विकासन्युज

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा महासंघले दियो यस्तो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेश गरेका हुन् । सुझाव दिने क्रममा अध्यक्ष ढकालले सरकारले हालै परिमार्जन गरेका कानुनहरुको सराहना गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि बनाइ सबै तहमा नियमावली कार्यान्वनको प्रत्याभूति दिलाउनुपर्ने बताए । ‘नीतिगत परिमार्जनले सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘तर यसको कार्यान्वयनका लागि नियमावली कार्यान्वनको प्रत्याभूति सबैतिरबाट दिनुपर्छ ।’ महासंघले व्यवसाय दर्ता, नविकरण, राजस्व बुझाउने व्यवस्था एवं खारेजीका लागि प्रविधिको प्रयोग आवश्यक रहेको सुझाव दिएको छ । नागरिक एपमा बिजनेस आइकन राखि सोही मार्फत सम्पूर्ण व्यवसायिक सेवा दिन सकिने व्यवस्था आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्नुपर्ने सुझाव महासंघको छ । स्मार्ट सेवाका नाममा सम्पूर्ण सरकारी सेवा चुस्त दुरुस्त पार्नुपर्ने महासंघको सुझाव छ । यी हुन् महासंघको सुझाव- पछिल्ला २ वर्षको अवधिमा विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमा सिमित भएको हुँदा लगानीको श्रोत जुटाउन नेपालमा लगानी अभियान नामक कार्यक्रम ब्यापक रुपमा स्वदेश तथा विदेशमा सञ्चालन गरिनुपर्छ । लगानी बोर्ड र उद्योग विभागलाई एक अर्कामा गाभेर पुनर्संरचना आवश्यक छ । वन स्टप सेन्टरको पूर्ण कार्यान्वयनका लागि लगानीकर्ताले एक ठाउँमा फाइल बुझाएपछि अन्यत्र जान नपर्ने गरि व्यवस्था गर्नुपर्नेछ । हरेक वर्ष आर्थिक ऐन ल्याएर राजस्व सम्बन्धि कानुनमा हठात परिवर्तन हुने क्रम रहेकोले यसको सट्टा एकिकृत कानुन संहिता निर्माण गरि सदनबाट पारित गर्नु आवश्यक छ । यसले सालबसाली बजेट मार्फत कार्यान्वयन हुने स्वेच्छाचारिता घटाइ नीतिगत स्थिरता कायम हुनेछ । विभिन्न कानुनहरुले दिएको व्यवसायिक सुविधाको ग्यारेन्टी हुने हुँदा लगानी प्रोत्साहित हुनेछ । यसैगरी, छ महिनादेखि नेपालको बैंकिग प्रणालीमा छ खर्ब रुपैया भन्दा बढि लगानीयोग्य रकम थुप्रिएको छ । तीन महिनामा ब्याजदर तीन प्रतिशत विन्दुले घटेको छ । तर पनि लगानीको माग भैरहेको छैन । केन्द्रिय बैंकले दुइ वर्ष अघि ल्याएको चालु पूँजी कर्जा मार्गदर्शन कर्जा निरुत्साहित गर्ने पहिलो नीति हो । यो आवश्यक थियो र छ पनि । बजारमा निराशा रहेका बेला यसलाई परिमार्जन गरिनु आवश्यक छ । मार्गदर्शनलाई लाई कम्तीमा दुइ वर्ष स्थगित गर्ने वा यसको निर्णय बैंक र ऋणी आफैंले गर्न सक्ने गरि सहज बनाउनुपर्छ । सहकारी एवं लघु वित्तमा आएको समस्याका कारण साना मझौला उद्यमीसम्म सहज रकम प्रवाहका लागि पुर्नकर्जा लगायतका सुविधा उपलब्ध गराउनुपर्छ । नेपाली अर्थतन्त्रको लाइफ लाइन रेमिट्यान्स हो । नेपाली बजारमा घटेको माग पुर्तिका लागि पर्यटक र निर्यात बढाउनु पनि त्यत्तिकै जरुरी छ । निर्यातको हकमा तत्काल खाडी मुलुकमा नेपाली कृषिजन्य उत्पादन र पानी निर्यात गर्न सकिने नीति तथा कार्यक्रमहरु आउनु पर्दछ । नेपालबाट दैनिक करिब १२ फ्लाइट मध्यपूर्व जाने गरेका छन । यी जाहाजमा नेपाली उत्पादन पठाउन एयरपोर्टमा कोल्डस्टोरेज, एक्स रे मेसिन र वेयर हाउस सुविधा उपलब्ध गराउनुपर्छ । व्यवसायी, कर्जा सुरक्षण निगम, सरकार र विकास साझेदारहरु समेतले जोखिम बेहोर्ने गरि एक करोड रुपैयासम्मको कर्जा परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेछ । यसैगरि स्टार्ट अप नेपाल, साना उद्यमी विकास कार्यक्रम र प्रविधिबाट समृद्धि कार्यक्रम अन्तर्गत उद्यमीहरुलाई सुविधा प्रदान गर्नुपर्छ । भारतीय सिमा नजिकका हिलस्टेसनमा स्थापना हुने होटल रिसोर्ट, पोलिटेक्निकल इन्स्टिच्युट, अन्य शिक्षालय, शिक्षण अस्पताललाई लगायतलाई सुविधा दिइ भारतीय पर्यटक र अन्य लगानी पनि आकर्षित गर्न सकिन्छ । बिजुलीलाई उद्योगहरुको कच्चा पदार्थको रुपमा उपलब्ध गराउने व्यवस्था गर्न र उद्योगहरुमा लोडसेडिङ गर्ने प्रवृत्ति रोक्नुपर्छ । मूल्य अभिवृद्धिकर बहुदरयुक्त प्रणालीमा जानको लागि व्यापक कर सचेतना, दक्ष जनशक्ति, प्रणालीगत पुर्वाधार लगायतका ब्यापक व्यवस्थापकीय प्रवन्धहरु आवस्यक पर्ने भएकोले त्यसको लागि आवस्यक तयारी गर्न निजी क्षेत्र सम्मिलित कार्यदल बनाई तत्कालै कार्य प्रारम्भ गरिनु पर्दछ । आब ०८२/८३ को बजेट बाटै मूअकको एकल दरको कारणबाट सञ्चालन हुन कठिनाई भईरहेका केही वस्तु तथा सेवामा पाइलटिङ को रुपमा घटेको दरको कार्यान्यन सुरु गर्नुपर्छ । उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई क्रमशः घटाइ पाँच वर्षमा ५ प्रतिशत विन्दुले कम गर्नु पर्दछ । यसैगरि आयकरको दर घटाउन र कर छुटको सिमा बढाउनुपर्छ । साफ्टाका कारण स्वदेशी उद्योगमा परेको प्रभाव समेतलाई ध्यानमा राखी स्वदेशी उद्योग प्रवद्र्धन हुने करनीति आवश्यक छ । महासंघले सिथिल अर्थतन्त्र उकास्न सदस्यहरुसँग निरन्तर सुझाव संकलन गरिरहेको र सोही अनुसार सरकारसँग छलफल गर्नेछ ।

