विकासन्युज

बीमा कम्पनीहरूले चीन र भारतमा बीमा प्रोडक्ट निर्यात गर्न सक्नुपर्छ

देवराज घिमिरे राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक हुन् । विसं २०६७ सालदेखि तत्कालीन राष्ट्रिय बीमा संस्थान र विसं २०७१ सालदेखि सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा प्रशासन, अण्डरराइटिङ, दाबी विभागमा सफलतापूर्वक काम गरेका उनी हाल बजार व्यवस्थापन विभागमा कार्यरत छन् । कम्पनीका युवा व्यवस्थापक घिमिरेसँग बीमा क्षेत्रका विभिन्न अवयवहरूमा विषयमा गरिएको कुराकानीको सम्पादित अंशः राष्ट्रिय बीमा कम्पनीको बजारीकरण रणनीति के कस्ता रहेका छन् ? नेपालको सरकारी प्रयासबाट विसं २०२४ साल फागुन ११ गतेदेखि बीमा व्यवसाय शुरु गर्ने ऐतिहासिक बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । विभिन्न आरोहअवरोह पार गर्दे ५८ वर्षसम्म सफलताका साथ बीमा व्यवसायबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दे आएको जेठो सरकारी कम्पनी भएकोले नेपाली बजारमा यसको ख्याति अत्याधिक रहेको छ । साथै ग्राहकहरूको विश्वसनीय कम्पनीका रुपमा उदाएको यस कम्पनीले काठमाडौंदेखि बझाङसम्म आफ्नो सेवा विस्तार गर्दे बीमाको सेवा पुर्याउन सफल रहेको छ । हाल केन्द्रीय कार्यालयदेखि शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी देशका ३४ स्थानबाट २ सय जनाभन्दा बढी कर्मचारीहरूद्वारा बीमा सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय बीमा कम्पनी नेपाली बजारमा स्थापित कम्पनी भएको कारण यसका प्रोडक्टहरू, यसका रणनीतिका विषयमा आमजन समुदाय सुसूचित नै हुनुहुन्छ । तथापि आगामी दिनमा यस कम्पनीले अझ परिस्कृत रुपमा आफ्नो बजारिकरण रणनीतिहरू अवलम्बन गरि ग्राहकलाई छिटो, छरितो, सहजरूपमा सेवा प्रदान गर्न दत्तचित्तका साथ अगाडि बढ्ने प्रयासहरू जारी राखेको छ । राष्ट्रिय बीमा कम्पनीको बजारीकरण रणनीति पनि ग्राहक केन्द्रित रहेका छन् । ग्राहकको समस्या, जिज्ञासा, उत्सुकतालाई केन्द्रबिन्दुमा राखेर झण्झटरहित छिटोछरितो सेवा प्रदान गर्दै ग्राहकको मन जितेर बढी भन्दा बढी ग्राहक आकर्षित गराउने रणनीति कम्पनीको रहेको छ । ग्राहक भगवानसरह नै हुन भन्ने मान्यता राख्ने यस कम्पनीले ग्राहक पहिला भन्दै ग्राहकलाई छिटो, छरितो, सहज, किफायती सेवा प्रदान गर्दै ग्राहकको मन जितेर बढीभन्दा बढी बीमा व्यवसाय गर्दे कम्पनीको व्यवसाय विस्तार गर्ने, नाफा कमाउने र यसका स्टेकहोल्डरलाई बढीभन्दा बढी लाभांश प्रदान गर्दै बजारमा अब्बल कम्पनीमा दर्ज हुने नीति लिएको छ । अहिलेको डिजिटल युगमा कम्पनीले पनि उच्चस्तरीय नवीनतम प्रविधि कम्पनीमा भित्र्याउँदै प्रविधिमैत्री आधुनिक सफ्टवेयरबाट छिटो, छरितो र सहज सेवा ग्राहकवर्गलाई प्रदान गर्ने नीति लिएको छ । बजारीकरण रणनीति अन्तर्गत सम्भावित ग्राहक पहिचान गर्ने, उहाँहरूलाई बीमा सम्वन्धि सचेतना प्रदान गर्ने र बीमाका फाइदाहरू जानकारी ग्राहक बनाउने र ग्राहक बनाइसकेपछि बिक्रीपछि दिइने सेवाहरु जस्तै नविकरण गर्न समयमै सुचित गर्ने, दावी पर्दा सहयोग गर्ने, बीमाका समय समय परिवर्तन हुने नीतिनियमका विषयमा आफ्ना ग्राहकहरूलाई समयमा नै सुसुचित गर्ने र यी सम्पूर्ण कार्य गर्न डिजिटलाईजेसन प्रविधिको प्रयोग गरिनेछ । प्रतिस्पर्धी कम्पनीको रणनीतिहरुलाई सुुक्ष्म अध्ययन गर्ने, अनुसन्धान गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने रणनीति कम्पनीको रहेको छ । ग्राहकको चाहना बमोजिमका प्रोडक्टहरु पहिचान, अनुसन्धान र नयाँं प्रोडक्ट बजारमा भित्राउने लक्ष्य कम्पनीको रहेको छ । विभिन्न प्रवद्र्धनका उपायहरु अवलम्वन गर्दै ग्राहकलाई बीमाका विषयमा सचेतना प्रदान गर्दै दुरदराजका जनमानसमा बीमाको सेवा प्रदान गर्ने नीति कम्पनीले लिएको छ । अभिकर्ता बीमा कम्पनीको मेरुदण्ड भएका कारण कम्पनीले डोटी, बझाड., हुम्ला, जूम्ला, कालिकोट, डोल्पा र सुगमठाउँका सक्षम अभिकर्ताहरुलाई तालिम प्रदान गर्दै २ सयजना भन्दा बढी अभिकर्ताहरुबाट जनतालाई सचेतना दिई कम्पनीको प्रोडक्ट विक्री गर्दै आएको र अझ बढी स्थानहरुमा अभिकर्ता तालिम संचालन गर्दै बढी भन्दा बढी स्थानमा कम्पनीको उपस्थिती जनाउने नीति लिएको छ । कम्पनीका हाल भएका अभिकर्ताहरुलाई पनि सुुधारिएको बीमा नीति–नियम,निर्देशन, ऐन, नियमावली, प्रोडक्टहरुका विषयमा समय समयमा पुर्नताजगी तालिम आयोजना गरि अभिकर्ताहरुको निर्णय क्षमता अभिवृद्धी गर्ने नीति कम्पनीले लिएको छ । यसका अलावा कम्पनीले डिजिटल भुक्तानी सेवामार्फत ग्राहकलाई बीमा गर्ने, दावी भुक्तानी गर्ने जस्ता सेवा प्रस्तुत गर्ने नीति पनि लिएकाले अबका दिनमा ग्राहकहरुले घरबाट नै बीमाका सवै सेवा सुविधा पाउने व्यवस्था कम्पनीले गर्ने नीति लिएको छ । यसरी कम्पनीले नविनतम प्रविधीकासाथ आक्रामक बजारीकरण गर्ने रणनीति तय गरेको छ । कम्पनीले आफ्नो प्रोडक्ट बिक्री गर्नका लागि मार्केटिङमा के कस्ता कार्य गर्दै आएको छ ? अहिलेको यूग सूचना तथा सञ्चार प्रविधिको यूग हो । विश्वका सम्पूर्ण राष्ट्रहरुले प्रविधीको प्रयोगबाट