विकासन्युज

क्रोएसियाविरुद्ध इंग्ल्यान्डको शानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि शानदार जित हासिल गरेको छ ।  अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को शानदार जित निकालेको हो । खेलमा जित निकालेसँगै इंग्ल्याण्डले क्रोएसियासँगको पुरानो हिसाब समेत चुक्ता गरेको छ । कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।  पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो । क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरी गोल फर्काए ।  केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए ।  पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै क्रोएसियालाई २-२ को बराबरी अवस्थामा ल्याए । खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए ।  मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए ।  खेलमा जित हासिल गरेसँगै इंग्ल्यान्डले तीन अंक जोडेको छ ।

सीमा विवादपछि सशस्त्र तैनाथ, हेलिकोप्टरबाट सामग्री पुर्याइयो

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पुर्याइएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो । नं. ७ बैध्यनाथ बाहिनी मुख्यालयका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षाफौजको काम कारबाही बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वयसमेत हेडक्वार्टरबाट हुनेछ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सो टोली जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । केही दिनयता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच सामान्य विवाद उत्पन्न भएको थियो ।

कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’ को खेलमा उपाधि दाबेदार पोर्चुगल कंगोसँग बराबरीमा रोकिएको छ । पोर्चुगल १-१ गोलको बराबरीमा रोकिएको हो । उसले सुरुवाती अग्रताक अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो ।  पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले राम्रा अवसर गुमाउँदा गोलविहीन बन्न पुगे । उनको यो छैटौं विश्वकप हो । खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  तर पहिलो हाफको इन्जुरी समयमा योआने विसाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कंगोले ५२ वर्षपछि भएको विश्वकप पुनरागमन गरेको हो ।  उपाधि दाबेदार पोर्चुगल गोलपश्चात लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा दबाबमा परेको थियो । क‌ंगाेसँग अंक बाँडेसँगै पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ ।

विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि ७ जना सर्टलिस्टमा, असार ६ गते अन्तर्वार्ता हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सात जना उम्मेदवारहरूको सर्टलिस्ट (छनोट सूची) सार्वजनिक गर्दै कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ ।  समितिले २०८३ जेठ ७ गते प्रकाशित सूचना अनुसार दरखास्त दिएका उम्मेदवारहरूमध्ये न्यूनतम शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । छनोट भएका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी २०८३ साल असार ६ गते शनिबारका दिन दुईवटा सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको बैठक कक्षमा हुने सूचनामा उल्लेख छ । समितिका अनुसार असार ६ गते बिहान ९ बजे हुने प्रथम सत्रको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ललितपुरका केशवध्वज अधिकारी, सिन्धुपाल्चोकका डा. रामप्रसाद धिताल, काठमाडौंका मधुप्रसाद भेटुवाल र काठमाडौंकै मोती बहादुर कुँवर छनोट भएका छन् । यसैगरी, सोही दिन दिउँसो २ बजे हुने दोस्रो सत्रका लागि काठमाडौंका डा. मधुसुधन अधिकारी, गोरखाका डा. भोलानाथ शर्मा घिमिरे र चितवनका नारायण प्रसाद सापकोटा छानिएका छन् । छनोट भएका सम्पूर्ण उम्मेदवारहरूलाई दरखास्तसाथ पेस गरेका शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र तथा कागजातहरूको सक्कल प्रतिसहित उपस्थित हुन अनुरोध गरिएको छ ।  समितिका अनुसार प्रत्येक उम्मेदवारका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको अवधि अधिकतम १५ मिनेटको रहनेछ ।

बिहे गरेर अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं । बिहे गरेर अमेरिका लैजाने लोभ देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक दम्पतीलाई पक्राउ गरेको छ ।  आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा कुरा गर्ने ’प्रिन्स तामाङ’ नामक टिकटक आईडीका सञ्चालक सञ्जिव नेपाली र उनकी श्रीमती सरिता पराजुली (अनुष्का) लाई प्रहरीले पक्राउ गरेको हो ।  स्याङ्जा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने यो दम्पतीले टिकटकमा अनुहार नदेखाई पीडितसँग सम्पर्क बढाएका थिए । त्यसपछि सञ्जिवले सरितालाई आफ्नी बहिनी सरगम तामाङ भनी ह्वाट्सएपमा कुराकानी गर्न लगाएर पीडितबाट पटक/पटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडितले दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा प्रिन्स तामाङ र सरगम तामाङ बनेर ठगी गर्नेहरू वास्तवमा श्रीमान्–श्रीमती नै रहेको पुष्टि भएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।  ब्युरोको टोलीले उनीहरूलाई मङ्गलवार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।  अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएकाले ब्युरोले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।  पछिल्लो समय बिहे गरेर विदेश लैजाने बहानामा ठगीका घटनाहरू बढ्दै गएकाले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूसँग कारोबार गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

