विकासन्युज

६ महिनामा सेयरबाट ९ अर्ब ८२ करोड पुँजीगत लाभकर संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२को ६ महिनामा सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । पुस मसान्तसम्म सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो । ६ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर र सबैभन्दा कम पुस महिनामा पुँजीगत लाभकर संकलन भएको सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ लाभकर उठेको छ । यस्तै पुस महिनामा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ लाभकर उठेको छ । साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख ९१८ रुपैयाँ, भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ संकलन भएको छ । सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

१३ वर्षमा पनि बनेन कन्काई पुल, ५ पटकसम्म म्याद थप

झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो । पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

जलवायु परिवर्तनको असर : चैतमा फल्ने काफल पुसमै पाक्न थाल्यो

तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने । केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यस वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिए । यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो । जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उनले भने, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’

कवाड व्यवसाय सहज सञ्चालन गर्ने वातावरण बनाइदिन मधेश प्रदेशको आग्रह

काठमाडौं । मधेश प्रदेश सरकारले कवाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढङ्गले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । कवाड व्यवसायी समाज नेपालले मुख्यमन्त्री सतिशकुमार सिँहलाई ज्ञापनपत्र बुझाएपछि उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले विज्ञप्तिमार्फत यस्तो आग्रह गरे । विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कवाड व्यवसायी र यस व्यवसायमा आश्रित श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको व्यवहार चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायलाई सुरक्षित, जोखिमरहित तथा मर्यादित बनाउन मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गराउने विकल्प रहँदा पनि घरघर पुगेर पुनः प्रयोगयोग्य फोहोर सङ्कलन, निर्यात र प्रशोधन गर्ने कवाड व्यवसायीलाई विस्थापित गराउने प्रयास उचित नभएको विज्ञप्ति जनाइएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँका, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टीतेल १५६ रुपैयाँ कायम भएको छ । निगमका अनुसार भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २.२४ र  डिजेलमा ३.५५ ले मूल्य बढेर आएको जनाइएको छ ।

ओली र देउवाप्रति बालेनको ब्यङ्ग्य- अब खोलासँगै टुँडिखेल पनि कार्यकर्तालाई दिने भए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाप्रति ब्यङ्य प्रहार गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उनीहरुलाई अध्यादेशका विषयमा ब्यङ्ग्य प्रहार गरेका हुन् । उनले भनेका छन्, ‘अब खोलामात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ, बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

स्वास्थ्यकर्मीलाई सेयरमा लगानी गर्न प्रोत्साहन, ५ लाखको पोर्टफोलियो हुनेले सेवा लिन सक्ने

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागि हुन सकिन्छ । यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा निःशुल्क गरिएको छ । लगानीमा भएको नाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिने बताएको छ । साथै नाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजार सम्बन्धि निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।

रविलाई धरौटीमा छुटाउन प्रभु बैंकको ग्यारेन्टी, कति पाउँछ कमिसन ?

काठमाडौं । रवि लामिछानेलाई छुटाउनका लागि प्रभु बैंक ग्यारेन्टी बसेको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेपछि प्रभु बैंक ग्यारेन्टी बसेको हो । प्रभु बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन् । बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । बैंकले अदालतलाई धरौटी रकम तिर्ने गर्छ । तर, बैंकले सोबापत् निश्चित कमिसनले लिने अभ्यास पनि छ । कमिसनको विषय भने लिखित रुपमा खुलाउँदैनन् । कतिपयलाई त्यसलाई ऋणमा रुपान्तरण गरेर ब्याज पनि लिने गरेका छन् ।