विकासन्युज

ललितपुर महानगर उज्यालो शहरको रूपमा स्थापित हुनेछ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको सुविधाका लागि अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडानलाई महानगरको मुख्य प्राथमिकतामा राखिएको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २५ र २६ जोड्ने नख्खु खोलामा निर्मित नयाँ पुल उद्घाटन गर्दै मेयर महर्जनले पछिल्लो समय महानगर पुलमय भएको बताए । उनले कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा पुलको अभावमा हालसम्म १६ जनाको ज्यान गइसकेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि महानगरले पुल निर्माण र सडक बत्ती जडानलाई तीव्रता दिएको जानकारी दिए । मेयर महर्जनका अनुसार चक्रपथ क्षेत्रको कुसुन्तीमा पैदल यात्रुका लागि अपाङ्गतामैत्री पुल निर्माण भइरहेको छ । साथै, सो क्षेत्रमा रातिको समयमा दुर्घटना रोक्न सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘त्यहाँ पुल नभएकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । यो हामी सबैका लागि दुःखद विषय हो। त्यसैले महानगरले चक्रपथ पार गर्न सुरक्षित बनाउने उद्देश्यले अपाङ्गमैत्री पुल निर्माण गरिरहेको छ । साथै, सडक बत्ती नहुँदा रातिको समयमा दुर्घटना बढ्ने भएकाले दशैँसम्म सम्पूर्ण बत्ती जडान सम्पन्न गरिसक्ने योजना बनाएका छौँ,’ मेयर महर्जनले भने । मेयर महर्जनले रात्रीकालीन समयमा हवाईजहाजबाट काठमाडौं उपत्यका छिर्दा सबैभन्दा उज्यालो देखिने क्षेत्र ललितपुर महानगरपालिका बनाउने लक्ष्यका साथ बत्तीको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे । ‘अबको केही महिनाभित्र ललितपुर महानगर उज्यालो शहरको रूपमा चिनिनेछ,’ उनले भने।

‍अर्को कोही राजा चाहिँदैन, नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ : दुर्लभ थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । बिहीवार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले जनचाहनाअनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएको कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको बताए । सांसद थापाले भने, ‘नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ नत व्यवस्था परिवर्तनको आवश्यकता छ । न यहाँ राजाको आवश्यकता छ न कुनै रानीको आवश्यकता छ । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ । त्यसकारण तपाईंहरु सबै राजा हुनुहुन्छ ।’ उनले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके जनताले स्वीकार नगर्ने भन्दै सबैले जनहितमा काम गर्न जरुरी रहेको बताए । उनले एकथरी पार्टीहरु मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै उनले काम गर्न कुनै वर्ष कुर्न नपर्नेमा जोड दिए । मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै उनले संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गरे ।

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासंघको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । उनले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे । ‘वर्षाैंसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई गाली गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने भनिएको जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।’ प्रधानमन्त्री ओलीले औपनिवेसिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताए । उनले पञ्चायती शासनकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । आजदेखि यही चैत १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।

प्रचारबाजी गरेर होइन, काम गरेर स्थापित हुनुस् : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरू काम भन्दा बढी प्रचारबाजी गरेर स्थापित हुन खोज्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । उनले कानूनभन्दा माथि बसेर आफुलाई स्थापित गर्न खोज्ने होडबाजी चलिरहेको उल्लेख गर्दै सरकारले यस्ता गतिविधिमा लगाम लगाउने चेतावनी दिए । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कर्मचारीहरूले मिडियाबाजी र प्रचारबाजीभन्दा काम गरेर स्थापित हुने प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले भने, ‘कानूनभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन, स्वच्छाचारी प्रवृत्ति समाजका लागि घातक हुन्छ । अहिले कर्मचारीहरूबीच को बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने होडबाजी देखिएको छ, यो प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’ मन्त्री खड्काले सरकारको लक्ष्य सन् २०३५ सम्ममा विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने र प्रतिव्यक्ति वार्षिक विद्युत खपत १,५०० युनिट पुर्याउने रहेको बताए । उनले थपे, ‘राष्ट्रिय ग्रिड नपुगेका क्षेत्रहरूमा सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पुर्‍याउने योजनामा सरकार अघि बढिरहेको छ।’ मन्त्री खड्काले गरिब तथा विपन्न वर्गले महसुल तिर्न नसक्दा विद्युत सेवाबाट वञ्चित हुन नपरोस् भनेर सरकारले प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरेको जानकारी दिए । उनले भने, ‘सरकारको लक्ष्य सामाजिक न्याय कायम गर्दै सबै नागरिकलाई उर्जाको पहुँचमा ल्याउनु हो। त्यसैले आर्थिक रूपमा कमजोर वर्गलाई विशेष छुटको नीति अवलम्बन गरिएको छ।’

माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी छिटो हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने दाबी गरिएको छ । सिटीटेकले विकास गरेको गेटपे प्लेटफर्म बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न अझ सजिलो बनाउने लक्ष्यका साथ ल्याइएको हो । माछापुच्छ्रे बैंकमा यो सेवा कार्यान्वयन भएपछि व्यवसायीहरूले आफ्ना सबै कारोबार एउटै स्थानबाट ट्र्याक गर्न सक्नेछन् । गेटपे सेवाले भुक्तानी, कारोबार हिसाब र व्यापारिक गतिविधि एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्नेछ । यसबाट डिजिटल भुक्तानीको अनुभव सुधारिने र आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ । यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ ।  सिटीटेकका अनुसार गेटपे सेवाले डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै सही आर्थिक निर्णय लिन मद्दत गर्नेछ ।

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि बिहीबार दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेका हुन् । ’प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सांसहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । आज पनि राष्ट्रियसभाको बैठकमा अवरोध भएको छ । विपक्षी दलको विरोधका कारण आज पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जना‍ए । राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

कुलमानले पुनर्बहालीको माग गर्दै हालेको रिट दर्ता, पहिलो पेशी शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेकाे रिट बिहीबार दर्ता भएको छ । घिसिङले सरकारको निर्णय बदर गर्दै आफूलाई पुनः कार्यकारी निर्देशकमा बहाल गरिनुपर्ने माग गर्दै रिट दायर गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । ‘कुनै गल्ती नगर्दा नगर्दै सरकारले बदनियतपूर्वक मलाई स्पष्टीकरण सोध्यो र गलत ढंगले पदमुक्त गरियो,’ रिट निवेदनमा घिसिङले उल्लेख गरेका छन् । सर्वोच्च अदालत प्रशासनले घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबार मिति तोकेको छ । घिसिङ अदालत पुगेसँगै यता नवनियुक्त कार्यकारी निर्देशक शाक्य पनि आफ्नो पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । कुलमान सर्वाेच्च गएपछि हितेन्द्र पनि पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै अदालत पुगे

पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकार गम्भीर रूपमा लागेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले मौलिक रूपमा शान्ति प्रक्रिया सुरु गरेको र आफैंले टुंग्याउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरू काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने बताए । उनले शान्ति प्रक्रियालाई सफल पार्न मात्रै चाहेको उल्लेख गर्दै यसको श्रेय आफूलाई आवश्यक नरहेको स्पष्ट पारे । ‘हामीले आफैं शान्ति प्रक्रिया सुरु गरेका हौं र हामी आफैंले टुंग्याउनुपर्छ । म यसको श्रेय खोज्दिनँ, केवल सफल बनाउन चाहन्छु । पीडितका घाउमा मल्हम लगाउनुपर्छ र नेपाली जनतालाई आश्वस्त पार्नुपर्छ कि अब हिंसा हुने छैन,’ प्रधानमन्त्री ओलीले भने । उनले राजनीतिक दलहरूले सहमति गर्न सकेमा शान्ति प्रक्रिया टुंग्याउन धेरै समय नलाग्ने धारणा राखे । आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरे । जनतालाई सन्तुष्ट बनाएर अघि बढ्ने बाटो राजनीतिक दलहरूले लिनुपर्ने बताए । उनले अशान्ति भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरूलाई आग्रह गरे । ‘आज नेपालमा अधिनायकवादी होइन, लोकतान्त्रिक सरकार छ । म जनताको सुझाव सुन्न तयार छु । तर, आलोचना समाजलाई बिथोल्ने गरी हुनुहुँदैन । सबैले रचनात्मक भूमिका निर्वाह गरे मात्र देश विकास सम्भव छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति गठन भइसकेको जानकारी दिए । उनले आयोगले आगामी दुई महिनाभित्र काम सुरु गर्ने बताए । उनले विगतमा नेपालले ठूलो हिंसा भोगेको उल्लेख गर्दै माओवादी द्वन्द्वलाई राष्ट्रिय गल्तीको संज्ञा दिए। ‘हिंसात्मक विगतलाई बिर्सेर शान्तिपूर्ण भविष्यतर्फ जान आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने ।