विकासन्युज

६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाम नेपालमा भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पौष मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा नेपालमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा ७ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष यस्तो रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो । संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन । यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भैरहेको छ । कतिपय क्षेत्रमा जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भैरहेको अधिकारीहरूले बताउने गरेका छन् । मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए । उनले मन्त्रालय सम्हालेलगत्तै थालेको गृहकार्य पछि हालै मन्त्रिपरिषदले मन्त्रालयलाई पूर्व स्वीकृति दिएको हो । उनले अति आवश्यक दरबन्दी पुनरावलोकनको काम लामो समयदेखि नहुँदा देखिएको बाधा हटाउने घोषणा एक सय दिनको पत्रकार सम्मेलनमा गरेका थिए । गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो । अब मन्त्रिपरिषदबाट पूर्व स्वीकृति प्राप्त भए पछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सर्भेक्षण प्रतिवेदनपछि मन्त्रालयमा बढ्दो मागअनुसारका जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइनेछ। मन्त्रालयले ओएनएम सर्वेक्षणका लागि मन्त्रालयका सहसचिव ऋषिराज आचार्य संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन तथा अर्थका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा दरबन्दी पुनरावलोकनको प्रस्ताव पुनः अर्थ हुँदै मन्त्रीपरिषदमा लैजाने गरी मन्त्रालयले काम थालेको छ । हाल मन्त्रालयमा एक सय ६ दरबन्दी तथा आठ सय ३१ पुल दरबन्दीका रुपमा जनशक्ति कार्यरत छन् । यसले बढ्दो स्वास्थ्य सेवा विस्तार तथा भावी समस्यासँग जुध्न सम्भव नभएको जानकार बताउँछन् ।

सिद्धार्थ बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रालि(राधे राधे भक्तपुर) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले भक्तपुरस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा इन् हाउस् ल्याब टेस्टमा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

क्यान इन्फोटेक २०२५ को तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम रहेको छ  । त्यस्तै, क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् । प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा. लि., म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाइ-टेक इन्जिनियरिङ प्रालि (डिजिकम), पाइन ओबरसिज प्रालि, सुबिसु केबलनेट प्रालि लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा विट्सा, असोसियो, टीओए सफ्टवेयर कर्पलगायतको सहयोग रहेको छ । नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताइन् । क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रूपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरू, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायत प्रदर्शन गर्नेछ । यसपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शूल्क प्रवेश व्यवस्था छ । क्यान महासंघका उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक केवल ब्रान्ड एक्स्पो मात्र नभई आइडिया, स्टार्टअप, र इनोभेशन एक्स्पो पनि रहेको बताए । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले बताए । क्यान इन्फोटेकलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए । प्रर्दशनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् । क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ । साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ । राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ । सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो । सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रूपान्तरित यो संस्था गैर-राजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ ।

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता भएको छ । दुईबीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रूपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी सम्झौता भएको हो । बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौतापश्चात बैंकले ऋण असुलीसम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ । डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरूसँग बैंकिङ सवलीकरण लागी सहकार्य गर्दै आएको छ । अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास लिइएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

सेयर बजारमा ५ महिनायताकै उच्च कारोबार, ‘नयाँ गभर्नरलाई अग्रिम स्वागतको संकेत’