सहजताका साथ विकास निर्माणका कार्य गर्दै आएका छन् । विकसित राष्ट्रहरुको त सूचना तथा सञ्चार रक्तसंचार जस्तै रहेको छ । सूचना तथा सञ्चार प्रविधिका कारण विश्वनै ग्लोवल भिलेजका रुपमा रहेकोले संसारका हरेक कुनामा भएका परिवर्तन, विकास, अनुसन्धान, आविष्कारहरू मात्र एक क्लिकमा थाहा पाउनुका साथै देशविदेशमा रहेकाहरूले सजिलै कुराकानी, साक्षात्कार हुने भएकाले विछोडिएको जस्तै अनुभवनै नहुने सूचना तथा सञ्चारको विकासले नै सम्भव भएको हो । त्यसैले सबै क्षेत्रमा यसको प्रयोगबाट निश्चित उपलव्धिहरु हासिल भईरहेकोले मार्केटिङमा पनि यसको महत्व अझ बढी रहेको छ । विश्व बजारमा भएका वस्तु विकासहरु हामीहरुले सञ्चारको माध्यमबाट नै थाहा पाउछौ र त्यो वस्तु उत्पादन देखी वजारमा स्थापित गर्नलाई, विभिन्न वितरणका माध्यमहरुबाट उपभोक्तामाझ वस्तु पुर्याउन र ग्राहकहरुबाट त्यो वस्तुका बारेमा प्रतिक्रिया प्राप्त गर्न सूचना तथा सञ्चारको नै अधिकतम प्रयोग हुने हुनाले बजारीकरणमा सञ्चारको महत्व अत्यधिक रहेको छ । बजारमा ग्राहकको चाहना,आवश्यकता के छ भनेर अध्ययन ,अनुसन्धान गर्न सूचना तथा सञ्चारकै माध्यम प्रयोग गरिने र बस्तु्को प्रवद्र्धन ,विज्ञापन पनि यसै माध्यमवाट मात्र सम्भव हुने हुनाले मार्केटिङमा सञ्चारको महत्व अधिक रहेको छ । तपाइको कम्पनी को नाम के हो ? कम्पनीले कस्तो व्यावसायिक कार्य गर्छ,यसको पंूजी कति छ,कम्पनीका राम्रा पक्षहरु के के हुन, कस्ता कस्ता प्रोडक्टहरु छन्, कर्मचारीहरु कति सक्षम,कतिजना कर्मचारी कार्यरत छन् ,कम्पनी कहां अवस्थित छ । नेपाली उखान अनुसार ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने झै जुन कम्पनीले सूचना तथा सञ्चारका माध्यमबाट धेरै भन्दा धेरै विज्ञापन गरेका छन त्यही कम्पनीको व्यवसाय राम्रो भइरहेका छन् । आफ्ना प्रोडक्टहरु बढी भन्दा बढी व्यापार गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले त झन बीमालेखरुपी कागजको व्यवसाय गर्ने हुनाले सूचना तथा सञ्चारको सहयोगमा आफ्ना प्रोडक्टहरु जनमानसमा परिचित गराउने, सम्भावित ग्राहक पहिचान गर्ने, जनमानसमा बीमा सम्वन्धि ज्ञान, चेतना फैलाउने, ग्राहक बनाउने, बीमालेखका सफ्टकपीहरु वाट्सअप, भाइवर, मेसेन्जर, इमेलका माध्यमवाट ग्राहकहरु समक्ष पुर्याउने, दावी भुक्तानी डजिटल प्रविधिबाट गर्नेछ । तपाई वित्तीय क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ? वित्तिय क्षेत्र सम्मानित र प्रतिष्ठित क्षेत्र जस्तो लाग्थ्यो र भविष्यमा जागिर खानु परेमा यही क्षेत्रलाई नै रोज्ने मनमनै लक्ष्य लिएको थिए । जव म त्रिभुवन विश्वविधालयबाट स्नातकोत्तर उपाधि प्रथम श्रेणीमा उतिर्ण भए त्यसपछी मलाई मैले लिएको ज्ञान, शिक्षाको सही सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो । साथै सरकारी वित्तीय क्षेत्र मेरो पहिलो रोजाईमा थियो । म कृषी विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकमा सफल हुन सकेन । तैपनि सरकारी निकायमा जागिर खाने मेरो अठोट निरन्तर रही रह्यो । त्यसपछि विद्युत प्राधिकरणमा पनि असफल भए । विसं. २०६७ सालमा उत्तम थापाले राष्ट्रिय बीमा कम्पनीमा आवेदन दिन सुझाव दिएपछि परिक्षामा सामेल भए र म सफल पनि भए । कम्पनीमा करिव २० वर्षपछि पदपूर्तीको लागी विज्ञापन भएको रहेछ र करिव ३ सय जनाले परिक्षा दिएकामा १९ जना सफल भई बीमा क्षेत्रमार्फत नेपाली जनतालाई सेवा प्रदान गर्न पाउँदा खुशी भए । संस्थानमा मेरो अनुभव र विभिन्न तालिमका आधारमा मलाई शुरुमा नै प्रशासन विभागमा पदस्थापना गरियो । मैले आफ्नो अनुभव र योग्यताका अनुसार इमान्दारीता र निष्ठापूर्वक दिएको जिम्मेवारीलाई अगाडि बढाउदैं आएको छु । व्यावसायीक विभागमा काम सिक्नु पर्छ भन्ने हिसाबले मलाई अण्डरराइटिङ विभागमा पदस्थापन गरियो । मैले जिम्मेवारीलाई उत्साहसाथ निभाउदै जाँदा त्यहाँ मैलै बीमा सम्वन्धि धेरै ज्ञान अनुभव प्राप्त गर्न सफल भए । अण्डरराइटिङ्ग विभागमा धेरै काम हुन्थ्यो तर मैले मनोरञ्जन मानेर काम गरे । यहीबीचमा तत्कालीन राष्ट्रिय बीमा संस्थानले तत्कालीन बीमा समितिको ऐन बमोजिम जीवन र निर्जीवन बीमा व्यवसाय एउटै संस्थाले गर्न नपाउने भई २०७१ जेठमा निर्जीवन व्यवसाय गर्ने कम्पनी छुट्याउने नेपाल सरकारको निर्णय अनुसार २०७१ जेठमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्थापना भयो । मैले पनि प्रोडक्टहरु धेरै र काम पनि चुनौतिपूर्ण भएकोले राष्ट्रिय बीमा कम्पनी लिमिटेड नै रोजे । अण्डरराइटिङ, दावी हुँदै हाल बजार व्यवस्थापन विभाग विभागिय प्रमुखका रुपमा कार्यरत छु । तपाईको अनुभवमा नेपालको मार्केटिङ रणनीतिको क्षेत्र कस्तो पाउनु भएको छ ? मार्केटिङ कुनै पनि व्यावसायिक संस्थाको प्रगतिको आधार हो । उचित र आवश्यकता अनुरुप मार्केटिङ गरेमा कम्पनीको व्यवसायमा आशातित सफलता प्राप्त गर्दै कम्पनी वजारमा स्थापित हुन्छ । त्यसकारण मार्केटिङले कम्पनीको उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा व्यावसायिक संस्थाहरुले मार्केटिङ र यसका