काठमाडौं । बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै तथा जिस्काउने समूहका तीन युवक पक्राउ परेका छन् ।
बझाङको केदारस्यूँ गाउँपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–७ भाजङ्गल बस्ने २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २२ वर्षीय ललित दमाई तथा कञ्चनपुरकै कृष्णपुर नगरपालिका–३ घर भई हाल पाँगामै बस्ने २१ वर्षीय अशोक भण्डारी पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरीका अनुसार शुक्रबार साँझ उनीहरूले सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी सार्वजनिक रूपमा दुर्व्यवहार गरेका थिए ।
महिलालाई जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो ।
आइतबार १० बजे कीर्तिपुर नगरपालिका–७ स्थित विष्णुदेवी मन्दिर नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार युवकहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।