म्यानमारमा ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५’ हुँदै
काठमाडौं । म्यानमारको यांगोनमा चैत ८ गते शुक्रबारदेखि ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा ’नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ गर्न लागिएको हो । यस एक्सपोमा व्यापार, आईटी सफ्टवेयर र पर्यटन क्षेत्रमा सहकार्यका नयाँ अवसरहरूबारे छलफल हुने नेपाल पर्यटन बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्वमा शान्तिको प्रतिकका रुपमा रहेका गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा प्रचारप्रसार गर्ने र बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनी भ्रमणका लागि आह्वान गर्ने एक्सपोको मुल उद्देश्य रहेको छ । यसले दुवै देशबीच आध्यात्मिक र सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डसहित पाँच पर्यटनका क्षेत्रमा काम गरिरहेका कम्पनीहरु, आईटी सफ्टवेयर तथा कृषि जस्ता व्यापारिक क्षेत्रका प्रतिनिधिहरूले यस कार्यक्रममा सहभागिता जनाउनेछन् । यस एक्स्पोले दुवै देशबीच कृषि उत्पादन, विशेष गरी चामल र दालको व्यापारलाई बढावा दिनेछ । एक्सपोमा आईटी सफ्टवेयर समाधान र डिजिटल इकोनमीका क्षेत्रमा लगानी गर्न कार्यक्रममा सहभागी व्यवसायीहरुलाई आह्वान गरिनेछ । नेपालको तर्फबाट आईटी सफ्टवेयर सोलुसनसमेत प्रदर्शनीमा राखिनेछ, जसले दुवै देशबीच प्रविधि सहयोग र ज्ञान आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्नेछ । एक्सपोमा पर्यटन क्षेत्रमा दुवै देशका प्रतिनिधिहरूबीच बि–टु–बि सत्र, नेपाल पर्यटन बोर्डको प्रस्तुतीकरण र व्यापार वृद्धि, नवीनता र सांस्कृतिक आदानप्रदानमा आधारित छलफलहरू हुने बोर्डले जनाएको छ । यसले व्यापार र पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरूलाई नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यका नयाँ अवसरहरूको खोजी गर्न सहयोग पुर्याउनेछ । नेपालबाट होटल मनास्लु प्रा. लि., होटल रत्नसम्वय (लुम्बिनी), हिमालयन ३६०, जुगल होलिडेज प्रा. लि., बौद्ध सर्किट डट कम प्रालि, र नमस्ते पर्यटन र होलिडेज प्रालि जस्ता कम्पनीहरूले आफ्नो सेवाहरू प्रस्तुत गर्नेछन् । यी कम्पनीहरूको उद्देश्य भनेको म्यान्मारका पर्यटकहरूलाई नेपालका प्रमुख बौद्ध तीर्थस्थलहरूमा आकर्षित गर्ने, साथै पर्यटन र व्यापारका अवसरहरूलाई नयाँ उच्चाईमा पुर्याउने रहेको छ । यस एक्सपोले साथै नेपालमा म्यानमारी पर्यटकहरूको आगमन बढाउन मद्दत गर्नेछ भने दुवै देशबीच व्यापारिक सम्बन्धलाई पनि मजबूत बनाउने विश्वास गरिएको छ । बोर्डले जारी गरेको विज्ञिप्तिमा भनिएको छ, ‘यस एक्स्पोले नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा दीर्घकालीन सहकार्यका नयाँद्वार खोल्ने हामीले अपेक्षा गरेका छौं ।’
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माणको अनुगमन (तस्बिरहरू)
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका छन् । बिहीबार उपप्रधानमन्त्री सिंह कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन् ।
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी संकलनको व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए । उनले सर्वसुलभ माध्यमबाट नागरिकका सुझाव ग्रहण गरेर तर्जुमामा उपयोग गर्नका लागि भनेका थिए । सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको हो । मन्त्रालयका स्वास्थ्य सम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने र प्राप्त सुझाव ग्रहण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले बजेट सिलिङका आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै आइरहेको छ ।
