भूराजनीतिका कारण अर्थतन्त्र दबाबमै छ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोभिड १९ र भूराजनीतिका कारण अर्थतन्त्रमा दबाबको सिर्जना भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा उद्योग दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै उनले ती चुनौतीलाई समाना गर्दै अर्थतन्त्रलाई लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न सरकार दृढ संकल्पित रहेको बताएका हुन् । उनले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै स्वदेशी उत्पानलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवद्धन गर्ने सरकारको नीति नै रहेको बताए । लगानीमैत्री वातारण सिर्जनाका लागि सरकारले कानूनहरु संशोधन गरेको उनको भनाई छ । उद्योगमन्त्री भण्डारीले भने,’उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा विभिन्न प्रयासहरू थालेका छौं । महासंघको प्रयासमा लगानी सम्मेलनको बेला विभिन्न ८ ओटा कानूनहरू परिमार्जन गरी कार्यविधि र नियमावली समेत बनाइएको छ । केही समय अघि २९ ओटा कानुनहरू संशोधन गरेर लगानी आकर्षण गर्ने सहज वातावरण बनाएको छ ।’ मन्त्री भण्डारीले दुई पक्षीय लगानी सम्झौताको विषय उद्योग वाणिज्य महासंघले उठाउँदै आएकोमा त्यस्तो सम्झौताको खाका मन्त्रिपरिषद्ले पारित समेत गरेको मन्त्री भण्डारीले सो अवसरमा बताए ।
पूर्वराजा लक्षित गगनको प्रश्न : निर्मल निवासमा बसेर यस्तो छ, नारायणहिटीमा भएको भए के गर्थे ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले शाहलाई जति धोएर सफा गरे पनि संवैधानिक राजा बन्न अयोग्य रहेको बताए । उनका अनुसार नेपाली कांग्रेसले लामो संघर्ष र अनुभवका आधारमा अब संवैधानिक राजाको परिकल्पना असम्भव भएको निष्कर्षमा पुगेको हो । महामन्त्री थापाले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै भने, 'निर्मल निवासमै बसेर यस्तो उत्पात भयो, नारायणहिटीमा भएको भए के गर्थे होला ?' उजले पूर्वराजाले व्यवसायी दुर्गा प्रसाईँ र पूर्वपञ्च नवराज सुवेदीलाई बोलाएर ‘उत्पात मच्चाएको’ आरोप पनि लगाए । उनले भने, 'दुर्गा प्रसाईँलाई कहाँबाट खोजेर ल्याइयो, नवराज सुवेदी जसले केही समयअघि मात्रै किताब लेखेर राजालाई गाली गरेका थिए, उनीहरूलाई पनि बोलाएर अहिले राजतन्त्रको नाममा उत्पात मच्चाइएको छ ।' महामन्त्री थापाले जनताले छानेका प्रतिनिधिहरूले नै देश चलाउने कुरामा जोड दिए । उनले जननिर्वाचित प्रतिनिधि नै देश चलाउन सक्षम रहेको दाबी गरे । फरक प्रसङ्गमा बोल्दै उनले पार्टीको महाधिवेशन २०८३ सालको मंसिरभित्र सम्पन्न हुने प्रष्ट पारे । साथै, यस विषयमा कोही पनि अलमलमा नपर्न आग्रह गरे । उनका अनुसार, हालको पार्टी संरचनामा नेता बलियो तर कार्यकर्ता कमजोर जस्ता समस्या देखिएको छ, जसले असन्तुष्टि जन्माएको छ । त्यसैले संगठन निर्माणमा सबै कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए । सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले राजनीतिक संयन्त्रको सुझाव सरकारले बेवास्ता गरेको आरोप पनि लगाए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताए । उनले थपे, 'सरकारले गर्ने काम सरकारले नै गर्नुपर्छ, संयन्त्रले होइन । यदि सबै काम संयन्त्रले गर्नुपर्छ भन्ने सोच आयो भने त्यो लोकतान्त्रिक शासन प्रणाली हुँदैन । प्रधानमन्त्रीको काम प्रधानमन्त्रीले, मन्त्रीको काम मन्त्रीले गर्नुपर्छ ।' महामन्त्री थापाले एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले अपेक्षित उपलब्धि दिन नसकेको कारण आफू सधैं प्रश्न गरिरहने बताए ।
आर्थिक अवस्था सुधारोन्मुख छ तर युवाको चाहना पूरा गर्न पर्याप्त छैन : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै उनले सो धारणा राखेका हुन् । उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । उनले भने , ’अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । यसलाई सबैभन्दा माथि राख्नु पर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।’ विगतमा सरकारले चाहिने भन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे । प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने तर्फ सरकार र निजी क्षेत्र लाग्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । 'म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरूको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने । पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए । विश्वव्यापी रूपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरूको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए । देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताए। पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिए । सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाण पत्रलाई पूर्ण अनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताए । यद्यपि देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको, ८० प्रतिशतभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै उनले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको विषयमा सरकारको ध्यानाकर्षण गराए । ’हामीले सुरक्षाको विषय उठाएका हौ । सम्मानको विषय उठाएका हौं । मर्यादाक्रमको विषय उठाएका हौं । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सद्भाव चाहिएको हो,’उनले भने ।
दिपलको नयाँ सोरुम चितवनमा, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज
चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरूको बिक्रीवितरणलाई औपचारिक रुपमा सुरु गरेको छ । बुधबार आयोजना भएको कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस ०७ एल र दिपल ई ०७ लाई सार्वजनिक गरेका हुन् । दिपल इभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चित्तवनमा चांगानको सफलताको कामना गरे । साथै उनले चांगान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ वटा भन्दा दिपल बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए । उनले दिपलको विक्री र बिक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चित्तवनका लागि राजहंग अटोमोबाइल जोडिएकोमा धन्यवाद पनि प्रकट गरे । दिपलको नयाँ सोरुम चितवनमा एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चित्तवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको छ । चितवनमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चितवनका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभी खरिद गर्न सक्नेछन् । यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनेछन् । साथै, दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनेछन् । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ ।
ट्रम्पको कृपाले मस्कले तोडे कमाइको रेकर्ड, शीर्ष १० धनीले कमाए १४० अर्ब डलर
काठमाडौं । अमेरिकी सेयर बजारमा बुधबार उच्च वृद्धि देखिएको छ । यसले प्रविधि कम्पनीहरूको सेयर रहने नासडक सूचकांकलाई १२.१६ प्रतिशतले बढायो । यो वृद्धिले अमेरिकी धनीहरूको सम्पत्तिमा पनि वृद्धि ल्याएको छ । शीर्ष १० धनीको नेट वर्थमा करिब १४० अर्ब डलरको वृद्धि भएको छ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा २२.६९ प्रतिशतले उछाल आएको छ । यसबाट कम्पनीका सीईओ र संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा ३५.९ अर्ब डलरको वृद्धि भएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्स अनुसार मस्कको नेट वर्थ अहिले ३२६ अर्ब डलर पुगेको छ । यद्यपि यस वर्ष उनको सम्पत्तिमा १०७ अर्बको गिरावट आएको थियो । अमेजनको सेयर मूल्य ११.९८ प्रतिशतले बढेपछि कम्पनीका सह–संस्थापक जेफ बेजोसको नेटवर्थमा १८.५ अर्बको वृद्धि भएको छ। अब उनको नेटवर्थ २१० अर्ब पुगेको छ । संसारका धनीहरुको सूचीमा तेस्रो स्थानमा रहेका फेसबुकका मार्क जकरबर्गको नेटवर्थमा २५.८ अर्बको वृद्धि भएको छ । यस वृद्धिपछि उनको नेटवर्थ २०७ अर्ब पुगेको छ । वारेन बफेटको नेटवर्थमा ८.१२ अर्ब, ल्यारी एलिसनको १५.५ अर्ब, बिल गेट्सको ४.८१ अर्ब, ल्यारी पेजको ११.० अर्ब, स्टिभ बालमरको ११.२ अर्ब र सर्गेई ब्रिनको १०.२ अर्बको वृद्धि भएको छ । एआई चिप निर्माण गर्ने कम्पनी एनभिडियाको सेयर मूल्यमा १८.७२ प्रतिशतको वृद्धि भएपछि सीईओ जेन्सन हुआङको नेटवर्थमा १५.५ अर्बको वृद्धि भएको छ । माइकल डेलको नेटवर्थमा १० अर्ब र जिम, रब र एलिस वाल्टनको नेटवर्थमा ७ अर्बको वृद्धि भएको छ । यसैबीच, भारतीय सेयर बजारमा गिरावटका कारण मुकेश अम्बानी र गौतम अडानीको सम्पत्तिमा गिरावट आएको छ । अम्बानी ८४.१ अर्बको नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा १७औं स्थानमा छन् भने अडानी ६९.९ अर्ब नेटवर्थसहित २१औं स्थानमा छन् । यस वर्ष विश्वका शीर्ष २० धनीमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ । सबैभन्दा बढी कमाइ गर्ने वारेन बफेट हुन्, जसले २० अर्ब कमाएका छन् । अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै
वर्ष २०८१ : पूर्णबहादुर सारङ्गीको करिब ४७ करोड कमाइ, अरू चलचित्रले कति गरे ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ । यसका साथै यस वर्ष चार चलचित्रले १० करोडभन्दा बढीको व्यापार (ग्रस) घरेलु बजारमा गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन् । यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ । यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो । बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले रु १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ । उनले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए । दशैंपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ । उनले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताए । आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ । यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् । गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए । यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले रु चार करोड ७८ लाख र ‘लाज शरणम्’ले रु चार करोड ३४ लाखको व्यापार (ग्रस) गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ ।
बुटवल-नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
नेपाल र भारतबीच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
काठमाडौं । नेपाल र भारतका भन्सार अधिकारीहरू बीच काठमाडौंमा वार्ता सुरु भएको छ । बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर वार्ता सुरु भएको हो । वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गर्ने विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए । यसैगरी, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका अन्य विषयमा पनि छलफल हुने जनाइएको छ । छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ । चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका छन् । नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। यसै गरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरू लगायतका अधिकारीहरूको सहभागिता रहेको छ ।