२ रुपैयाँ बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पर्नेछ ।
कोशी, मधेस, बागमतीमा भारी वर्षा हुने, आज राति देशभर कस्तो छ मौसम ?
काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट
काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आइतबार बजेट सार्वजनिक गरेका हुन् । उनले चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत बजेट विनियोजन गरेका हुन् । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत अनुमान गरिएको छ ।
गण्डकी प्रदेशले पनि ईभीमा कर लगाउने, यात्रु वाहक गाडीकाे करमा ६० प्रतिशत छुट
काठमाडौं । गण्डकी प्रदेश सरकारले अब विद्युतीय सवारी साधनमा पनि कर लगाउने घोषणा गरेको छ । आइतबार प्रदेशसभा बैठकमा अर्थमन्त्री डा. टकराज गुरुङले बजेट सार्वजनिक गर्दै निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनको पञ्जिकरण तथा नवीकरणको दर निर्धारण गरी कर संकलनको आधार निर्माण गर्ने घोषणा गरेको हो । यस्तै, भाडामा सञ्चालन हुने बस, मिनि बस तथा माइक्रोबासले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भाडामा छुट सहुलियत दिए बापत त्यस्ता सवारी साधनका धनीलाई सवारी साधन करमा ६० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिएको बजेटमा उल्लेख छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत र पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले आगामी आवको बजेट चालु आवको तुलनामा ३ प्रतिशत बढी ल्याएको छ । आर्थिक बर्ष २०८१÷०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको थियो ।
पोखरामा यामाहा ब्लू फेस्ट सुरु
काठमाडौं । 'यामाहा ब्लू फेस्ट' आइतबार पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ । असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइने यामाहा नेपालले जनाएको छ । ६ गतेसम्म चल्ने कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ । फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने यामाहा नेपालले जनाएको छ । फेस्टमा यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजारसम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष ०८२/८३को सडक कर भुक्तान र गारण्टरबिना सहज फाइनान्सिङ सुविधा रहेको छ । यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ । ७१.३३ किमी प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२५ एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यामाहा आर वन फिफ्टिन भी ४ सम्म यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ । एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो ।
मोरङमा ‘स्वास्थ्य जीवनशैली रूपान्तरण’ कार्यक्रम सम्पन्न
विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘स्वास्थ्य जीवनशैली रुपान्तरण’ विषयक जानकारीमूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । समितिकी संयोजक श्रुति शर्माको अध्यक्षता तथा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य र पोषण सम्बन्धी विविध पक्षमा छलफल गरिएको थियो । सिनियर हेल्थ कोच अमोल चारडेले दैनिक जीवनशैलीमा हुने अस्वस्थ खानपानका कारण देखिने समस्या र तिनको समाधानका उपायहरूबारे विस्तृत रूपमा जानकारी दिएका थिए । उनले स्वास्थ्यकर खानाको छनोट र त्यसको नियमित अभ्यासबारे समेत सहभागीहरूलाई जानकारी दिए । कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा उद्यम समिति संयोजक, महिला उद्यम समितिका सदस्यहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि, राजनीतिज्ञ तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कोशी प्रदेशले ल्यायाे ३५ अर्ब ८७ करोडकाे बजेट
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरेको छ । आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो अनुमान प्रस्तुत गरेका हुन् । कुल विनियोजन बजेटमध्ये चालुतर्फ ५२ प्रतिशत अर्थात १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ ४७.७ अर्थात १७ अर्ब १० करोड विनियोजन गरेको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ सबैभन्दा कम ०.३ १० करोड विनियोजन गरेको छ ।
एनआइसी एशिया लघुवित्तले साढे ३ हजारलाई दियो वित्तीय साक्षरता
काठमाडौं । एनआइसी एशिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तले जेठ १७ गते देखि ३१ गतेसम्म देशभरी सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो । कार्यक्रम बाट कोशी प्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा ६९५ जना, कर्णाली प्रदेशका ८ शाखामा ४०० जना, र सुदुर पश्चिम प्रदेशका ८ शाखामा ६०५ जना गरी कूल ३ हजार ४४५ जना सदस्यहरु लाभान्वित भएका छन् । संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारी एवम् स्थानिय लब्धप्रतिष्ठित व्यक्तिहरुले वित्तीय ज्ञान प्रदान गरेका थिए । संस्थाले आफ्ना सदस्यहरुलाई बेला-बेलामा पशुपालन, लघु उद्यम, आधुनिक कृषि लगायतका विषयमा तालिमको पनि प्रबन्ध गर्दै आएको छ ।