राष्ट्र बैंक प्रवेश गर्दा ठूलो सपना थिएन, अब म गभर्नरका रूपमा काम गर्न सक्छु
काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन । तर नीलमको लेखोट भने अर्कै थियो । उनलाई त्यतिमै सीमित हुन छुट थिएन । एउटा यस्तो अवसर आयो, जसलाई पछ्याउँदै उनी आज नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुगेकी छिन् । उनी अहिले मुलुकको अर्थतन्त्रको ढुकुटी सम्हालिरहेकी छिन् । अर्थतन्त्रका सूचकाङ्क केलाउँदै नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गराउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारी बोकेकी छिन् । विद्यालयदेखि नै मेधावी छात्रा ढुङ्गानालाई कक्षामा कहिल्यै पछाडि पर्नुपरेन । पढाइमा सधैँभरि अब्बल भइराख्न पारिवारिक वातावरण अनुकूल थियो । बुबा माध्यमिक विद्यालयको निरीक्षक र आमा शिक्षिका थिए । ‘घरायसी काम सघाउनेदेखि पढाइमा अब्बल भइराख्न परिवारबाट मिलेको साथ, सहयोग र प्रेरणा हो भन्ने लाग्छ,’ केही दिनअघि बाँसबारी, हेपाली हाइटस्थित निवासमा कुराकानीका क्रममा डा ढुङ्गानाले सुनाइन् । झापामा जन्मिएकी नीलमको बुबा सरकारी जागिरे भएकाले उनको जता सरूवा हुन्छ, त्यतै जाँदा विद्यालयको पढाइ पनि त्यतै सर्दै गयो । उनले एसएलसी भने २०४१ सालमा दमकस्थित हिमालयन माध्यमिक विद्यालयबाट पूरा गरिन् । त्यसपछिको शिक्षामा ढुङ्गानाको रोजाइमा विज्ञान सङ्काय थियो । तर दमकमा विज्ञान पढाउने क्याम्पस आइसकेका थिएनन् । उनको रहर त्यहीँ छुट्यो । विकल्पमा कमर्श पढ्नुपर्ने भयो । आइकममा उनले जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याइन् । दमकमा आइकम सकाएपछि ‘बिकम’ पढ्न विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना भइन् । स्नातक तहको पहिलो वर्ष पूरा भइसक्दा १९ वर्षको कलिलै उमेरमा विवाह भयो । विवाहपछि पनि पढाइ जारी नै रह्यो । केही समयपछि छोरी जन्मिइन् । त्यसपछि भने पढाइको गतिमा एक वर्ष बिराम लाग्यो । लगत्तै विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा एमबिए पढिन् । पढाइसँगै देवकोटा बोर्डिङ स्कुलमा अध्यापन सुरू भयो । स्नातकोत्तर तहमा उनी त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो भइन् । कीर्तिपुरस्थित विश्वविद्यालय आएर तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट ‘गोल्ड मेडल’सँगै सम्मान ग्रहण गरिन् । फर्किएपछि स्नातकोत्तर क्याम्पसमै सहाप्रध्यापकको जागिर मिल्यो । पढाइ जस्तै जागिर मिलेपछि उनलाई अर्को ठाउँ जाउँ भन्ने सोच नै पलाएन । ‘परिवार, पढाइ र जागिर सबै भने जस्तै भएपछि अर्को ठाउँ जाने रहर कत्ति पनि थिएन, मैले जे उपलब्धि प्राप्त गरेकी थिए, त्यसैमा सन्तुष्ट थिएँ,’ डा ढुङ्गानाले सुनाइन् । सोही क्रममा नेपाल राष्ट्र बैंकले सहायक अधिकृत तहमा जागिर खुलायो । तर, ढुङ्गानालाई भने यसबारे न चासो र जानकारी । ‘श्रीमानका विद्यार्थी सुनील खनालले विज्ञापनको चिर्कटो लिएर आउनुभयो, हेर्नुहोस् यो विज्ञापन म्याडम, अब अध्यापनमा मात्रै सीमित भएर हुन्न भन्नुभयो,’ डा नीलमले विगत सम्झिदै भनिन्, ‘त्यो बेलामा उहाँले सके राष्ट्र बैंकमा नभए निजामती जागिर भए पनि खानुपर्छ भन्दै हौसाउनुभएको थियो, आवेदनको फाराम पनि उहाँकै कारणले भरेकी थिएँ ।’ फाराम भरेपछि त तयारी पनि गर्नुपर्यो । केन्द्रीय बैंकको विराटनगरको कार्यालयबाट केही प्रकाशनहरू ल्याइन् । केही पत्रपत्रिका र केही पुस्तकको सहयोगमा तयारी पनि भयो । परीक्षा दिन रात्रिकालीन बस बढेर काठमाडौं हानिन् । एकान्तकुनामा आफन्तकहाँ विश्राम लिएपछि बालुवाटारस्थित केन्द्रीय बैंक आउँदा बाहिरपट्टिको रूखमा टाँसिएको सूचनामा भनिएको थियो, ‘राजनीतिक परिवर्तनका कारण अहिलेका लागि सहायक अधिकृतको परीक्षा स्थगित भएको छ ।’ लामो समयदेखिको तयारी, विराटनगर–काठमाडौंको कष्टपूर्ण यात्रापछि जाँच स्थगितको सूचना ढुङ्गानाका लागि अपेक्षाभन्दा पर थियो । एकप्रकारले मनमा निराशा छायो । यति ठूलो मेहनत खेर गयो भन्ने भयो । मन बुझाउनै गाह्रो भयो । तर स्वीकार गर्नुबाहेक के नै गर्न सकिन्थ्यो र ? निराश मन लिएर बालुवाटारबाट गाडी चढेर रत्नपार्क पुग्दा सडक पेटीमा किताब बिक्रीका लागि राखिएको रहेछ । ‘बाटोमा किताब फिँजाएर बिक्री गरेको मलाई नौलो लाग्यो, विराटनगरमा त्यस्तो कहिल्यै देखिएन, एकान्तकुनाको गाडी चढ्नुअघि किताब नियाल्दै थिए, यत्तिकैमा ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ देखेपछि नकिनी मनले मानेन् ।’ विराटनगर पुगेपछि किताब पढ्दा उहाँलाई लाग्यो, सायद तयारी अझै पुगेको रहेनछ । उनले पढ्न छुटाएका कैयौँ कुराहरू पुस्तकमा थिए । त्यही पुस्तक उनका लागि राष्ट्र बैंक प्रवेश गर्ने माध्यम बन्यो लाग्छ उनलाई । विसं २०५४ असारमा जाँच भयो । दसैँ सुरू हुनुभन्दा अगाडि प्रकाशित नतिजामा उत्तीर्ण हुनेमा नीलम ढुंगानाको नाम पनि थियो । ‘अहिले लाग्छ, सुरूमा परीक्षा स्थगित हुनु र त्यो पुस्तक संयोगले भेटिनु सायद मेरै लागि अवसर थियो, सायद पहिले तयारी पुगेको थिएन,’ उनले भनिन् । नतिजा प्रकाशित भयो, तर थाहै छैन । दसैँमा विराटनगरबाट झापा जाँदै गर्दा बस स्ट्यान्डमा भेटिनुभएका एक आफन्तका मुखबाट नतिजा आएको पाँच दिनपछि खबर सुन्नुभएको रहेछ । ‘उहाँले तपाईंको नाम गोरखापत्रमा निस्केको छ, बधाई छ, लड्डु कहिले खुवाउने भनेपछि पो थाहा भयो, दसैँमा घर हिँडेको मान्छे नतिजा हेर्न जाऔँ कि कता जाऔँ भन्ने द्विविधा भयो,’ उनले भनिन्, ‘अन्तर्वार्ता कहिले हुने हो, छुट्ने पो हो कि भन्ने चिन्ता भयो । तापनि दसैँ जस्तो महान् चाडका बेलामा त पक्कै हुँदैन होला, भनी झापा नै लागियो ।’ उनको मनमा दसैँभरि त्यही नतिजा घुमिरह्यो । दसैँलगत्तै विराटनगर फर्किएर क्याम्पसको पुस्तकालय खोल्न अनुरोध गरेर पुरानो गोरखापत्रमा हेर्दा नाम भेट्टिँदा निकै खुसी लाग्यो उनलाई । नाम निस्केको सो गोरखापत्रकोे कटिङ अझै सुरक्षित छ, भन्छिन् उनी । २०५४ सालको भाइटीकाको पर्सीपल्ट अन्तर्वार्ताको मिति तोकियो, त्यसमा पनि पास भइन् । नियुक्तिपत्र लिन काठमाडौं आएकी उनलाई यतै बस्नुपर्ने भयो । उनलाई केन्द्रीय कार्यालयमै विदेशी विनिमय व्यवस्थापन विभागमा खटाइएको रहेछ । त्यसपछिको एक वर्ष काठमाडौंमा बिताएपछि नीलमको विराटनगर नै सरूवा भयो । त्यहाँ तीन वर्ष बिताएपछि पुनःकाठमाडौँ फर्किए । त्यसयता उनी राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्दै आइन् । बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरिन् । केही वर्षपछि उनले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गरिन् । ‘केन्द्रीय बैंकमा रहँदा मैले धेरै अवसरहरू प्राप्त गरेँ । प्रत्येक आन्तरिक प्रतियोगितात्मक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण हुँदै निर्देशक तहसम्म बढुवा भएँ । काम गर्दाका अवस्थामा विभिन्न प्रकारका चुनौती र असफलताहरू आउनु स्वाभाविक जस्तो लाग्छ । चुनौती र असफलताले धैर्यता र पाठ सिकाउँछ । कार्यकारी निर्देशकमा भने कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदोन्नति भयो, नियम नै यही हो,’ उनले भनिन् । ढङ्गानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गरेकी छिन् । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताए । उनले पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गरिन् । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उहाँलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्ति प्राप्त भयो । अर्थतन्त्रको अवस्था अर्थतन्त्रलाई नजिकैबाट नियालिरहेकी डा ढुङ्गानाका शब्दमा अहिले अर्थतन्त्रका अधिकांश सूचकाङ्क सकारात्मक छन् । यद्यपि सुधार गर्नुपर्ने कैयौँ पक्ष पनि नभएका होइनन् । ‘चालू आर्थिक वर्षको सात महिनामा मुद्रास्फीति ४.