विकासन्युज

समृद्धिका लागि विज्ञान प्रविधि

विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहो¥याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, औद्योगीकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ । सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा नेपाललाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ । विज्ञान प्रविधि नेपालको उज्ज्वल भविष्यको आधारस्तम्भ हो । राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवर्द्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । तथापि, नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आवद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात् गरेको छ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिमार्फत वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नवप्रवर्तनलाई दिगो विकासको प्रमुख आधारका रूपमा अघि बढाउने लक्ष्य राखेको छ । नेपालमा विज्ञान र प्रविधिसम्बन्धी नीति पहिलो पटक २०४४ सालमा ल्याइएको थियो । त्यसपछि समयानुसार यसमा संशोधन हुँदै आएको छ । पछिल्लो विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६ ले वैज्ञानिक सोच, अनुसन्धान, प्रविधि हस्तान्तरण, तथा नवप्रवर्तनलाई प्राथमिकता दिएको छ । यस नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिँदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरुलाई समेट्ने प्रयास गरेको छ । कृतिम बौद्धिकता (एआई), नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इञ्जिनियरिङको अधिकतम उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यवसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रुपमा लिइएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई समृद्ध नेपालको निर्माणका लागि प्रमुख आधारका रूपमा लिइएको छ । सोह्रौँ पञ्चवर्षीय योजनामा योजनाले वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गरी दिगो आर्थिक विकास गर्ने लक्ष्य राखेको छ । यस योजनामा विज्ञान प्रविधिसम्बन्धी मुख्य रणनीति र लक्ष्यहरूमा सूचना प्रविधिको विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवद्र्धन, कृषि तथा खाद्य सुरक्षामा विज्ञान प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रमा प्रविधिको विस्तार, पूर्वाधार तथा ऊर्जा प्रविधिको प्रयोग, वातावरण तथा जलवायु परिवर्तन न्यूनीकरणका विषयहरुलाई समावेश गरिएको छ । नास्टको भूमिका नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्थापनादेखि निरन्तर रुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू-सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गर्न विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भइसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ । नास्टले यसै वर्ष विज्ञान प्रविधि सूचना प्रणाली केन्द्रको स्थापना गरी विज्ञान प्रविधिको सम्पूर्ण सूचनालाई भण्डारण गरी उपयोगमा जोड दिइएको छ । वार्षिक कार्यक्रमका लागि तय गरेका विभिन्न अनुसन्धान तथा विज्ञान प्रविधिका प्रवर्तनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसको लागि विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरुलाई क्रियाशिल बनाइएको छ । चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्रको स्थापनाको कामलाई पूर्णता दिई जनशक्तिको व्यवस्था गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । संरचना एवं पूर्वाधार विकासतर्फ बितेको आर्थिक वर्षमा बायोमेडिकल रिसर्च ल्याबको निर्माण कार्य सम्पन्न भएको छ भने हाल ‘सेकेण्डरी स्टयान्डर्ड डोसिमेट्री ल्याबरेटोरी’को निर्माण कार्य सम्पन्न हुने प्रक्रियामा रहेको छ । विदेशी वैज्ञानिक संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई अघि बढाउने काम भएको छ । सन् १९९० देखि इटालीको वैज्ञानिक संस्थासँग मिलेर लोबुचेस्थित पिरामिड ल्याबको प्रयोग गर्दै उच्च धरातलीय अनुसन्धान कार्य गर्दै आएकामा सन् २०१५ देखि सो कार्य अवरुद्ध भएकाले त्यसलाई सूचारु गर्ने व्यवस्था मिलाइएको छ । सन् २०१९ मा जापानको वैज्ञानिक संस्था क्युटेकसँगको सहकार्यमा नास्टले नेपालकै प्रथम न्यानो स्याटलाइट (नेपाल स्याट १) अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यस्तै सन् २०२४ मा भारतको अन्तरिक्ष अनुसन्धान संस्था ‘आएएसआरओ’सँग दोस्रो न्यानो स्याटलाइट (मुनाल) चाँडै प्रक्षेपण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । भारतको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्था ‘सिएसआइआर’सँग विज्ञान तथा औद्योगिक अनुसन्धानका बृहत् विषयमा सहयोग र सहकार्य निम्ति समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस संस्थासँगको संयुक्त कार्यक्रम तथा प्रविधि हस्तान्तरणबाट नेपाललाई धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ । यस वर्ष जापानको वैज्ञानिक संस्था ‘सिएसआइएस’सँग ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम (जिएनएसएस) प्रणालीलाई नेपालमा प्राकृतिक प्रकोप, आपत्कालीन समस्या पहिचान, यातायात प्रणाली, भूमि व्यवस्थापनजस्ता क्षेत्रहरुमा उपयोग गर्ने गरी समझौता गर्ने काम अघि बढेको छ । यसैगरी स्थानीय संस्थाहरुसँग सहकार्य गर्ने काम अघि बढिरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग प्रकृति संरक्षण विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ भने उद्योग वाणिज्य महासङ्घसँग सहयोग र सहकार्यको लागि छलफल सुरु भएको छ । विज्ञान तथा प्रविधिको प्रयोग स्वस्थ र सुखी जीवन तथा राष्ट्रिय समृद्धिको प्राप्तिको लागि हुनुपर्दछ । यसको निमित्त राम्रो विज्ञान शिक्षा, अनुसन्धान, प्रविधि नवप्रवर्तन आधारभूत आवश्यकता हो । जनताको जीवनस्तर वृद्धि र देशको समृद्धिको निमित्त विज्ञान र प्रविधिको भूमिकालाई सशक्त बनाउने, वस्तुनिष्ठ र ठोस परिणाममुखी कार्यक्रम सञ्चालन गरी नाष्टको प्रतिष्ठामा वृद्धि गरी नाष्टलाई विश्वस्तरीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने हुन्छ । भावी योजना निर्माण गर्दा सरकारको चालु आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रम, विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकासका लक्ष्यलाई मार्गनिर्देशक मानिनेछ । योजना तयार गर्दा नास्टका विषयगत वैज्ञानिक उप-समितिहरु, नास्टबाट आयोजना गरिएका सम्मेलन, गोष्ठी, छलफलका प्रतिवेदन, अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थासँगको सहकार्य गर्ने समझदारी, विभिन्न मन्त्रालय एवं राष्ट्रिय संस्थाहरुसँग भएका समझदारी र सम्झौता, राष्ट्रिय योजना आयोगसँगको परामर्श, प्राज्ञसभाको सल्लाह सुुझावलाई आत्मसात गरिएको छ । योजनाको कार्यदिशा उत्पादन वृद्धि तथा उद्यमशीलताको विकासमा सहयोग पु¥याउने नवीन प्रविधिहरुको विकास, अनुसन्धानलाई औद्योगिक उत्पादनसँग जोड्ने, विज्ञान शिक्षण आधुनिकीकरण, विज्ञान, गणित, इञ्जिनियरिङ विधामा उच्च अध्ययन गरेका जनशक्तिको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सहयोग गर्नु, भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र वा फिजियोलोजी विधामा उत्कृष्ट स्तरको अनुसन्धान हुने वातावरण तयार गर्नु नास्टको लक्ष्य रहेको छ । त्यस्तै विज्ञान प्रविधिको राष्ट्रिय सूचना प्रणाली विकास गर्न युवा वैज्ञानिकहरुलाई अनुसन्धान तथा नवप्रवर्तनको पर्याप्त अवसर प्रदान गर्नु, परम्परागत प्रविधिको प्रवद्र्धन, प्रादेशिक अनुसन्धान केन्द्रहरूको प्रभावकारी सञ्चालन, बाञ्छित भौतिक संरचनाको निर्माणतर्फ लक्षित रहेको छ । ती योजनाअन्तर्गतका कार्यक्रमलाई कृषि र खाद्य उत्पादन, स्वास्थ्य, विज्ञान शिक्षा, ऊर्जा, वन पैदावार, जलस्रोत, भौतिक पूर्वाधार, सूचना प्रविधि, औद्योगिक उत्पादन, वातावरण, जलवायु परिवर्तन एवं प्राकृतिक प्रकोपका क्षेत्रहरुमा सञ्चालन गर्ने धारणा रहेको छ । अन्तरिक्ष प्रविधि र उच्च धरातलीय अनुसन्धान तथा भूकम्प पूर्वसूचना प्रणालीको स्थापनालाई पनि महत्व दिइएको छ । उत्कृष्टस्तरको अनुसन्धानको लागि सबल र उत्कृष्ट प्रयोगशालाको निर्माण तथा उत्कृष्ट अन्तरराष्ट्रिय प्रयोगशाला एवं वैज्ञानिकहरुसँग सहकार्य गर्ने, प्रविधि नवप्रवर्तन प्रसार र स्थानान्तरणको लागि प्राविधिक भवनको निर्माण, प्रदेशहरुको विशेषताअनुरुप त्यहाँ स्थापित अनुसन्धान केन्द्रहरुको सुदृढीकरण र क्षमता विकास, वैज्ञानिकहरुको क्षमता विकास गर्ने योजना रहेको छ । यी सबै कार्यमा तीनै तहका सरकार, वैज्ञानिक समुदाय र आम नागरिकको सहयोग, सहकार्य र सद्भावको खाँचो पर्दछ । (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा दिलीप सुब्बासँग गरिएको कुराकानीको सम्पादित अंश) रासस

दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना-टपरी उद्योग, दुनाको मूल्य ५ र टपरीको ८ रुपैयाँ

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङमा दुना-टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना-टपरी उत्पादन गर्न सुरू गरेका हुन् । प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना-टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए । मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा ५ रुपैयाँ र टपरीको प्रतिगोटा ८ रुपैयाँका दरले निर्धारण गरिएको जनाइएको छ । निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना-टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिए । ‘सालको पातबाट बनाइने दुना-टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा ३५ रुपैयाँदेखि ६० रुपैयाँसम्ममा खरिद गर्दै आएको छु,’ उनले भने, ‘बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम सुरू भएको छ । दुना-टपरी गाँस्नेलाई प्रतिगोटा एक रुपैयाँका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ ।’ गाउँमा हुने हरेक बिहे-कार्जे, भोज-भतेर तथा पूजापाठमा दुना-टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिकरूपमा दुना-टपरी बनाउन सुरू गरिएको सञ्चालक राईले बताए । ‘गाउँघरमा हुने अधिकांश काजभोजमा प्लाष्टिकको भाडा प्रयोग हुने थालेका छन् । यो स्वास्थ्यका लागि मात्र नभई वातावरणीय हिसाबले पनि ठीक होइन,’ उनले भने, ‘दुना-टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले पनि मेसिनमार्फत व्यवसायिकरूपमा दुना-टपरी बनाउन सुरू गरेका छौँ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।’ बाम्राङमा उत्पादित दुना-टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना-टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ । उता, हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा दुना-टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना-टपरी उद्योग सञ्चालन गरेको हो । च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा ५ रुपैयाँ र टपरी प्रतिगोटा १० रुपैयाँमा बिक्री सुरू गरिएको छ । सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना-टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना-टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना-टपरीमात्र प्रयोग गर्ने÷गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए ।

स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने, अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल रहेको दाबी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् । रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताए । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए । ‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ,’ उनले भने । रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।

आज काठमाडौंका यी ठाउँमा बिजुली कटौती हुने, ४ बजेसम्म ‘फिडर सटडाउन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ । त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली काटिनेछ । मुुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म लाइन काटिनेछ । जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ । प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुनः सञ्चालनमा आउने जनाएको छ । बिजुली कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।

निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड

काठमाडौं । चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने दबाब महसुस गर्ने गरेको बताए । ‘चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले त्यहाँ सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउने गरिन्छ । नराम्रो देखाएर त्यसले निम्त्याउने गलत अवस्थालाई चित्रण गरेर सही गर्नुपर्ने वा सकारात्मक हुनुपर्ने दृश्य देखाउनु पर्छ । तर, हामीले हरेक विषयमा आफूलाई सङ्कुचित पारेर काम गर्न थाल्यौँ भने त्यसले हाम्रो सृजनामा ह्रास आउँछ,’ उनले भने । निर्देशक दीपक रौनियारले आफ्नो देशको परिवेश र कथालाई निर्धक्कसँग चलचित्रमा ल्याउन सक्ने वातावरण हुनुपर्ने बताए । आफ्नो चलचित्र ‘राजागंज’ को प्रसङ्गलाई लिएर गरिएको कडाइमा आफ्नो असहमति रहेको उनको भनाइ छ । चलचित्रकर्मी दीपकराज गिरीले चलचित्र निर्माणको विषय छनोट गर्दा नै प्रदर्शनको समयमा हुनसक्ने अवरोधलाई सम्झिने गरेको बताए । ‘हामीले चलचित्र प्रदर्शनमा यी-यी विषयमा विनाकारण झमेला भोग्नुपर्छ भन्ने लागेपछि लेखकले त्यहाँ सिर्जना गर्ने पात्र र परिवेशमै अङ्कुश लागेको महसुस गर्छ, मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन,’ उनले भने । निर्देशक अशोक शर्माले विश्वमै चलचित्र काँटछाँट भन्दा पनि वर्गीकरण गर्ने परिपाटी भएकाले त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आग्रह गर्नुपर्ने बताए । निर्देशक नवीन सुब्बाले चलचित्रकर्मीको आशय समाजको सदभाव बिगार्नु नभई मनोरञ्जन प्रदान गर्दै विचार प्रस्तुत गर्नु रहेको बताए । उनले बेलाबेलामा सुनिने चलचित्र ‘सेन्सर’ को विषयमा सम्बन्धित निकायसँग छलफल गर्नु आवश्यक रहेको बताए । भेलामा निर्देशक गणेशदेव पाण्डे, उपेन्द्र सुब्बा, विनोद पौडेल, मनोज पण्डितलगायत सहभागी थिए ।

मलेसिया, कतार, साउदी र युएईपछि गाउँमै कोदोको बिस्कुट, मह र उखुबाट बनेकोलाई २५० रुपैयाँ

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेका हुन् । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताए । ‘कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,’ उनले भने, ‘स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।’ मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रतिदर्जन (१२ वटा)लाई २५० रुपैयाँ र चिनी मिसाएको बिस्कुट प्रतिदर्जन १३० रुपैयाँ मूल्य कायम गरिएको छ । काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताए । उनले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएका छन् । ३७ वर्षीय भण्डारी रोजगारीका लागि ६ वर्ष मलेसिया, २ वर्ष कतार, २ महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किएका हुन् । भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आएका उनले आफ्नै जग्गामा करिब ७५ लाख रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिरहेका छन् । धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताए । ‘कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,’ वडाअध्यक्ष खत्रीले भने, ‘विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।’

सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

एथर स्कूटरले बौद्धमा टेस्ट राइड जोन ल्याउँदै

काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गर्ने भएकाे छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आउन लागेको हाे । एथरले उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गर्ने जनाइएकाे छ । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।