विकासन्युज

देशको नीतिगत नेतृत्व काँग्रेसले गरिरहेको छ : नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । उनले काँग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बताए । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको उनको दाबी छ । ‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ’, उनले भने । नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।

२०२४ मा पर्यटन क्षेत्र : होटलको संख्या बढ्यो, बढेन गतिविधि

  काठमाडौं । नेपालको अर्थतन्त्रलाई सबल बनाउने महत्त्वपूर्ण क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि एक हो । सन् २०१९ मा विश्वभरि महामारीको रूपमा फैलिएको कोभिडले शिथिल बनाएको यो क्षेत्र अहिले पनि पूर्ण रूपमा उठ्न सकेको छैन । यो क्षेत्र विस्तारै लयमा फकिने क्रममा छ । पर्यटन क्षेत्रको लागि २०२४ सोचेअनरूप हुन सकेन । विभिन्न नीतिगत समस्या, प्राकृतिक प्रकोपलगायत कारणले यो वर्ष पर्यटन क्षेत्रको लागि चुनौती बनेर नै उभिएको यस क्षेत्रका व्यवसायीहरूको धारणा छ । यो वर्ष लक्ष्यअनुरूप पर्यटक पनि भित्रिन सकेको छैन । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार २०२४ को पहिलो ११ महिनामा १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले सन् २०२४ मा १३ लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार डिसेम्बरको अन्त्यसम्ममा ११ लाख २५ हजारसम्म पर्यटक नेपाल भित्रिने देखिएको छ । जुन लक्ष्यभन्दा २ लाख कम भित्रिने भएको हो । निर्देशक लामिछानेले २०२३ मा भन्दा यो वर्ष १५/२० प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार २०१९ को तुलनामा ९४ प्रतिशतले पर्यटन क्षेत्रमा रिकभर भएको छ । एसिया प्यासिफिकअनुसार ८५ प्रतिशतले रिकभर भएको देखाएको छ । यसरी हेर्दा २०२४ पर्यटन क्षेत्रको लागि सकारात्मक वर्षको रूपमा लिनुपर्ने निर्देशक लामिछाने बताउँछन् । २०२४ मा देखिएको चुनौती २०२४ पर्यटन क्षेत्रको लागि चुनौतीपूर्ण नै रह्यो । त्रिभुवन विमानस्थल दैनिक ८ देखि १० घण्टा बन्द हुँदा पर्यटन आगमनको फ्लोमा ठूलो धक्का लाग्यो । निर्देशक लामिछाने उडान कटौती हुँदा हवाई टिकट तेब्बरले महंगो भएको बताउँछन् । लामिछानेका अनुसार अहिले एयरलाइन्सको ३० प्रतिशतले अप्रेसन कस्ट घटेको छ । यसले ४० प्रतिशत पर्यटक आगमनलाई असर पारेको उनले प्रष्ट्याए । जुलाईमा पर्यटक बोकेको भारतीय दुई बस दुर्घटना हुन पुग्यो । यस दुर्घटनाले सडकबाट यात्रा गर्न धेरै पर्यटकहरू डराए । जसले गर्दा गत वर्षको तुलनामा यो वर्ष भारतीय पर्यटकको आगमनमा कमी आएको निर्देशक लामिछानेले बताए । लामिछानेका अनुसार गत वर्ष कुल पर्यटक आगमनको ३५ प्रतिशत भारतीय पर्यटक नेपाल भित्रिएका थिए भने यस वर्ष १२ प्रतिशत मात्रै पर्यटक भित्रिएको छ । विमान दुर्घटनाको प्रभावले युरोप र अमेरिकाबाट आउने पर्यटको संख्यामा समेत कमी आयो । नेपालमा सन् २०२४ मा नयाँ अन्तर्राष्ट्रिय चेन होटलहरू हिल्टन, होलिडे इनलगायत खुलेका छन्, कति खुल्ने क्रममा छन् । यसले नेपालमा पछिल्लो समय ‘क्वालिटी टुरिष्ट’ को आगमन बढेको निर्देशक लामिछाने बताउँछन् । अन्तर्राष्ट्रिय चेन होटल आउनु भनेकै नेपालमा क्वालिटी टुरिष्टको सम्भावना बढेर गएको उनले बताए । विश्वमा पछिल्लो समय धनीको संख्या बढेपनि त्यसअनुसार घुम्ने समय कम भएको छ । यसले गर्दा