काठमाडौं । साताको पहिलो करोबारको दिन अर्थात आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २०२ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३० कम्पनीको २ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ कराेड  रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार पाँच महिनायताकै बढी हो । आइतबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड, हिमालयन पावरको पार्टनरको २९ करोड, सिन्धु विकास बैंकको २९ करोड र हिमालयन रिइन्स्योरेन्सको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उन्नत्ती सहकार्य लघुवित्त, गोल्बल आइएमइ लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट, ग्रामिण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशतले बढेको छ । आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि वृद्धि भएकाले अब बजारले नयाँ गति लिन सुरु गरेको लगानीकर्ताहरू बताउँछन् । सेयर बजारका छोटेलाल रौनियारले बजारसँगै कारोबार पनि उच्च वृद्धि भएकाले बजार अब उकालो गतिमा अघि बढेको बताउँछन् । उनले बैंकमा अत्यधिक तरलता रहेको र ब्याजदर पनि न्यून रहेका कारण बजार बढ्नुको विकल्प नै नरहेको बताए । बजार बढ्नका लागि सबै वातावरण ठीकठाक रहेकाले र नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आउने समय नजिकिएकाेले बजार बढ्न थालेको उनको भनाइ छ । उनले नयाँ गभर्नरलाई आजको बजारले अग्रिम स्वागत गरेको धारणाा राखे । उनले भने,  ‘हालका गभर्नरले लगानीकर्तामैत्री  नीति ल्याउन सक्नु भएन, त्यसैले पनि बजारले नयाँ गभर्नरकाे स्वागतमा पर्खिरहेकाे छ, नयाँ गभर्नरलाई अग्रिम स्वागत गर्दै बजार वृद्धिको बाटोमा अघि बढेको हो ।’ हालका गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २३ गतेदेखि सकिँदैछ । नयाँ गभर्नर आएपछि सेयर बजार बढ्ने हल्ला बजारमा चलिरहेको छ । । यस्तै, सेयर बजारकी लगानीकर्ता राधा पाेखरेलले पनि बजार बढ्नका लागि सबै वातावरण ठीकठाक रहेको दाबी गरेकी छन् । अत्यधिक तरलता र न्यून ब्याजदर रहेकाले बजार सकारात्मक दिशातर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ । यस्तै, उनले वर्तमान सरकारकाे लामाे समयसम्म सहकार्य रहने हल्लाले पनि लगानीकर्तामा सकारात्मक मनोबल बढेकाे र बजार पनि बढेकाे हुन सक्ने धारणा राखिन् ।

