टाटा नेक्सन केथ्री ईभी सार्वजनिक, यसकारण हुनसक्छ ‘गेम चेन्जर’
काठमाडौं । टाटाको नेक्सन केथ्री ईभी नेपालमा सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा सार्वजनिक भएको उक्त एसयूभी कारको ट्यागलाइन ‘गेम चेन्जर’ रहेको छ । नेपालका लागि टाटाको आयातकर्ता तथा बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गर्दै उक्त कार गेम चेन्जरको भूमिका खेल्ने दाबी गरेको हो । सिप्रदी टेडिङका वरिष्ठ प्रवन्धक निर्मल खत्रीले उक्त कारको पाँचवटा पिल्लर रहेको र सोही पिल्लरहरूले सो कारलाई गेम चेन्जर बनाउने दाबी गरे । उनका अनुसार डिजाइन, प्रविधि, अल्ट्रा कम्फर्टको फिचरहरू, सूरक्षा र पफर्मेन्सले सो कारलाई गेम चेन्जरको रूपमा परिवर्तन गर्नेछ । कारमा नयाँ र डिजिटल डिजाइन हुनुका साथै फ्युचरस्टीक, इनोभेटिभ र यूजर फ्रेण्डली प्रविधि रहेको खत्री बताउँछन् । नेक्सन केथ्री ईभको डिजाइनमा बाइफङ्सनल एलईडी रहेको छ । सेन्टर पोजिसन ल्याम्प र पछाडि एनटूएन कनेक्टेड डीआरएल रहेको छ । यसले गाडीलाई विशेष लुक्स दिएको उनको भनाइ छ । यसका साथै नयाँ डिजिटल ड्यासबोर्ड र स्मार्ट डिजिटल स्टेरिङ ह्वील रहेको छ । खत्रीका अनुसार सो गाडीमा भएको स्मार्ट डिजिटल शिफ्टर फिचरले ड्राइभ मोड सेलेक्सन गर्न सजिलो पनि बनाउने छ । सो कारमा १२.३ इन्चको अल्ट्रा एचडी सिनेम्याटिक टच स्क्रीन र १०.२ इन्चको अर्काे इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । जसलाई चाहेअनुसार कस्टमाइज पनि गर्न सकिन्छ । जसमा म्याप पनि हेर्न सकिन्छ । गाडीमा जडित जेबीएलको साउण्ड सिस्टम र ९ वटा स्पीकर सिस्टमले थ्रीडी साउण्ड सुन्न सकिन्छ । यो गाडीको सबैभन्दा महत्वपूर्ण फिचर भनेको ‘भेहिकल टु भेहिकल फिचर’ पनि हो । अर्काे गाडीलाई सो नेक्सन केथ्री ईभीले चार्ज गर्न सकिन्छ । जसका लागि बाइडीरेक्सनल चार्जिङ सपोर्ट गर्ने कार हुनु पर्दछ । सो गाडीमा भेहिकल टु लोड पनि छ । अर्थात गाडीलाई पावर बैंकको रूपमा प्रयोग गर्न पनि सकिन्छ । कुनै पनि विद्युतीय उपकरणहरू सो गाडीबाट चार्ज गर्न सकिन्छ । गाडीमा अगाडि ११.६ लिटरको फ्रङ्क र पछाडि ३.१५ लिटरको बुट स्पेस रहेको छ । यसैगरी, गाडीमा ३६० डिग्री क्यामेरा रहेकाले टर्निङ गर्दा, साँघुरो बाटोमा गाडी चलाउँदा सजिलो हुने जनाइएको छ । फ्रन्ड पार्किङ सेन्सरका साथै ईलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम रहेको छ । सो प्रोग्रामअन्तर्गत अन्य ११ वटा सुरक्षाका फिचरहरू रहेका छन् । यसका साथै ६ वटा एयर ब्याग सो गाडीमा रहेको खत्रीले जानकारी दिए । ९८ किलोवाटको मोटर रहेको सो गाडीमा ४५ किलोवाटको ब्याट्री रहेको छ । सो गाडी एक पटक चार्ज गरेपछि ३२५ किलोमिटर गुड्ने जनाइएको छ । ७.२ किलोवाटको चार्जर सो गाडीमा पाइन्छ । ६ घण्टा ३६ मिनेटमा उक्त गाडी फुल चार्ज हुन्छ । ६० किलोवाटको डीसी फाष्ट चार्जरले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो गाडीमा सीटी, ईको र स्पोटर्स गरी तीनवटा मोडहरू पाउन सकिन्छ । आफ्नो अनुकूलताअनुसार ती मोडहरू परिवर्तन गर्दै गाडी चलाउन सकिन्छ । गाडी ५ वटा रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजुबाबु श्रेष्ठले बुकिङ खुल्ला भएको बताए । यसका साथै हाललाई सो गाडीमा अफर रहेको पनि उनले जानकारी दिए । उनका अनुसार अफरको समयमा सो गाडी खरिद गर्ने ग्राहकले ७.२ किलोवाटको चार्जर फ्रिमा पाउनेछन् । सो चार्जरको मूल्य १ लाख ३५ हजार रहेको छ । गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि सुरु, २० प्रतिशतसम्म छुट
काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो- २०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धर जानकारी दिइन् । नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स-ल्याब ल्यापटप पनि राखिने छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ । एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् । ‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् । सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । ७ दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउने छन् । साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले बताएको छ । एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणालीमार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ । यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गर्ने भएको छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीनवटा मोडल लन्च हुने भएको हो । ब्रदर र कोनिका ब्रान्डका यी प्रिन्टर एक्स्पोमा सागर ग्रुपले एक्स्पोमा ब्रदर र कोनिका ब्रान्डका विभिन्न मोडलका प्रिन्टर एक्स्पोमा राख्नेभएको छ । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी ७६२० डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी ७६४० डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी ७८१० डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् । यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी २१०० डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी २१५० डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । फरक–फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरू आधुनिक फिचरले सुसज्जित छन् । यसैगरी, कोनिका ब्रान्डका कोनिका मिनोल्टा बीएच–सी २२६ आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई बी/डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५आई बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर एक्स्पोमा रहेन बताइएको छ । अनलाइन सुविधाको लागि बेलियो डट कममार्फत् पनि यी प्रडक्टहरू खरिद गर्नका साथै बुझ्न सकिने सागर ग्रुपले जनकारी दिएको छ ।
महिला उद्यमीका लागि नीतिगत कार्ययोजना आवश्यक छ : अध्यक्ष ज्ञवाली
काठमाडौं । महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीका लागि विशेष नीतिगत कार्ययोजना आवश्यक रहेको बताएकी छिन् । आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार विषयक’ छलफलका क्रममा उनले सो बताएकी हुन् । उनले नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय भएपनि नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व न्यून भएको हुँदा नीतिगत कार्ययोजना आवश्यक रहेको औंल्याएकी हुन् । ‘नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय छ, तर नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व अझै न्यून छ । त्यसैले महिला उद्यमीहरूका लागि एक विशेष नीतिगत कार्ययोजना आवश्यक छ, जसले नेपालको अर्थतन्त्रलाई दीगो, समावेशी र उद्यमशीलतामैत्री बनाउनेछ,’ उनले भनिन् । त्यस्तै, अध्यक्ष ज्ञवालीले महिलामैत्री अर्थतन्त्र आउनुपर्ने बताइन् । ‘हामी छौं, हामीलाई देऊ, हामीलाई गर, महिलामैत्री, व्यवसायीप्रेमी अर्थतन्त्र आउनुपर्यो भनेर सरकारसामु झकझक्याइरहेका छौं,’ उनले भनिन्, ‘ राज्यले नगरेको हैन गरेको छ । केही दिनअघि सरकारले ल्याएको अध्यादेशमा हामीले उठाएका डिजिटल लिट्रेसीलाई सहज गराइदिने, साना तथा मझौला उद्यमलाई कसरी सहयोग गर्ने भन्ने विषयको सम्बोधन भएको छ । ती कुरा कार्यान्वयन हुन्छ भन्ने आशा छ ।’ कार्यक्रममा उनले महिलाहरूलाई न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइदिनुपर्ने कुरा उल्लेख गरिन् । कुनै पनि देश अघि बढ्नको लागि साना तथा मझौला उद्यमशीलता अघि हुनैपर्ने बताउँदै उनले त्यसको विकास हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो देशको अर्थतन्त्रमा साना तथा मझौलाकाो योगदमान ६० प्रतिशतभन्दा बढी छ, त्यसमा २९ प्रतिशत महिला उद्यमी व्यवसायीको योगदान छ ।’ अध्यक्ष ज्ञवालीले ७१ प्रतिशतभन्दा बढी महिलाले कृषिमा योगदान पुर्याएकाे कुरालाई जोड्दै उक्त क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताइन् । कृषि क्षेत्रलाई अनुदान दिनेदेखि लिएर कृषि शिक्षा, वैज्ञानिक तबरको खेती गर्नका लागि सरकारले प्रोत्साहन र सहज बनाइदिनुपर्ने उनको विचार छ । त्यस्तै, ज्ञवालीले कोभिड अगाडिसम्म दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्ने उल्लेख गरिन् । कोभिड अगाडि बिना ब्याज र बिना धितोको ५ लाखसम्मको कर्जा, आधार दरमा २ प्रतिशत थपेर दिने १५ लाखसम्मको कर्जा पुनः सुरु हुनुपर्ने उनले बताइन् । कार्यक्रममा अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई व्यवसायिक सीप र डिजिटल वित्तीय सेवा दिएर इकमर्स र डिजिटल मार्केटिङमा सहभागी गराउन अनुदान तथा प्रोत्साहन प्रदान गर्नुपर्ने कुरा उठाएकी छिन् । उनले भनिन्, ‘एआई लक्षित प्रविधिको प्रयोग गरेर महिलाहरूलाई नवीनतम प्रयोगसँग जोड्नु आवश्यक छ । त्यसको लागि सरकारी नीति तथा निर्माण प्रक्रियामा महिला उद्यमीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’ त्यसैगरी, उनले वैदेशिक लगानी तथा निर्यात प्रवद्र्धनमा महिला उद्यमीको लागि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने नीति निर्माण गर्ने, महिला उद्यमशीलताको अन्तर्राष्टिकरण गर्ने कुरा अघि सारिन् । राज्यले व्यवसायीमैत्री नीति ल्याउनुपर्ने विचार व्यक्त गरिन् । ‘८९ प्रतिशत पुरुषहरू विदेश जाँदा ११ प्रतिशत मात्रै महिलाहरू विदेशमा गएका छन् । महिलाहरू यही बसेर काम गर्न चाहिरनुभएको छ । उहाँहरूलाई अघि बढ्न व्यवसायमैत्री वातावारण सरकारले बनाइदिनुपर्छ । जसले गर्दा महिलाहरू अगाडि बढ्न सक्छन् ।’
नेपाल चेम्बर अफ कमर्स एक्स्पोमा छायो कजारिया टायल्स, दर्शकको विशेष चासो
नेपाल चेम्बर अफ कमर्स एक्स्पो– २०२५ मा रमेश टायल्सको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एक्स्पो– २०२५ मा नेपालको अग्रणी टायल ब्रान्डहरूमध्ये एक कजारिया रमेश टायल्स प्रदर्शनमा राखिएको छ । मजबुत, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टायल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले विशेष चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कजारिया रमेश टायल्स लिमिटेडको स्टलसहित विभिन्न स्टलहरू भ्रमण गरे । कजारिया रमेश टायल्स लिमिटेडको टोलीले आफ्नो उत्पादनहरू प्रधानमन्त्रीलाई प्रस्तुत गर्न पाएकोमा गर्व महसुस गरेको छ । कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले नेपाल चेम्बर अफ कमर्स एक्स्पोको हिस्सा हुन पाउँदा गर्व महसुस गरेको बताए । रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउने र वृद्धि र विकासलाई बढावा दिने जनाइएको छ । नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई)को आयोजनामा सुरु भएको एक्स्पो माघ १७ देखि २१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरू राखिएको छ । करिब ५० हजार दर्शकले एक्स्पोको अवलोकन गर्ने आयोजकले जनाएको छ ।
महँगी बढ्यो, विगतको तुलनामा कमजोर वित्तीय सूचक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्था सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आवको ६ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो । रेमिट्यान्समा झिनो वृद्धि रमिट्यान्स पनि झिनो अंकले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो । शोधान्तर स्थिति बचतमा रहे पनि घट्यो नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ । सवा २३ खर्ब पुग्याे विदेशी मुद्राकाे सञ्चिति २०८१ पुस मसान्तमा विदेशी मुद्राको सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । आयात-निर्यात बढ्यो आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।
विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब, १७.३ महिनाको आयात धान्ने
काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ६ महिनामा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेर २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । गत असारसम्म १५ अर्ब २७ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा गत असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । ६ महिनामा १२।१ प्रतिशत बढेर पुससम्म २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा पुसमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । पुससम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
विदेशमा पढ्न जाने विद्यार्थीले ६ महिनामा लगे करिब ५७ अर्ब
काठमाडौं । नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाँदा ५६ अर्ब बाहिरिएको छ । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा चालु आर्थिक वर्षको ६ महिनामा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस शीर्षकमा बाहिरिने रकम भने घटेको छ । गत आवको सोही अवधिमा शिक्षातर्फ ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आवको पौष मसान्तसम्म खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत यो अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो । पछिल्लो ६ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको मनोबल बढाउन सरकार अग्रसर
अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भएपनि आन्तरिक रूपमा हामीले सन्तोषजनक रूपमा प्रगति गर्न सकेका छैनौं । लामो समयदेखि अर्थतन्त्र दवावमा छ । त्यो दवावबाट कसरी निस्कने ? त्यस्ता विषयमा छलफल आवश्यक छ । छलफल भइरहेको छ । राष्ट्र बैंकले केही वस्तुहरूको आयातमा प्रतिबन्ध नगरिदिएको भएदेखि अर्थतन्त्रका बाह्य सूचकहरू नकारात्मक हुन्थे भनेर टिकाटिप्पणी गरेको पाइन्छ । यो कुरामा मेरो कुनै असहमति होइन तर योसँगै जोडिएको तथ्य पनि राख्न चाहन्छु । जतिबेला नेपालमा आयात प्रतिबन्ध थियो । त्यतिबेला विशेषगरी प्रतिबन्ध गरिएका वस्तुहरूको बजारमा अभाव थिएन । केही चीजहरू जस्तै गाडी भन्सारबाहेकबाट आयात गर्न असम्भव वस्तुमा प्रतिबन्ध लगाउँदा त्यसले सफलता प्राप्त भयो होला तर भन्सार बाहेकका विन्दुबाट पनि चोरी निकासी गरेर आयात गर्ने प्रवृत्ति झने मौलाएर गयो । त्यस पाटोमा ध्यान दिनुपर्ने देख्छु । दोस्रो चर्चा– पुँजीगत खर्च भएन भनेर मात्रै बसेको देख्छु । तर किन भएन, कसरी हुन्छ भन्ने विषयमा प्रवेश गर्नुपर्ने अपरिहार्य भइसकेको छ । सरकारले त्यसतर्फ सार्थक पहल पनि गर्दैछ । नयाँ बजेट आउँदा आर्थिक वर्षको सुरुवती दिनहरूमा बजेटले निर्माण गरेका कार्यक्रम, आयोजना कार्यान्वयनका केही पूर्वतयारीका कुरा हुन्छन् । ठेक्का आह्वानदेखि लिएर कामसमेत सुरु गर्नुपर्ने हुन्छ । त्यसैले तुलनात्मक रूपमा आर्थिक वर्षको सुरुमा पुँजीगत खर्चको अनुपात कम हुनु स्वाभाविक हो । हामीले पुँजीगत खर्चसम्बन्धी जुन कानुनी बन्दोवस्त गरेका छौं, ती विषयमा सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्य बढाउनुपर्ने आवश्यकता छ । नियमनका प्रबन्धलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । यसमा ध्यान दिनु आवश्यक छ, हामीले त्यसतर्फ ध्यान दिँदैछौं । अहिलेको वर्षको पुँजीगत खर्चको तुलना गत वर्षसँग गर्ने हो भने केही सुधार छ तर त्यो पर्याप्त होइन । त्यसलाई प्रभावकारी बनाएर जानेछौं । बारम्बार उठ्ने अर्को विषय हो । निर्माण व्यवसायीको भुक्तानी । स्पष्ट भाषामा भन्नु पर्दा अहिले उठिरहेको भुक्तानीको विषय अहिलेको भन्दा पनि गत वर्षको हो । गत वर्षको भुक्तानी दायित्व जुन सरेर यो वर्ष नयाँ सरकारको काँधमा आएको हो । त्यही भुक्तानी दायित्व