१६ प्रतिशत (वाञ्छित सीमाभित्रै) छ, बाह्य क्षेत्र सहज अवस्थामा छ । २३ खर्ब ६९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ, चालु खाता बचतमा छ, गत वर्षको तुलनामा वैदेशिक लगानी, ऋण र अनुदान पनि बढेको छ । विप्रेषणमा ७.३ प्रतिशतले वृद्धि भई ९०० अर्ब रुपैयाँ पुगेको छ,’ उनले भनिन् । सरकारी वित्तका क्षेत्रमा अपेक्षित रूपमा पुँजीगत खर्च र राजस्व परिचालन हुन नसके पनि गत वर्षको तुलनामा वृद्धिदर उल्लेख्य छ । गत वर्ष सरकारी खर्च २.९ प्रतिशतले बढेकामा यस वर्ष ९.९ प्रतिशतले बढेको छ । त्यस्तै राजस्व परिचालन गत वर्ष यो अवधिमा १०.२ प्रतिशतले बढेकामा यो वर्ष १३.३ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आशा गर्ने धेरै क्षेत्रहरू छन् । लगानीको प्रशस्त अवसर छन् । बैंकिङ क्षेत्रको ब्याजदर न्यून विन्दुमा झरेको र तरलता प्रशस्त रहेको अहिलेको अवस्थालाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा लिन सकिने उनको बुझाइ छ । ‘अधिकांश सूचकाङ्कहरू राम्रा हुँदाहुँदै पनि बैंकमा अधिक तरलता छ, अपेक्षाकृत रूपमा कर्जा प्रवाह हुन सकेको छैन, वााणिज्य बैंकले दिने कर्जाको ब्याजदर गत वर्ष औसत ११.०८ बाट अहिले ८.५५ प्रतिशतमा झरेको छ, आधारदर पनि औसत ९.०६ प्रतिशतबाट ६.४६ प्रतिशतमा आइसकेको छ, तर कर्जा प्रवाह अपेक्षाकृत रूपमा बढ्न सकेको छैन,’ उनले भनिनु, ‘यसमा कहीँ न कहीँ, केही कमी कमजोरीहरू त पक्कै हुन सक्छन्, मूलतः कूल मागमा नै समस्या देखिएको छ ।’ डेपुटी गभर्नर डा ढुङ्गाना अहिले अर्थतन्त्रमा देखिएको समस्या कोरोना महामारीदेखि नै सुरू भएको बताउँछिन् । तत्कालीन समयमा अर्थतन्त्र पुनरूत्थानका लागि चालिएका केही लचकपूर्ण कदमका धेरै सकारात्मक प्रभावका साथै केही नकारात्मक प्रभाव पनि परेका छन् । केन्द्रीय बैंकले दिएको स्टिमुलस प्याकेज, ऋणको पुनःसंरचना, पुनःकर्जालगायतका नीतिले ८५ प्रतिशत उद्योग व्यवसाय पुनःसञ्चालनमा आए पनि कतिपय कर्जाको उत्पादनशील क्षेत्रमा सदुपयोग हुननसक्दा केही समस्या भएको उनको बुझाइ छ । त्यसैको असर अहिले बैंकको रिकभरिमा देखिएको छ, यसले खराब ऋण बढाएको छ । त्यसबाहेक यसबीचमा भएका ऋण तिर्नुनपर्ने भन्दै अभियानकै रूपमा सृजित गरिएका गैरआर्थिक गतिविधि पनि कारक हुन् भन्ने उनको भनाइ छ । ठूलो सङ्ख्यामा युवाहरू विदेश जाँदा आन्तरिक माग घटेको उनी बताउँछिन् । उपभोग गर्नेहरू नै विदेश गएपछि माग स्वतः कमजोर हुन्छ । यसको असर निजी क्षेत्रको उत्पादन र अन्ततोगत्वा बैंकको कर्जा प्रवाहमा देखिन्छ । माग नै छैन भने उत्पादनका लागि कर्जा प्रवाह कमजोर हुनु स्वाभाविक हो । तर अहिले ब्याजदरहरू माथि भनिए झैँ न्यून विन्दुमा झर्नु र बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहनुलाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा सदुपयोग गर्ने बेला हो । गत वर्षभन्दा कर्जाको वृद्धिदर बढीरहेको अवस्थालाई पनि यस अर्थमा हेर्न सकिन्छ । केन्द्रीय बैंकको भूमिका केन्द्रीय बैंकको मुख्य भूमिका समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राख्दै आर्थिक विकासका लागि सहजीकरण गर्ने हो । कर्जा र ब्याजदरका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो । त्यसबाहेक नीतिगत तवरबाट पनि काम गर्न सकिन्छ । अहिले पनि साना तथा मझौला क्षेत्र, कृषि र ऊर्जा क्षेत्रमा ४० प्रतिशत कर्जा हुनु केन्द्रीय बैंककै कारण सम्भव भएको हो । पछिल्लो समय नेपाल ग्रे लिस्टमा परेको र यसबाट निकाल्नका लागि पनि केन्द्रीय बैंकले सक्दो भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । ् ‘फाइनान्सिल इन्टेलिजेन्स युनिट केन्द्रीय बैंकअन्तर्गत नै छ, वित्तीय क्षेत्रमा हुनसक्ने शङ्कास्पद कारोबार, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा सूक्ष्म निगरानी भइरहेको छ,’डा ढुङ्गाना भन्छिन्, ‘पछिल्लो समय त बैंकवित्तीय संस्थाहरूको एएमएल सिएफटीसम्बन्धी गहन रूपमा सुपरिवेक्षण गर्न छुट्टै एएमएल सीएफटी सुपरिवेक्षण महाशाखा नै नेपाल राष्ट्र बैंकमा बनाइएको छ ।’ त्यसबाहेक तल्लो तहसम्म एएमएल/सिएफटीसम्बन्धी जनचेतना अभियानकै रूपमा चलाउनुपर्ने खाँचो रहेको उनको बुझाइ छ । रेडियो टेलिभिजनमार्फत वा विभिन्न तालिमका साथै यसलाई पाठ्यक्रममै राख्न पनि सकिन्छ । केन्द्रीय बैंकले कडाइ गरेकै कारण सम्पत्ति शुद्धीकरणमा धेरै सुधार आएको छ । अन्तरराष्ट्रिय जगतले अझै बढी ‘कम्प्लाइन्स’ खोजेको अवस्था छ । सबै क्षेत्रमा एफएटीएफले ‘कम्प्लाइन्स’ खोज्दा र अपेक्षित ‘कम्प्लाइन्स’ नदेखिएकोले ‘ग्रे लिष्ट’मा परेको उनको भनाइ छ । गभर्नरको दाबेदार वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको छ । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनलाई प्राप्त भएको हो । यतिबेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उहाँ भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् । ‘म राष्ट्र बैंक प्रवेश गर्दा यति ठूलो सपना थिएन, यस गरिमामय संस्थामार्फत मुलुकको सेवा गर्न पाउनुका साथै मेरो जीविकोपार्जनसँग पनि जोडिएको थियो,’ उनले भनिनु, ‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।’रासस
पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी, पोखरा-छन्दु उडानलाई नियमित बनाइने
काठमाडौं । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो । पोखरा पर्यटन परिषद् र छन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीका लागि तयार भएको बताए । छन्दुका पर्यटन व्यवसायीले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा व्यक्त गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार आदिमा जोड दिन आग्रह गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको पर्यटन राजधानी पोखराबाट मित्रराष्ट्र चीनको छन्दुुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा आफूहरू उत्साहित बनेको बताए । नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध हिमाल जत्तिकै उच्च, सागर जत्तिकै गहिरो र आकाश जत्तिकै फराकिलो रहेको बताउँदै उनले यो सम्बन्ध भृकुटी र स्रङचङ्ग गम्पो र अरनिकोजस्ता ऐतिहासिक व्यक्तित्वहरूको समयदेखि नै विस्तार भएको बताए । नेपाल र चीनबीचको मैत्री सम्बन्ध कायम भएको ७०औँ वर्षगाँठ मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरप्रमुख आचार्यले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा अझ धेरै विशेष बन्न पुगेको बताए । सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र बुद्धको ऐतिहासिक धरोहरहरूले विश्वभरका पर्यटकमाझ आकर्षणको केन्द्र बनेको बताउँदै उनले नेपाली पर्यटक पनि यहाँको समद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालयित भएको बताए । उक्त चार्टर्ड उडानले नेपाली पर्यटक सिचुवान आउन र त्यहाँका आकर्षणहरू अनुभव गर्न सहज र सजिलो बनाउने उनले विश्वास व्यक्त गरे। यसबाट छन्दुका पर्यटकहरू सोझै पोखरा जाने र नेपालका पर्यटक पनि छन्दुको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुुभव गर्न आउने उनको भनाइ छ । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको उनको धारणा छ । सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर्ड उडान नियमित हुनेमा विश्वास व्यक्त गरे । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा छन्दु उडानले दुवै देशबीचको पर्यटकीय साझोदारीलाई बढाउने बताए । यो उडानलाई नियमित गराउने कुरामा आफूहरू निरन्तर लाग्ने बताउँदै यसमा छन्दुका पर्यटन व्यवसायीको पनि सकारात्मक साथ र सहयोग हुने विश्वास व्यक्त गरे । छन्दुुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुुवै देशका पर्यटन व्यवसायीबीच आपसी मित्रतालाई अझै मजबुत बनाउने विश्वास दिइएको उनको भनाइ छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताए । पोखरामा धेरै चिनियाँ पर्यटक भित्र्याउनका लागि पोखरा-छन्दु उडानको निरन्तरता आवश्यक भएको उनको भनाइ छ । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा पाइने उनले बताए । छन्दुुस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूूत सुरेश राउतले पोखरा काठमाडौंपछिको दोस्रो ठूलो सहर भएको बताउँदै यो नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । पोखरा-छन्दु उडानलाई नियमित बनाउनका लागि महावाणिज्यदूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्नेमा विश्वास व्यक्त गरे ।
लगानी सम्भाव्यता खोज्दै कोरियाली लगानीकर्ता झापामा, नाका, बसपार्क, एसियन हाइवेको अवलोकन गरे
काठमाडौं । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ । कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताइन् । बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो । कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी गराए । कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योगलगायतको अवलोकन गरेको छ । टोलीले कृषि, पर्यटन, कागज, रेलमार्गलगायत क्षेत्रमा लगानीका लागि कोरियाली लगानीकर्ताहरू इच्छुक रहेको अवगत गराएको थियो । काँकरभिट्टामा बहुतले बहुउद्देश्यीय बसपार्क निर्माण, जैविक जीवाणु प्राङ्गारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनलगायत विषयमा कोरियाली टोलीसँग छलफल भएको मेचिनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । छलफलमा कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसन नेपालका राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, उद्योगी मेदनी अधिकारी, युवराज अधिकारीलगायतले नेपालमा लगानीको प्रशस्त अवसर रहेका भन्दै सरकारले उपयुक्त नीति र कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
नगरकोट भ्रमण वर्ष-८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने, थप छुटको ‘प्याकेज’ बनाउन आग्रह
काठमाडौं । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष-२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित भक्तपुरका ४ नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताए । उनले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, १ पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए । ‘करोडौं लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ,’ नगरप्रमुख खत्रीले भने । चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् । होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ-आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ । मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताए । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने उनको भनाइ छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षका लागि छुटको ‘प्याकेज’ बनाउन आग्रह गरे । उनले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउँदै नगरकोट आउने पर्यटकले चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताए । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले वैशाख १ गते भ्रमण वर्षको शुभारम्भका लागि उद्घाटन स्थलको स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले पर्यटन व्यवसायीले गर्ने योगदानबारे समितिले पुनः छलफल गरेर थप निर्णय लिने बताए । चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अवधिभर व्यवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरूले आफ्नो होटल र आसपासका क्षेत्र सजाउने, बत्तीले झिलीमिली बनाउने, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताए । कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष-२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा घनश्याम खतिवडालगायतले पर्यटकलाई नगरकोट तान्न सक्ने गरी कार्यक्रमहरू ल्याइने बताए ।