प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट, व्यापारिक क्षेत्रमा सहकार्य गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले बिहीबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी भएका थिए ।
मर्चेन्ट बैंकिङमा एनआईसी एशियाको ‘माइलस्टोन’, संस्थापक सेयरका खरिदकर्ता खोजिदिने
काठमाडौं । ‘गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अर्डिनरी (साधारण) सेयरको बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ थियो । साथै सोही अवधिमा नेप्सेमा प्रमोटर (संस्थापक) सेयरको बजार पुँजीकरण ५ खर्ब २५ अर्ब रुपैयाँ थियो । ३५ खर्बको साधारण सेयरमा ३५ खर्बकै कारोबार भयो तर, संस्थापक सेयरको १५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो, जुन ३ प्रतिशत हाराहारीमा मात्रै हो,’ एनआईसी एशिया क्यापिटलका रिसर्च हेड कृष्ण दनुवारले अनुसन्धानबाट खुलेको तथ्य उजागर गर्दै भने । उनका अनुसार स्टक एक्सचेञ्ज भन्ने बित्तिकै एक्सचेञ्ज अर्थात् एक ठाउँबाट अर्काेमा सर्नु हो । तर, संस्थापक सेयर कारोबारमा खरिदकर्ता र बिक्रेताबीच नमिलेको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा ३ लाख ३२ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये २ हजार २०२ वटा पब्लिक कम्पनी र २४५ वटा कम्पनी मात्रै नेप्सेमा सूचीकृत भएका छन् । ‘ओटिसी मार्केटमा विस्तारै आकर्षण बढ्दो रहेको उनले बताए । प्राइभेट कम्पनीमा लगानी गर्ने बढिरहेका छन् । गत वर्ष २०६ वटा कम्पनीको २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो भने यसपटक २४४ कम्पनीको ५ अर्बको कारोबार भएको छ । यो तथ्याङ्कले पनि ओटीसी मार्केट वृद्धि भइरहेको देखिन्छ । यो मार्केटलाई पनि हामीले क्याप्चर गर्नका लागि प्ल्याटफर्म तयार पारेका छौं,’ दनुवारले भने । एनआईसी एशिया क्यापिटको विज्ञ टिमले विभिन्न क्षेत्रका १९ बढी प्राइभेट र पब्लिक कम्पनीको २ अर्बको कारोबार गरिसकेको उनले दाबी गरे । तर, संस्थापक सेयर कारोबारमा भने समस्या रहेको उनको भनाइ छ । नेप्सेमा साधारण सेयरका खरिदकर्ता र बिक्रेता देखिएपनि सोहीअनुसार संस्थापक सेयर कारोबारमा भने ठूलो दूरी रहेको उनले बताए । ‘नेप्सेमा अर्डिनरी सेयर हाल्नेबित्तिकै खरिदकर्ता र बिक्रेता देखिन्छन् । तर, संस्थापक सेयरमा छैन । संस्थापक सेयरमा कमन मार्केट, सीमित मार्केट, कम्पलायन्स छ । संस्थापक सेयर खरिद गर्नका लागि फिट एण्ड पर्पर टेस्टदेखि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरणका नियम पालना गर्नुपर्छ । त्यसैले सर्वसाधारण सबैले यो काम गर्न सक्दैन । त्यसका लागि एक्सपर्टिज चाहिन्छ,’ उनले भने । उनका अनुसार विदेशमा नेपालमा जस्तो प्रमोटर सेयर छुट्याइने गरिएको छैन । जस्तो एनआईसी एशिया बैंकको एनआईसीए साधारण सेयर हो भने एनआईसीएपी प्रमोटर सेयर हो । एनआईसी एशिया मुख्य प्लेटफर्ममा कारोबार हुन्छ भने सोही बैंकको संस्थापक सेयर कारोबारका लागि कुनै प्लेटफर्म नै छैन । त्यो मार्केट क्याप्चर गर्न कम्पनीले सहजीकरण गर्ने उनको भनाइ छ । जहाँ बिक्रेता र खरिदकर्तालाई कारोबार गर्न एउटा माध्यम हुनेछ । नियामकीय अप्ठ्याराहरूलाई सहज रूपमा सेवा दिन कम्पनी तयार रहेको उनले बताए । डायस्पोरा अकाउन्ट सोलुसन (डायस्पोरा खाता सेवा) २०७८ को जनगणनाअनुसार ३२ लाख नेपाली विदेशमा छन् । अन्य तथ्याङ्कलाई आधार मान्ने हो भने ६७/६८ लाख मानिस विदेशमा रहेको दाबी छ । साथै विदेसिने नेपालीको संख्या थप बढ्दैछ । संसारभर नेपालीको संख्या बढिरहेको छ । एनआईसी एशिया क्यापिटलले विश्व समुदायलाई नेपालको पुँजी बजारसँग आवद्ध गराउन पूलको भूमिका निर्वाह गर्ने गरी डायस्पोरा अकाउन्ट सोलुसन योजना ल्याएको छ । संसारको जुनसुकै कुनाका लगानीकर्ता, उद्यमीले नेपाल आएर