टोयोटामा हलचल ! ३३ अर्बको प्रश्न सामना गर्दै अध्यक्ष टोयोडा
काठमाडौं । टोयोटा मोटरका अध्यक्ष अकीयो टोयोडालाई आगामी बिहीबार जापानी अटोमोबाइल कम्पनीको वार्षिक सेयरधनी बैठकमा एक महत्त्वपूर्ण आपूर्तिकर्तालाई निजीकरण गर्ने ३३ अर्ब डलरको डिलबारे प्रश्नहरू सामना गर्नुपर्ने सम्भावना देखिएको छ । यो वर्षको बैठक बिहीबार बिहान १० बजे सुरु हुँदैछ र यो तीन वर्षमा पहिलो पटक हो जब टोयोडाविरुद्ध कुनै सेयरधनी सल्लाहकार संस्था उभिएको छैन । तर पनि टोयोटाका संस्थापकका नाति टोयोडाले कम्पनीको सुशासनबारे केही कठिन प्रश्नहरू सामना गर्नुपर्ने देखिएको छ- यदि आपूर्तिकर्ता कम्पनी टोयोटा इन्डस्ट्रीजको यस हप्ता भएको बैठकलाई आधार मान्ने हो भने । मंगलबार भएको टोयोटा इन्डस्ट्रीजको बैठकमा सेयरधनीहरूले ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) को निजीकरण प्रस्तावलाई अल्पसंख्यक सेयरधनीहरूप्रति अनुचित भन्दै असहमति जनाएका थिए । विश्वकै सबैभन्दा बढी बिक्री हुने अटोमोबाइल कम्पनी टोयोटा मोटरले यस आपूर्तिकर्तालाई एक जटिल चरणबद्ध सम्झौतामार्फत निजी बनाउने योजना बनाएको छ, जसअन्तर्गत प्रति सेयर १६ हजार ३०० येनको प्रस्ताव गरिएको छ । यो मूल्य टोयोटा मोटरका सेयरधनीहरूका लागि आकर्षक हुन सक्दछ, तर लन्डनस्थित जेनर एसेट म्यानेजमेन्टलगायत आलोचकहरूले उक्त प्रस्तावमा विशेषगरी अल्पसंख्यक सेयरधनीहरूको व्यवहारबारे चिन्ता व्यक्त गरेका छन् । 'यो निर्णय अल्पसंख्यक सेयरधनीहरूलाई बेवास्ता गरेर गरिएको होइन, बरु सबै पक्षलाई ध्यानमा राखेर गरिएको हो,' टोयोटा इन्डस्ट्रीजका अध्यक्ष कोइची इतोले मंगलबारको बैठकमा भने । यो सम्झौताअनुसार एउटा नयाँ होल्डिङ कम्पनी स्थापना गरिनेछ । सूचीकृत नभएको रियल इस्टेट कम्पनी टोयोटा फुडोसानले १८० अर्ब येन लगानी गर्नेछ भने टोयोडाले १ अर्ब येन लगानी गर्नेछन् । टोयोटा मोटरले भने ७०० अर्ब येनको गैर-मताधिकारयुक्त प्रिफर्ड सेयरमा लगानी गर्नेछ । मंगलबारको बैठक करिब दुई घण्टा बसेको थियो जुन टोयोटा इन्डस्ट्रीजको इतिहासमै सबैभन्दा लामो बैठक हो । कम्पनीका अनुसार कार्यकारीहरूले लगभग दुई दर्जन प्रश्नहरू उठाएका थिए जुन हालसम्मकै धेरै हो । हङकङस्थित ओएसिस म्यानेजमेन्टले मूल्य अझ बढाउन दबाब दिने बताएको छ ।उसले टोयोटा मोटर र टोयोटा इन्डस्ट्रीज दुवैमा सेयर राखेको छ । टोयोटाले भनेको छ कि यो अधिग्रहणले टोयोटा इन्डस्ट्रीजलाई समूहका अन्य कम्पनीहरूसँग सहकार्य अझ सशक्त बनाउन मद्दत गर्नेछ । किनभने टोयोटा आफैलाई अब 'मोबिलिटी कम्पनी'का रूपमा रूपान्तरण गर्दैछ । यस वर्ष प्रख्यात सल्लाहकार संस्थाहरू ग्लास लुइस र इन्स्टिच्युसनल सेयरधनी सर्भिसेस (आईएसएस) दुवैले टोयोडालाई पुनःनिर्वाचन गर्न सिफारिस गरेका छन् । ग्लास लुइसले विगत दुई वर्ष र आईएसएसले गत वर्ष टोयोडाविरुद्ध सिफारिस गरेका थिए । टोयोडाको पदविको समीक्षामा सुशासनसम्बन्धी व्यापक चिन्ताहरू उठाइएको थियो । तर यसपालिको सिफारिस परिवर्तनको कारण यी सल्लाहकारहरूले स्पष्ट रूपमा भनेका छैनन् । टोयोडाप्रतिको सेयरधनी समर्थन पछिल्ला वर्षहरूमा घट्दै आएको छ । उनी २०२४ मा ७२ प्रतिशत मत समर्थनका साथ बोर्डमा पुनःनिर्वाचित भए- जुन टोयोटाको निर्देशकका रूपमा हालसम्मकै न्यून समर्थन भएको उनले स्वयम् भनेका थिए । अघिल्ला दुई वर्षमा यो समर्थन दर क्रमशः ८५ प्रतिशत र ९६ प्रतिशत थियो । टोयोडाले २०२४ को जुलाईमा आफ्नै समाचार मिडियासँगको अन्तर्वार्तामा भनेका थिए, 'यदि सेयरधनीहरूको समर्थन अझै घटिरहने हो भने मेरो बोर्डको सिट पनि जोखिममा पर्न सक्छ । बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार
सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा १६ सयले बढ्यो
काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छभने चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रातो बंगलाले सवा एक अर्ब लगानीमा बिल्डिङ बनाउँदै, आम्दानी निरन्तर बढ्दै
काठमाडौं । सन् १९९२ बाट सञ्चालनमा आएको रातो बंगला स्कुल पछिल्लो समय निरन्तर आम्दानी बढाउँदै गएको छ । ललितपुरको पाटन ढोकामा अवस्थित रातो बंगलाको सुरुवात १६ जना विद्यार्थीबाट सुरू भएको हो । सुरुवातमा कक्षा तीन र चारबाट पढाउन सुरु गरिएको यो स्कुलमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ । स्कुलको सञ्चालन आम्दानी बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष (सन् २०२४) मा रातो बंगलाले ६७ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ मा ५५ करोड ९० लाख, सन् २०२२ मा ४१ करोड ३० लाख, २०२१ मा २८ करोड ४० लाख र २०२० मा ३६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । स्कुलको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । पछिल्लो पाँच वर्षमा स्कुलको आम्दानी ८४ प्रतिशत बढेको छ । रातो बंगलाकी अध्यक्ष शान्ता दिक्षितले सुरुमा आफ्नो घरको कोठाबाट विद्यालय सञ्चालन गरेकी थिइन । १६ जना बच्चा पढाएर सुरू गरेको विद्यालयका अहिले करिब १ हजार ५० जना विद्यार्थी छन् । स्कुलले सन् २००४ देखि क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनको ‘ए’ लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘ए’ लेभल कक्षाका लागि नयाँ भवन निर्माण थालेको स्कुलले जानकारी दिएको छ । सो भवनका लागि एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ । त्यसका लागि स्कुलले ६७ प्रतिशत बैंकको ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी (इक्विटी) हुने लगानी लगानी संरचना तयार पारेको छ । स्कुलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । सम्बन्धित सामग्री : घरको कोठा र १६ विद्यार्थीबाट सुरु भएको रातो बंगाला : सबैको रोजाइ, देशकै महँगो
‘डाइभर्सन’ बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताए । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ ।
इन्जिनियरहरूका लागि सुविधा : इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित गरिएको यो सम्झौतामा दुवै संस्थाका तर्फबाट उच्च अधिकारीहरूले हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गर्दै सेवाको सुरुआत गरेका हुन् । सम्झौता अनुसार एसोसिएसनका सबै सदस्यहरूले बैंकको २७५ शाखा र वेबसाइटमार्फत 'प्रोफेशनल बचत खाता' खोल्न पाउनेछन् । जसमा १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ । साथै, सदस्यहरूले व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
बजेट अभावमा विद्यालय भवन अधुरो, गर्मीमा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य
राँझा । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए । 'कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन', अध्यक्ष रेग्मीले भने, 'भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।' कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् । तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नंं ९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।
भारतबाट आयात हुँदा किसानले पाएनन् धानको उचित मूल्य, किसान भए निराश
त्रिवेणी । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र दुई हजार २०० रुपैयाँ मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष तीन हजार रुपैयाँभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए । बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन् । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए । गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० रुपैयाँ प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ । सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।
४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए । मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।