमा भइरहँदा आखिर बजेट भनेको केहो, कसरी बनाइन्छ र यो किन ल्याइन्छ ? यसबारे आम नागरिकले बुझ्न जरुरी छ । सामान्यतया बजेट भनेको आय र व्ययको लिखित दस्तावेज हो । यसले आम्दानी कति गर्ने र खर्च कति गर्ने भन्ने निर्क्यौल गर्छ । बजेट आफैँमा एउटा चक्र पनि हो । बजेटको लक्ष्य तथा उद्देश्यहरु निर्धारण गरेर, पुराना सूचनाहरु विश्लेषण गरेर बजेटको तयारी शुरु हुन्छ । बजेट निर्माणको काम मंसिरबाट नै शुरु हुने गरेको छ । सरकारले बजेट निर्माण थाल्दा तल्लो तहबाट योजना तथा कार्यक्रमहरु माग्छ । खासगरी जिल्लादेखि नै सरकारी संयन्त्रहरुले योजनाहरु पठाउछन् । ती योजना विभाग हुँदै मन्त्रालयमा प्राप्त भएपछि नयाँ योजनाहरुलाई प्रोजेक्ट बैंकमा दर्ता गरिन्छ । प्रोजेक्ट बैंकमा दर्ता भएका योजनालाई प्राथमिकताका आधारमा बजेटमा समावेश गरिन्छ । बजेटमा समावेश आयोजना तथा कार्यक्रमहरुलाई पि-१, पि-२, पि-३ मा वर्गिकरण गरिन्छ र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हुन्छ । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीकाअनुसार यसले पहुँचका आधारमा सिधै बजेटमा साना तथा खुद्रे योजना तथा कार्यक्रम पार्ने पुरानो प्रवृत्तिलाई केही निरुत्साहित गरेको छ । खासगरी पहिले, नयाँ बजेट सरकारले ल्याउन थाल्दा आफ्ना खुद्रे योजना तथा कार्यक्रममा बजेट पार्न उच्चपदस्थ व्यक्ति, सांसदहरुको हानथापै अलि बढि नै हुने गर्थ्यो । अहिले त्यो केही निरुत्साहित भएको छ । जेठ १५ मा संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले र प्रदेश सरकारले ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने गरेका छन् । बजेट निर्माण गर्दै गर्दा जनताका मौलिक हकलाई पनि प्रथमिकतामा राख्नुपर्छ । संघिय गणतन्त्र नेपालको संविधानमा ३२ ओटा मौलिक हक तथा अधिकारहरु रहेको छन् । ती अधिकारलाई सुनिश्चित गर्दै देश विकास गर्ने, उद्योग धन्दा फस्टाउने, स्वदेशमा नै रोजगारी निर्माण गर्ने खालको बजेट आवश्यक ठानिन्छ । बजेट निर्माण गर्दा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालयहरुको सहभागिता रहने गर्दछ । बजेट निर्माण गर्दैगर्दा आर्थिक कार्यविधि ऐन, आर्थिक नियमावली, स्थानिय तहको सवालमा आर्थिक कार्यविधी सम्वन्धि नियमावली रहेका छन् । बजेट निर्माण गर्दा विभिन्न विधि प्रक्रिया भने पूरा गर्नैपर्ने हुन्छ । अर्थ मन्त्रालयले बनाउने भन्दैमा मन्त्रीले सिधै संघीय संसदमा पेश गर्ने चाहीँ होइन । बजेट निर्माणदेखि संसदमा पेश हुने अवधिसम्मको आफ्नो छुट्टै विधि र प्रक्रिया हुन्छ, त्यसअनुसार अघि बढ्नुपर्ने हुन्छ । राष्ट्रिय योजना आयोगले सरकारलाई फागुन ७ भित्रमा सिलिङ दिएको हुन्छ । त्यही सिलिङमा रहेर बजेट निर्माणको तयारी थालिन्छ । योजना आयोगले विभिन्न योजनाको विषयमा मन्त्रालयहरुलाई जानकारी गराउने, कुन आयोजनालाई कसरी, कति स्थान दिने भन्ने योजना समेत पेश गर्छ । बजेट निर्माण गर्दा संकलन तर्जुमा फारम संकलन, टेबुलेशन तथा अध्ययन, बजेटको नीतिगत र कार्यक्रम माथिको राष्ट्रिय योजना आयोगका अधिकारीहरुसँग छलफल, मन्त्रालयमा बजेटका लागि आय तथा खर्चका विषयमा छलफलसँगै आर्थिक सर्वेक्षणको तयारी हुने गर्दछ । यस्तै बजेटका लागि वैदेशिक प्राविधिक सहायता, बजेट सुझाव संकलन पनि हुने