५२ सूचकमा लुम्बिनीमा सहकारीको वर्गीकरण गरिँदै, प्रदेशपछि स्थानीयस्तरको गरिने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । ‘राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन, सोहीअनुसार सहकारीलाई वर्गीकरण गर्न लागिएको हो,’ उनले भने । प्रल्सअनुगमन प्रणालीका १४, एमसीआइसम्बन्धी ३ वटा र सहकारी कानुनसँग सम्बन्धित सुशासनका ३५ गरी ५२ वटा सूचकका आधारमा वर्गीकरण गरिनेछ । सहकारीमा ऋण सुरक्षणको अवस्था, भाका नाघेको ऋणको अवस्था, वार्षिक साधारणसभा, लेखापरीक्षण, आन्तरिक लेखापरीक्षण, सम्पत्ति शुद्धीकरण निवारण, कार्यविधि निर्माण, सेवा, बचत र सदस्यको अनुपात, पुँजीको अनुपातलगायत विषयलाई वर्गीकरणको आधार मानिने छ । वर्गीकरणका लागि सबै सहकारी संस्थालाई पत्राचार गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा प्रदेश मातहतका ५० जना कर्मचारीलाई तालिम दिई परिचालनसमेत गरिएको छ । प्रदेशमा ८४८ वटा सहकारी संस्था छन् । पहिलो चरणमा प्रदेशस्तरीय सहकारीलाई वर्गीकरण गरिने छ भने त्यसपछि प्रदेशभित्रका स्थानीयस्तरका सहकारीको वर्गीकरण गरिने उपाध्यक्ष पोख्रेलको भनाइ छ । हाल लुम्बिनीमा ४ हजारभन्दा बढी सहकारी संस्था छन् ।
तनहुँमा साढे ४२ करोडको सुन्तला बिक्री, एउटै किसानले पाए ३ करोड
काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी ४२ करोड ५० लाख रुपैयाँको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष १ हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार यस वर्ष ५ हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा ३ हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ । म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी ७० लाख रुपैयाँ आम्दानी गरे । देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँसम्मको सुन्तला बिक्री भएको छ । किसान भीमबहादुर रानाले यस वर्ष यस वडाबाट ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भइसकेको जानकारी दिए । विगतमा अन्नबाली राम्रो नहुँदा चिन्तामा परेका यहाँका किसान पछिल्ला वर्षमा सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि खुसी भएको किसान प्रेम थापाले बताए । जिल्लाका कुल ८ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । परियारका अनुसार, देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तलाखेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा पनि यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
ह्रास रोक्न आज विश्व सिमसार दिवस मनाइँदै, यी हुन् रामसार सूचीमा समावेश
काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल १७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र) मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ । हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका ९ वटा तालको समूह रामसार सूचीमा समावेश छन् । सिमसार क्षेत्र भन्नाले प्र्राकृतिक अथवा कृृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये ८ लाख १९ हजार २७७ हेक्टर (करिब ५ प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।
२ हजार मेगावाट विद्युतको ‘आईरिक्स’ सम्झौता, १ अर्बको कार्बन ट्रेड गर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्र आदानप्रदान गरे । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २ हजार ७ सय मेगावाट विद्युत मध्ये पहिलो चरणमा २ हजार मेगावाट विद्युत कार्बन ट्रेडका लागि योग्य हुनेछ । यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले वर्षेनी करिब १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । प्रोक्लाइमका सीइओ कंडासामीले भारत, भुटान र श्रीलंकाले कार्बन व्यापारबाट फाइदा लिइरहेकोले नेपालले पनि अव यो अवसर सदुपयोग गर्न गइरहेको बताए । अन्तर्राष्ट्रिय हाइड्रोपावर एसोसिएसन (आईएचए) का उपाध्यक्ष सुशिल पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरु सस्टेनेबल डेभलपमेन्टका मापदण्ड पूरा गरेर बनिरहेको भन्दै नेपाली आयोजनाले पनि अव छिट्टै कार्बन ट्रेडबाट पैसा पाउने बताए । नेपालका लागि आइरिक्स क्याल्कुलेटरको शुभारम्भ कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गरे । यो क्याल्कुलेटरले कति मेगावाट विद्युत उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउँछ । जस्तो नेपाली निजी क्षेत्रले उत्पादन गरेको २ हजार ६०० मेगावाट विद्युतलाई कार्बन ट्रेडसँग जोड्दा यसले वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको लाभ पाउनुपर्छ । विश्व बजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा। धितालले जलविद्युतको प्रचुर सम्भावना रहेको र ३ हजार मेगावाट भन्दा बढी जलविद्युत मात्रै उत्पादन भइरहेको नेपालले अव कार्बन ट्रेडबाट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिए । वन तथा वातावरण मन्त्रालयका सह(सचिव डा। महेश्वर ढकालले नेपालले वनजंगलबाट सानो स्केलमा कार्बन बिसर्जन वापतको रकम लिएपनि जलविद्युत आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताए । ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले क्षत्रिय बजारमा विद्युत निर्यात गरिरहेको नेपालले अब छिट्टै कार्बन ट्रेडबाट पनि राम्रो आम्दानी गर्नसक्ने विश्वास व्यक्त गरे । ग्लोबल कार्बन काउन्सिलका प्रबन्धक अशोक के चन्देल र ग्लोबल रिन्वेल अलाइन्सका इरिक सोल्हिमले पनि कार्यक्रमलाई सम्बोधन गर्दै चीन र भारत जस्ता शक्तिराष्ट्रको बीचमा रहेको नेपालले कार्बन ट्रेडबाट लाभ लिनुपर्ने बताएका थिए ।
भारतले नेपालका लागि छुट्यायो ७ अर्ब बजेट, कुन देशलाई कति ?
