नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छौं, साकार पार्न सरकार एक्लैले सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने उनले विश्वास व्यक्त गरे । ‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छाैं। यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो,’ उनले भने । प्रधानमन्त्री ओलीले सन्देशमा भने, ‘राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’ प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरू बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरूलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताए । सन्देशमा प्रधानमन्त्रीले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्र प्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’
गणतन्त्र थप बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति राम सहाय प्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । नयाँ वर्ष, २०८२ उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले शुभकामना सन्देशमा भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानुनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढ्न नयाँ वर्षले उप्रेरित गर्न सकोस् भन्ने कामनाका साथ नव वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दछु ।’ उपराष्ट्रपति यादवले मुलुकमा वर्षोंदेखि अक्षुण्ण रहेका विविधता र एकतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प र प्रण लिने अवसरका रुपमा उपयोग गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरे । नव वर्षको महत्व व्यक्तिगत स्तरमा मात्रै सीमित नभई यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्व उत्तिकै रहेको बताउँदै उहाँले जीवनमा नयाँ प्रेरणा प्रदान गर्दै आफ्ना वरपर सकारात्मकताको भाव फैलाउने अवसरका रुपमा आत्मसात गर्न आवश्यकता औंल्याए । ‘नव वर्षको स्वागत अत्यन्तै हर्षोल्लास र परम्परागत रुपमा गरिनुले हामीलाई आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित गर्दै पिंढीदर पिंढी हाम्रा रैथाने संस्कृति र परम्पराको रुपान्तरणमा पनि सघाउँदछ,’ उपराष्ट्रपति यादवले भने । यस अवसरमा लिइने संकल्पले जीवनमा अनुशासन र स्थिरता कायम राख्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले हरेक व्यक्तिले आफन्तजन, परिवारजन, शुभचिन्तक र इष्टमित्रको राम्रो स्वास्थ्य, दीर्घायु र सुखद् भविष्यको कामना गर्दै नव वर्षलाई उत्सवका रुपमा मनाइनुले परिवार र समुदायगत रुपमा अपनत्वभावलाई जीवन्त राख्दै एकीकृत समाजलाई अक्षुण्ण राख्न टेवा पुग्ने बताए । ‘यस अवसरमा हामीले नेपालको आर्थिक उन्नयन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा द्रुत प्रगतिका लागि एकजुट भई अघि बढ्ने प्रयासमा जुट्ने दृढ संकल्पित र प्रतिबद्ध हुन जरुरी छ, नैतिकता, इमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सम्पूर्ण सबैलाई नव वर्षले थप हौसला प्रदान गरोस्,’ उनले भने ।
जनताको आकांक्षा पूर्तिमा ढिलाइ र कमजोरीलाई भ्रमपूर्ण बनाइयो, विस्तारै निस्तेज हुनेछन् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरे । ‘आजको दिन राष्ट्रको उन्नती र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्बद्ध सबैलाई अपिल गर्दछु,’ उनले भने । शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवतले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरे । ‘हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौं । विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो,’ उनले शुभकामना सन्देशमा भने । राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रम पूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरु एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गरे । विश्व प्रविधि मैत्री भइसकेको अवस्थामा प्रविधि मैत्री अभ्यासलाई अझ वृहत् बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उनले जोड दिए । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलश्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह गरे । ‘आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्याय पूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसजन अगाडि आउनुपर्ने आवश्यकता औंल्याए । सन्देशमा नेता डा. कोइरालाले भने, ‘एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।’ अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध-२’ ले ५ दशक अगाडि बीपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले गेरवशाली इतिहासलाई सम्झेर विवेक पूर्ण निर्णय लिनुपर्ने सुझाव दिए । ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटी हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ,’ उनले भने । राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टी भित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आउनुभएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औंल्याए । भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरे ।
आजदेखि नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै
काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,’ उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।
भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड 'रिभोल्ट' नेपालमा सार्वजनिक, ३ लाखदेखि सुरु