रणनीतिहरुलाई उचित रुपमा प्रयोगमा ल्याएको खासै पाइदैन । मार्केटिङ रणनीतिको क्षेत्र वामे सर्ने अवस्थामा छ । मार्केटिङ र यसका रणनीतिहरुप्रति संस्थाहरु त्यती गम्भिर छन् जस्तो मलाई लाग्दैन । मार्केटिङको क्षेत्र धेरै विशाल र प्रचुर सम्भावनायुक्त क्षेत्र हो । वस्तुका अध्ययन, अनुसन्धान, आविष्कारदेखी, ग्राहकको व्यवहार, चाहना बुझ्ने र वस्तुलाई वजारमा स्थापित गर्ने र बिक्री वितरण गर्ने, बिक्रीपछिको सेवा दिने, ग्राहकका प्रतिक्रिया लिने आदी कार्य मार्केटिङका रणनीतिहरू तय गरिन्छन् । तर, नेपालका केही संस्थाहरु बाहेक प्रायःजसो संस्थाहरुले यसलाई पूरापूर अवलम्वन गरेको पाइदैन । देशमा सूचना प्रविधिको विकास व्यापक बन्दैछ । सूचना प्रविधि र मार्केटिङ रणनीतिकाबिच अन्योन्याश्रित सम्वन्ध हुने भएकाले विस्तारै यसको प्रयोग हुने आशा गर्न सकिन्छ । भनिन्छ, नेपाल दुई ढुङ्गाबिचको तरुल तर नेपालले अहिलेसम्म कुनै राम्रो प्रोडक्ट आविष्कार गरि भारत तथा चीनमा निर्यात गर्न सकेको छैन । नेपालका व्यावसायिक संस्थाहरुले भारत, चीनमा ग्राहकको चाहना, आवश्यकता, व्यवहार आदी अनुसन्धान गरेका छन् जस्तो मलाई लाग्दैन । यसैले प्रचुर संभावना र ठूलो जनसंख्या भएको मूलुकमा हामीले केही नयाँ बस्तु निर्यात गर्न सकेका छैनौं । भएका वस्तुहरु पनि उचित रणनीतिका अभावमा बजारीकरण गर्न सकिरहेका छैनौ । बीमा क्षेत्रमा पनि उचित मार्केटिङ रणनीतिका अभावका कारण पूरापूर बजारीकरण नभएको कारण ५६ प्रतिशत बीमा व्यवसायलाई समाहित गर्न सकिएको छैन । दुरदराजका कृषकले बीमा सम्वन्धि सचेतनाका अभावका कारण यसबाट लाभान्वित हुन सकेका छैनन् । त्यसैले नेपालको मार्केटिङ रणनीतिलाई प्रणालीगत रुपमा परिचालन गरि सवै क्षेत्रमा यसलाई चलायमान गराउन आवश्यक रहेको छ । मार्केटिङ रणनीतिमा सुधार गर्नुपर्ने विषयहरू के के हुन सक्छन् ? नेपालका प्रायःजसो संस्थाहरुले गम्भिररुपमा मार्केटिङ र यसका रणनीतिहरुलाई कागजमा मात्रै होइन व्यवहारमा लागू गर्नुपर्छ । प्रत्येक संस्थाले प्रोडक्ट अनुसन्धान विकास विभाग स्थापना गरि मार्केटिङ विभागसँग सामञ्जस्यता ल्याई कार्य गर्नु पर्दछ । नेपाल एक विकासोन्मुख मूलुक भएकोले अवसर र चुनौती दुवै रहेको छ । चुनौतीलाई आत्मसाथ गर्दै अवसरलाई पहिल्याउने हो भने संस्थाको उन्नति अवस्यभावी छ । हुन त मार्केटिङ र यसका रणनीतिहरू तय गर्दा केही खर्चिलो हुन्छ नै । तर भोलि हेरेर आज निर्णय गर्दा अवश्य नै संस्थाको विकास हुन्छ । कम्पनीको बजेटमा नै मार्केटिङको लागि उचित व्यवस्थापन गरियो भने मार्केटिङ र रणनीतिको लागि खर्चको अभाव नहुन सक्छ । त्यसैले व्यावसायिक संस्थाले मार्केटिङका लागि राम्रो वजेट व्यवस्थापन गर्नुपर्दछ ताकी देशका कुनाकाप्चामा समेत उचित रुपमा आफ्ना प्रोडक्टहरुका बारेमा प्रचारप्रसार गर्न सकियोस । नेपालको सम्पूर्ण मार्केटको केवल ४४ प्रतिशतमात्र बीमा व्यवसायमा समाहित छ र ५६ प्रतिशत मार्केट अझै पनि बाहिर छ । त्यसैले सम्भावना बीमा क्षेत्रका लागि पनि प्रचुर रहेको छ । यसका लागि उचित मार्केटिङ रणनीति लागू गर्दै यस क्षेत्रका लक्षित, सम्भावित ग्राहकहरु पहिचान गरि, सचेतनाका माध्यमबाट बढी भन्दा बढी ग्राहक बनाउन ढिलो गर्नु हुन्न । नियमनकारी निकायहरुको नीति नियमहरु पालना गर्दै अगाडि बढ्ने हो भने वजारमा स्वस्थ प्रतिस्पर्धाबाट उपभोक्ताहरु लाभान्वित हुन्छन र कम्पनीका व्यवसायहरु पनि दिर्घकालसम्म अनवरत चलिरहन्छन् । विद्यालयहरुमा कक्षा ५ देखी नै बीमा सम्बन्धी विषयको शिक्षा प्रदान गर्ने पाठ्यक्रम विकास गर्न जरुरी देखिन्छ । यसबाट निश्चय नै बीमा सचेतनामा वृद्धी भई बीमा व्यवसायमा पनि सकारात्मक असर पर्दछ । विदेशी बीमा कम्पनीहरु नेपालमा क्रियाशिल भए जस्तै नेपालका बीमा कम्पनीहरुले पनि नेपाली श्रमिकहरु, विधार्थीहरु, उधोगपतिहरु बसोवास गर्ने विभिन्न देशहरु जस्तैः भारत, कतार, यूएई, कुवेत,जापान, दक्षिण कोरीया, अमेरिका र साउदी अरव जस्ता देशहरुमा सम्भाव्यता अध्ययन र रणनितिक मार्केटिङ गरि शाखा विस्तार गर्न जरुरी रहेको देखिन्छ । दाबी भुक्तानी कार्य चुस्त दुरुस्त पार्ने, झण्झटिलो निर्देशिकालाई सहज पार्ने वातावरण वनाउने कार्य गरि ग्राहकको विश्वास जित्न आवश्यक देखिन्छ । व्यवसायको जोखिम अनुसारले बीमा शुल्क निर्धारण गरि बीमा गरिएमा बीमा कम्पनी र ग्राहक दुवैले लाभ प्राप्त गर्छन र व्यवसाय दिर्घकालसम्म अनवरत चलिरहनेछ । बीमाबाट कसरी लाभ लिन सकिन्छ, कति बीमाशुल्क भुक्तानी गर्दा के के सुविधा पाइन्छ, कस्ता कस्ता जोखिमहरु भविष्यमा आउन सक्छन आदीका विषयमा ग्राहकले बुझ्ने गरि प्रसार गरियो भने वास्तवमै ग्राहकहरु बीमाप्रति आकर्षीत हुन्छन । जस्तै एउटा आवाशिय १ करोड मूल्य भएको घरको बीमा गर्दा करिव ५ हजार ५२९ रुपैयाँ एक वर्षको बीमाशुल्क लाग््दछ । भूकम्पीय जोखिमको १० स्थानमा पर्ने नेपालमा घर बीमा गर्न जरुरी छ । सम्पूर्ण नोक्सानी भएमा सर्भेयरको प्रतिवेदन अनुसारले दावी भुक्तानी हुन्छ भनी सम्भावित ग्राहकलाई बुझाउदा पक्कै पनि ग्राहक बीमा गर्न तत्पर हुन्छन । त्यसैले बीमा कम्पनीहरुले अव नयाँ ढंगको बजारीकरण रणनीति तय गरि बजारीकरण गर्न जरुरी रहेको मेरो अनुभव र बुझाइले भन्छ ।