गर्दछ । सरोकारवाला निकायले विभिन्न माध्यमबाट सुझाव दिने काम गर्दछन् । बजेट आउनु अघि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त संसद्मा पेश गरिसकेको हुन्छ, अहिले त्यही प्रक्रिया अनुसार बजेट अधिवेशन चलिरहेको छ र यो अन्तीम चरणमा छ । संसद्मा सांसद्हरुले बजेटमा दिने सुझाव अर्थमन्त्रीले नयाँ बजेटमा समेट्नुपर्ने हुन्छ । प्राथमिकता र सिद्धान्तमाथिको छलफल सकिएपछि सरकारले नयाँ आवका लागि ल्याउने नीति तथा कार्यक्रम संसद्मा ल्याउनुपर्ने हुन्छ, त्यस्तो कार्यक्रम राष्ट्रपतीले संसद्मा प्रश्तुत गर्ने प्रचलन नेपालमा चल्दै आएको छ । त्यसपछि संसद्मा पूर्वबजेट प्रश्तुतिको तयारी गरिन्छ । र मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ । सँगै विभिन्न संस्थानको प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ । राजश्व परामर्श समितिको प्रतिवेदन अध्ययन गरिन्छ भने वैदेशिक सहायता संलग्न आयोजनाको अध्ययन गरिन्छ । अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण तयार पार्ने काम गर्छ । व्यय अनुमान र शिर्षकगत खर्च अनुमानको मस्यौदा पनि तयारी पारिन्छ । यसैगरी व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्चको आंकलन गरिन्छ । अर्थ मन्त्रालयले आर्थिक विधेयकहरूको अनुसूचिको मस्यौदा तयार पार्नुका साथै वैदेशिक सहायता संलग्न आयोजनाहरूको श्रोत पुस्तिका तयार पर्ने, बजेट वक्ताव्यको प्रारम्भिक मस्यौदा तयार पार्ने, संस्थानको प्रगति विवरण सार्वजनिक गर्ने, आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने काम गरिन्छ । विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेस्की खर्च विधेयक पनि यही समयमा तयार गरिन्छ । राजश्व अनुमान, कार्यक्रम तय गरेर अर्थमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र राष्ट्रपतिलाई बजेटको बारेमा जानकारी गराएपछि बजेटले अन्तिम रुप पाउन थाल्छ । बजेट बनेपछि अर्थमन्त्रीले उक्त बजेटको विषयमा राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्बाट पनि ब्रिफिङ गर्नुपर्छ । मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि राष्ट्रपतिलाई नयाँ बजेटबारे जानकारी गराइन्छ र संघिय संसदमा जेठ १५ गते बजेट वक्तव्य प्रश्तुत गरिन्छ । उक्त बजेट संसदमा छलफलमा आउछ र संसद्बाट बहुमतले पारित गर्ने प्रचलन नेपालमा छ । बजेट पारित नभए त्यो कार्यान्वयनमा जान सक्दैन भने पास भएमा अर्को महीनाको साउन १ गतेबाट कार्यान्वयनमा आउछ । नेपालमा नयाँ संविधान आउनु अघि असार ३० मा बजेट ल्याउने प्रचलन थियो । अन्तरीम संविधान खारेज भएर नयाँ संविधान संविधानसभाबाट जारी भएसँगै समयमै बजेट खर्च गर्नेगरी १५ जेठमा बजेट ल्याउने प्रचलन शुरु थियो । नयाँ बजेटको सन्दर्भमा अर्थमन्त्रालय योजना महाशाखा प्रमुख श्यामप्रसाद भण्डारीसँगको संक्षिप्त कुराकानी: आगामी आर्थिक वर्षको बजेटको तयारी कसरी हुँदैछ ? जवाफः पछिल्लो समय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अध्यादेशमार्फत संशोधन भएर आएको छ । त्यसले बजेटको कार्यतालिकामा समेत संशोधन गरेको छ । त्यसअन्तर्गत फागुन ७ गते भित्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत अनुमान समितिले १९ खर्ब हाराहारीको आगामी वर्ष २०८२/८३ का लागि स्रोत अनुमान गरेर अर्थ मन्त्रालयलाई सिलिङ बुझाएको छ । अर्थ मन्त्रालयले फागुन १५ गते भित्रै विषयगत मन्त्रालयहरुलाई सिलिङ र आठ बुँदे बजेट तर्जुमा सम्बन्धि मार्गदशन उपलब्ध गराइसकेको छ । फागुन २१ देखि उपप्रधान तथा अर्थमन्त्रीको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीसहितसँग मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । आम सर्वसाधारणले बजेटलाई कसरी बुझ्ने ? बजेट भनेको आगामी आर्थिक वर्षका लागि आय र व्यायको अनुमान हो । राजश्व र चालु, पुँजीगत, वित्तीय व्यवस्थामा हुने खर्चको अनुमान गरिएको हुन्छ । त्यो अनुमानलाई अर्थमन्त्रीले संसद्मा पेश गर्नुहुन्छ । संसदले पास गरेपछि त्यो बजेट कार्यान्वयनको चरणमा जानेछ । नेपालको संविधानमै जेठ १५ मै बजेट प्रश्तुत गर्ने भन्ने छ, त्यो भनेको प्रत्येक वर्षको नेपाल सरकारको आय र व्यायको विवरण हो । पछिल्ला वर्षमा ठूलो आकारको बजेट ल्याउने होड देखिन्छ, आगामी वर्षमा कार्यन्वयनयोग्य बजेट आउला ? जवाफः आगामी आर्थिक वर्षका लागि अनुशासित, यथार्थ परकबजेट ल्याउने हिसावले अघि बढेका छौं । त्यसका लागि अर्थमन्त्रीले आफैँ विषयगत मन्त्रालयहरुका मन्त्री, सचिवहरुसँग अर्थ मन्त्रालयका सचिवहरुसँग राखेर छलफल अघि बढाउनुभएको छ । यो भनेकै बजेटलाई कार्यान्वयन योग्य, यथार्थपरक बनाउ भन्ने हिसावले नै यो तयारी भइरहेको छ । बजेटमा तोकिएका सबै कुराहरु कार्यान्वयनका सन्दर्भमा कतिपय आयोजनाहरुको पूर्वतयारी भएका हुँदैनन् । बजेट एउटा राजनीतिक दस्ताबेज पनि हो । कतिपय कुराहरु कार्यान्वयन गर्ने हिसाबमा राजनीतिक रुपमा पनि आउछन् । जुनमा अलिकति तयारी पुगेको हुँदैन । हाम्रा आयोजना, ठेक्का व्यवस्थापनमा केही समस्याहरुका कारणले बजेटमा आएका सबै कार्यक्रमहरु लागू भएको देखिँदैन । यि सबै विषयगत मन्त्रालयहरुले ध्यान दिनुपर्ने कुरा हो ।न्यूज एजेन्सी नेपाल
४ लगानी कम्पनीलाई पुँजी बजारमा सूचीकृत कम्पनीको सेयर कारोबारमा रोक
काठमाडौं । पुँजी बजारमा सूचीकृत ४ कम्पनीले सूचीकृत कम्पनीहरूको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीलाई दोस्रो बजार र लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयर खरिदमा रोक लगाएको हो । धितोपत्र बोर्डका अनुसार लगानी समूहका ती ४ कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत सेयर किन्न नपाउने भएका हुन् । नेप्सेको लगानी समूहमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सीईडीबी होल्डिङ्स, इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट नेपाल सूचीकृत छन् । यी कम्पनीले नेप्सेमा सूचीकृत कम्पनीको सेयर र लिलामी सेयर किन्न नपाउने धितोपत्र बोर्डले जनाएको छ । ‘धितोपत्र बोर्डको २०७५ मंसिर १२ गते र २०७६ वैशाख ३० गतेको निर्णयानुसार प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (ऊर्जा, यातायात र सञ्चार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने नीतिगत व्यवस्था रहेको छ । त्यस्ता संस्थाहरुले हकप्रद सेयरको लिलाम बढाबढमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएकोले नीतिगत व्यवस्थाअनुसार सेयर खरिद रोक्ने निर्णय गरेको हो,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।