विकासन्युज

चोरी पैठारीको २० किलो चाँदीसहित ५ पक्राउ, पैसा गन्ने मेसिन पनि बरामद

काठमाडौं । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौंबाट ५ जना पक्राउ परेका छन् । राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो । बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका छ थान मोबाइल बरादम गरेको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

पर्यटनमन्त्री पाण्डेले पाए ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा)ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम एन्ड एभिएसन समिट-२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ । नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु नेपालमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तरराष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका बोडैले जनाएको छ । अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो । यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकार भएका निकायको सम्मान हो । नेपालको पर्यटन सधैँ नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ । यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा काम गर्न प्रेरित गरेको छ ।’ मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताए । उनले प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु सरकारको लक्ष्य हुने उल्लेख गरे ।

साढे २३ करोडमा सम्झौता भएको पुल अन्तिममा अलपत्र, ठेकेदारको लापरबाही

काठमाडौं । रामेछाप जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो । रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल ४ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने थियो । त्ययता लगातार म्याद थपिए पनि निर्माण सम्पन्न हुनसकेको छैन । विसं २०७७ मै सम्पन्न हुनुपर्ने उक्त पुलको म्याद यही २०८१ साल चैत २० गतेसम्म थपिएको छ । म्याद सकिन १ महिना बाँकी रहँदा बाँकी काम सुरु नै हुनसकेको छैन । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए पनि व्यवसायीले चासो नगरेको बताए । उनले भने, ‘यो पुल चाँडो सम्पन्न गराउनका लागि धेरै पटक सरकारका विभिन्न निकायमा धाएँ तर हालसम्म काम सुरु भएन । अन्तिम पटक थपिएको म्याद सकिन पनि अब एक महिना मात्रै छ तर हालसम्म काम सुरु नै भएको छैन । यसले थप समस्या सिर्जजा गरेको छ ।’ सडक विभागको पुल सेक्टर आयोजनाले २०७४ सालमा पुलको ठेक्का लगाएको थियो । शङ्करखोला दोभान पुल आयोजना नामको यस पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण थालिएको थियो । अनक महावीर जेभीले पुल निर्माणको जिम्मेवारी पाएको थियो । कुल १९० मिटर लामो पक्की पुल निर्माणका लागि २३ करोड ६८ लाख ६७ हजार ३५० रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको थियो । यस पुलले मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछापको रामेछाप नगरपालिका जोड्ने गरेको छ । यस पुलको स्ल्याब ढलानको काम भइसकेको छ तर पुलमा आउने ‘एप्रोच’ सडक पुल नजिक लगाउनुपर्ने ‘रिटेनिङ वाल’ र ‘रेलिङ’को काम भने बाँकी छ । समयमै पुल नबन्दा आफूहरूलाई निकै समस्या भइरहेको स्थानीय कोमल श्रेष्ठले बताए । ‘यो पुल चार वर्षअघि बनिसक्छ भनेको थियो तर हालसम्म पनि बनेन । सबैले ठेकेदारले लापरबाही गर्‍यो भनिरहेका छैन । त्यो भनेर उन्मुक्ति पाइन्छ ? हामीले पाइरहेको दुःअ सम्झेर अब जरी पनि काम गराउनुपर्छ,’ उनले भने । सडक विभाग, पुल आयोजना सेक्टरका इन्जिनियर नेत्रविलाश पौडेलले पुलको काम अगाडि बढाउन कार्यालयबाट पटक पटक मौखिक तथा लिखित अनुरोध गरे पनि निर्माण व्यवसायीले अटेर गरिरहेको बताए । ‘निर्माण व्यवसायीले लगातार काम गर्ने हो भने बढीमा दुई महिनाभित्र पुलको सम्पूर्ण काम सकिन्छ तर उहाँहरू हामी चाँडै सम्पन्न गर्छौं भन्नुहुन्छ तर साइडमा कामदार पठाउनुहुन्न,’ उनले भने । सो पुलसँगै काम सुरु भएको ओखलढुङ्गा जोड्ने सुनकोशी नदीको पुल भने यसअघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले लिखु करिडोर हुँदै रामेछापको गुम्देल पुग्ने सडकका लागि उच्च प्राथमिकता दिई निर्माण गरिरहेको भए पनि यो पुल हालसम्म पनि सञ्चालनमा नआउँदा लक्ष्यअनुसारको उपलब्धिसमेत हुन सकिरहेको छैन । हाल बिपी राजमार्गमार्फत सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुँदै ओखलढुङ्गाको खिजी फलाटे, गाम्नाङ, घोराखोरीलगायत स्थानहरूमा यातायातका साधनहरू सञ्चालन भइरहेका छन् ।