काठमाडौं । भारत सरकारले नेपालका लागि ७ अर्ब भारू (नेपाली ११ अर्ब २० करोड रुपैयाँ) बराबरको बजेट छुट्टाएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले पेश सार्वजनिक गरेको सन् २०२५/२६ को बजेटमा छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्याएकी हुन् । यसअघि अघिल्लो वर्षको बजेटमा पनि सोही आकारमा नेपालका लागि बजेट विनियोजन गरेको थियो । सन् २०२३/२४ का लागि नेपालका लागि भारतले ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो । अर्थमन्त्री निर्मला सीतारमणले दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकासोन्मुख देश अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशका लागि समेत बजेट छुट्याएको छ । उनले विदेशी मामिला मन्त्रालयका लागि २ खर्ब ५ अर्ब भारू छुट्याएकी छन् । जसमध्ये विदेशी सहायता शिर्षकमा ५४ अर्ब ८३ करोड भारू छुट्याएकी हुन् । जुन अघिल्लो वर्षको तुलनामा ५८ अर्ब ६ करोड रुपैयाँ कम हो । भारत सरकारले भुटानका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । भुटानलाई भारतले २१ अर्ब ४३ करोड भारू छुट्याएको छ । जबकी अघिल्लो वर्ष भारतले भुटानलाई २५ अर्ब २३ करोड भारू विनियोजन गरेको थियो । यस्तै, माल्दिभ्सका लागि ६ अर्ब भारू, अफगानस्तानका लागि १ अर्ब भारू, म्यानमारका लागि ३ अर्ब ५० करोड भारू, श्रीलंकाका लागि ३ अर्ब भारू बजेट विनियोजन गरेको छ । अफ्रिकी देशका लागि २ अर्ब २५ करोड भारू र ल्याटिन अमेरिकाका लागि ६० करोड भारू छुट्याएको अर्थमन्त्रीले जनाइन् ।
महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै, साढे २९ करोडले गरे स्नान
काठमाडौं । ७७ देशका नियोग प्रमुख र कूटनीतिज्ञ सहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले शनिबार प्रयागराजमा महाकुम्भको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विदेशी कूटनीतिज्ञले फेब्रुअरी १ मा हुने महाकुम्भ मेलाको भ्रमण गर्ने जानकारी दिए । यसैबीच, मौनी अमावस्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबिन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रबार प्रयागराजस्थित स्वरूप रानी नेहरू अस्पतालको निरीक्षण गरेको छ । सङ्गममा बुधबार बिहान भएको दुखद घटनामा कम्तिमा ३० जनाको मृत्यु र ६० जना घाइते भएका थिए । यस सम्बन्धमा जारी सूचनामा आयोगलाई भागदौडको कारण र परिस्थितिबारे अध्ययन गरी भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने जिम्मा दिइएको छ । आयोग गठन भएको एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउनुपर्नेछ । उत्तर प्रदेश सूचना विभागका अनुसार महाकुम्भमा २९ करोड ६४ लाख भन्दा बढी भक्त पवित्र सङ्गममा पवित्र स्नान गरेका छन् । महाकुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ । यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट हो । महाकुम्भ वेबसाइटका अनुसार मण्डलीमा मुख्यतया तपस्वी, सन्त, साधु, साध्वी, कल्पवासी र जीवनका सबै क्षेत्रका तीर्थयात्रीहरू सामेल छन् । महाकुम्भ मेला सन् २०२५ जनवरी १३ देखि २६ फेब्रुअरीसम्म प्रयागराजमा आयोजना हुँदैछ ।
ठमेलमा आगलागी हुँदा ६५ लाखको क्षति
काठमाडौं । काठमाडौंको ठमेलमा आगलागी भएको छ । ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए । ‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले आज पार्टी केन्द्रीय कार्यालय आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताए । बिपी कोइरालाले २०१६ मा अवलम्बन गरेको आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै सभापति देउवाले भने, ‘सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।’ पूर्वसचिव गोपीनाथ मैनालीले राष्ट्र बैंकले जारी गर्ने डिबेञ्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा अन्यत्र लगानी गरेको बताए । साथै ९० प्रतिशत गैरसदस्यले कारोबार गर्ने गरेका कारण समस्या सिर्जना भएको उनको भनाइ छ । ‘सञ्चालक र सदस्यहरूबीचको साझा बन्धन टुटाएर समस्या आएको हो, पीडक पक्ष हाबी भएर पीडित पक्ष ओझेलमा परे, स्वनियमन घट्दै गयो, राजनीतिको छाताभित्र रहेर नीतिगत व्यवस्थामा प्रभावित पारियो, गलत गर्ने सहकारीले गलत स्वीकार्न सकेनन्,’ मैनालीले भने । नेपाली कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सातै प्रदेशका सहकारीकर्मीसँग सहकारीको सुरक्षाका विषयमा छलफल भएको बताए । बचतकर्ताको बचत हिनामिना गर्दा सहकारीमा समस्या आएको उनको भनाइ छ । बचतकर्ताको रकम हिनामिना हुननदिनेतर्फ सबै सधैँ सचेत रहनुपर्नेमा जोड दिए ।