केयूको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति भोला थापाको समयावधि सकिएपछि पद रिक्त रहेको छ । यो भन्दा अगाडि दरखास्त दिएका १६ लाई यथावत राख्दै ७ थप दरखास्त आह्वान गरिएको हो । केयुको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल अफ साइन्सका डीनले समेत दरखास्त दिन मिल्ने गरी फेरि दरखास्त आह्वान गरिएको जनाइएको छ । यो भन्दा पहिले आवेदन दिएको दुई जना संस्थापक उपकुलपति सुरेशराज शर्माका नातेदार रहेको खुलेपछि उपकुलपति छनोट समिति नै विवादमा परेको छ । हाल केयूका रजिष्टार प्रा.डा. अच्युत वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवार सम्हालिरहेका छन् ।
भारतीय बजेटः नेपालमा ईभी, ल्यापटप र मोबाइलको मूल्य घट्ने
काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार बजेट सार्वजनिक गरेकी छन् । उनले भारतीय लोकसभामा ५०.६५ लाख करोडको बजेट प्रस्तुत गरेकी छन् । उनले बजेट सार्वजनिक गर्दै विभिन्न क्षेत्रको प्राथमिकरण गरेकी छन् । विशेषगरि उनले प्रविधि क्षेत्रलाई बढी महत्व दिएकी छन् । उनले बजेटमार्फत् एलसीडी र एलईडीमा लाग्ने २.५ प्रतिशत भन्सार शुल्क हटाएकी छन् । यसले गर्दा फोन, ल्यापटप र ट्याबलेट लगायत वस्तुहरु सस्तो पर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । नेपालमा भारतबाट मोबाइल तथा ल्यापटपको उल्लेख्य रुपमा आयात हुने गरेको छ । भारतमा मूल्य सस्तो परेपछि अब नेपालमा पनि सस्तो हुने बुझिएको छ । भारतीय बजेटमा लिथियम ब्याट्रीमा पनि छुट प्रदान गरिएको छ । परिणामस्वरूप इलेक्ट्रिक कार, बाइक र मोबाइल फोन लगायतको मूल्य सस्तो हुनेछ । बजेटमा मोबाइल फोनका पाट्र्समा कस्टम ड्युटी हटाइएको छ । बजेटमार्फत् भारतले पीसीबीए पार्टस् क्यामेरा मोड्युल, कनेक्टर, वायर्ड हेडसेटका कच्चा पदार्थ, माइक्रोफोन र रिसिभर, यूएसबी केबल, फिंगरप्रिन्ट रिडर, र मोबाइल फोनका सेन्सरहरूमा कस्टम ड्युटी हटाइएको छ । यस्तै, बीमा क्षेत्रमा सतप्रतिशत लगानीको छुट बजेटले गरेको छ । विदेशी लगानीकर्ताहरूलाई भारतको बीमा क्षेत्रमा सतप्रतिशत लगानी गर्ने अनुमति दिएको हो । विदेशी कम्पनीहरूले अब भारतको बीमा उद्योगमा पूर्ण रूपले लगानी गर्न सक्छन्, जसका कारण विदेशी लगानी बढ्नेछ र बीमा क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास भारत सरकारको छ । अहिले भारतीय बीमा क्षेत्रमा विदेशी लगानीकर्ताको ४९ र भारतीयको ५१ प्रतिशत स्वामित्व हुनुपर्ने व्यवस्था छ । यस्तै, बजेटमार्फत् कपडा र छालाका उत्पादनहरूमा पनि छुट दिइएको छ । बजेटले इंटरेक्टिभ डिस्प्ले प्यानलको आायत शुल्क भने १० प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको छ ।
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागी चार जनाको नाम छनोट
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकका लागि चार जनाको नाम छनोट भएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले प्रा.डा. घनश्याम गुरुङ, सह प्रा.डा.गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा सुवासप्रसाद आचार्यलाई छनोट गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । अब अन्तरवार्ता माघ २३ गते हुने भएको छ । छनोट समितिले अन्तर्वार्तामा आउँदा अस्पताल सञ्चालन सम्बन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतीकरण समेत तयारी गरी ल्याउन भनेको छ । समितिले हरेक उम्मेदवारलाई आधा घण्टाको समय दिने छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्ले रिटायर्ड भएपछि उक्त पद रिक्त रहेकोमा डा .घनश्याम गुरुङले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए ।
यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन
जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार रुपैयाँ, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार रुपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ । ह्वाइट हाउसले १० प्रतिशत कर हालको कर बाहेक चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ । कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूको लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए । यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले बताए । उनले भने,’निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।’ पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए । ‘देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ’, उनले भने, ‘तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।’ बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए ।
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ । पुरातत्त्व विभागले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँसहर स्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालनी गरेको थियो । विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्याल ढोकाका खापा, रङरोगन, भुईँमा गर्नुपर्ने काम अझै बाँकी रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा रु. एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा रु. ५० लाख बजेट छुट्याएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले भने, ‘दुई वर्षभित्र सक्ने गरी पुरातत्त्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि तेस्रो वर्षमा पनि काम सम्पन्न भएन । अझै काम अधुरै रहँदा स्थानीय चिन्तित छन्, यहाँ विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुंगा काठले असहज बनाउने गरेको छ ।’ साथै स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेको उनको भनाइ छ । वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले भने, ‘यतिका वर्षमा पनि निर्माण सम्पन्न भएन, यस वर्ष सम्पन्न हुनुपर्ने हो तर भएन । हामीले सम्बन्धित निकायसमक्ष चाँडो निर्माण सम्पन्न गर्न पहल गर्दै आएका छौँ तर सुनुवाइ नहुँदा यस वर्ष पनि कम बजेटले गर्दा निर्माण पूरा भएन ।’ स्थानीय सुरेश श्रेष्ठले सरकारले यस्ता ऐतिहासिक दरबारको निर्माणका लागि एकै पटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्ने थियो, पटक पटक थोरै बजेट आएकाले निर्माण बर्सेनि निर्माण अधुरै रहँदै आएको बताए । व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा बि.स. १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ । रासस
‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना अन्तर्गत ३ जना विजेताले पाए आई फोन १६
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरू रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आइफोन सिक्सटिन प्राप्त गरेका छन् । काठमाडाैंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत आइएमईका तिन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गतको असोज कार्तिक र मंसिर महिनाको आइफोन सिक्सटिन को विजेता छनौट भएको हो । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । दोस्रो चरणको योजना अन्तर्गत ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना यही पौष २०८१ देखि साउन २०८२ सम्म रहने छ जसमा तिन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आइएमई गरी आइएमई पे वालेट,बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।