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१ दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिहरूमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको कम्पनीकाे भनाइ छ । प्रोटोन इमास ७ अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ, जसले नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्नेछ । कम्पनीका अनुसार प्रोटोन इमास ७ ले आफ्नो क्रस कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्नका लागि सुरु गरेको थियो । तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटाहरू हुँदै, यो विद्युतीय सवारीसाधनले विभिन्न भूभागहरूमा आफूलाई सफलतापूर्वक प्रमाणित ग-याे। यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषताहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान ग-याे । ‘यो यात्रा प्रोटोन इमास ७ को क्षमताको प्रमाण हो र नेपाली बजारका लागि यसको तयारी दर्शाउँछ । हामी यो अत्याधुनिक विद्युतीय सवारीसाधनलाई नेपालमा ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं, जसले स्थायी, कुशल र किफायती यातायात समाधान प्रदान गर्नेछ,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने । औपचारिक सार्वजनिक उद्घाटन कार्यक्रम मार्च २१ मा काठमाडौंमा आयोजना हुनेछ, जहाँ उद्योगका अगुवा व्यक्तित्वहरू, सरकारी अधिकारीहरू र सर्वसाधारणको उपस्थिति रहनेछ। कार्यक्रममा गाडीको मुख्य विशेषताहरू, प्रविधि र प्रोटोनले नेपालको वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका बारेमा प्रकाश पारिनेछ । प्रोटोन इमास ७ को सुरुवातसँगै, जगदम्बा मोटर्सले नेपालको मोटर उद्योगमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ, जसमा प्रदर्शन र आराममा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प प्रदान गरिनेछ । कम्पनीले नेपालको हरित ऊर्जा लक्ष्यलाई समर्थन गर्दै नवप्रवर्तनात्मक विद्युतीय गतिशीलता समाधानहरू मार्फत कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएको छ ।

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने उद्देश्य राखेको छ । मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । त्यसैगरी मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् । ‘आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने । विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । ‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्‍याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउदै र उनीहरुसँग खुशी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु,’ क्यानका सचिव पारस खड्काले भने । यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो । ‘हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौं । शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिदै क्यान जस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौं,’ एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ ।

नेपाल बैंक ६५ औं वार्षिक साधारण सभा सम्पन्न, छैन सेयरधनीलाई लाभांश

काठमाडौं । नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सभा सम्पन्न भएको हो । सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ । बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।

नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना नबिल बैंकबाट बाहिरिने भएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट बाहिरिएर गभर्नरका लागि प्रतिस्पर्धा थालेका हुन् । अहिले उनी विदामा बसेर राजनीतिक लबिङमा लागिरहेका छन् । ‘गभर्नरका लागि सिफारिस समितिले मेरो नाम पठाएपछि मात्र राजीनामा दिन्छु’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक महिनाअघि विकासन्युज प्रतिनिधिसँग भनेका थिए । तर, अहिले परिस्थिति परिवर्तन भएको छ । बैंकमा बहालवाला प्रमुख कार्यकारी अधिकृतलाई गभर्नरमा सीफारिस गर्न नसकिने जनाउँदै माथिल्लो तहबाट ढुंगानामाथि राजीनामाको दबाब परेको छ । गभर्नर बन्ने तीब्र चाहनासहित प्रतिस्पर्धामा ओर्लिएका ढुंगाना गत सातादेखि देखि नै विदामा बसेका हुन् । प्रमुख कार्यकारी अधिकृत ढुंगाना विदामा बसेको तर राजीनामा गरिनसकेको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए । सिफारिस हुनुभन्दा अगाडि राजीनामा गर्न आफूलाई सुझाव आएको ढुंगानाले बताए । राजीनामा बारे केही दिनमा निर्णय लिने पनि उनको भनाइ छ । सीईओ ढुङ्गानाले डेढ वर्षअघि देखि नै गभर्नर बन्ने योजनासहित सोही किसिमले लबिङ सुरु गरेका थिए । विकासन्युजले २०८० भदौमा उनले गभर्नरका लागि तयारी थालेको समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि उनलाई धेरैले गभर्नरको प्रतिस्पर्धीको रुपमा चर्चा गरेका थिए । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि दुई दर्जन व्यक्तिले आकांक्षा देखिएका छन् । बैंकका सीईओ, अन्य नियमनकारी निकायममा नेतृत्व गरिसकेका व्यक्तिहरुले राष्ट्र बैंकको गभर्नर बन्न आकांक्षा देखाएका छन् । उनीहरुले सोही किसिमले राजनीतिक लबिङ गरिरहेका छन् ।

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनिङ निड एसेसमेन्ट समझदारी

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले एभरेष्ट बैंकका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु भएको बैंकले जनाएको छ । कार्यक्रममा बोल्दै, एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘यो पहलले कन्टिनिअस प्रोफेसनल एजुकेसन मार्फत कर्मचारीहरूको सीप विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रष्ट्याउँछ, जसले हाम्रा कर्मचारीहरूलाई बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीहरूको सामना गर्न र अपेक्षित परिणाम हासिल गर्न सक्षम वनाउनेछ ।’ सोहि अवसरमा बोल्दै नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले ‘राम्रो सँग संचालित ट्रेनिङ्ग निड एसेसमेन्ट ले उत्पादकत्व र सेवाको गुणस्तर बढाउनका लागि प्रभावकारी तालिम कार्यक्रमहरू डिजाइन र संचालन गर्न बलियो जग प्रदान गर्ने’ कुरामा विश्वास व्यक्त गरे । यस साझेदारी मार्फत, एभरेस्ट बैंकले आफ्ना कर्मचारीहरूको सीपमा आवश्यक सुधारको मूल्याङ्कन र सम्बोधन गर्न योजनावद्ध दृष्टिकोण अपनाउने लक्ष्य राखेको छ । यो पहल नेपालको बैंकिङ क्षेत्रमा दक्षता अभिवृद्धि गर्ने दुवै संस्थाको प्रतिबद्धतासँग मेल खाने विज्ञप्तिमा उल्लेख छ ।

‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

काठमाडौं । आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ ।  नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओको भनाइ छ ।दन्त विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी दाँतको तथा मुखको स्वास्थ रह्यो भने ९० देखि ९५ प्रतिशत समस्याहरु रोकथाम गर्न सकिने बताउँछन् । उनका अनुसार दाँत तथा मुख सफा राख्न सकियो भने दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउ-खटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ । डा. बुढाथोकी भन्छन्, ‘दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वास्थ भएन भने त्यसबाट खाइएका चिजहरु शरीरमा फोहोरकै रुपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरु हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरुको प्रतिबिम्बको रुपमा देखिने गर्दछ ।’  विज्ञकाअनुसार दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकियो भने उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा. बुढोथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मष्तिष्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउँछन् । मुख स्वास्थ राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सूर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६-६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ । ‘बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रुपमै अपनाउनुपर्छ’, डा बुढाथोकीले भने ।

घिरौला प्रतिकिलो ५० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम गरिएको छ । यसैगरी, बोडी (तने) रु २००, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ५५, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकेजी रु १००० र न्यूरो प्रतिकिलो रु ६० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।