विकासन्युज

सरकारले हरेक काममा सेटिङ गरिरहेको छ, माग पूरा नगरे आन्दोलनमा उत्रिन्छौं : अध्यक्ष सिंह

  काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सरकारले हरेक काममा सेटिङ गरिरहेको बताएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आफूहरूले काम गरेको भुक्तानी रकम पटक-पटक सरकारसँग हारगुहार गरे पनि भुक्तानी हुन नसकेको गुनासो गरेको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री र विकासे मन्त्रीले पटक-पटक भुक्तानी दिन्छौं भनेर आश्वासन दिएको तर भुक्तानी रकम नदिएको गुनासो गरेको हुन् । अब सरकारले आफूहरुले काम गरेको भुक्तानी रकम नदिए आन्दोलनको तयारीमा रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले सरकारले आफ्ना मागहरू पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिए । यसैगरी, महासंघले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि महासंघ समेतको प्रतिनिधित्व रहने गरी तत्काल उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । अध्यक्ष सिंहले सरकारले भुक्तानी रकम दिनका लागि बोलाएको तर रित्तो हात फर्काएको गुनासो गरे । अध्यक्ष सिंहले भने,‘मन्त्रीजीले आउनूस् भन्नुभयो, हामी आइतबार मन्त्रालयमै गयौं । तर भुक्तानी पाएनौं । फेरि एक सातापछि गयौं । अझै फेरि रित्तै हात फर्कियौं । फेरि कहाँकहाँको भुक्तानी बाँकी छ, त्यसको लिस्ट लिएर आउनूस् भन्नु भएको छ।’ उनका अनुसार निर्माण व्यवसायीले काम गरेको भुक्तानी ४० अर्बभन्दा बढी रहेको छ । सो भुक्तानी दिन सरकारले आनाकानी गरिरहेको व्यवसायीहरूको गुनासो छ । ‘अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भुक्तानी भएको छ । त्यो पनि चालु वर्ष विनियोजित बजेटबाट भुक्तानी भएको हो,’ अध्यक्ष सिंहले भने, ‘अन्य योजनामा अत्यन्त न्यून बजेट विनियोजन भएको छ । अन्य आयोजनाको भुक्तानी भएकै छैन । उनका अनुसार राष्ट्र बैंक र अर्थमन्त्रालयले मंसिरसम्म भुक्तानी गर्ने भनेको थियो । कार्तिकयता विकास निर्माणका कामको सिजन हो तर सरकारले भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीले सप्लाइ चेनमा भुक्तानी दिन नसकिरहेको सिंहको गुनासो छ । निर्माण व्यवसायीहरूले बैंकमा ऋण तिर्ने म्याद २०८२ असार मसान्तसम्म राखिदिन माग गरेका छन् । साथै राष्ट्र बैंकबाट दिइएको सुविधा कटौतीबाट निर्माण उद्योगमा असर परेको व्यवसायीहरूले गुनासो गर्दै सुविधा कटौती नगर्न माग गरेका छन् । राष्ट्र बैंकबाट जारी निर्देशिकामा निर्माण व्यवसायीहरूलाई ऋण, किस्ता, चेक अनादरमा दिइएको सहुलियत र कालोसूचीमा नराख्ने समयसीमा मंसिर मसान्तसम्म रहेको थियो । तर हालसम्म सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसायी समस्यामा परेकाले सहुलियत अवधि २०८२ असार मसान्तसम्म थप गर्न व्यवसायीले माग गरेका छन् । यसैगरी, २०८१ साउन ११ गते जारी २०८१/८२ को मौद्रिक नीतिले निर्माण क्षेत्र चलायमान गराई शिथिल अवस्थामा रहेको अर्थतन्त्र उकास्न महत्त्वपूर्ण प्रयास गरेको थियो । तर मंसिर १४ गते जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले निर्माण उद्योगका विद्यमान कुनै पनि समस्या सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ । गत मंसिरमा उद्योगीहरुले निर्माण सामग्रीको मूल्य बढाएपछि निर्माण व्यवसायीले विरोध जनाएका थिए । मंसिर २७ गते उद्योग मन्त्री, वाणिज्य विभागको महानिर्देशक, सचिवहरूलगायत बसेर सिमेन्ट उद्योगीसँग भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको थियो । छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर मूल्य नघटेको निर्माण व्यवसायीहरूको गुनासो छ । महासंघका अनुसार २०८१/८२ बजेट विश्लेषण गर्ने क्रममा अधिकांश ठाउँमा सिमेन्टको मूल्य ४०० रुपैयाँ पीपीसी र ५०० रुपैयाँ ओपीसि सिमेन्टको मूल्य कायम थियो । अहिले त्यही मूल्यअनुसार ठेक्का लागेर काम गरिरहेको बेला सिमेन्टको मूल्यमा प्रतिबोरा २०० रुपैयाँभन्दा बढी मूल्य बढेको उनीहरुको गुनासो छ । अहिले पीपीसी ६५० रुपैयाँ प्रतिबोरा र ७५० रुपैयाँ प्रतिबोरा ओपीसी पुगेको छ । साथै फलामे छडको प्रति किलो १५ रुपैयाँले मूल्य वृद्धि भएको छ । निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेको कारण निर्माण व्यवसायी मारमा परेको गुनासो छ । अध्ययन विना स्रोत सुनिश्चितता सत्तामा रहनेहरूको मनोमानी ढङ्गले अन्धाधुन्ध आयोजना घोषणा गरेका कारण ६ खर्ब भन्दा बढीका आयोजना पुगिसकेको महासंघले जनाएको छ । साथै राज्यसँग साढे १ खर्बभन्दा बढीका आयोजना सम्पन्न गर्ने स्रोत नभएको पुष्टि भइसकेकाले प्राथमिकीकरण गरी बिना स्रोतका ठेक्काहरू खारेज हुनु पर्ने माग महासंघको छ । महासंघले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु,राजनितिक दलका अध्यक्षहरू, संघीय सरकारी निकाय, प्रदेश महासंघले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटम दिने जानकारी दिए । निर्माण व्यवसायीले काठमाडौं प्रवेशमा रोक लगाउने, राष्ट्रिय गौरवका आयोजना रोक्ने चेतावनी

