मन्त्री पौडेलको सक्रियताप्रति न्यूयोर्कमा सकारात्मक प्रतिक्रिया, थप सहकार्यको अपेक्षा
काठमाडौं । अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरु आशावादी रहेको बताए । दुवै कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकमा प्रत्यक्ष देखिने र महसुस गरिने गरी मन्त्री पौडेलले काम गरिरहेको भन्दै डायस्पोराको तर्फबाट ऐक्यबद्धता रहेको बताए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सकारात्मक प्रयास भैरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए । वरिष्ठ चिकित्सक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा सुधार अघि बढिरहेको भन्दै कार्यान्वयन प्रभावकारी बनाउन सकिए स्वास्थ्य बीमा सुधार, अस्पताल सुधार आदि प्रभावकारी हुने बताए । मन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य सुधारमा डायस्पोरा र खासगरी अमेरिकी नेपाली समुदायबाट विशेष साथको अपेक्षा गरेको बताए । संयुक्त राष्ट्रसंघको जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री पौडेलले आसन्न बजेटका सन्दर्भमा सुझावका लागि नेपाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा समेत सहभागीता जनाए । साथै, माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीसँग भेटवार्ता गरेर नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पीजी अध्ययन गराउनका आवश्यक तयारी भैरहेको भन्दै छिट्टै सम्झौता अघि बढ्ने विश्वास गरेका थिए । मन्त्री पौडेलले आयोगको सत्रमा सम्बोधन गर्दै नेपालले मातृ शिशु स्वास्थ्यमा सुधार तथा मृत्युदरमा तीन दशकमा उल्लेखनीय सुधार गरेको भन्दै थप प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्यका लागि आग्रह गरेका थिए ।
घर किन्दै हुनुहुन्छ ? महालक्ष्मी विकास बैंकले ल्यायो ७.९९ प्रतिशतमा घर कर्जा
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकहरूका लागि आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिदका लागि ७.९९ प्रतिशत मात्र ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ योजना ल्याएको हो । बैंकले यस कर्जालाई वातावरणमैत्री घर निर्माणलाई प्राथमिकता दिँदै, नवीकरणीय तथा दिगो स्रोतहरूको प्रयोग हुने घरहरूमा कर्जा प्रवाह गर्ने जनाएको छ । यसले वातावरण संरक्षण, दिगो विकासको प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशिका पालना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन बिजनेस कनेक्ट बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेको बैंकले आफ्नो मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ लाई परिष्कृत गर्दै थप स्मार्ट सेवा प्रदान गरिरहेको छ ।
अब चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ’ उनले भने । चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ । चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे । यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे । साथै उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए । कोषका सदस्य सचिव डा नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उदेश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताए । उनले सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराए । कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललिपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खडका र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संबर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले गरे त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालको राजीनामा प्रधानमन्त्री तथा त्रिविको कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकुलपति बरालले चैत १५ गते आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका थिए । जुन बिहीबार स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएलगत्तै प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई समन्वय गर्न अनुरोध पनि गरेका छन् ।
नेपाल माइक्रो र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५ अंकले घटेर २६७० बिन्दुमा झरेको छ । आज ११३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बिहीबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको ३० करोड, सीइडीबी होल्डीङसको २९ करोड र न्यादी गुप्रको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशतले घटेकाे छ । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशतले बढेकाे छ ।
वैदेशिक सहायता घट्दै गयो र अझै घट्ने सम्भावना छ : मन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू संकुचित हुँदै गएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको बताइन् । मन्त्री राणाले भनिन्, 'वैदेशिक सहायताको स्थीति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’ उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्याएकोमा उनले सराहना गरिन् । मन्त्री राणाले सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् । अधिकतम विकास,विकासील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको उनले बताइन् । उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध रहेको समेत दावी गरिन् । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन् ।
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र मेयर बालेन शाहका स्वकीय सचिवमाथि कारबाही गर्न विभिन्न पेशागत संगठनहरूले माग गरेका छन् । उनीहरूले चैत २१ गते घटेको अनुशासनहीन, गैरकानुनी र अमर्यादित घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् । स्थानीय तहमा क्रियाशील कर्मचारी युनियन, संघ, परिषद् तथा मजदुर संगठनहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् । ज्ञापनपत्रमा प्रमुख पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न आग्रह गरिएको छ । त्यस्तै, बालेन शाहका स्वकीय सचिवमाथि सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूमाथि लाञ्छना लगाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ । 'प्रशासनिक प्रमुखलाई कार्य सम्पादनमा बाधा पुर्याउने, धरपकड गर्न खोज्ने र अपत्तिजनक व्यवहार देखाउने कार्य अस्वीकार्य छ। यसले प्रशासनिक प्रणाली र कर्मचारीको सम्मानमा आँच पुर्याएको छ,' ज्ञापनपत्रमा भनिएको छ । तीन महिनाभन्दा बढी समयदेखि प्रशासनिक नेतृत्व अभावका कारण महानगरको कार्यसम्पादन प्रभावित भएको भन्दै उनीहरूले कानुनी ढंगले नियुक्त भएको प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने प्रयासलाई गैरकानुनी ठहर गरेका छन् ।
हामी सबै मिलेर हाम्रो देश हामी आफैले बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै त्यस दिशामा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने दृढ संकल्प देखिएकोमा खुसी व्यक्त गरे । उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वाससाथ अघि बढेकाले सरकार पनि सघाउन तयार रहेको स्पष्ट पारे । उनले भने, 'सरकार र निजी क्षेत्रबीचको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश आफैँ बनाउनु पर्छ। तीव्र गतिमा विकास गर्नुपर्छ । स्वदेशी वस्तुको प्रयोगमा गर्व गर्न सिक्नुपर्छ ।' प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सरकारलाई प्रेरित गर्न आग्रह गर्दै आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए । 'यो सरकार स्थायित्व, सुशासन र विकासका लागि आएको हो । अहिले गतिशील स्थायित्व कायम छ, सरकारको विश्वसनीयता छ,' उनले भने, 'सरकारका नीतिहरु छिनछिनमा परिवर्तन भई नकारात्मक असर पर्ने परिपाटीको अन्त्य गर्नकै लागि यो सरकार बनेको हो ।' प्रधानमन्त्रीले अहिलेको सरकारले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्रियाशील रहेको जनाए । साथै, निजी क्षेत्रबाट प्राप्त सुझावका आधारमा नीति तथा कानुन निर्माण भइरहेको पनि उनले स्पष्ट पारे । उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनीहरू र महासङ्घका उत्कृष्ट प्रदेश तथा जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो ।