विकासन्युज

बन्दीपुर अस्पतालमा बिरामी बढे, स्वास्थ्य बिमा कार्डले २०० मै केवलकारमा आवतजावत गर्ने सुविधा

तनहुँ । यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ ।  हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिए । उनले भने, 'यसअघि दिनमा ३५/४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।' बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ । 'अस्पतालमा चौबिसै घण्टा सेवा दिन आएको छौँ,' उनले भने, 'वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।'  उपचारमा आउने बिरामीलाई टिकट निःशुल्क गरिएको छ । बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आँबुखैरेनी र गोरखा पालुङ्गटारबाट समेत यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् ।  स्वास्थ्य बिमा कार्ड र अस्पतालको टिकट कार्ड देखाएमा बन्दीपुर केवलकारले २०० रुपैयाँमा आवतजावत गर्ने सुविधा दिएपछि गोरखा पालुङ्गटारबाट आउने बिरामी सङ्ख्या बढ्न थालेका छन् ।   

न्युयोर्कमा ट्रम्पको आप्रवासन नीतिविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्युयोर्क सहरको सडकमा उत्रिएका छन् । आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) द्वारा शृङ्खलाबद्ध छापापछि देशभरि विरोध प्रदर्शन भड्किएको छ । 'घृणा छैन, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ', प्रदर्शनकारीहरू सुरुमा फोली स्क्वायरमा भेला भएका थिए । एउटा अदालत अगाडिको फोली स्क्वायरमा धेरै आप्रवासीलाई शुक्रबार कानून प्रवर्तनद्वारा हिरासतमा राखिएको थियो । प्रदर्शनकारीहरूले तल्लो म्यानह्याटनमा मार्च गरे । धेरैजसोले ‘आइसिई, न्युयोर्कबाट बाहिर’ भनिएका साइनबोर्डहरू बोकेका थिए । यो सङ्घीय अध्यागमन प्रहरीको सन्दर्भमा थियो जसको कागजपत्र नभएका अप्रवासीहरूलाई पक्राउ गर्ने छापामारी हालका हप्तहरूमा बढेको छ । 'जोसँग यस समयमा यहाँ आउन आवाज छैन, विशेष गरी मेरी आमाका लागि खडा हुन म यहाँ छु', विरोध प्रदर्शनमा सहभागी एक महिलाले भनिन् । उनले आफ्नी मेक्सिकाली आमाको कागजातविहीन आप्रवासन स्थितिलाई ध्यानमा राख्दै नाम नछाप्न अनुरोध गरिन् । 'इमानदारीका साथ भन्नुपर्दा अप्रवासीहरू नभएको भए यो देश जे छ त्यो हुन सक्दैनथ्यो । त्यसैले म तिनीहरूका लागि यहाँ छु', उनले भनिन् । मेक्सिकाली मूलकी २३ वर्षीया अमेरिकी महिला ज्याकलिन नामकी अर्की प्रदर्शनकारीले भनिन्, 'म मेरो परिवारको रक्षा गर्न यहाँ छु... म अहिले तिनीहरूका लागि डराउँछु र म त्यस्तो समाजमा बाँच्न चाहन्न जहाँ म मेरो परिवारको स्वास्थ्यका लागि डराउनुपर्छ ।' न्युयोर्कमा भएको मार्च लस एन्जलसमा भएको प्रदर्शनभन्दा शान्तिपूर्ण थियो । लस एन्जलसमा प्रदर्शनकारी र प्रहरीबीच चलिरहेको प्रदर्शनले ट्रम्पलाई हजारौँ राष्ट्रिय गार्ड सेना र सात सय सक्रिय सेवामा रहेका समुद्री सैनिकहरू खटाउन बाध्य पारेको छ । 'लस एन्जलसमा भएका विरोध प्रदर्शनहरू अस्वीकार्य छन् र हाम्रो सहरमा प्रयास गरेमा असह्य हुनेछ', न्युयोर्कका मेयर एरिक एडम्सले मङ्गलबार भने , 'न्युयोर्क प्रहरी विभाग कुनै पनि समस्याहरू समाधान गर्न तयार छ, विशेष गरी जब हामी हाम्रो समाजमा गहिरो विभाजनको सामना गरिरहेका छौँ ।' एडम्सले लस एन्जलसका आफ्ना समकक्षीको विपरीत न्युयोर्कमा मङ्गलबार रातिको कर्फ्यू लागू गरेनन् । रासस

कुमारी बैंकका ग्राहकलाई भेइकल एकेडेमीका ड्राइभिङ कोर्समा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर  (गुर्जुधारा ट्रायल सेन्टर) बीच सेवा सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले गुर्जुधारास्थित भेइकल एकेडेमीमा उपलब्ध सबै ड्राइभिङ कोर्सहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यातायात व्यवस्था कार्यालय, ठूलोभर्याङ्गले सवारी चालक अनुमतिपत्रको लागि सञ्चालन गर्दै आएको प्रयोगात्मक परीक्षा यही केन्द्रमार्फत सञ्चालन हुँदै आएको छ । कुमारी बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको छ । जसअन्तर्गत यो सहकार्य पनि एक महत्वपूर्ण कदमको रूपमा रहेको बैंकले जनाएको छ ।

सेयर बजारमा ९ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६६४ बिन्दुमा झरेको छ ।  आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३०७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ५९ करोड, बुटवल पावर कम्पनीको ५८ करोड, युनिभर्सल पावर कम्पनीको ४७ करोड र चिलिमे हाइड्रोपावरको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, पीयोर इनर्जी र सीइनर्जी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

महालक्ष्मी नगरपालिका र शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन

काठमाडौं । नेपाल सरकारले दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीमा रहेकोमा अब परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थानमा हुने भएको छ । दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुने भएको छ ।  स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपर्ने भएमा संघीय सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यही अनुसार मन्त्रिपरिषद्को निर्णयले दुई पालिकालाई केन्द्र परिवर्तन गर्ने अनुमति दिएको हो । 

सिटिजन्स बैंकले विश्व वातावरण दिवसमा गर्‍यो लुम्बिनी र कर्णालीमा वृक्षारोपण

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लास्टिक’ भन्ने नारालाई आत्मसात गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले, बैंकले बुधबार लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकास्थित वनबाटिकामा र कर्णाली प्रदेशको बिरेन्द्रनगरस्थित भाइराम सामुदायिक वनमा वृक्षारोपण गरेको हो । कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशमा करिब १०५ वटा विभिन्न प्रजातिका विरुवा तथा कर्णाली प्रदेशमा १०० भन्दा बढी विरुवा रोपिएका छन् । सिटिजन्स बैंकले यसअघि पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरहरूमा सहयोगजस्ता कार्य गर्दै आएको छ ।

नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत

काठमाडौं । सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।  जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको बताएका हुन् ।  उनका अनुसार सरकारले निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।  नेपाली सेनाका एकजना महासेनानीको सरुवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।  प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ ।  यस्ता छन् सरकारका निर्णयहरू  : २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने मिनी वर्ल्ड एक्स्पो २०२५ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने  २०८२ असार १० गतेदेखि १२ गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने   २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने  निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने  प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने शान्तिनगर गाउँपालिका, दाङको केन्द्र वडा नं. ४ चिराघाटबाट परिवर्तन गरी वडा नं. ४ जुम्लेकुला कायम गर्ने  महालक्ष्मी नगरपालिका, ललितपुरको केन्द्र वडा नं. ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं. ८ लुभु देवीस्थान कायम गर्ने  नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने  कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने  नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने   

मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन, सभापतिमा डा. किशोर देव

जनकपुर ।  प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा. किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा. संयुक्त आचार्यले जानकारी दिए । अधिवेशनबाट प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समितिको उपसभापतिमा डा. अश्विनी कुमार झा, महामन्त्रीमा डा. विपिनकुमार यादव, सहमहामन्त्रीमा डा. राजेश शाह, डा. सितेश गोइत, डा. सञ्जय कुमार सिंह, डा. अमित कुमार यादव, डा. मिशा महासेठ र डा. सन्तोष साह चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा डा. भावना रौनियार, सहकोषाध्यक्षमा डा. राजेश साह र डा. पर्शुराम चौधरी चयन भएका छन् ।  जिल्ला संयोजकहरुमा डा. मनोज यादव (बारा), डा कुश राज गिरी (पर्सा), डा. मनोज कौशल (रौतहट), डा. विजय कापर (सर्लाही), डा. अनिल ठाकुर (महोत्तरी), डा. राजेश साह (धनुषा), डा. तेज शंकर यादव (सिरहा) र डा. अनिल कुमार यादव (सप्तरी) संयोजकका रुपमा चयन भएका छन्। यस्तै, धनुषाको सचिवमा डा. विवश गोइत, सिरहा सचिवमा डा. महेश्वर चौधरी, सर्लाही सचिवमा डा. अभिशेक राज र सप्तरी सचिवमा डा. अभिशेक अमर सर्वसम्मत चयन भएको डा. आचार्यले जानकारी दिए । मधेश प्रदेश कार्यकारिणी समितिको अधिवेशनमा कांग्रेस सभापति देउवासहित पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, कांग्रेस सह महामन्त्री महेन्द्र यादव, कांग्रेस नेता आनन्द ढुंगाना, प्रदेश सभापति कृष्ण यादव एवं प्रजातन्त्रवादी चिकित्सक संघका पूर्व पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष डा. विक्रान्त ढकालले स्वागत मन्तव्य राखेका थिए। 'नेपाली कांग्रेसको उर्वराशक्ति भएको मधेश प्रदेशमा गठित यस कार्यकारिणी समितिले प्रजातन्त्रवादी चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिसँग समन्वय गरी मधेश कार्यकारिणी समितिलाई मधेश प्रदेशमा आबद्ध सम्पूर्ण जिल्लाहरूमा संघले निर्धारण गरेका सम्पूर्ण गतिविधिहरूलाई सक्रिय रूपमा अगाडी बढाउँदै संघलाई थप सक्रिय र जुझारू बनाउने प्रतिबद्धता जाहेर गरिएको व्यहोरा अवगत गराउँदछु,' अधिवेशनपछि संघका महासचिव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। यसैगरी, संघले मधेशका प्रमुख स्वास्थ्य समस्याहरू (कुपोषण, मातृ,शिशु मृत्यु दर, र संक्रामक रोग) नियन्त्रणमा विशेष ध्यान दिने योजना बनाएको छ । नयाँ कार्यकारिणीले प्रदेश सरकारसंग समन्वय गरी स्वास्थ्य नीति निर्माणमा सक्रिय भूमिका खेल्ने पनि बताएको छ ।