अब ‘एक्जिम कोड’ लिन भन्सार विभाग जान नपर्ने
काठमाडौं । अब व्यवसायीहरूले निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन भन्सार विभागको केन्द्रीय कार्यालय धाउनुपर्ने झन्झट हटेको छ । भन्सार विभागले एक सूचना जारी गर्दै आगामी वैशाख २ गतेदेखि ‘एक्जिम कोड’ सम्बन्धी सबै सेवा केन्द्रीय कार्यालयबाट बन्द गरिने जानकारी दिएको छ । अबदेखि व्यवसायीहरूले यो सेवा देशभरका भन्सार कार्यालयहरूबाटै प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाले आयात–निर्यात कारोबार गर्ने व्यवसायीहरूलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउने भन्सार विभागले जनाएको छ। २०७४/७५ आर्थिक वर्षदेखि लागू गरिएको ‘एक्जिम कोड’ प्रणाली अब भन्सार कार्यालयहरूबाटै सञ्चालन हुने भएकाले व्यवसायीहरूले समय र श्रम बचत गर्न सक्नेछन् । व्यवसायीहरूको प्रशासनिक झन्झट घटाउने यो निर्णयलाई निर्यात–आयात प्रक्रियालाई सरल बनाउन गरिएको महत्त्वपूर्ण सुधारको रूपमा हेरिएको छ ।
१८ दिन बितिसक्दा पनि अगाडि बढेन नागढुंगा सुरुङमार्गको निर्माण कार्य
काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको १८ दिन भइसकेको छ। स्थानीयको आन्दोलनका कारण नागढुंगा सुरुङमार्गको निर्माण कार्य अझै सञ्चालनमा आउन नसकेको नागढुंगा सुरुङ मार्ग आयोजनाले जनाएको छ । स्थानीयहरूले विभिन्न ८ वटा माग राख्दै सुरुङमार्गको निर्माण क्षेत्रमा धर्नासहित आन्दोलन गर्दै आएका थिए ।आयोजना प्रमुख सञ्जय पन्थीका अनुसार स्थानीयहरूले सुरुङमार्गको निर्माण कार्य सुरु भएयता १०-१२ पटक आन्दोलन गर्दै आएका छन् । निर्माण कार्य विगत १८ दिनदेखि बन्द अवस्थामा रहेको उनले जानकारी दिए । आन्दोलनका कारण टनेलमा जारी रहेको भुइँ ढलान, एप्रोच सडक, फ्लाई ओभर, पहिरो नियन्त्रणको लागि वालिङ्ग (ल्याण्ड साइड प्रोटेक्सन) उठाउने कामलगायत सडकको निर्माण कार्य पूर्णरूपमा ठप्प रहेको उनको भनाइ छ । उनले भने, ‘हामीले हाम्रोतर्फबाट हुने सबै प्रयास गर्याैं । तर पार लागेन । हामीले निर्माण कार्य सुचारु गराउन सकेनौं । आज निर्माण कार्य बन्द भएको १८ दिन भइसक्यो । अब सरकारले नै मिलाउँला ।’ स्थानीयहरूले ८ वटै मागहरू पूरा गर्नुपर्ने भन्दै अडान गरिरहेका प्रमुख पन्थीले बताए।स्थानीयहरुको आन्दोलनका कारण निर्माण कार्य बन्दा हुँदा जापनिज कम्पनीको हाजमा एण्डो कर्पोरेशनले दैनिक ५० लाख रुपैयाँको दरले क्षति भएको भन्दै आयोजनासँग १८ दिनको ९ करोड रुपैयाँ हर्जना माग गरेको आयोजनाले जनाएको छ । प्रमुख पन्थीले स्थानीयहरूले दीर्घकालीन रूपमा निः शुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, भत्काइएका घरको क्षतिपूर्ति दिनुपर्ने, आयोजनामा स्थानीयहरूलाई रोजगारी दिनुपर्नेलगायतका मागहरू अघि सार्दै आएको बताए । उनले भने, ‘हामीले पटक-पटक समय दिनूहोस्, समाधान गरौंला भन्यो तर उनीहरूले मानेन । यसै वर्षभित्र काम सक्ने भनेका थियौं । यी नै बाधा अवरोध कारण काममा ढिलो भइरहेको छ ।’ उक्त आयोजनामा १५ जापानीसहित ३ सय नेपाली काम गरिरहेको आयोजनाले बताएको छ । खानेपानीका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार खानेपानी मन्त्रालयबाट उक्त ठाउँमा आयोजना सिफारिस भइसकेको छ । स्थानीयहरूले खानेपानी मात्रै नभएर अरू विभिन्न मागहरूको पनि जिम्मा लिनुपर्ने अडान लिँदै आएका छन् । उनीहरूले आफ्ना माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै आएका छन् ।
टोखामा बरामद भएको २५ करोड बराबरको डलर र युरोको मालिक पौडेल
काठमाडौं । टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक नारायण पौडेल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्दै आएका पौडेलको उक्त रकम रहेको खुलेको हो । हालसम्मको अनुसन्धानबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको हो । उनलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी भइसकेको विभाग स्रोतले जनाएको छ । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा २५ करोड नेपाली बराबरको डलर र यूरो लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले उक्त ट्रक बरामद गरेको थियो । ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले चलाएका थिए । सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लुकाइएको थियो । चालक लामा र पौडेलबीच मोबाइलमा अन्तिम पटक सम्पर्क भएको विभागको भनाइ छ । विभागले उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ ।
तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । घटनामा परेर कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार थाइल्याण्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे । लगानी तथा व्यापार प्रबद्र्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययनरअनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो । विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले गरे । लगानी प्रबद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनले बताए । परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकका बीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ । दुई संस्थाबीच भएको समझदारी पत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधिहरु सहभागी थिए ।
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरे । सभापोखरी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।
महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा आज बुधबार बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेड अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका छन् । यस समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्ध सुदृढ गर्ने, आर्थिक सहकार्य प्रवद्र्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । त्यस्तै दुई देशबीचको व्यापारिक सहकार्य थप मजबुत बनाउने र आर्थिक सहकार्य विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । द्विपक्षीय समझदारी अन्तर्गत दुवै पक्षले व्यापार प्रवर्द्धन, संयुक्त उद्यम सुविधा, व्यापारिक जानकारी आदान–प्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी व्यापार मेला, व्यावसायिक फोरम र विशेष आर्थिक कार्यक्रममा सहभागिता प्रोत्साहन गर्ने विषय समझदारीपत्रमा समावेश गरिएको छ । यस्तै विवाद समाधान प्रणाली प्रवर्द्धन गर्ने र प्राविधिक विशेषज्ञता तथा तालिम आदान–प्रदान सशक्त बनाउने विषय पनि समझदारीपत्रमा उल्लेख छ । उक्त अवसरमा महासंघ अध्यक्ष ढकालले नेपाल–थाइल्यान्डबीच भएको समझदारीले दुई देशबीच आर्थिक सहकार्यका लागि नयाँ आधारशिला तयार गरेको धारणा राखे । ‘दुई देशबीच व्यापार–व्यवसाय सहकार्यका पर्याप्त सम्भावना छन् । महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीचको आपसी सहकार्यबाट व्यापार र लगानीका लागि नयाँ अवसर खोल्ने विश्वास छ । जसले दुवै राष्ट्रका व्यवसायलाई फस्टाउने अवसर प्रदान गर्ने छ,’ उनले भने । थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेड अध्यक्ष अंगुबोल्कुलले यो साझेदारीले दुवै देशका व्यापारिक समुदायका लागि नयाँ अवसर सिर्जना गर्ने बताए । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिम्स्टेक० को छैटौं शिखर सम्मेलनमा गरिएको यो समझदारीपत्र तीन वर्षसम्म लागु हुनेछ र नेपाली तथा थाई व्यवसायीबीच निरन्तर सहकार्यका लागि एक मजबुत आधारका रूपमा काम गर्ने उनले बताए । महासंघले थाइल्यान्डको बोर्ड अफ ट्रेडसँग मिलेर यस सम्झौताका लक्ष्य सफलतापूर्वक कार्यान्वयन गर्न तथा आपसी सहकार्यका नयाँ सम्भावना खोज्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल १९ देखि २३ चैतसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुँदैछ ।
जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच सहकार्य
काठमाडौं । नेपालमा जैविक कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच ऐतिहासिक सहकार्यको घोषणा भएको छ । अप्रिल २ मा सम्पन्न सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा। कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नेपालको कृषि क्षेत्रमा नवीनतम जैविक प्रविधिहरू भित्र्याउने, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, र उत्पादन वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखेको छ । जनता एग्रो एण्ड फरेष्ट्रीले नेपालमा गरीरहेको जैविक खेतीलाई अझ व्यवस्थित बनाउन कसेस्टार्ट विश्वविद्यालयको वैज्ञानिक अनुसन्धान, उन्नत प्रविधिहरू, तथा नवीनतम कृषि विधिहरूको उपयोग गर्नेछ । सहकार्यअन्तर्गत जैविक खेतीका अत्याधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको व्यवस्थापन, फसल उत्पादन वृद्धि, गुणस्तर सुधार तथा नवप्रवर्तनका क्षेत्रमा गहन अध्ययन र तालिम कार्यक्रम सञ्चालन गरिनेछ । सम्झौतापछि जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले भने, 'यो साझेदारी नेपालको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने महत्वपूर्ण कदम हो । विश्वविद्यालयको विशेषज्ञता प्रयोग गरी कृषकहरूलाई आवश्यक उपकरण, प्रविधि, तथा ज्ञान उपलब्ध गराइनेछ, जसले उत्पादन वृद्धिसँगै दीर्घकालीन कृषि सुधार सम्भव बनाउनेछ ।' यसैगरी, कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनले भने, 'हाम्रो मिशन दिगो कृषि ज्ञानको विस्तार गर्नु हो । जनता एग्रोसँगको यो सहकार्य जैविक कृषिमा नयाँ युगको सुरुवात हुनेछ, जसले नेपालमा कृषि उत्पादनलाई नविनतम प्रविधिहरूसँग जोड्नेछ ।' सहकार्यअनुसार कसेस्टार्ट विश्वविद्यालयले जनता एग्रोलाई माटो परीक्षण, जैविक कीट व्यवस्थापन, मूल्य अभिवृद्धि, र उत्पादकत्व सुधारका लागि आवश्यक प्रविधि तथा अनुसन्धान उपलब्ध गराउनेछ । साथै, दुवै संस्थाबीच तालिम, कार्यशाला, तथा अनुभव आदानप्रदान हुने गरी नियमित कार्यक्रमहरू सञ्चालन गरिनेछन् । जनता एग्रो एण्ड फरेष्ट्रीले नेपाली जैविक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। थाइल्याण्डका लगानीकर्तासँगको सहकार्यमा नेपाली कृषि उत्पादनलाई वैश्विक स्तरमा चिनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिंदै छन् । यो सहकार्यले नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै जैविक उत्पादन निर्यात वृद्धि गर्ने तथा विदेशी मुद्रा आर्जन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । साथै, कृषि प्रविधिमा नविनतम रूपान्तरणमार्फत नेपालका कृषकहरूको जीवनस्तर उकास्न यस सहकार्यले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।