महाकुम्भमा स्नान गर्न स्वर्गीय स्टिभ जब्सकी श्रीमती लरेन पावेल भारतमा

काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु भएको छ । फेब्रुअरी २६ सम्म जारी रहने यस धार्मिक कार्यक्रममा भारत र विदेशका धेरै सेलिब्रेटीहरू भाग लिने अपेक्षा गरिएको छ । यसमा आईफोन बनाउने विश्वको अग्रणी प्राविधिक कम्पनी एप्पलका सह-संस्थापक, स्वर्गीय स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स पनि समावेश छिन् । उनी महाकुम्भमा भाग लिन प्रयागराज पुगेकी छिन् । उनी निरञ्जनी अखाडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरिको आश्रममा बसेकी छन् । यस अवधिमा उनी कल्पवासमा रहनेछिन् र साधुहरूको संगतमा सरल जीवन बिताउने बताइएकाे छ । लरेन पावेल विश्वकै धनी महिलामध्ये एक हुन् । स्वामी कैलाशानन्दले लरेन पावेल जब्सलाई सनातन धर्ममा गहिरो रुचि रहेको जानकारी दिए । उनलाई अखाडाको पेशवाई अनुष्ठानमा समावेश गरिनेछ। उनी महाकुम्भको समयमा सन्यासीजस्तै जीवन बिताउनेछिन् । लरेन एक सफल उद्यमी हुन् र परोपकारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न छिन् । उनी सामाजिक र वातावरणीय मुद्दाहरूमा पनि आफ्नो विचार स्वतन्त्र रूपमा व्यक्त गर्छिन् । उनी आफ्नो संस्था, इमर्सन कलेक्टिभ मार्फत शिक्षा सुधार, जलवायु परिवर्तन र सामाजिक न्याय जस्ता मुद्दाहरूमा काम गर्छिन् । लरेनको कुल सम्पत्ति मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पत्ति १५.८ अर्ब डलर छ । उनका श्रीमान् स्टिभ जब्स विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सह-संस्थापक थिए । यस कम्पनीको मार्केट क्याप ३.५८० ट्रिलियन डलर छ । लरेन संसारकै सबैभन्दा प्रभावशाली महिलाहरूमध्ये एक हुन् । सन् २०२३ मा फोर्ब्स पत्रिकाले उनलाई संसारको २५ औं सबैभन्दा प्रभावशाली महिलाको रूपमा स्थान दियो । उनी अमेरिकाको अग्रणी पत्रिका द एट्लान्टिककी मालिक र अध्यक्ष पनि हुन्।

‘स्काईवर्थ सपना साकार’को विजेता घोषणा, रवि अर्यालले जिते ‘एमजी कोमेट’ ईभी

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लायन्सेस प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई कोमेट कारको साँचो हस्तान्तरण गरियो । साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैले बेहोर्ने पनि जनाइएको छ । स्मार्ट एप्लायन्सेस प्रालिको ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन गरिएको थियो । जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्रमार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशतसम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो । यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले भने, ‘हामी रवि अर्यालज्यूलगायत अन्य साप्ताहिक विजेताहरुलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौं । स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरा पनि म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु ।’ उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएको कम्पनीले जनाएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिनरमास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।

नेशनल लाइफले ल्यायो बाल अमृत- ४ सावधिक बीमालेख

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत- ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ । जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृतज्यू (सीई‌ओ) सुरेशप्रसाद खत्रीले यस बीमालेखको समुद्घाटन गरे । उनले विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरूले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्कृत गरी बाल अमृत सावधिक बीमालेख- ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्वन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए । यस बीमालेख योजनाका विशेषताहरूका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउनु हुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रूपमा बुवाआमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिकरूपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ । साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधाहरू पनि यस बीमालेखमा रहेको बताए ।

होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताएका छन् । बुधबार काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले होटललाई इण्डस्ट्रीको रुपमा बुझेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए । उनले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताए । अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको जानकारी दिए । ‘हामीले होटललाई इण्डस्ट्रीको रुपमा बुझेका छौँ र इण्डस्ट्रीको रुपमा यसलाई सुरक्षा र यसको विकासमा मद्दत गर्नुपर्छ भन्नेकुरा पनि हामीले बुझेका छौँ । यसबाट हाम्रो टुरिजम सेक्टर लगायतका कुराहरु अघि बढ्नेछन्,’ उनले भने । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

डोल्टी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट, न्यादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार पाँच सय ९५.६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता सेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा  ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ रुपैयाँ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ, मुलुकी फौजदारी संहिता लागू

काडमाडौं । प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङलाई पक्राउ गरेको छ । प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ । अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । तामाङले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो । तामाङलाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको छ । पछिल्लो समय उनले आफूलाई सामाजिक अभियन्ता भएको दावी गर्दै आइरहेकी थिइन् ।