मेक्सिको, क्यानडा र चीनविरुद्ध अमेरिकाको ‘ट्रेड वार’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा व्यापक शुल्क लगाउने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले फेन्टानिल र क्यानडा तथा मेक्सिकोको सन्दर्भमा अवैध आप्रवासीहरूको प्रवाह रोक्न माग गर्दै ‘ट्रेड वार’ (व्यापार युद्ध)को सुरुवात गरेका हुन्, जसले विश्वव्यापी आर्थिक वृद्धिलाई असर पार्न सक्छ र मुद्रास्फीति पुनः बढाउन सक्छ । अमेरिकाका शीर्ष दुई व्यापारिक साझेदार मेक्सिको र क्यानडाले तत्कालै जवाफी भन्सार महसुलको प्रतिज्ञा गरेका छन् । यता चीनले विश्व व्यापार संगठनमा ट्रम्पको कदमलाई चुनौती दिने र अन्य ‘प्रतिउपायहरू’ अवलम्बन गर्ने बताएको छ । तीन कार्यकारी आदेशहरूमा ट्रम्पले मेक्सिकन र अधिकांश क्यानडेली आयातमा २५ प्रतिशत र चीनबाट आउने वस्तुहरूमा १० प्रतिशत भन्सार महसुल मंगलबारदेखि लागू गर्न लागेका छन् । उनले फेन्टानाइल एक घातक लागूपदार्थ र अमेरिकामा अवैध आप्रवासनसम्बन्धी राष्ट्रिय आपतकाल समाप्त नभएसम्म शुल्क कायम राख्ने प्रतीज्ञा गरे । तेल रिफाइनरहरू र मध्य-पश्चिमी देशहरूले उठाएका चिन्ताहरूको जवाफमा ट्रम्पले क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूमा १० प्रतिशत शुल्क मात्र लगाए, जबकि मेक्सिकन ऊर्जा आयातले पूर्ण २५ प्रतिशत शुल्क सामना गर्नुपर्ने भयो । ट्रुडोको जवाफी प्रतिक्रिया  जवाफमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ बिलियन अमेरिकी सामानहरूमा, जसमा बियर, वाइन, काठ र उपकरणहरू समावेश छन्, २५ प्रतिशत भन्सार महसुल लगाउने बताए । ट्रुडोले अमेरिकी नागरिकहरूलाई ट्रम्पको भन्सार महसुलले उनीहरूको किराना र पेट्रोल खर्च बढाउने, सम्भवतः अटो असेम्बली प्लान्टहरू बन्द गर्ने र निकल, पोटास, युरेनियम, स्टील र एल्युमिनियम जस्ता वस्तुहरूको आपूर्ति सीमित गर्ने चेतावनी दिए। उनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न र अमेरिकी उत्पादनहरू बहिष्कार गर्न आग्रह गरे । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले सामाजिक सञ्जाल एक्स (पूरानाे ट्वीटर) मा गरेको पोस्टमा आफ्नो अर्थमन्त्रीलाई जवाफी भन्सार महसुल कार्यान्वयन गर्न निर्देशन दिएको बताएकी छन् तर कुनै विवरण भने दिएकी छैनिन् । क्यानडा र मेक्सिको एक ठाउँ क्यानडा र मेक्सिकोले ट्रम्पको भन्सार महसुलको सामना गर्न एकसाथ काम गरिरहेको उल्लेख गरेका छन् । चीनको वाणिज्य मन्त्रालयले आफ्नो योजनाबद्ध प्रतिउपायहरू स्पष्ट गरेको छैन । यसको वक्तव्यले वासिङ्टन र बेइजिङबीच वार्ताको ढोका खुला राखेको जनाइएको छ । ह्वाइट हाउसको तथ्यपत्रले भन्सार महसुल ‘संकट कम नभएसम्म’ जारी रहने बताएको छ तर तीन देशहरूले राहत पाउन के गर्नुपर्छ भन्नेबारे कुनै विवरण दिएकाे छैन । सन् २०२३ मा अमेरिकी जनगणना ब्यूरोको तथ्यांकअनुसार क्यानडाबाट हुने सबै अमेरिकी आयातको लगभग एक चौथाइ हिस्सा ओगटेको थियो । ट्यारिफले अटो निर्माताहरू नराम्रोसँग प्रभावित हुनेछन् । क्यानडा र मेक्सिकोमा निर्मित सवारी साधनहरूमा नयाँ उच्च भन्सार महसुलले एक विशाल क्षेत्रीय आपूर्ति श्रृंखलालाई बोझ दिनेछ । भन्सार महसुलको घोषणाले २०२४ को राष्ट्रपतीय अभियान र पद सम्हालेपछि ट्रम्पको बारम्बार गरेको धम्कीलाई पूरा गर्छ । शीर्ष अर्थशास्त्रीहरूको चेतावनीलाई अवज्ञा गर्दै शीर्ष अमेरिकी व्यापार साझेदारहरूसँगको नयाँ व्यापार युद्धले अमेरिकी र विश्वव्यापी वृद्धिलाई कमजोर बनाउने र उपभोक्ता र कम्पनीहरूका लागि मूल्य बढाउने विज्ञहरूले जनाएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोलाई छिटो समाधान खोज्न आग्रह रिपब्लिकनहरूले यो समाचारलाई स्वागत गरे, जबकि उद्योग समूहहरू र डेमोक्र्याटहरूले मूल्यमा पर्ने प्रभावको बारेमा कडा चेतावनी जारी