बाढीपछि अपराध बढ्न सक्ने भन्दै प्रहरी सक्रिय
काठमाडौं । आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति-सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएको छ। विपद्का बेला सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त हुँदा प्रभावित क्षेत्रमा चोरी, लुटपाट, ठगी तथा साइबर अपराधजस्ता गतिविधि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले आपराधिक गतिविधि रोकथाम तथा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलन, सामाजिक सञ्जाल अनुगमन, निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट तथा राहत सहयोगका नाममा हुने साइबर स्क्यामलगायतका अपराध रोक्न प्रहरी थप संवेदनशील भएर परिचालित भएको बताए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षासँगै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ। विपद्को नाममा हुन सक्ने साइबर ठगीबारे पनि नागरिकलाई सचेत गराइएको उनले बताए । बाढी प्रभावित क्षेत्रबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएका बेला उनीहरूको घर तथा सम्पत्तिमा चोरी वा लुटपाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले गस्ती र निगरानीलाई थप तीव्र बनाएको उनले बताए । यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको सेफबाट नगद निकालेर चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ। त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे निवासी ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्। उनले बाढी प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबाट नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप छ। यसैगरी, बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीला चोक निवासी २५ वर्षीय मदन गुरुङसहित दुई जनालाई भदौ ११ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। विपद्का कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भइरहेको अवस्थामा अवरुद्ध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनले बताए । प्रहरीले घाइतेको उद्धार तथा विस्थापितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी काम भइरहेको प्रहरीका प्रवक्ता काफ्लेले बताए । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुनै आपराधिक गतिविधि भइरहेको वा हुन सक्ने सूचना भए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन आग्रह गरेको छ। बाढी प्रभावित स्थलमा भेटिएका बहुमूल्य सामान सुरक्षित राखेर प्रहरीलाई बुझाउन काफ्लेले अनुरोध गरेका छन् ।
महिलालाई जिस्काएको भिडियो भाइरल भएपछि तीन युवक पक्राउ
काठमाडौं । बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै तथा जिस्काउने समूहका तीन युवक पक्राउ परेका छन् । बझाङको केदारस्यूँ गाउँपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–७ भाजङ्गल बस्ने २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २२ वर्षीय ललित दमाई तथा कञ्चनपुरकै कृष्णपुर नगरपालिका–३ घर भई हाल पाँगामै बस्ने २१ वर्षीय अशोक भण्डारी पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरीका अनुसार शुक्रबार साँझ उनीहरूले सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी सार्वजनिक रूपमा दुर्व्यवहार गरेका थिए । महिलालाई जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो । आइतबार १० बजे कीर्तिपुर नगरपालिका–७ स्थित विष्णुदेवी मन्दिर नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार युवकहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
प्राधीरकणले भन्योः हेली आवश्यक नभएकाले वैकल्पिक सडक मार्ग प्रयोग गर्नू
काठमाडौं । सरकारले हेली उद्धार आवश्यक नभएका व्यक्तिहरूलाई सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ। विभिन्न वैकल्पिक सडकमार्गहरू सञ्चालनमा आउन थालेकाले सुरक्षित रूपमा सडकमार्ग प्रयोग गर्न सक्ने व्यक्तिहरूले हेली उद्धारको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। उपलब्ध भएका वैकल्पिक सडकमार्गको प्रयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ । वैकल्पिक मार्गहरूमा धादिङ जोड्ने मार्ग धादिङबेँसी–परेवादार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टबाट पृथ्वी राजमार्गसम्म सञ्चालनमा रहेको छ। त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आपनज–लच्या–सरमथले–पाटिखर्क हुँदै बोगटीटारबाट पासाङल्हामु राजमार्गसम्म सञ्चालनमा आएको प्राधीकरणले जनाएको छ । कालिकास्थान–धुन्चे जाने बाटोमा चारचक्के साना सवारीसाधन सञ्चालन हुन सक्ने गरी सडक सुचारु भएको छ । सीमित साधन र स्रोतलाई अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबै सरोकारवालालाई सहयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि सेनाको टोली फर्कियो
काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्यमा कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेको थियो । टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गर्नुका साथै ड्रोनसमेत उडाएर निरीक्षण गरेको थियो । तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिस रहेको संकेत वा मानवीय उपस्थिति भेटिएन । सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ ।
सरकारको बाढी प्रभावित क्षेत्रमा ९ करोड बढी रकम निकासा
काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहलाई हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी गरेको छ । रसुवा, नुवाकोट र धादिङसहित विभिन्न स्थानीय तहमा रकम निकासी गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी भएको छ । रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ निकासी गरिएको छ । प्राधीकरणले बाढी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासी भइसकेको जनाएको छ । ३७ ट्रक र ३५ वटा बोलेरो मार्फत खाद्य र अखाद्य सामग्री पठाइसकेको छ । आठ हेलिकोप्टरको उडानबाट खाद्य तथा अखाद्य सामग्री पठाएको प्राधीकरणले जनाएको छ । शनिवार २ टन उत्तरगया र बेत्रावती गाउँपालिकामा खाद्य अखाद्य सामग्री पठाइएको प्राधीकरणले उल्लेख गरेको छ । आइतबार ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य, अखाद्यसहित औषधिजन्य सामग्री पठाइएको प्राधीकरणले बताएको छ। नुवाकोटमा १६ वटा सवारीसाधनसहित र हेलिकोप्टर परिचालन गरेर सामग्री वितरण गरिएको छ । गत बुधबार बिहान आएको बाढीले रसुवाको बाढीले ठूलो जनधनको क्षति गरेको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतको क्षेत्रमा बाढीले असर गरेको छ । प्राधीकरणका अनुसार ७ हजार ८९४ नेपाल प्रहरी, नेपाली सेना ८ हजार ७२२ र शसस्त्र प्रहरी बल नेपाल ४ हजार २ सय ३ जना प्रहरी परिचालन गरिएको छ । हालसम्म रसुवा लगायतका विभिन्न स्थानबाट ९ सय बढी शव फेला परेको छ ।
डिभाइन हेल्थकेयरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा भएको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो । वि.सं. २०७४ सालमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन र बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरेको जनाएको छ । कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् । कम्पनीले आगामी माघदेखि मिर्गौला रोगीका लागि आवश्यक पर्ने केही औषधिको उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको दाबी गरेको छ । कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट व्यवसाय सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरक रहेको जनाएको छ । आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास तथा विद्यमान औषधिको गुणस्तर सुधारमा उपयोग गर्ने कम्पनीको योजना छ । साथै, उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा समेत पुँजी परिचालन गर्ने कम्पनीले जनाएको छ ।
बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार (आज) प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज, उद्धार, राहत तथा समग्र व्यवस्थापनका प्रयासबारे विस्तृत ब्रिफिङ लिएका छन् । त्यसपछि शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ ।
‘गोरखामा पहिरो गए पनि बाढी थुनिएको छैन ’
काठमाडौं । गोरखामा पहिरो मात्र गएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पहिरो गए पनि नदीमा बाढी नथुनिएको बताएका छन् । ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले जानकारी दिए । ‘पहिरो गएको र बाढी आए पनि नदी थुनिएको छैन,’ शर्माले विकासन्युजसँग भने । नदीको तटीय क्षेत्रमा रहेका मानिसहरूले थप सतर्कता अपनाउनु पर्ने उनले बताए । अहिले कसैले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। जिल्लामा आवश्यक सतर्कता तथा सम्भावित क्षति हुन नदिनका लागि बैठक बसेर छलफल गरिरहेको उनले बताए । केही समयअघि मात्र सामाजिक सञ्जालमा गोर्खाको बूढीगण्डकी थुनिएको कुराहरू सार्वजनिक भएका थिए । सामाजिक सञ्जालमा जस्तो चर्चा बाहिर वास्तविकता नभएको उनले जानकारी दिए ।