माछापुच्छ्रेको १ अर्ब २० करोडको एमबीएल इक्विटी फण्ड बिक्री खुला, १२ वर्ष अवधि

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज फागुन २२ गतेदेखि एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ । १२ वर्ष अवधि रहेको उक्त फण्डमा १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन समय लम्बिनेछ । उक्त म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर माफर्त लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।

क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गरेको छ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

१२ रोपनीमा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदै, २ हजार ७८६ वर्गमिटर पदमार्ग

काठमाडौं । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए । उनका अनुसार १ करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँको लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ । उद्यान क्षेत्रमा २ हजार ७८६ वर्गमिटर पदमार्ग तयार पारिनेछ । पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी, चारैतिर घेराबारसहितको उद्यान निर्माण हुनेछ । ‘रामपुरलाई नमूना नगर बनाउन बृहत् उद्यान निर्माण कार्य भइरहेको छ । भौगोलिक हिसाबले पर्यटनको सम्भावना बोकेको रामपुरलाई पर्यटनमैत्री, हरियाली र सुविधासम्पन्न सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणमा नगरले प्राथमिकतामा राखेर काम गरिरहेको छ । यो उद्यान त्यसैअन्तर्गतको एउटा महत्वपूर्ण काम हो,’ नगरप्रमुख थापाले भने । पवित्र कालीगण्डकी नदी र रामपुर उपत्यका भएर कालीगण्डकी करिडोर सडकमार्गले जोडेकाले पनि रामपुर हेर्न र घुम्न लायक सहर बन्ने भन्दै उनले त्यसका लागि नगरले आवश्यक योजनाका साथ काम गरिरहेको सुनाए । नगरपालिकासँग जोडिएको यो उद्यान तयार भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत सहज हुनेछ । यो आरामस्थल तथा अवलोकन गर्ने माध्यम बन्नेछ । आगामी असार मसान्तसम्म सम्पन्न हुनेगरी निर्माण कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश, सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाका लागि विनियोजित २६ करोड ७१ लाख रुपैयाँ बराबरको रकममध्ये १ करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँको लागतमा उद्यान निर्माण हुन लागेको हो । बाँकी रकमबाट रामपुर नगरपालिका–५ र ६ मा पर्ने सहायक सडकहरूको स्तरोन्नति कार्य भइरहेको छ । यस आयोजनाअन्तर्गत उद्यानसहित यहाँ करिब ९ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए । बुटवल, नारायणघाट, पोखरा र काठमाडौंजस्ता देशका ठूला सहरसँग सडक सञ्जाल जोडिएपछि यहाँको विकासले गति लिएको छ । सडक सुविधाको पहुँच पुगेपछि रामपुर एउटा सुगम सहरका रूपमा विकसित हुँदै छ । यस क्षेत्रमा स्थानीय सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्र तथा धार्मिक स्थल स्तरोन्नतिको काम धमाधम अगाडि बढाइरहेको छ । जसले पर्यटकीय गतिविधि बढोत्तरीमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

म्याग्नस फर्माले बढायो १ अर्ब लगानी, ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने

काठमाडौं । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा १ अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनको भनाइ छ । ‘कम्पनीले १ सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ,’ उनले भने । कम्पनीमा हाल ३५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा १ अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने, तराईका केही स्थानमा हल्का हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।