व्यापार व्यवसाय वा पुँजी बजारमा जोडिन चाहेमा उनीहरूका लागि सहज सेवा कम्पनीले उपलब्ध गराउने भएको हो । ‘विदेशमा नेपालीको उपस्थिति बढिरहेको छ । तर, नेपालमा वान स्टप सोलुसन छैन । कुनै काम गर्नुपर्यो भने एउटै व्यक्तिले धेरै कार्यालयमा धाउनुपर्ने बाध्यता छ । अब उहाँहरू लगानी गर्न आउनु भयो भने एनआईसी एशियाले एउटै कार्यालयबाट सबै काम गर्नेछ,’ रिसर्च हेड दनुवारले भने, ‘विभिन्न नियामकीय प्रावधान छन् र वार्षिक १२/१३ खर्ब रुपैयाँ रेमिट्यान्सलाई पुँजी बजारमा ल्याउन पुलको रूपमा कम्पनीले भूमिका खेल्नेछ । अथवा यी सबै समस्याको समाधान एनआईसी एशिया क्यापिटलले गर्नेछ ।’ कोही व्यक्ति व्यवसाय गर्न नेपाल आउँछ भने कम्पनीले व्यवसाय सुरु गर्नदेखि व्यवस्थापन, व्यवसाय वृद्धि र सफलता दिलाउने गरी सहयोगी भूमिका खेल्ने उनलेबताए । उनका अनुसार जस्तो कोरियामा पाँच वर्ष बसेर १ करोड रुपैयाँ कमाएर नेपाल फर्किएर मःम हाउस खोल्ने योजना छ भने एनआईसीले कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलनदेखि सबै काम गरिदनेछ । साथै, व्यवसाय सञ्चालन गरिरहेको छ तर कसरी विस्तार गर्ने भन्ने योजना छैन भने कम्पनीले उक्त सेवा पनि उपलब्ध गरायने उनको भनाइ छ । ओएफएस योजना पु्ँजी बजारमा सूचीकृत तथा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउने उद्देश्यले अफर फर सेल प्लेटफर्म योजना सञ्चालनमा ल्याएको उनले बताए । कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले कम्पनीले उक्त सेवा उलपब्ध गराउने उनको भनाइ छ । ‘कम्पनीहरूको संस्थापक समूहको सेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको छ । त्यसैले संस्थापक सेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यले अफर फर सेल माध्यम ल्याएको हो,’ उनले भने । संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सेयरधनीहरूले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रीतपूर्वक भरेपश्चात उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने काम क्यापिटलले गर्ने छ । सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण सुरक्षित तथा गोपनीयता कायम राख्ने कम्पनीले जनाएको छ । कम्पनीको इतिहास सन् २०१६ बाट सञ्चालनमा आएको एनआईसी एशिया क्यापिटलले छोटो समयमा सेवामार्फत राम्रो छाप छाड्न सफल भएको कम्पनीले दाबी गरेको छ । साथै, नेपालको मर्चेन्ट बैंकिङमा पहिलो र एकमात्रै आइएसओ सर्टिफाइड क्यापिटल रहेको कम्पनीले जनाएको छ । पुँजी बजारमा इनोभेटिभ सेवा र सम्पूर्ण पुँजी बजारको सेवा दिने उद्देश्य रहेको यस कम्पनीले सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, निक्षेप सदस्य, सेयर प्रत्याभूती, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवासमेत प्रदान गर्दै आएको छ । साथै कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य पनि गर्दै आएको छ । कम्पनीले सन् २०१७ मा पहिलो बन्दमुखी योजना ग्रोथ फण्ड, सन् २०१८ मा ब्यालेन्सड् फण्ड र सन् २०१९ मा आईएसओ सर्टिफाइड बनेको रिसर्च हेड दनुवारले बताए । सन् २०२० मा कर्पाेरेट एडभाइजरी सेवा, अनलाइनबाट सेवा, सन् २०२१ मा अनलाइन टीएमएस, सन् २०२२ मा विशिष्टिकृत लगानी कोष, सन् २०२३ मा मौरिसससँग रणनीतिक साझेदार र सन् २०२४ मा आइडीया टू आइडीया सर्भिस सेवा सुरु गरेको उनले बताए । ‘कम्पनीले सेवालाई मात्रै नभई आफ्ना प्रडक्टलाई पनि सबैको आवश्यकता पुरा गर्न विविधिकरण गरेको छ । अब एआई प्रविधिबाट दूरदराजसम्म सेवा दिने योजना छ । डीपीमा ७ लाख ५२ हजार खातासहित मर्चेन्ट बैंकिङमा नेतृत्व गरेको छ । टिएमएसमा साढे २ अर्बको अण्डर म्यानेजमेन्ट छ । ६ वटा म्युचुअल फण्ड र फरक-फरक प्रडक्ट विविधिकरणमा कम्पनीले सेवा सुरु गरेको छ,’ उनले भने, ‘सन् २०१६ देखि सन् २०२४ सम्म आइपुग्दा कम्पनीले आफ्नोमात्रै माइलस्टोन नभएर इण्डष्ट्रीलाई पनि ग्रो गर्न सहयोग गरेको छ।’