सुलभ अग्रवाल र दीपक भट्टलाई जेल पठाउन अदालतको आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि प्रहरीले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।

विदेशी पीआर लिएका दुई कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो । सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् ।  मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र  स्थायी आवासीय अनुमति लिएको पाइएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ ।  स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले  उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन् ।  मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने पनि बताइन् ।

अपहरण धन्दामा भारतीय, बालकलाई चितवनबाट काठमाडौं ल्याई २२ लाख फिरौती माग

काठमाडौं । चितवनबाट अपहरण गरेका बालकको काठमाडौंको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार भयो ।  असार १ गते साँझ साढे ६ बजे चितवनको नारायणगढबाट ५/ ६ जनाको समूहले १५ वर्षीय बालक अपहरण गरेका थिए । भरतपुर महानगरपालिका २ बस्ने बालकलाई भारतीय नम्बरको गाडीमा राखेर काठमाडौं ल्याएका थिए। गंगबुको एक होटलमा राखेर पीडित परिवारसँग फिरौती रकम माग गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  पक्राउ पर्नेमा भारतको बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षकै गोलुकुमार सोनी, १८ वर्षकै गोलु कुमार, १८ वर्षकै बिक्कि कुमार र १८ वर्षकै मोहम्मद साहिद रहेका छन् ।  जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको खुलेको प्रहरीले उल्लेख गरेको छ । सुजितकुमार सहित ५ जनाले अपहरणको योजना बनाएर भोलिपल्ट जेठ ३० गते वीरगनज भन्सारबाट गाडीको पास बनाएर नेपाल प्रवेश गरेका थिए। गोलु कुमारको आधारगार्डबाट नेपाली सिमकार्ड निकालेर वाट्सएप प्रयोग गरेको पाइएको छ । जेठ ३० गते राति १० बजे चितवन पुगेका थिए । चितवनमा काम गर्ने सुजितकुमारका साथीले गुल्मैली होटलमा दुई दिन बस्नको लागि व्यवस्थापन गरिदिएका थिए ।  असार १ गते ती बालकलाई सुजितकुमारले इन्स्टाग्राममा सम्पर्क गरी सिद्धार्थ स्कुलको पछाडि बोलाई ४ जनाले गाडीमा चढाएका थिए। त्यसपछि आफू बसिरहेको होटलमा लगेका थिए । त्यहाँ दुई घण्टा राखेर फकाएका थिए । बालकलाई गाडीमा चढाएर धारिलो हतियार देखाउँदै कुटपिट गर्दै हल्ला गरेमा ज्यान मार्ने धम्की दिएर काठमाडौँ ल्याएका कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए । असार १ गते राति ११ बजे कलंकी आएका थिए। उनीहरू राति १ बजे बिक्की पटेलले व्यवस्थापन गरेको नयाँ बसपार्कको होटल फ्यामिलीको कोठा नं २०३ मा बसेका थिए ।  असार २ गते बिहान बालकका बुबालाई वाट्सएपमा कल गरेर २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन अन्यथा छोराको ज्यान लिन्छौं भन्दै फिरौती माग गरेको एसपी कार्कीले बताए ।  अपहरणकारीले फोन गरेपछि मात्रै बाबुले आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। उनले प्रहरीलाई फोन गर्नु पहिले एक व्यक्तिले ती अपहरणमा परेका बालकका बाबुलाई सोधेका थिए । अपहरणमा परेका बालकले कागजको टुक्रामा आफू अपहरणमा परेको भन्दै आफ्नो र बाबुको नाम, सम्पर्क नम्बर र प्रहरीलाई खबर गरिदिन भनेर लेखेका थिए। त्यो टुक्रा उनले होटल बाहिर फालिदिएका थिए ।  त्यो कागजात फेला पारेका व्यक्तिले उनका बाबुलाई फोन गरेका थिए। त्यसपछि प्रहरी पुगेर त्यस आसपास खोजि गर्दा बालक उक्त होटलमा बन्धक बनाइएको अवस्थामा फेला परेका थिए । पक्राउ परेका पाँच जनालाई अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको पनि एसपी कार्कीले बताए ।