पछिल्लो समय थोरै समयमा धेरै ठाउँ घुम्ने चलन बढेको छ । यसमा सरकारले ध्यान दिनुपर्नेमा त्यो हुन नसक्नु पर्यटन क्षेत्रको लागि चुनौती थपिएको निर्देशक लामिछाने बताउँछन् । केही हप्ताअघि सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गर्‍यो । तत्काल हवाई व्यवसायीहरूले अस्वीकार गरेपनि दिर्घकालीन रूपमा यसको असर पर्यटन क्षेत्रलाई नै पुग्ने निर्देशक लामिछानेको भनाइ छ । खर्च गर्न पैसा भएका ठूला व्यक्तिहरू जसलाई ट्रेकिङ गर्न कम समय छ, त्यस्ताहरूलाई हवाईबाट मात्रै सम्भव भएकाले यसतर्फ पनि सरकारले सोच्नुपर्ने लामिछाने सुनाउँछन् । २०२४ मा घटेका दुई दु:खद घटना २०२४ पनि अरू वर्षजस्तै जहाज दुर्घटनाले निरन्तरता पायो । यो वर्षको जुलाई ९ मा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको थियो । जुन दुर्घटना अन्तर्राष्ट्रिय विमानस्थल नजिक नै भएको हो । दुर्घटनामा पाइलटबाहेक १८ जनाले ज्यान गुमाएका थिए । सौर्य जहाज दुर्घटना भएको १५ दिनपछि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीको लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जंगलमा दुर्घटना भएको थियो । जुन दुर्घटनामा चालकसहित पाँच जनाले ज्यान गुमाएका थिए । अन्य महत्त्वपूर्ण गतिविधि २०२४ अर्थात नोभेम्बर ८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि भन्दै दैनिक १० घण्टा उडान बन्द गर्ने निर्णय भयो । हाल भने दैनिक ८ घण्टा बन्द भइरहेको छ । यसले उडानमा ठूलो कटौती भएको छ । जसले गर्दा हवाई भाडा महंगिनुको साथै टिकट पाउन मुस्किल छ । जसको असर पर्यटन क्षेत्रले भोग्नुपरेको छ । करिब चार दशकदेखि बन्द अवस्थामा रहेको टिकापुर विमानस्थल पनि यही वर्षबाट सञ्चालनमा आएको छ । नोभेम्बर ३० बाट उक्त विमानस्थल सञ्चालनमा आएको हो । यसबाहेक यस वर्ष अर्को ठूलो घटना नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टचार ठहर गरेको भन्दै चार जनालाई दोषी ठहर भएको छ । जसमा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी ठहर भए । यसबाहेक यसै वर्ष नयाँ पर्यटन नीति २०८१ बन्ने क्रममा छ । जुन सन् २०२४ को सकारात्मक पक्ष हो । अर्को नयाँ पर्यटन ऐन मन्त्रिपरिषदबाट पास भएर संसदमा पुगेको छ । यसले पर्यटन व्यवसायीलाई व्यवसाय गर्न सहजीकरण हुने अपेक्षा गरिएको छ । सकारात्मक पक्ष अन्तर्राष्ट्रिय पत्रिका सीएनएले विश्वका उत्कृष्ट एक सय गन्तव्यको सूचीमा बर्दियाको बुरान रिर्सोटलाई समेटेको छ । सीएनएनले संसारका उत्कृष्ट रिर्सोटहरूको सूचीमा नेपालको सिन्तामणि रिर्सोटलाई समेटको छ । ट्राभल गाइड लोन्ली प्लानेटका अनुसार २०२५ मा घुम्नै पर्ने विश्वका शीर्ष ३० ट्राभल गन्तव्यको सूचीमा नेपालको तराई क्षेत्रलाई समेटेको छ । त्यस्तै, विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा काठमाडौंलाई समेटेको छ । यी सबै कुराले गर्दा नेपाल घुम्नको लागि उत्कृष्ट गन्तव्य भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश पुगेको छ । नेपालको पर्यटन क्षेत्रको लागि यो सकारात्मक पक्ष हो । पर्यटन व्यवसायीको नजरमा सन् २०२४ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष कुमार मणि थपलियाले सन् २०२४ पर्यटन क्षेत्रको लागि उतारचढाव वर्ष भएको बताएका छन् । ‘विभिन्न नीतिगत कारण, अन्तर्राष्ट्रिय विमानस्थल स्तोरोन्ति विस्तारलगायतका कारणले सोचेअनुरूप पर्यटक भित्र्याउन सकेन,’ अध्यक्ष थपलियाले भने, ‘दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा उडान प्रभावित हुन पुग्यो । जसले गर्दा युरोपियन मुलुकसहित छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्या घट्न पुग्यो ।’ त्यसबाहेक सन् २०२४ मा हवाई टिकट अचाक्ली महंगो हुन पुग्यो । जसले गर्दा पर्यटकलाई असुविधा पुग्न गएको उनले बताए । उनका अनुसार टिकट महंगो त्यसमा पनि टिकटै नपाउने समस्या पर्यटकले बेहोर्नुपर्दा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह नभएकोमा दु:ख व्यक्त गरे । ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे सरकारी निकायदेखि विभिन्न निकायबाट हुनुपर्ने कामकारबाहीमा ढिलासुस्ती हुने प्रवृत्ति सन् २०२४ मा पनि निरन्तरता पाएको बताउँछन् । काठमाडौं–पोखराको सडक नबन्दा यो वर्ष पर्यटकले ठूलो सास्ती खेप्नुपरेको उनले बताए । ‘पर्यटकहरु सबै हवाईबाट यात्रा गर्न असम्भव छ, कति जनाले सडकको यात्रा गर्नुपर्छ । समयमै सडक नबन्दा, चार घण्टामा पुग्ने बाटोमा १० घण्टा लागेको छ, यसले पर्यटन क्षेत्रमा ठूलो चुनौती थपेको छ,’ उनले भने । अध्यक्ष पाण्डेको नजरमा पनि प्राकृतिक विपत्ति, हवाई दुर्घटना र विमानस्थल विस्तारको लागि हवाइ उडान कटौती हुँदा पर्यटन क्षेत्रमा जति राम्रो हुनुपर्ने त्यो हुन सकेन । साथै यी गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश पुगेको बताएका छन् । २०२४ मा नसोचेको समयमा बाढीपहिरो गयो, बाटोघाटो अवरुद्ध हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल घुम्नको लागि उपयुक्त छैन भन्ने सन्देश पुग्दा पर्यटक आगमन घट्न पुग्यो । अध्यक्ष पाण्डे २०२४ मा टानमा नयाँ कार्यसमित बनेको र नयाँ कार्यसमितिले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले अघि बढिरहेको बताए । साथै उनले अब पर्यटन व्यवसायीहरू सरकारले तयार पारेको नीतिमा मात्रै नअल्झेर नयाँ ढंगले अघि बढ्नुपर्ने बेला भएको बताए । उनले नयाँ पर्यटन पोलिसी बन्ने क्रममा भएको हुँदा समग्र पर्यटन क्षेत्रको विकास, पर्यटनमैत्री र आर्थिक क्षेत्रलाई माथि पुर्‍याउने किसिमको आउनुपर्ने सुझाव दिएका छन् । लामा एडभेन्चर ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक सन्तवीर लामा २०२४ अर्थतन्त्रलाई जति सहायता हुनुपर्ने त्यो नभएको तर्क राख्छन् । उनले २०२४ परम्परागत ढंगबाट नै समापन भएको बताए । ‘नेपालको पर्यटन धेरै पुरानो हिसाबको भयो । विगतमा जसरी चल्थ्यो, अहिले पनि त्यसरी नै चलिरहेको छ । २०२४ मा सरकारले नयाँ गन्तव्य पहिचान गरी विकास गर्ने भन्ने कुरा थियो, त्यो नीतिमै सीमित भयो, कार्यान्वन हुन सकेन,’ लामाले भने । नेपालमा बेमौसी सिजनमा आएको बाढी, भुकम्पलगायत प्राकृतिक विपत्ति अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश प्रवाह हुन पुगेको लामाले बताए । उनले भने, ‘२०२४ मा रुकुम-पश्चिमा भूकम्प जाँदा अन्तर्राष्ट्रिय बजारमा काठमाडौं बाहिर बाटो नै छैन भन्ने सन्देश गयो । असोजमा आएको बाढीले धेरै ठाउँमा धनजनको क्षति हुन पुग्यो । त्यतिबेला धेरै पर्यटक घट्न पुग्यो । यी विपद्हरू नेपालमा आउँदा अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश प्रवाह हुन पुग्यो । यो गलत सन्देश भने छिमकी राष्ट्रले नै गरेका थिए, त यसको प्रतिवाद नेपाल सरकारले गर्न सकेन ।’ नेपाल पर्वतारोहन संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे कोभिडको समयमा थला परेको पर्यटन सन् २०२४ बाट लयमा फर्केको बताउँछन् । सन् २०२४ मा पर्यटन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकण बढेको र त्यसले पर्यटन क्षेत्रलाई राम्रो भएको उनको भनाइ छ । साथै उनले होटल र एयरलायन्सको संख्यामा उल्लेखनीय वृद्धि हुँदा आउँदा वर्षमा पर्यटन व्यवसायमा सम्भावना बढ्दै गएको सुनाए । संघका वरिष्ठ उपाध्यक्ष यो वर्ष प्राकृतिक विपत्तिले पूर्वाधारमा पुर्‍याएको क्षतिले धेरै पर्यटकलाई असुविधा हुन पुगेको र त्यसले पर्यटकको आगमनमा चुनौती थपिएको कुरामै जोड दिन्छन् । यसबाहेक नेपालले काठमाडौं, पोखरा, चितवनजस्ता ठाउँलाई मात्रै पर्यटकीय क्षेत्र नभएर देशका विभिन्न ठाउँहरू छन् जसलाई प्रचारप्रचार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । होटल संघ नेपालका महासचिव साजन शाक्य होटल व्यवसायीको लागि सन् २०२४ त्यति सन्तोषजनक नभएको बताउँछन् । यो वर्ष नयाँ होटलहरूको संख्या थपिएपनि त्यसअनुसारको पर्यटक भित्र्याउन नसक्दा सन्तोष मान्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । उनले भने, ‘यो वर्ष पाँचतारे होटल नै पाँचवटा भित्रियो, अन्य तारे होटलहरू पनि सञ्चालनमा आएका छन्, यो सकारात्मक पक्ष हो । यसले एकातिर रोजगारी सिर्जना गरेको छ, अर्कोतिर अर्थतन्त्रलाई सहयोग पुगेको छ । तर होटलको संख्या बढेअनुसार अकुपेन्सी बढ्न सकेको छैन ।’ महासचिव शाक्यका अनुसार अहिले होटलहरूको अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै छ । व्यवसायीहरूले सन्तोष मान्नका लागि होटलको अकुपेन्सी कम्तीमा ५० प्रतिशत माथि हुनुपर्छ । सरकारले सडक पूर्वाधारका समस्या समाधान र पर्यटनमैत्री बनाउन सकेको खण्डमा यो क्षेत्रमा आगामी दिनमा राम्रो गर्न सक्ने बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी पर्यटन व्यवसायीको हकहितको लागि सोचेअनुसारको काम नभएको बताउँछन् । चितवनको सडक नबन्दा त्यहाँ आउने पर्यटक घट्न पुगेको उनले बताए । ‘२०२४ मा हाम्रो लागि सडक चुनौती भएर खडा भयो । काठमाडौं-चितवन होस् चितवन-बुटवल या पोखरा । सडक अवरुद्ध हुन पुग्दा पर्यटकले सास्ती झेल्नुपर्‍यो । सडक, बाढी यति धेरै संवेदनशील कुरा हो यसले पर्यटनलाई धक्का हानिहाल्छ । त्यसले गर्दा पनि यो वर्ष अपेक्षाअनुसार भएन,’ उनले भने । अपेक्षाअनुसार पर्यटक नभित्रिँदा चितवनमा पर्यटन व्यवसायीहरू धराशायी अवस्थामा पुगेको उनले बताए । उनका अनुसार यो वर्ष बैंकको ब्याजदर घट्दा त्यसले राहत पुगेपनि धेरै कर्जा हुने व्यवसायीहरुको अवस्था अहिले पनि नाजुक भएको सुनाए । होटल संघ पोखराका अध्यक्ष लक्ष्यमण सुवेदी यो वर्ष ११ लाखभन्दा बढी पर्यटक ब भित्रिनुलाई नराम्रो भन्न नमिल्ने बताउँछन् । तर यसलाई पर्याप्त मान्नुपर्ने अवस्था भने नभएको सुनाउँछन् । उनले भने, ‘जुन हिसाबले धेरै पर्यटक भित्र्याउने अपेक्षा थियो, त्यो गराउन सकेन ।’ केही चार्टड फ्लाइडबाहेक अन्य उडान नियमित गर्न नसकेको उनको गुनासो छ । यो वर्ष पोखरामा मात्रै नभएर नेपालमै पहिलो पटक बेलुन फेस्टिबल सुरु हुनु पर्यटन क्षेत्रको लागि ठूलो अवसर रहेको उनले बताए । त्यसबाहेक यो वर्ष लामो समयदेखि आन्तारिक द्वन्द्वमा फसेको नेपाल पर्यटन बोर्डले नयाँ नेत्तृत्व पाएकोमा यो क्षेत्रको विकासको लागि सकारात्मक पक्ष औंल्याए ।

एघार लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

चीनले पुन: प्रयोग भएका तामा र एल्युमिनियमका कच्चा पदार्थको आयात शुल्क घटाउने

काठमाडौं । चीनले अर्को वर्षदेखि एथेन र केही पुनःप्रयोग गरिएको तामा तथा एल्युमिनियमका कच्चा पदार्थहरूको आयात शुल्क घटाउने भएको छ । चिनियाँ वित्त मन्त्रालयले शनिबार विभिन्न आयात शुल्क वर्गीकरणमा समायोजन गर्ने घोषणा गरेको हो । यो समायोजन जनवरी १ देखि लागू हुनेछ । यसको उद्देश्य उच्च-गुणस्तरका उत्पादनहरूको आयात बढाउनु, घरेलु माग विस्तार गर्नु र उच्च-स्तरको खुलापन प्रवर्द्धन गर्नु रहेको छ । मन्त्रालयले ९३५ वस्तुहरूमा प्रत्येक राष्ट्रको अनुकूल शुल्क दरभन्दा तल रही अस्थायी आयात शुल्क लागू गरिने जानकारी दिएको छ । हरित र कम-कार्बन विकासलाई प्रवर्द्धन गर्न एथेन र केही पुनःप्रयोग गरिएको तामा तथा एल्युमिनियमका कच्चा पदार्थहरूको आयात शुल्क घटाइने जनाइएको छ । यसका साथै मोलासेस र चिनीयुक्त मिश्रित पाउडरजस्ता वस्तुहरूको आयात शुल्क बढाइनेछ भने साइक्लिक ओलेफिन पोलिमर, इथिलिन-भिनाइल अल्कोहल कोपोलिमर र दमकल तथा मर्मत गाडीहरूका लागि स्वचालित ट्रान्समिशन जस्ता वस्तुहरूको आयात शुल्क घटाइनेछ । सोडियम जिरकोनियम साइक्लोसिलिकेट, कार-टी ट्युमर उपचारका लागि भाइरल भेक्टर, र शल्यक्रियामा प्रयोग हुने निकेल-टाइटेनियम मिश्र धातु तारहरूजस्ता वस्तुहरूमा पनि आयात शुल्क घटाइनेछ ।

सुनको मूल्य तोलामा एक हजारले गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा मंगलबार सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट भएको छ । आज प्रतितोला चाँदी एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी

  काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुष १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि वित्तीय संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनीका सचिव दीपक न्यौपानेले जानकारी दिए ।

शून्य ब्याजदरमै सीएफमोटोको ‘टु हन्ड्रेड फिफ्टी एनके’, २ वर्ष किस्तावन्दीको सुविधा

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई ० प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो ‘टु हन्ड्रेड फिफ्टी एनके’ कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सीमित अवधिका लागि लागू गरिएको यस योजना पौष १६ गते देखि माघ १८ गते सम्म लागु हुने कम्पनीले जनाएकाे छ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै यस योजनाले सरल कागजी प्रकृया रुचिअनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधासमेत प्रदान गर्दछ । कम्पनीको भनाइअनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत ० प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ । बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरूलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका बाइकहरूको तालिम सीएफमोटो चाइनाका ट्रेनरहरूमार्फत सन्चालन गरेको थियो । यसका साथै टु हन्ड्रेड फिफ्टी एनके नगदमा खरीद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँसम्म छुट, एक्सचेन्जमा ३० हजार र थप मूल्यांकनको साथै फ्री गिफ्ट, हेल्मेट, १ वर्षको लागि सीएफमोटोको पार्ट्स खरीदमा १० प्रतिशत छुटसमेत दिएको छ । सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनकेमा २४९.५ सीसीको सिंगल साइलाइनर इन्जिन दिइएको छ, जसले २०.५ किलोवाटको म्याक्सिमम पावर र २२ एनएमको टर्क उत्पादन गर्ने र यसमा डुअल च्यानल एबीएस, १२.५ लिटरको ट्यांक, आकर्षक डिजाइन तथा प्रविधि अपनाएको छ । जसले उक्त वाईकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथ अपग्रेडेड राइडको मज्जा लिन सक्ने छन् ।

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म १६ करोड रुपैयाँको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने छ करोड १४ लाख रुपैयाँमा लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताए । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् । सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताए । यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ । पर्यटनमा सम्भावना र आर्थिक प्रभाव सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ । रासस