नेपालले आफ्नो भूगोललाई ‘ट्रान्जिट हब’का रुपमा उपयोग गर्नुपर्छ : सभामुख देवराज घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएक छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पारे । ‘नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ,’ उनले भने, ‘नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।’ नेपाल र चीनको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए । उनले भने, ‘यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रुपमा लिनुपर्दछ ।’ नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई उपयोग गर्दै ‘ट्रान्जिट हब’का रुपमा स्थापित हुनसक्ने औँल्याउँदै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले सात दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताए । ‘हाम्रो नीति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशीलद्वारा निर्देशित छ,’ उनले भने, ‘दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ ।’ सभामुख घिमिरेले ‘एक चीन सिद्धान्त’लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रति नेपालको प्रतिबद्धता बलियो रहिआएको स्पष्ट पारे । चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताए । बिआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गरे । ‘बिआरआई नेपालका लागि महत्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो, यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ र सम्भावित फाइदाहरू बुझ्नुपर्छ,’ नेता खनालले भने । नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम् ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए । डायलगअन्तर्गत नेपालमा विआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा नेपाल र चीनका व्यवसायी, प्राध्यापकलगायतले छलफल गर्ने कार्यक्रम छ ।

जलविद्युत् आयोजनाले मुआब्जा नदिएको जग्गाधनीको गुनासो, चैत ४ गतेदेखि काम बन्द गर्ने चेतावनी

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत् आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरूको जमिन उपयोग गरेबापत मुआब्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका-४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं ६ दिप्सुङ र वडा नं ७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत् आयोजना सञ्चालन गर्ने तीनवटा हाइड्रोपावर कम्पनीबाट मुआब्जा नपाएको गुनासो गरेका हुन् । रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मिड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले फरक-फरक तीनवटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् विसं २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो । जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइप लाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म पनि पाउन नसकेपछि चरणबद्ध आन्दोलन सुरु गरिएको निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँपालिकाका संयोजक माइतीराज राईले बताए । ‘रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीलाई क्षतिपूर्ति दिएको छैन । उनीहरूले स्थानीय जनता ठगेका छन्,’ उनले भने, ‘जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समेत जानकारी गराएका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । यही चैत ३ गतेभित्र जग्गाधनीलाई मुआब्जा नदिएको खण्डमा चैत ४ गतेदेखि आयोजनाको काम नै बन्द गर्छौँ ।’ निर्माणाधीन जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइनले बाक्सिलाका ३८ जनासहित ४९ जनाको जग्गा प्रयोग गरेको छ । जलविद्युत्को पोल र तार टाँग्ने क्रममा स्थानीयको करिब पाँच हजार २०० मिटर जग्गाको प्रयोग भएको सङ्घर्ष समितिले जानकारी दिएको छ । यस्तै, पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका २ जना र दिप्सुङका १ जनाको ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर, हालसम्म पनि मुआब्जा नदिएको जग्गाधनीको गुनासो छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्नेगरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यन्वयन नभएको सङ्घर्ष समितिका संयोजक राईले बताए । यस्तै, रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा १० प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिले जनाएको छ । २.५ मेगावाट विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेशविपरीत कृष्णमाया खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको पाइएको छ । निर्माणाधीन अवस्थामा रहेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावरहाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । सङ्घर्ष समितिले गत फागुन–७ गते जग्गाधनीलाई जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दिनका लागि रावा इनर्जी डेभलपमेन्ट र हलेसी ऊर्जा कम्पनीको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जग्गाधनीसहित बसेको सर्वपक्षीय बैठकको निर्णयानुसार सङ्घर्ष समितिले हाइड्रोपावर कम्पनीसँग जग्गाधनीको तर्फबाट माग राखेको हो । सर्वपक्षीय भेलामा जग्गा धनीले ट्रान्समिसन लाइन विस्तार गर्ने क्रममा जलविद्युत् आयोजना प्रयोग गरेको जग्गाको प्रतिमिटर ५ हजार रुपैयाँका दरले क्षतिपूर्ति दाबी गर्ने निर्णय गरेको छ । यही चैत ३ गतेसम्ममा आफूहरूको माग सम्बोधन नभए चैत ४ गतेदेखि जलविद्युत् आयोजनाको काम नै बन्द गराउने सङ्घर्ष समितिले चेतावनी दिएको छ ।

