जलवायुको असर र अतिक्रमणको मारमा सिमसार
काठमाडौं । विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने हेतुले यो दिवस मनाइने गरेको छ । यद्यपि नेपालमा पछिल्लोपटक जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् । यसबाहेक सिमसार क्षेत्रमा बढ्दो जनसङ्ख्या र बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन, गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका छन् । जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । ‘जलवायुको असरका कारण वर्षा पनि कम हुँदै गएको छ । सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएका छन् । नदीको उपयोगमा सबैको जोड छ तर संरक्षणको दायित्व कसको भन्नेमा द्विविधा देखिन्छ’, उपमहानिर्देशक ढकालले भने, ‘कतिपय पालिकाका नदी खोलामै डम्पिङ छन्, यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । सिमसार जोगाउनका लागि ‘वाटर हार्बेस्टिङ’मा लगानी गर्नु आवश्यक छ ।’ सिमसार संरक्षणका लागि विभागले विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गरिरहेको उनले जानकारी दिए । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो । रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । जलवायुको असर र अतिक्रमणको मारमा सिमसार विश्वमा पछिल्लो समय जलवायुका असर तीव्र रूपमा देखापरेका छन् । अझ नेपालजस्ता संवदेनशील भूबनोट र पर्वतीय मुलुकमा त जलवायुको असर झन् प्रत्यक्ष र विकराल बन्दै गएको छ । विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । समग्रतामा वर्षाको मात्रामा देखिएको कमीले सुक्खा क्षेत्र वृद्धि हुनु, मिचाहा प्रजातिका वनस्पतिको वृद्धिलगायत कारण पनि सिमसार क्षेत्र सङ्कुचन भएको वा गुणस्तरमा कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । मन्त्रालयको वातावरण विभागका उपसचिव मधु घिमिरेका अनुसार जलवायुको असरका साथै प्राकृतिक स्रोतको अधिकतम् दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको कमी भएर सुक्खा क्षेत्रको वृद्धिले चुनौती थपिएको छ । ‘सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ’, उनले भने । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ । वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले जानकारी दिए । सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गौला पनि भन्ने गरिन्छ । ‘सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ’, ढुङ्गानाले भने । सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उनले जानकारी दिए । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन– २०४९, स्थानीय सरकार सञ्चालन ऐन– २०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति– २०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ । रासस
मर्मत शुल्क तिरेर गाडी लैजान गो अटोकेयरको ताकेता, १५ दिनभित्र नलिए कवाडीमा मिल्काइने
काठमाडौं । गो अटोकेयर प्रालिले सवारी साधन लैजान सवारीधनीहरूलाई ताकेता गरेको छ । मर्मत शुल्क तिरेर गो अटोकेयरको परिसरमा रहेका सवारी साधनहरू फिर्ता लैजान ताकेता गरेको हो । कम्पनीका अनुसार सर्भिस सेन्टरको परिसरमा मर्मत गर्न ल्याइएका सवारी साधनहरू मर्मत सम्भारको कार्य सम्पन्न भइसकेको छ । उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ दिनभित्र सम्पूर्ण खर्च (मर्मत शुल्क, पार्किङ शुल्क) भुक्तानी गरी पार्किङ परिसरबाट उठाउन कम्पनीले अनुरोध गरेको छ । यस अवधिमा पनि सवारी साधनहरू नलिए कम्पनी जिम्मेवार नरहने र कवाडीको हिसाबमा मिल्काइने कम्पनीले चेतावनी दिएएको छ । कम्पनीका अनुसार ९ वटा सवारी साधन सर्भिस सेन्टरको परिसरमा छन् ।
कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ। यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ६०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ। ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ। समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ। यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
१ सय रुपैयाँमै एनएलजी इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि अवितिरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । अर्थात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २९ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५ कित्ता गरी कुल ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर माघ २७ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सर्वसाधारण सेयरमा कम्तिमा १ सय कित्ता र संस्थापक सेयरमा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
१२ किलोको काउली फलाएका खत्री भन्छन्- ‘विदेश जाने सोच कहिले पनि आएन’
काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा ९ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, ‘पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी ८८० ग्रामको काउली फलाउन सफल भए ।’ उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए । तरकारीखेती फस्टाउँदै गएपछि भाडामा ८ रोपनी जग्गा र ५ रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएक छन् । खत्रीको फार्ममा ८ वटा प्लाष्टिक टनेलमध्ये २ वटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए ।
५ हजार १०० मिटर उचाइमा मोटरसाइकल यात्रा, सडकमा हिउँ जमेकाले चिप्लिने जोखिम
काठमाडौं । समुद्री सतहबाट ५ हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताए । उनले भने, ‘ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।’ मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ । अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उनको भनाइ छ । ‘अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक ५ हजार १ सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु,’ उनले भने । ५ हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ । टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (४ हजार २ सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ । सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताए । सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताए । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन् । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलोपटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्ववडाध्यक्ष छेतेन शेर्पाले बताए । टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ । विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर-दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । २९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।
अमेरिकासहित अधिकांश देशको मुद्राको भाउ घट्यो, यूरोको मूल्य १४४.१० रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.४८ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८२ रुपैयाँ र बिक्रीदर १५२.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.८९ रुपैयाँ र बिक्रीदर ८६.२६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.४१ रुपैयाँ र बिक्रीदर ९५.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.८९ रुपैयाँ र बिक्रीदर १०२.३३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०४ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५० रुपैयाँ र बिक्रीदर १२.५५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२३ रुपैयाँ र बिक्रीदर १९.३१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७४ रुपैयाँ र बिक्रीदर १७.८२ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.१९ रुपैयाँ र बिक्रीदर ४५०.१३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.८१ रुपैयाँ र बिक्रीदर ३६८.४० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५९.१७ रुपैयाँ र बिक्रीदर ३६०.७३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा कुहिरो लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छ भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।