बाढीपछि अपराध बढ्न सक्ने भन्दै प्रहरी सक्रिय

फाइल तस्विर

काठमाडौं । आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति-सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएको छ।

विपद्का बेला सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त हुँदा प्रभावित क्षेत्रमा चोरी, लुटपाट, ठगी तथा साइबर अपराधजस्ता गतिविधि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सक्रियता बढाएको हो ।

प्रहरीले आपराधिक गतिविधि रोकथाम तथा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलन, सामाजिक सञ्जाल अनुगमन, निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट तथा राहत सहयोगका नाममा हुने साइबर स्क्यामलगायतका अपराध रोक्न प्रहरी थप संवेदनशील भएर परिचालित भएको बताए।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षासँगै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ। विपद्को नाममा हुन सक्ने साइबर ठगीबारे पनि नागरिकलाई सचेत गराइएको उनले बताए ।

बाढी प्रभावित क्षेत्रबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएका बेला उनीहरूको घर तथा सम्पत्तिमा चोरी वा लुटपाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले गस्ती र निगरानीलाई थप तीव्र बनाएको उनले बताए ।

यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।  धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको सेफबाट नगद निकालेर चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे निवासी ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्।  उनले बाढी प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबाट नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप छ।

यसैगरी, बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीला चोक निवासी २५ वर्षीय मदन गुरुङसहित दुई जनालाई भदौ ११ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विपद्का कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भइरहेको अवस्थामा अवरुद्ध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनले बताए ।
प्रहरीले घाइतेको उद्धार तथा विस्थापितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी काम भइरहेको प्रहरीका प्रवक्ता काफ्लेले बताए ।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुनै आपराधिक गतिविधि भइरहेको वा हुन सक्ने सूचना भए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन आग्रह गरेको छ।   बाढी प्रभावित स्थलमा भेटिएका बहुमूल्य सामान सुरक्षित राखेर प्रहरीलाई बुझाउन काफ्लेले अनुरोध गरेका छन् ।

Share News