गरे । राष्ट्रिय विदेश व्यापार परिषदका अध्यक्ष जेक कोल्विनले ट्रम्पको कदमले ‘एभोकाडोदेखि अटोमोबाइलसम्म’ को लागत बढाउने खतरा रहेको र तीव्रता रोक्न अमेरिका, क्यानडा र मेक्सिकोलाई छिटो समाधान खोज्न आग्रह गरे । ‘तीन देशहरूले ‘प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न र अमेरिकी कम्पनीहरूलाई विश्व बजारमा निर्यात गर्ने क्षमता सहज बनाउन’ एकसाथ काम गर्नुपर्छ,’ कोल्विनले एक वक्तव्यमा भनेका छन् । क्यानडाका प्रान्तीय अधिकारीहरू र व्यावसायिक कार्यकारीहरूले पनि आक्रोशका साथ अमेरिकाबाट आयातमा कडा भन्सार महसुलको माग गर्दै प्रतिक्रिया दिएका छन् । ट्रम्पको घोषणा भएको लगभग ९० मिनेटपछि क्यानडाको राजधानी ओटावामा ओटावा सिनेटर्स र मिनेसोटा वाइल्ड नेशनल हकी लीग खेलको सुरुवाती फेस-अफअघि अमेरिकी राष्ट्रिय गानको विरोध गरिएको थियो । ट्रम्पको लिखित आदेशअनुसार अमेरिकी भन्सार महसुल संकलन मंगलबार बिहान १२:०१ बजेदेखि सुरु हुनेछ । तर शनिबार बिहान १२:०१ बजे अघि नै अमेरिका प्रवेश गर्न जहाजमा वा अन्तिम यातायात माध्यममा लोड गरिएका आयातहरू शुल्कबाट मुक्त हुनेछन् । ह्वाइट हाउसका अधिकारीहरूले भन्सार महसुलबाट कुनै छुट नहुने र यदि क्यानडा, मेक्सिको वा चीनले अमेरिकी निर्यातको विरुद्ध प्रतिशोध लिए भने ट्रम्पले सम्भवतः अमेरिकी शुल्क बढाउने जनाएका छन् । नोभा स्कोटियाका प्रिमियर टिम ह्युस्टनले अमेरिकाबाट आयात गरिएका सबै मदिरा प्रान्तको पसल तहबाट हटाउन निर्देशन दिएको बताए । लामो समयदेखि प्रतिज्ञा गरिएका भन्सार महसुल ट्रम्पले शुक्रबार भन्सार महसुलको बारेमा विस्तृत रूपमा बोलेका थिए । उनले स्टील, एल्युमिनियम, सेमिकन्डक्टर चिप्स र औषधिहरूमा थप भन्सार महसुल लगाउने योजना रहेको पनि बताए । रिपब्लिकन राष्ट्रपतिको घोषणापछि भन्सार महसुलको बारेमा पत्रकारहरूसँग बोल्ने कार्यक्रम तालिकामा थिएन । ट्रम्पको भन्सार महसुल कदमको नेतृत्व डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलर, अवैध आप्रवासनका एक शक्तिशाली बाज, र ट्रम्पको वाणिज्य विभागको प्रमुख पदका लागि मनोनित हावर्ड लुट्निकले गरेका थिए । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको दुई साताभन्दा कम समयमै उनले अमेरिकाको शासन प्रणाली र छिमेकी देशहरू तथा विश्वसँगको सम्बन्धका परम्परागत मान्यताहरू उल्टाउँदैछन् । अमेरिकामा मन्दी र मुद्रास्फीति एकसाथ आउनसक्ने  ईवाईका प्रमुख अर्थशास्त्री ग्रेग डाकोद्वारा गरिएको एक विश्लेषण अनुसार ट्रम्पको नयाँ व्यापार शुल्क योजनाले यस वर्ष अमेरिकी आर्थिक वृद्धिलाई १.५ प्रतिशत अंकले घटाउने, क्यानडा र मेक्सिकोलाई मन्दीमा धकेल्ने र अमेरिकाभित्र ‘स्ट्यागफ्लेसन ‘ (मन्दी र मुद्रास्फीति एकसाथ हुने अवस्था) निम्त्याउने संकेत गर्छ । डाकोले शनिबार लेखेका छन्, ‘अमेरिकी व्यापार साझेदारहरूमाथिको तीव्र शुल्क वृद्धिले स्ट्यागफ्लेसनरी झट्का निम्त्याउन सक्छ- जसले अर्थतन्त्रलाई नकारात्मक असर पार्ने मात्र होइन, मुद्रास्फीति पनि बढाउनेछ, साथै वित्तीय बजारमा अस्थिरता सिर्जना गर्नेछ । ‘ यस अस्थिरताको संकेत शुक्रबार नै देखियो जब ट्रम्पले आफ्ना धम्कीहरू कार्यान्वयन गर्ने वाचा गरेपछि मेक्सिकन पेसो र क्यानाडेली डलर दुबैको मूल्य घटेको थियो । अमेरिकी स्टक बजारमा गिरावट आयो भने ट्रेजरी बन्डको ब्याजदर बढ्यो । (एजेन्सीहरूको सहयोगमा) अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्सको तर्फबाट कम्पनीका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिषनारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ जारी गर्ने जनाएको छ । लामिनार टायल्स नेपालको पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाइड टायल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।