के हो फोनपेको डिजिस्मार्ट नेपाल अभियान ?
काठमाडौं । फोनपेले ग्लोबल मनि विक २०२५ को अवसरमा “Fonepay Digi-Smart Nepal” अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच योग्य बनाउनु हो । अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्नेछ | Fonepay Digi-Smart Nepal अभियान अन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् | यस्ता कार्यक्रमहरूमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग, वित्तीय विज्ञहरूसँग Q&A आदि पर्दछन् | यी कार्यक्रममार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ । त्यसैगरी यस अवधिभरि डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ । यसका साथै फोनपे ले Share & Win Contest पनि आयोजना गर्ने छ, जसमा सहभागी भई एक भाग्यशाली विजेताले रु. ५०,००० जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको कुनै अनुभव साझा गरि फेसबुक, इन्स्टाग्राम, वा टिकटकमामा भिडियो पोष्ट गर्नुपर्ने छ । Digi-Smart Nepal अभियानमार्फत फोनपे ले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ । अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ। यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा सुरक्षित कारोबार सुनिश्चित गर्न हामी सबै सचेत रहनुपर्छ । सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ । पछिल्लो समयमा डिजिटल ठगीका घटना बढ्दै गइरहेका छन्, त्यसैले सुरक्षित डिजिटल कारोबारका लागि सतर्कता अपनाउनु जरुरी छ । आफ्ना व्यक्तिगत वित्तीय विवरणहरू सुरक्षित राख्न र सुरक्षित डिजिटल माध्यमहरूको प्रयोग गर्न फोनपेले अनुरोध गरेको छ ।
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ क्यालेन्डर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा दशकौंअघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यास कैद गरिएका दुर्लभ तस्वीरहरू समावेश छ । तस्वीरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहन स्मरण गराउँदै नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाबारे जानकारी गराउन सहयोग पुग्ने बैंकको भनाइ छ । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । विगतका वर्षहरूमा क्यालेन्डरमा नेपाली कला र संस्कृति सम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वाङ्गीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिँदै आएको छ ।’ कार्यक्रममा बैंक सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ५० लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको जनाएको छ ।
पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही सिफारिस प्रक्रिया सम्बन्धी व्यवस्था
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण बीमकले पेश गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ । यसैगरी, बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम विदेशी पुनर्बीमा कम्पनी रेटेड हुनुपर्ने र पुनर्बीमा वापत विदेशी मुद्रा भुक्तानी गरेपश्चात् प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र उक्त विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । विदेशी मुद्राको सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेश हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर हुनुपर्ने र विदेशी मुद्रा सटहीका लागि पेश गर्ने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गरेको हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।