अर्थतन्त्रले धान्न सक्नेगरी बढीसे बढी काम गर्दैछौँ: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी आफ्नो मन्त्रालय अगाडि बढेको बताएका छन् । सबैभन्दा धेरै प्रभाव पर्ने र सहज हुने सहरको पहिचान गरी तिनीहरूलाई व्यवस्थित गर्नेगरी मन्त्रालयले काम अगाडि बढाएको उनको भनाइ छ । नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता सिंहले अघिल्ला सरकारहरूले समेत अगाडि सारेको सहरी योजनालाई पूर्णता दिन आफूहरूले मन्त्रालयमा परामर्श गरिरहेको उल्लेख गरे । ‘नेपालको अर्थतन्त्रले धान्न सक्नेगरी बढीसे बढी काम गर्ने गरी हामी अगाडि बढेका छौँ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले नागरिकका पक्षमा केन्द्रित रहँदै आशा जगाउने काम गरिरहेको पनि बताए । उपप्रधानमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधारमा सरकार योजना बनाएर अघि बढिरहेको उल्लेख गरे । स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेकाले देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उनले दाबी गर्नुभयो । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री सिंहले भने, ‘केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग सम्बोधन गर्दै गएको छ, नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।’

वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु, ५४ जना अङ्गभङ्ग

काठमाडौं । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ । सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०/८१ मा ८० जना र आव २०७९/८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । चार वर्षमा अङगभङ्ग भएका ५४ जनामध्ये चालू आवको पुससम्ममा १० जना, गत आव २०८०/८१ मा ३३ जना र आव २०७९/८० मा ११ जना छन् । गत आव २०८०/८१ मा झापाबाट ६ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सोही आव २०८०/८१ मा कोशी प्रदेशबाट १ लाख ६० हजार ६७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । मेचीनगरमा चालू आवमा ३१ वटा अभिमुखीकरण, वित्तिय साक्षरतालगायतका कार्यक्रम गरिएको छ । यस अवधिमा नगरपालिकास्थित वैदेशिक रोजगारीबाट फर्केका र उनीहरुका परिवार गरी १ हजार ६४६ जनाले सो परियोजनाको विभिन्न सेवा लिएको जनाइएको छ ।

गर्मीयाम सुरू भएसँगै कोरला नाकामा आन्तरिक पर्यटकको ताँती, पर्यटन व्यवसाय उत्साहित

काठमाडौं । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दशगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ । त्यसो त चीनसँग सिमाना जोडिएको कोरला नाका क्षेत्रको पठार भूमि र त्यहाँबाट देखिन मनोरम दृष्यहरूले त्यहाँ पुग्ने जोकोही पर्यटक माहित नहुने त कुरै भएन । त्यसैका कारण गर्मीयाम सुरू भएसँगै अहिले दैनिक एक सयभन्दा बढी मात्रामा नेपालका स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेका छन् । भारतीय नाकाबन्दीपछि एकाएक निकै नै चर्चामा आएको कोरला नाका पुगेर फर्किनेको ताँतीनै लाग्ने गरेको छ । जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसाय निक्कै नै उत्साहित भइरहेका छन् । भारतीय नाकाबन्दी अघि गुमनाम रहेको उत्तरी कोरला नाकाले चर्चा जति बेला पायो, त्यसको कारण थियो उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजना । तत्कालीन सरकारले उत्तरी नाकाहरूमा पनि व्यापारिक मार्ग खोल्नुपर्ने योजना बनाएपछि आर्थिक वर्ष २०७३/७४ सालदेखि (बेनी-जोमसोम-कोरला) सडक स्तरोन्नति सुरूआत गरिएको थियो । २०२ किमी (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत करिब १०५ किलोमिटर कालोपत्र भइसकेको र बाँकी ९९ किलोमिटर सडक ग्राभेल भइसकेकाले नेपाली पर्यटकलाई कोरला नाकासम्म पुग्न निकैनै सहज भइसकेको छ । जसका कारण नेपाली पर्यटक बस, जीप र मोटरसाइकल यात्रा गर्दै कोरला नाकासम्म पुग्न गरेका हुन् । बेनी-जोमसोम सडक ७४ किमी र जोमसोम-कोरला ११० किमी सडक एकदिनमै कोरला नाकासम्म पुग्न सक्छन् । सडक सहज भइसकेकाले नेपाली युवायुवतीको कोरला नाकामा लर्कोनै लाग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए । कोरला नाका अवलोकन गर्ने पर्यटकका कारण उपल्लो मुस्ताङको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पुगेको प्रशासन प्रमुख केसीको भनाइ छ । शुक्रबार कोरला नाकाको अवलोकन गरी फर्किएका पोखरा माधव क्षेत्रीले कोरला नाकालाई नेपाल सरकारले व्यवस्थित तुल्याउन आवश्यक रहेको औँल्याए । ‘सडकको अवस्थामा निकै राम्रो सुधार भएको पायौँ, यति ठूलो नाकामा पर्यटक तथा स्थानीय नागरिकको सुविधाका लागि भरपर्दो पूर्वाधार भएको पाइएन,’ क्षेत्रीले भने, ‘चीनतर्फ लोभलाग्दो भव्य संरचना बनिसकेको रहेछ, हाम्रोतिर खै कहिले बन्ने रु ।’ स्याङ्जाका अर्को पर्यटक रामजी पौडेलले उत्तरी कोरला नाका पर्यटन र नेपाल–चीनको व्यापारिक मार्ग भएकाले त्यहाँ अथाह सम्भावना रहेको कोरला नाकाबाट चीनको मानसरोवर यही नाकाबाट पुग्न छिटो र सजिलो भएकाले यसतर्फ सरकारले अग्रसरता देखाउन आवश्यकता रहेको औँल्याए । राष्ट्रिय गौरवको कारला सडक स्तरोन्नतिसँगै उपल्लो मुस्ताङमा नेपाली स्वदेशी पर्यटकको आगमनदर बर्सेनि वृद्धि भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । कोरला क्रेजका कारण पर्यटक बढेसँगै उपल्लो मुस्ताङमा स्तरीय सुविधा सम्पन्न होटल थपिँदै जान थालेको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे । त्यसो त मुस्ताङमा बर्सेनि ५ लाख बढी स्वदेशी पर्यटक मुक्तिनाथको दर्शन गर्न आउँछन् । जसमध्ये एक तिहाइको सङ्ख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । (नेपाल-चीन) कोरला नाका गत वर्षको कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरेको थियो । कोरलास्थित तिब्बती बजारमा पुगेर मालसामान किनमेल गर्न चीन पक्षले कोरला नाका खुला गरेको हो । त्यसो त चीन पक्षले दीर्घकालीन रूपमा कोरला नाकालाई व्यापारिक ट्रान्जिट प्वाइट बनाउने उद्देश्यले चीनले आफ्नो भूमिमा दर्जनौँ भव्य प्रशासनिक भौतिक संरचना निर्माण गरिसकेको छ । नाका खुले पनि सरकारले भन्सार र अध्यागमन कार्यालयको गतिविधि सक्रिय बनाउन नसक्दा त्यहाँका स्थानीय नागरिक तथा पर्यटकलाई समस्याको विषय बनेको छ । कोरला नाकामा पुग्ने पर्यटकका लागि खाजानास्ता खाने ठाउँका साथै, शौचालय नहुँदा निकै समस्या हुने गरेको छ । यस्तै उपल्लो मुस्ताङका नागरिकलाई कोरला नाकामा व्यावसायिक सुविधाजनक पूर्वाधार निर्माण गर्न नसक्दा त्यहाँ व्यापार गरी बसेका स्थानीयले त्रिपालमै बसेर व्यापार व्यवसाय चलाउँदै आइरहेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाका अवलोकनका लागि बर्सेनि स्वदेशी पर्यटकको लर्को लागेपनि विदेशी पर्यटक उपल्लो मुस्ताङ जान सक्दैन । सरकारले अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत रहेको उपल्लो मुस्ताङ जान ५ सय डलर शुल्क तिरेर १० दिनको प्रवेश अनुमति पाउँछन् । यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको सख्या निकै नै न्यून रहेको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकको तथ्याङ्कअनुसार बर्सेनि १ लाखभन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गर्दा करिब तीन प्रतिशत मात्रै पर्यटक उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’, ऋणबाट उम्कन गुन्द्रुक र आँटोपीठोको व्यापार

काठमाडौं । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेकामा अहिले गुन्द्रुक मगमगाउन थालेको छ । त्यस उद्योगले खाजाका रुपमा कोदोसहितका विभिन्न परिकारका ‘अर्गानिक’ बिस्कुट पनि उत्पादन गर्दै आएको छ । पछिल्लो समय उद्योगको छानाभरि रायोका साग र मुलाको सिन्की सुकाइएको पाइन्छ । साग र गुन्द्रुक ओल्टाइपल्टाइ गर्न ४/५ जना महिला निरन्तर लागि परेको देखिन्छ । उद्योगका सञ्चालक पशुपति भुसाल भन्छन्, ‘विदेशमा रहेका साथीभाइले हाम्रा पुराना चिजवस्तु ‘च्याख्ला, कोदो, मकै, गुन्द्रुक, तिलको छोप, टिमुर, अकबरे खुर्सानी, मास दालसहितका गेँडागुडी पठाइदेऊ’ भन्ने माग भएपछि छानालाई गुद्रुकमय बनाएको हुँ ।’ पुरानो पेसाबाट बाहिरिएको नभई समयअनुरुप पेसा–व्यवसायलाई विविधीकरण गर्ने क्रममा नेपाली गुन्द्रुकको बजारीकरणमा लागेको उनको भनाइ छ । अहिले रुचाइएको खानपिनले मानिस पुनः पुरानै युगमा प्रवेश गरेको हो की भन्ने भान भएको छ । विगतमा बाआमा र हजुरबाले खाएको कोदो, गुन्द्रुक, जौ र फापरको पीठोको माग अहिले विदेशमा पनि ह्वात्तै बढेको छ । नेपालीको बसोबास बाहुल्य भएका मुलुकमा गुन्द्रुकको माग अधिक छ । गुन्द्रुकको झोल र अचारलाई नेपाली भान्सामा लोकप्रिय परिकारका रुपमा लिने गरिन्छ । पछिल्लो समय चौरासी बेञ्जन थालीमा पनि गुन्दु्रक अनिवार्य मानिएको छ । छिटो झट्पट् तरकारी बनाउन पर्‍यो भने गुन्द्रुक नै खोजिन्छ । गन्द्रुकका बारेमा विद्यावारिधी गर्नुभएका टीकाबहादुर कार्की मुख्यतः गुन्द्रुक नेपालकै स्थानीय उत्पादन भएको बताउँछन् । यद्यपि, जापान र चीनमा विभिन्न साग तथा युरोपलगायतका मुलुकमा बन्दागोभीमा नुन राखेर नेपाली गुन्द्रुकसँग मिल्दोजुल्दा खाद्यवस्तु उत्पादन हुँदै आएको छ । जिब्रोलाई ट्वाक्क छुने अमिलो र स्वादिलो ‘तिउन’ गुन्द्रुक नै हो । नेपाली भान्सामा जाडो होस् वा गर्मी सदाबहार उमालिने तिउन गुन्दु्रक नै हो । नेपालका गाउँबस्तीदेखि सहरका सुपरमार्केटसम्मका पसलमा प्याकिङमा गुन्द्रुक बिक्री हुने गरेको छ । जाडो वा गर्मी, ढिँडो होस् वा भात गुन्द्रुकको