काठमाडौं । सर्वसाधारणलाई आईपीओ जारी नगरेका लगानीमुलक कम्प पनि नेपाल नेपाल धितोपत्र बोर्ड (सेबोन)मा सूचीकृत हुनुपर्ने भएको छ । धितोपत्र बोर्डले लगानीमुलक (इन्भेस्टमेन्ट) कम्पनीहरूलाई सूचीकृत हुन आउन आग्रह गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (२)ले दिएको अधिकार प्रयोगरी समन्वय समितिको सिफारिसमा ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेस्टमेन्ट कम्पनीको हकमा धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको छ ।
सोही निर्णय बमोजिम धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम २० को व्यवस्था अनुसार सूचीकृत हुन जानकारी गराएको हो ।
बोर्डका अनुसार सूचीकृत हुनका निवेदन दिनुपर्ने, सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत), कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र हुनुपर्नेछ ।
यस्तै, कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर), कम्पनीको सञ्चालक समितिबाट धितोपत्र बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबारसमेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्तापुँजी खुल्ने कागजात तथा विवरण समावेश गर्नुपर्नेछ ।