सिटिजन्स बैंकले बेबी लाइफ होमलाई दियो २ लाख रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार, र शिक्षामा सहयोग गर्दै आएको 'बेबी लाइफ होम' लाई आर्थिक सहयोगस्वरूप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८औं वार्षिक उत्सव (आगामी वैशाख ७ गते) को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन् । बिपन्न समुदायका बालबालिकालाई आधारभूत शिक्षा, स्वास्थ्य, र आश्रय प्रदान गर्ने यो संस्थाले ठूलो चुनौतीको सामना गरिरहेको हुँदा बैंकको यो सहयोगले संस्थाको संचालनमा सहजता ल्याउने विश्वास गरिएको छ । बैंकका प्रतिनिधिहरूले एक समारोहकाबीच संस्थाका संचालक राज कुमार पुनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । संस्थाले यो रकम बालबालिकाको खानपान, शिक्षा, र स्वास्थ्य उपचारमा खर्च गर्ने जानकारी दिएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक कार्य गर्ने संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । यसै परम्परालाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार ३ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आजभन्दा अगाडिको उच्च मूल्य चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
महालक्ष्मी विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान, पायो 'ग्राहक केन्द्रित बैंक' अवार्ड
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित 'बिजनेस कनेक्ट' म्यागजिनबाट 'ग्राहक केन्द्रित बैंक' अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित भएको छ । बैंकले ग्राहक सेवा सुधार, सुरक्षित तथा डिजिटल बैंकिङ सुविधा प्रवर्द्धन, र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने नीतिलाई निरन्तरता दिएको भन्दै बिजनेस कनेक्ट म्यागजिनले सम्मान प्रदान गरेको हो । बैंकले निरन्तर नवप्रवर्तनशील डिजिटल बैंकिङ सेवा विस्तार गर्दै 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसले ग्राहकहरूलाई अत्याधुनिक, सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । बैंकका अनुसार यो सम्मानले वित्तीय पहुँचबाट बाहिर रहेका नेपाली नागरिकलाई बैंकिङ प्रणालीमा ल्याउन थप प्रेरणा मिल्ने छ भने अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान पनि स्थापित गर्नेछ । बिजनेस कनेक्ट म्यागजिनले नवप्रवर्तनशील व्यवसायिक विचार र प्रभावशाली संस्था तथा व्यक्तिहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ । यो अवार्ड महालक्ष्मी विकास बैंकको उत्कृष्ट ग्राहक सेवा पहिचानको प्रमाण बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कार्यकक्षमा ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई रोक्न महानगर प्रहरी समेत परिचालन गरिएको छ । गुरागाईँ बिहीवार महानगरपालिकाको कार्यालयमा काममा फर्कने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । गुरागाईं २०८१ पुस १४ गतेदेखि मेयर बालेन शाहको निलम्बनमा छन् । १२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको आरोपमा सोही दिनदेखि गुरागाईं कार्यालयमा उपस्थित हुन पाएका छैनन् ।
थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् । बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य र लगानीका अवसरहरूबारे जानकारी गराएका थिए । उनले नेपालले लगानी सुरक्षाका लागि कानुनी सुधारहरू गरेको बताउँदै थाइल्याण्डका व्यवसायीहरूलाई शिक्षा, स्वास्थ्य, प्रविधि र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेश नबनेको र समान रूपमा गरिबी निवारणको प्रयास गरेको उल्लेख गर्दै थाइल्याण्डको प्रविधि र विकास मोडेल नेपालका लागि उपयोगी हुन सक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार थाइल्याण्डका व्यवसायीहरूले विशेष गरी शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा लगानी गर्न चाहेको जनाएका छन् । पर्यटनका लागि पनि थाइल्याण्डसँग बलियो सम्बन्ध रहेको र बौद्धमार्गी थाइल्याण्डवासीहरू बुद्ध जन्मभूमि लुम्बिनी भ्रमण गर्न चाहने भएकाले पर्यटनमा थप लगानीको सम्भावना रहेको प्रधानमन्त्री ओलीले बताए । सरकारले लगानी मैत्री कानून र अनुकूल वातावरण तयार पारेकोले थाइल्याण्डका व्यवसायी नेपालमा आकर्षित हुन सक्ने विश्वास गरिएको छ ।
रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन
डुम्रे । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो । जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पुर्याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए । भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो । अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे बनाइएको उनले बताए । 'अनादीको धानखेती कम हुने गरेको छ, बढी उत्पादन लिने लक्ष्यका साथ स्थानीयले अन्य प्रजातिका धान लगाउने गर्दछन्', सञ्चालक अधिकारीले भने, 'रैथाने धान संरक्षण, प्रवद्र्धन तथा ब्राण्डिङ गरी आयसँग जोड्न अनादीको खट्टे बजारमा ल्याएका हौँ ।' भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्राण्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग रहेको बताए । उनले भने, 'खाना, प्रविधि र गुणस्तर नियन्त्रणको विभागीय परीक्षण नगरपालिकाले गरेका छ, उत्कृष्ट ठहरिएपछि अनादीको खट्टे बजार पठाउन स्वीकृति दिइएको हो ।' नगरपालिकाका १३ वटै वडा तथा जिल्लाका किसानले उत्पादन गरेका अनादीलाई खट्टे बनाएर बजार पु¥याउने गरिएको कृषि शाखाले जनाएको छ । रासस
नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बित
काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना पदाधिकारीलाई निलम्बन गरेको छ । आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र पठाएर निलम्बनको जानकारी गराएको हो । अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ र नारायण तिमिल्सिना पनि निलम्बनमा परेका छन् । रेडक्रस संस्थाको आधारभूत मान्यताहरू उल्लंघन गरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको लगायतका कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको बताइएको छ ।
कुरिलो किलो ६०० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १३०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।