सामना गर्ने सिलसिलामा विभिन्न पूर्वाधार निकायसम्बद्ध मन्त्रालयहरू भौतिक मन्त्रालय, सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सिँचाइलगायत मन्त्रालय साथसाथै अर्थमन्त्रालयले पनि गृहकार्य गरेको थियो । कानुनसंवत दाबी गरिएको रकम भुक्तानी हुँदै आएको छ । आजको दिनसम्ममा आइपुग्दा अघिल्लो वर्षको भुक्तानी तिरिसकेका छौं । यो वर्षको पनि कसैले रीतपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था भइसकेको छ । बैंकिङ क्षेत्रको ठूलो लगानी रहेको घरजग्गा क्षेत्रमा सुस्तता छाएको छ । यस क्षेत्रमा चलायमान हुन नसक्दा यसको यसको प्रभाव देशको सिँगो अर्थतन्त्रमा परेको छ । यस विषयमा घरजग्गाका कारोबारीहरूलाई मात्रै धारे हात लगाएर गाली गरेर जिम्मेवारी पूरा हुन्छ भन्ने लाग्दैन । घरजग्गा कारोबारमा समस्या छ । त्यो समस्यामा प्रवेश गरेर कसरी समाधान खोज्ने भन्ने विषय सबैको साझा हो । बैंकर, व्यवसायी, सरकारको विषय हो । सरकारले नीतिमार्फत सम्बोधन गर्नुपर्छ । सरकार त्यसतर्फ अग्रसर हुनुपर्छ । बैंकहरूले राष्ट्र बैंकको नीतिअनुरूप आफ्नो ठाउँबाट सहजता उपलब्ध गराउनुपर्छ । व्यवसायीले प्रचलित कानुनको व्यवस्थाअनुसार काम गर्नुपर्छ । हामी धेरैको मानसिकता आजको भोलि चाहियो भन्ने छ । भोलि भएन भने पर्सि चाहियो, त्योभन्दा बढी हामी कुर्न सक्दैनौं भन्ने खालको छ । समस्या लामो समयदेखिको छ, समाधान रातरात चाहिको छ । समस्या नीतिसँग छ, कार्यान्वयनसँग छ । ती समस्या समाधानको निम्ति सरकारले ‘पोलिसी रिफर्म’ कुरा अघि सारेको छ, जुन कार्यान्वयनमा आउन समय लाग्छ । कुनै पनि समस्या जटिल छ र पोलिसीबाटै त्यो समस्याको सम्बोधन नगरी समाधान हुँदैन भने त्यसबाटै जानुपर्यो। तर पोलिसी रिफर्मममा जाँदा पनि त्यसको प्रभाव आजको भोलि देखिँदैन समय लाग्छ । अहिले सरकारले मुख्य रूपले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको निम्ति पोलिसी रिफर्ममा जोड दिएको छ । सरकारले अध्यादेश ल्याएको छ । त्यो अध्यादेश पनि पोलिसी रिफर्मको एउटा माध्यम हो । सरकारले निजी क्षेत्रलाई दिने भनेको हौसला दिने हो, पोलिसी दिने हो । हामी छौं भनेर अघि बढ्न आत्मविश्वास दिने हो । आज सरकारले पोलिसी रिफर्मको माध्यमबाट अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको मनोबल उठाउने काम गरिरहेको छ । उहाँहरू निराश भएर के गर्ने र नगर्ने भनेर छट्पटाइरहेको बेलामा अध्यादेश लिएर आएको छ । जुन कुरा उहाँहरूले अनुमान नै गरेका थिएनन् । अध्यादेशमार्फत निजी क्षेत्रका वर्षांैदेखि पेन्डिङ भएका एजेन्डाहरू, भन्दाभन्दै थाकेका एजेन्डाहरूलाई जोडेको छ । सरकारले ६ वटा अध्यादेश ल्याएर २९/३० वटा कानुनमा संशोधन गरेर हामीले निजी क्षेत्रको मनोबल उठाउने काम गरेको छ । जुन कुरामा उहाँहरू उत्साहित हुनुभएको छ । धेरैले अध्यादेशको मुक्तकण्ठले प्रशंसा गरेका छन् । खासगरी आईटी सेक्टरलगायतका बिजनेस सेक्टरहरू जहाँ रोजगरी उत्पादन, पुँजीवृद्धि, पुँजी निर्माणको सम्भावना बढी छन्, ती सेक्टरले अझ बढी प्रशंसा गर्नुभएको छ । सरकारले गर्नुपर्ने काम गर्यो, अब हामीले गर्ने काम बाँकी छ, हामी गर्छौं भनेर आउनुभएको छ । त्यसैले सरकारले गर्ने यस्तै प्रयासहरू हुन् । यी प्रयासहरूको नतिजा क्रमशः आउँदै जान्छ । सँगसँगै यसपटक सरकारले ल्याएका अध्यादेश, कानुन कार्यान्वयन कसरी हुन्छ भन्नेमा स्पष्ट दृष्किोण बनाएको छ । संसद्बाट पास भइसकेको यो अध्यादेशबाट आएका कानुन कार्यान्वनसँग सम्बन्धित विषयमा नियमाली निर्देशिका बनाएर लग्छौं । सहज ढंगले कार्यान्वन हुने परिस्थिति निर्माण गर्छौं । हामी यस हिसाबले जान चाहिरहेका छौं । (नेपाल महिला आर्थिक पत्रकार संघ(फेजा) ले आयोजना गरेको अर्थतन्त्र: नीति र व्यवहार विषय छलफल कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले व्यक्त गरेको विचार)