झोलसँग ‘सर्‍याप्प’ मुछेर खाँदाको फूर्ती र आनन्द बेग्लै हुन्छ । स्वादको त बयान नै गर्न सकिन्न । ‘नेपाली गुन्द्रुकमा पाइने अमिलोपन स्वादका हिसाबले अनुपम छ, त्यसकारण पनि गुन्द्रुकको लोकप्रियता बढ्दो छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक कार्कीले भने । यस वर्ष काठमाडौं उपत्यकामा रायो साग निकै सस्तो भयो । त्यसो त भक्तपुर आफैँमा मुलुकभर रायो र काउलीलगायत हरिया सागपात प्रशस्त उत्पादन हुने जिल्लाका रुपमा कहलिएको छ । प्रतिकिलो १५ रुपैयाँसम्म रायको राम्रो पनि पाइयो । उद्योगका संस्थापक भुसाल भन्छन्, ‘महँगोमा उद्योगले केजीको ८० रुपैयाँसम्ममा खरिद गरेको थियो । खासगरी रायो, तोरी, सस्र्यूं, काउली, मुला आदिको गुन्द्रुक बनाइन्छ । सागको भाउ नेपाली बजारमा खासै चर्को छैन, सस्तै पाइन्छ । त्यस उद्योगले एक पटकमा एक हजार किलोसम्म साग खरिद गर्दै आएको छ । किसानलाई पनि एकै ठाउँमा आफ्नो उत्पादन दिँदा नै सहज भयो । स्थानीयस्तरबाटै पर्याप्त उपलब्ध भइरहेको छ ।’ गुन्दु्रक बनाउन कम्तीमा पनि १५ देखि २० दिनको प्रक्रिया पूरा गर्नुपर्छ । साग किन्ने, केलाउने, धोइपखाली गर्ने, सीधा घाममा सुकाउने, थिच्ने र फेरि सुकाउने, तौल गर्ने, प्याकिङ गर्ने र माग आएबमोजिम बजारसम्म पुर्‍याउने काम उद्योगले गर्दै आएको छ । देख्दा सामान्य लागे पनि सबै चरण पूरा गर्ने विषय जटिल नै छ । बाहिर पठाउँदा अझ सचेत हुनुपर्छ । उद्योग सञ्चालक भुसाल सरसफाइमा विशेष ध्यान पुर्‍याइएको बताउँछन् । ‘यहाँ उत्पादन गरिएको गुन्द्रुकमा शुद्धता र गुणस्तर कायम छ,’ उनले भने । नेपालका सबै जिल्ला र गाउँबस्तीमा गुन्द्रुक बनाइन्छ, पकाइन्छ र मीठो मानेर खाइन्छ । गुन्द्रुक सहजरुपमा विदेश निर्यात गर्न सञ्चालक भुसालले सरकारका संयन्त्रसँग कुराकानी गरिरहेका छन् । गुन्दु्रक तयार गर्ने प्रक्रिया केही लामो भएको र त्यसमा खटाउन पर्ने जनशक्तिका कारण लागत मूल्य बढी नै हुने गरेको छ । त्यस उद्योगले दालजन्य गेँडागुडीका अतिरिक्त रायोको गुन्द्रुक र मुलाको सिन्की तयार गर्दै आएको छ । प्रारम्भमा १ सय किलो रायोको सागबाट सुरु गरेकामा दैनिक १ हजार ५ सय किलोसम्म साग खरिद गर्न सफल भएको छ । १ सय किलो रायो सागबाट करिब १० किलो गुन्दु्रक तयार हुने सञ्चालक भुसालको भनाइ छ । तोरीको गुन्द्रुकको विदेशमा ठूूलो माग छ । तर काठमाडौं उपत्यकाले त्यो माग धान्न सक्ने अवस्था छैन । सरकारले त्यसका लागि तराई–मधेसका कुनै क्षेत्र विशेषलाई ‘पकेट’ क्षेत्र घोषणा गर्न आवश्यक देखिएको उनको भनाइ छ । ‘उद्योगले आफ्ना उत्पादनको विविधीकरण गर्ने उद्देश्यले सुरु गरेको गुन्द्रुकका लागि अहिले सूर्यविनायक, सानोठिमी र बोडे इलाकाबाट साग सङ्कलन भइरहेको छ । गुन्द्रुकका लागि छिप्पिएको र ठूला पात भएको साग राम्रो मानिन्छ । रायोका साग पनि विभिन्न प्रकारको पाइन्छ । मीठो गुन्द्रुक बनाउने र गुणस्तर कायम गर्ने सवालमा पाका पुराना पुस्ता स्वयम् विषय विज्ञकारुपमा रहनुभएको छ,’ उद्योगी भुसालले भने । उद्योगले उनै पुराना पुस्ताका कामदारलाई प्रशिक्षक बनाएर गुन्द्रुक र सिन्की तयार गरिरहेको छ । थकाली भान्सामा गुन्द्रुक अनिवार्य नै मानिन्छ । आलु–गुन्द्रुक, गुन्द्रुक–भट्टमास, तितौरा, गुन्दु्रक बोडी, आँपको चानासँग पनि गुन्द्रुक मिसाएर पकाइन्छ । गुन्द्रुकमा पनि हरियो सागमा पाउने गुण छ । विश्वका कयौँ मुलुकले खाद्य परीक्षण गरी गुन्द्रुकलाई खानयोग्य भनेर प्रमाणित गरिसकेको छ । विदेशी साथीभाइले गुन्द्रुकलगायतका यहाँका रुचाएको उनले बताए । कलिलो र छिपिएको साग र निर्धारण गरिएको प्रक्रिया पूरा गरेका आधारमा गुणस्तर हुने गर्छ । भाटभटेनी, मार्ट र अन्य स्टोरमा नमूनाका लागि पठाइसकिएको उनको भनाइ छ । गुन्द्रुक प्रतिकिलो ७ सयदेखि १ हजार रुपैयाँ पर्छ । ‘यसमा काम गर्ने सपनादेखि रहेको छु । त्यो पूरा हुनेमा उत्साहित नै छु । गुन्दु्रकसँग सबै चिजवस्तुमा उत्पादनको लोगो लगाएर गाडीभरि बजारमा पठाउने कोसिसमा छु । त्यसका लागि रातदिन खटिरहेको छु,’ व्यवसायी शान्ता अधिकारीले भनिन् । कोरोना अघि ऋण लिएर लगानी गरियो, त्योअनुरुपको प्रतिफल त भएन । व्यापार सबै क्षेत्रमा घटेको छ । ब्याज घटेको छैन । त्यसमै रहँदा ऋणबाट उम्कन नसक्ने अवस्था भएपछि गुन्दु्क र आँटोपीठोतिर लागेको उनको अनुभव छ । व्यापार गर्ने सन्दर्भमा स्वदेशै प्राथमिकता दिए पनि मालसामान बजारमा पठाएपछि पैसा उठिहाल्छ भन्ने सुनिश्चित छैन । बाहिर पठाउँदा पैसा ‘एड्भान्स’मा आउने भएपछि त्यसलाई मध्यनजर गरी अघि बढिरहेको अधिकारीको भनाइ छ । उद्योगले प्रतिदिन करिब १५० किलोसम्म गुन्द्रुक निकालिरहेको छ । जाडोयाममा प्रशस्तै साग प्राप्त भए पनि अरु मौसममा त्यसको व्यवस्थापन कसरी मिलाउने भन्ने प्रश्न छ । कसैलाई हेपेर गाली गर्नुपर्‍यो भने ‘यो गुन्द्रुकले केही गर्न सकेन’ भन्दा यसको महत्त्व नबुझेको हो कि भन्ने भान पर्न सक्छ । हुन त नेपाली समाजमा ‘जात फाल्नु गुन्द्रुकको झोलमा’ भन्ने अर्गानिक उखान नै छ । पत्रकार घनश्याम खड्काले गुन्द्रुकसम्बन्धी लेखमा ‘आजको सितन केही भएन भनेर गाउँमा गुन्द्रुक माग्दा कसैले लज्जाबोध गर्नुपर्दैन । कसैले खिसी पनि गर्दैनन्’ भनी उल्लेख गर्नुरेका छन्। अहिले गाँउको त्यो गुन्द्रुक सहरका तारे होटल पसेको छ । त्यति मात्र नभर्ई ‘बोइङ’ चढेर कार्टुनका–कार्टुन विदेशिसकेको छ । मौसममा मनग्य पाइने सागलाई गुन्द्रुकका रुपमा प्रयोग भएमा ग्रामीण अर्थतन्त्रलाई चलायमान तुल्याउन र उकास्न ठूलो टेवा दिएको छ । गुन्द्रुकमा पोटासियम, भिटामिन सी, आइरन, सोडियम धेरै पाइने र रेसादार भएकाले कोलेस्ट्रोललाई घटाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ । त्यसो त सरस्वती घरेलु तितौरा उद्योग गोकर्णेश्वर, भाटभटेनी फुड्स उद्योग, पहाडी फुड्स प्रालि रुपन्देही, एन्जल कृषि फार्म दक्षिणकालीबाट उत्पादित गुन्द्रुक भाटभटेनीलगायत ठूला मार्टहरुमा उपलब्ध हुँदै आएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत हुमाकुमारी बखिम भन्नुहुन्छ, “गुन्द्रुक तयार गर्दा सरसफाइ र सुकाउने विषयमा अली बढी ध्यान पुर्‍याउनपर्छ ।” गुन्द्रुक गुन्द्री, नाङ्लो, माद्रो र त्रिपालमा सुकाउने गरिन्छ । त्यसरी खुल्ला सुकाउँदा कपाललगायत वस्तु पर्नसक्ने हुँदा जालीदार कपडाले छोप्नु बुद्धिमानी हुनेछ । घरघरमै विभिन्न प्रक्रिया अपनाएर बनाइने भएकाले गुणस्तरमा एकरुपता नभए तापनि स्वच्छता र सरसफाइको हिसाबले एकरुपता हुनुपर्छ । गुन्द्रुकमा लाभदायक मानिने जीवाणु, मिनिरल र फाइबरको स्रोत मानिने भएकाले स्वास्थ्य र पौष्टिकताका हिसाबले पनि राम्रो मानिएको छ । अरु उन्नत जातका तुलनामा हाम्रा रैथाने रायोको गुन्द्रुक स्वादिलो र गुणस्तरीय मानिन्छ । इलामको रोङ गाउँपालिकाले आफैँ उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालन गर्दै आएको छ । पुराना बन्द भएका चिया उद्योगलाई गुन्द्रुक उत्पादन गर्नका लागि पुनःस्थापना गरिएको छ । चिसो याममा गुन्द्रुकको तिउन बढी खाइन्छ भने गर्मीमा अचार बढी रुचाइन्छ । आलु, प्याज, गोलभेँडा, भटमास मिसाएको गुन्द्रुकको स्वाद त बयान गरिसाध्य नै हुन्न । विभागका अनुसार, पछिल्लो समय गुन्द्रुक बाहिर निकासी गर्ने क्रममा जाँच परीक्षणका लागि आउने क्रम बाक्लिएको छ । तर यहाँ सामान्य परीक्षण जलाम्स् अर्थात् पानीको मात्रा कति छ भनेर परीक्षण गरिन्छ । अमिलो भएकाले हानिकारक जीवाणु कमै रहन्छ । नेपाली परम्परागत खाद्यवस्तुको आफ्नै खाले पौष्टिक तत्त्व र महत्त्व छ । प्रत्येकले घरमा बनाइँदै खाएको हो । उपलब्धताको पहुँच र बनाउन सजिलो भएकाले पनि रोजाइमा परेको हो । सहरीकरण बढ्दै गएको, बसाइँसराइँ तीव्र हुँदा कार्य व्यवस्थाले सहरीयाले बनाउन नभ्याउँदा यसको बजार विस्तार बढ्दै गएको छ । विदेशमा रहेका नेपालीले आफ्नो गाउँ र देशको परम्पराको परिचय र जीब्रोको स्वाद रहेको गुन्द्रुकप्रतिको चाहना बढेको छ । यातायातलगायत सुविधा र विकासको एउटा पाटोकारुपमा यो सहर भित्रिएन पाएको छ । गुन्दु्रकका लागि इलाम, धनकुटा, दोलखा, म्याग्दी, स्याङजा, बागलुङ, ओखलढुङ्गा, भोजपुर, सिन्धुलीलगायत पहाडी जिल्ला प्रख्यात छ । खाद्य सुरक्षाका लागि पनि गुन्द्रुकले टेवा पुर्‍याउँछ । सागको बजारीकरण नहुँदा त्यसलाई खाँदेर गुन्द्रुक बनाउँदा खाद्य सुरक्षामा योगदान दिन्छ । ‘गुदु्रकलाई पकाउन्न पर्दैन’ भन्ने नेपाली समाजको उखानजस्तै तत्काल तरकारी उपलब्ध नहुँदा भातको भाडमा सिधैँ गुन्द्रुक मिसाएर तरकारीका रुपमा खान सकिन्छ । तिल, सिलाम, आलस र फिलिङ्गेको छोपमा अमिलो र सुकेको खुर्सानी मिसाएर क्षणभरमै स्वादिलो अचार तयार हुन्छ । नेपालीको बाक्लो बसोबास रहेका क्षेत्र अमेरिका, जापान, अष्ट्रेलिया, खाडीमुलुकमा सञ्चालित नेपाली होटल र रेष्टुराँमा मासको दाल, तितौरा र गुन्द्रुकको अत्यधिक माग रहेको छ । व्यवसायी शान्ता अधिकारी छिट्टै २ सय किलो गुन्द्रुक जापान निर्यात गर्ने तयारी गरिरहेको बताउँछिन् । त्यस उद्योगले एक सय र दुई सय ग्रामका बेग्लाबेग्लै प्याकेट बनाएको छ । ठूलो परिणाममा माग भएमा तत्काल पुर्‍याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । सरकारले गुन्दु्रक उत्पादनलाई पकेट क्षेत्र तोकेर सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराएमा फलदायी हुनेछ व्यवसायी बताउँछन् । काम पाइएन भनेर विदेश पलायन भइरहेका युवा पुस्तालाई भुसालले गुन्द्रुक उत्पादन र बजारीकरणका लागि गरिरहनुभएको प्रयास प्रेरणाको स्रोत बन्न सक्छ । सो उद्योगमा लक्ष्मी तामाङले विशेषज्ञका रुपमा काम गरिरहनुभएको छ । गरिबका घरमा बाध्यताको तिउन अहिले उच्च घरनाका लागि भान्छाको महत्त्वपूर्ण परिकार बनेको छ ।

च्याउ खाँदा १० जना बिरामी

काठमाडौं । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका-६ शान्तिटोलका १० जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा १० जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका-६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र ४ वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । उनका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ ।