विकासन्युज

अर्घाखाँची सिमेन्टले बाढीपीडितका लागि दियो १ करोड ११ लाख

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट अर्घाखाँची सिमेन्ट लिमिटेडका सञ्चालक पशुपति मुरारकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा व्यवसायीहरू राजेश अग्रवाल, मनोज केडिया लगायतको उपस्थिति रहेको थियो । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत घोषणा गरिएको १ करोड ११ लाख रुपैयाँ सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास लिइएको छ ।

रास्वपा नेता शाक्य भन्छन्– आशिकाले आफ्नो शैली सुधार्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङका नेता डा. कृष्णमान शाक्यले पार्टीकी सांसद आशिका तामाङले नागरिकका समस्या उठाउने विषय सही भए पनि त्यसलाई प्रस्तुत गर्ने शैली उपयुक्त नभएको बताएका छन् । आइतबार विकासन्युजकर्मीसँग कुरा गर्दै शाक्यले तामाङले वडाध्यक्षसँग गरेको प्रश्न उठानको विषयलाई गलत भन्न नमिल्ने, तर प्रश्न गर्ने र प्रस्तुत हुने शैली भने सुधार गर्नुपर्ने बताए । ‘उहाँले नागरिकका समस्या उठाउनुहुन्छ, यो सकारात्मक कुरा हो,’ शाक्यले भने, तर ती विषय उठाउने उहाँको शैली त्यति शोभनीय हुँदैन । जनप्रतिनिधिसँग प्रश्न गर्दा विषयवस्तुमा केन्द्रित भएर मर्यादित ढंगले प्रस्तुत हुनुपर्छ ।’ उनका अनुसार जनप्रतिनिधिले नागरिकका समस्या र गुनासा सम्बन्धित निकायसम्म पु‍र्‍याउनु आवश्यक छ ।  तर, समस्या समाधानका लागि गरिने पहल विवाद वा व्यक्तिगत आरोप प्रत्यारोपमा परिणत हुन नहुने उनको भनाइ छ । शाक्यले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयमता अपनाउनुपर्ने बताए ।  ‘सांसदले जनताको आवाज उठाउनु उहाँको जिम्मेवारी हो । तर सार्वजनिक पदमा रहेपछि बोल्ने र प्रस्तुत हुने शैलीले पनि त्यत्तिकै महत्त्व राख्छ,’ उनले भने । उनले तामाङले उठाएका विषयमाथि भन्दा पनि त्यसलाई प्रस्तुत गर्ने तरिका चर्को रहेको बताए ।  नागरिकका समस्या समाधान गर्न स्थानीय तह, जनप्रतिनिधि र सांसदबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । रास्वपाभित्रै सांसद तामाङको कार्यशैलीलाई लिएर समय समयमा बहस हुँदै आएको अवस्थामा शाक्यको पछिल्लो टिप्पणी आएको हो ।

बाढीपीडितका लागि सिद्धार्थ बैंकले दियो २ करोड ५१ लाख

काठमाडौं  । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।  विपद्बाट मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापना कार्यमा सहयोग पु‍र्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।  साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवनमा फर्काउन भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ । सिद्धार्थ बैंकले यसअघि पनि विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ ।  आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा सामाजिक दायित्वअन्तर्गत मानवीय सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले डाक्यो भर्चुअल केन्द्रीय समिति बैठक

काठमाडौं । विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी सूचना जारी गरिएको छ । पार्टीले दिएको जानकारीअनुसार बैठक आज आज अपरान्ह ४ः३० बजे बस्नेछ । बैठकका मुख्य कार्यसूचीमा पछिल्लो समय देखिएका बाढी, पहिरोलगायत विपद्का घटनाको सन्दर्भमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्ने विषय राखिएको छ ।  बैठकमा विपद्का बेला उद्धार, राहत, पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल हुने बताइएको छ ।

एउटा स्टल बनाउन ८० लाख खर्च

काठमाडौं । नाडा अटो शोमा नयाँ गाडीका मोडलसँगै आकर्षक स्टलले पनि दर्शकको ध्यान तान्ने गरेका छन् । ब्रान्डको पहिचान र नयाँ उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न अटोमोबाइल कम्पनीहरूले स्टल निर्माणमै ठूलो रकम खर्च गर्ने गरेका हुन् । अटो व्यवसायीहरूका अनुसार नेपालमा आयोजना हुने नाडा अटो शो तथा ठूला मोबिलिटी एक्स्पोमा एउटा अटोमोबाइल स्टल निर्माण गर्न २० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।  स्टलको क्षेत्रफल, डिजाइनको जटिलता, प्रविधिको प्रयोग तथा सम्बन्धित ब्रान्डको आवश्यकताअनुसार खर्च फरक पर्ने गरेको उनीहरूको भनाइ छ । साना तथा सामान्य प्रकृतिका स्टल निर्माणमा तुलनात्मक रूपमा कम खर्च हुने गरेको व्यवसायीहरू बताउँछन् ।  विशेषगरी दुईपांग्रे, अटो पार्ट्स वा अन्य साना ब्रान्डका स्टलमा १० लाख रुपैयाँसम्म खर्च हुने गरेको उनीहरूले जानकारी दिए । मध्यम स्तरका अटोमोबाइल स्टल निर्माणमा भने २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने गरेको ओमोडा एन्ड जेकोका एक प्रतिनिधिले बताए ।  उनका अनुसार स्टलको आकार बढ्दै जाँदा डिजाइन, प्रविधि र सजावटमा थप लगानी गर्नुपर्ने भएकाले खर्च पनि बढ्दै जान्छ । ठूला तथा प्रिमियम चारपांग्रे ब्रान्डका स्टलमा खर्च अझै बढी हुने गरेको छ । यस्ता स्टल निर्माणमा ३० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको व्यवसायीहरू बताउँछन् ।  यसपटकको अटो शोमा केही स्थापित गाडी ब्रान्डले स्टलको निर्माण तथा सजावटमा मात्रै ७० लाख रुपैयाँसम्म खर्च गरेको उनीहरूको दावी छ । स्टलमै किन हुन्छ यति ठूलो खर्च ? अटो शोमा स्टल भनेको केवल गाडी राख्ने ठाउँ मात्रै नभई ब्रान्डको ‘प्रिजेन्टेसन’ गर्ने मुख्य माध्यमसमेत हो । त्यसैले कम्पनीहरूले स्टललाई आकर्षक, प्रविधिमैत्री र फरक देखाउन ठूलो रकम खर्च गर्ने गरेका हुन् । स्टल निर्माणको खर्चमा सबैभन्दा ठूलो हिस्सा स्ट्रक्चर तथा फेब्रिकेसनमा जाने गरेको छ । मेटल फ्रेम, काठको काम, प्लाइउड, फिनिसिङ तथा गाडी राख्न आवश्यक बलियो स्टेज निर्माणमा उल्लेख्य रकम खर्च हुन्छ । त्यस्तै, फ्लोरिङमा पनि कम्पनीहरूले विशेष ध्यान दिने गरेका छन् । गाडी अड्याउन मिल्ने बलियो संरचनासँगै कार्पेट वा प्रिमियम लेमिनेटेड फ्लोरिङ प्रयोग गर्दा लागत बढ्ने गर्छ । पछिल्लो समय स्टलको आकर्षण बढाउन लाइटिङ र डिजिटल डिस्प्लेमा पनि ठूलो लगानी हुन थालेको छ । आकर्षक लाइट, डिजिटल स्क्रिन तथा ब्याकग्राउन्डमा राखिने ठूला एलईडी भिडियो वाल स्टलको प्रमुख आकर्षण बन्ने गरेका छन् । एलईडी भिडियो वालको भाडा, ढुवानी, जडान तथा सञ्चालन खर्चसमेत महँगो पर्ने व्यवसायीहरू बताउँछन् । त्यसैगरी ब्रान्डिङ तथा थ्रीडी लोगो, फ्लेक्स, विनाइल स्टिकर, ब्यानरलगायतका सामग्री निर्माणमा पनि खर्च हुने गरेको छ । कम्पनीले आफ्नो ब्रान्डको पहिचान र नयाँ मोडललाई प्रमुखताका साथ देखाउन खोज्दा डिजाइन तथा ब्रान्डिङको लागत बढ्ने गर्छ । स्टल निर्माणसँगै लजिस्टिक र जनशक्तिको खर्च पनि जोडिन्छ । भृकुटीमण्डपजस्ता प्रदर्शनीस्थलमा निर्माण सामग्री तथा उपकरण ओसारपसार गर्ने, प्राविधिक जनशक्ति परिचालन गर्ने, रातिसम्म काम गर्ने कामदार तथा प्राविधिकको पारिश्रमिक र डेलिभरी खर्चले पनि कुल लागत बढाउने गरेको व्यवसायीहरूको भनाइ छ । अर्थात्, अटो शोमा देखिने एउटा आकर्षक स्टल पछाडि लाखौँ रुपैयाँको लगानी मात्र होइन, डिजाइनदेखि फेब्रिकेसन, प्रविधि, ब्रान्डिङ र जनशक्तिसम्मको ठूलो तयारी जोडिएको हुन्छ । यही कारण अटोमोबाइल कम्पनीहरूबीच गाडीका मोडलसँगै ‘कसको स्टल आकर्षक ?’ भन्ने प्रतिस्पर्धासमेत बढ्दै गएको छ ।

फुर्केखोलाको पुल बगेपछि वैकल्पिक सडकबाट धादिङबेंसी जोडियो

काठमाडौं । रसुवा बाढीका कारण फुर्केखोलाको पुल बगेपछि अवरुद्ध बनेको धादिङको सदरमुकाम धादिङबेंसीसँगको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा आएको छ । फुर्केखोलाको पुल बाढीले ‘वास आउट’ भएपछि धादिङबेंसीसँगको मुख्य सडक सम्पर्क विच्छेद भएको थियो ।  त्यसपछि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेंसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । संघीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालका अनुसार हाल वैकल्पिक मार्गबाट साना सवारीसाधन धादिङबेंसीसम्म सञ्चालन हुन थालेका छन् ।  सडकलाई थप सहज बनाउने काम भने जारी छ । ‘बाढीले धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल बगाएपछि सडक सम्पर्क विच्छेद भएको थियो । अहिले मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीको पुल प्रयोग गरेर दायाँ किनारबाट वैकल्पिक सडक सञ्चालनमा ल्याएका छौं,’ नेपालले भने। उनका अनुसार बाढीले क्षति पु‍र्याएका तथा लेदो र हिलो जमेको स्थानमा ग्राभेल राख्ने, लेदो हटाउने र आवश्यक ठाउँमा अस्थायी संरचना निर्माण गर्ने काम भइरहेको छ ।  खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न मिल्ने बनाइएको छ । केही स्थानमा सडक सामान्य अवस्थामा रहे पनि बाढीले ‘वास आउट’ गरेका खण्डमा भने अझै सवारी सञ्चालनमा कठिनाइ रहेको कार्यालयले जनाएको छ ।  ती स्थानलाई सुधार गरी ठूला सवारीसाधनसमेत सञ्चालन गर्न सकिने बनाउने तयारी भइरहेको छ । वैकल्पिक सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन परिचालन गरिएको छ ।  आवश्यकताअनुसार अन्य क्षतिग्रस्त सडक खण्डमा समेत उपकरण परिचालन गरिएको संघीय सडक सुपरीवेक्षण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नजिकैबाट ग्राभेल उपलब्ध भए त्यहीँबाट ल्याएर हिलो तथा लेदो भएका खण्डमा हाल्ने तयारी गरिएको छ ।  अहिले साना सवारीसाधनका लागि सडक सम्पर्क स्थापित भइसकेको र अन्य सवारीसाधनलाई समेत सहज रूपमा सञ्चालन गर्न सडक सुधारको काम तीव्र पारिएको छ ।

बाढीपीडितको राहतका लागि जावलाखेल ग्रुपले दियो ३ करोड

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने सरकारको प्रयासमा साथ दिँदै जावलाखेल ग्रुपले उक्त रकम हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ ।  विपद्का कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै कम्पनीले बाढीबाट प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ । जावलाखेल ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, पुनस्र्थापना र पुनःस्थापनाका प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धतासमेत जनाएको छ ।   ‘राहत, पुनस्र्थापना, पुनर्निर्माण र ऐक्यबद्धता’लाई प्राथमिकतामा राख्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिएको जनाएको छ ।

नाइमाले प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।  साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नाइमाका सदस्य कम्पनीहरूले विपद्को सुरुवातदेखि नै आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएका छन् ।  संस्थाले सदस्य कम्पनीहरूको यस सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि प्रभावित नागरिकको सहयोगमा निरन्तर सक्रिय रहन आग्रह गरेको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले विपद्को कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा दायित्व भएको बताइन् । उनले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै सहयोगका लागि तत्पर सदस्य कम्पनीहरूप्रति धन्यवाद व्यक्त गरिन् । नाइमाले खोज, उद्धार तथा राहतमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति सम्मान व्यक्त गरेको छ ।  साथै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावितको सहयोगमा हातेमालो गर्न आह्वान पनि गरेको छ ।