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै, साढे २ अर्ब बजेट छुट्याइयो
काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । २ सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको ५ महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे ८ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न ४ प्याकेजमा काम गरिने जनाइएको छ । क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि ७२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ । काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको ८ किमी सडक (डालाबेंसीदेखि-चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँ ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ । गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी २ टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार २ वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब २ महिनामा ठेक्का सम्झौता हुनेछ । पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित २ लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ । ३ साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ । बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पुर्याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी २ देखि ३ मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहिर्याएर खोलाको सतहभन्दा करिब ३ मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा ८ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो । राजमार्गको धुलिखेल-नेपालथोक र नेपालथोक-खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । हाल काठमाडौंबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।
डलरको भाउ बढ्दा सार्वजनिक ऋण ६६ अर्ब २९ करोड रुपैयाँ बढ्यो, २ खर्ब १ अर्ब ऋण भुक्तानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे २ खर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । ‘चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा फागुन मसान्तसम्म २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत हुन आउँछ,’ कार्यालयको प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई ६६ अर्ब २९ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ । हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८३ प्रतिशत अर्थात् १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत अर्थात् १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३.०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ .८५ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१.१७ प्रतिशत बराबर हो । यस वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१.५६ प्रतिशत अर्थात् २ खर्ब ६९ अर्ब १५ करोड ४२ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३०.१७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म ६५ अर्ब ४७ करोड रुपैयाँ बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले ४ खर्ब २ अर्ब ८५ करोडरुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५०.०८ प्रतिशत अर्थात् २ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.५४ प्रतिशत बराबर हो ।
आजदेखि एसइई परीक्षा सुरु, चैत १९ गतेसम्म सञ्चालन हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।