काठमाडौं । भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्स नेपालमा सार्वजनिक भएको छ । एमभी दुगड समूहले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिभोल्ट मोटर्स सार्वजनिक गरेको छ । एमभी दुगड समूहले काठमाडौंको नक्सालमा रहेको फ्ल्यागशिप शो-रूममा पाँच भेरियन्टका ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । नेपालको दिगो यातायातलाई अझ सम्वृद्ध बनाउने प्रणका साथ नेपालको प्रतिष्ठित व्यापारिक समूह एमभी दुगड समूहले भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्टसँग साझेदारी गरी नेपालमा ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । सार्वजनिक भएका ईभी मोटरसाइकल नेपाली यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एमभी दुगड समूहले दाबी गरेको छ । रिभोल्टको ईभी मोटरसाइकलले एक पटक चार्ज गर्दा १५० किलोमिटर दूरी प्रदान गर्छ । यसमा तीनवटा स्मार्ट राइडिङ मोड (ईको, सिटी, स्पोर्ट) रहेका छन् । साथै यसमा मोबाइल एप कनेक्टिभिटी उपलब्ध छ । भेरियन्ट र मूल्य आरभी फोर हन्ड्रेड : यो रिभोल्टको फ्ल्यागशिप मोडेल हो जसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी फोर हन्ड्रेड बीआरजेड : यो प्रदर्शनयुक्त तर पहुँचयोग्य मूल्यको मोटरसाइकल हो, यसको मूल्य ४ लाख १९ हजार रुपैयाँ राखिएको छ । आरभी ब्लेज एक्स : ४ किलोवाट पिक मोटर पावर भएको नयाँ शक्तिशाली भेरियन्ट हो, जसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । आरभी वान प्लस : एक व्यावहारिक र स्टाइलिश कम्युटर बाइक हो, यसको मूल्य ३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी वान : दैनिक यात्राको लागि उपयुक्त इन्ट्री-लेभल इलेक्ट्रिक मोटरसाइकल हो, जसको मूल्य २ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सबै मोडेलहरू आईपी ६७- रेटेड ब्याट्री प्याक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स असिस्ट र रीजेनेरेटिभ ब्रेकिङजस्ता सुविधासहित आएका छन् । इन्टिग्रेटेड मोबाइल कनेक्टिभिटी सुविधाहरूमा जियो-फेन्सिङ, जीपीएस ट्र्याकिङ, ब्याट्री हेल्थ डायग्नोस्टिक्स, एन्टी-थेफ्ट अलर्ट लगायतका फिचर्स समावेश छन् । यी सवारी साधारण १६ ए घरेलु सर्किटबाट पनि सजिलै चार्ज गर्न सकिने सुविधा छ। एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले शुभारम्भ कार्यक्रममा भने, 'हामी रिभोल्ट मोटर्सलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै गर्वित छौं । वातावरणमैत्री प्रविधिको माध्यमबाट नेपाली यात्रुहरूलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धताको घोषणा हो ।’ 'ईन्धनको मूल्यवृद्धि र वातावरणप्रतिको चेतनाको वृद्धिको सन्दर्भमा रिभोल्टका इलेक्ट्रिक बाइकहरू परम्परागत सवारीसाधनको तुलनामा उच्चतम विकल्प हुन्,’ उनले थपे । १५ स्थानमा शो-रूम खोल्ने योजना एमभी दुगड समूहले देशका मुख्य सहरहरू- पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल र धनगढीलगायत १५ स्थानहरूमा शो-रूमहरू खोल्ने योजना बनाएको छ । हरेक शो-रूममा तालिमप्राप्त ईभी प्राविधिक, सर्भिस संरचना र प्रामाणिक सामानहरूको पर्याप्त उपलब्धता हुने जनाइएको छ । रिभोल्टको अग्रिम बुकिङ आजैदेखि खुला गरिएको छ, जहाँ पहिलो १०१ ग्राहकहरूका लागि विशेष लाभ उपलब्ध छन् । एमभी दुगड समूह १४१ वर्ष पुरानो गौरवशाली इतिहास बोकेको एमभी दुगड समूह नेपालकै सबैभन्दा ठूलो र सम्मानित पारिवारिक व्यापारिक समूहहरूमध्ये एक हो । यस समूहले अटोमोबाइल, जलविद्युत्, निर्माण, कृषि, बैंकिङ, जीवन बीमा, साधारण बीमा, पुनर्बीमा र कोल्ड स्टोरेजजस्ता विभिन्न क्षेत्रमा देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रिभोल्ट मोटर्स सन् २०१७ मा स्थापना भएको रिभोल्ट मोटर्स भारतको इलेक्ट्रिक सवारीसाधन क्षेत्रमा अग्रणी संस्था हो । यसले इलेक्ट्रिक मोटरसाइकल मात्रै होइन, यसको आधिकारिक डिलरहरूमार्फत सम्पूर्ण पाट्र्स र सामानहरूको आपूर्ति पनि गर्दै आएको छ ।
६५ वर्षको उमेरहद खारेज गरेपछि सर्वोच्चमा रिट
काठमाडौं । गभर्नर नियुक्तिको मुखैमा सरकारले उमेर सीमा हटाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अर्थ मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको मापदण्ड संशोधन गर्दै सरकारले गत फागुन २७ गते ६५ वर्षको उमेरहद खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतिले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक ऐन अनुसार गठन भएको गभर्नर सिफारिस समिति र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ । यसअघि मापदण्डमा कार्यकारी प्रमुखका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको, अन्य पदाधिकारी तथा सदस्यका लागि ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था थियो । सरकारको संशोधनले उमेरहद हटाइएपछि यसले गभर्नर लगायतका नियुक्तिमा व्यक्ति विशेषलाई लक्षित गरिएको आशंका र आलोचना बढेको छ ।
प्रेममा धोका खाएपछि 'फेक आईडी' बनाएर चरित्र हत्या गर्ने जिन्दु परियार पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या तथा साइबर अपराधमा संलग्न भइ फरार रहेकी जिन्दु परियारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोका अनुसार परियारले प्रेम सम्बन्धमा दरार आएपछि सम्बन्धित पुरुषको फेसबुक प्रोफाइल जस्तै देखिने ‘फेक आईडी’ बनाई उक्त पुरुष, उनकी श्रीमती र अन्य आफन्तको चरित्र हत्या गर्ने किसिमका सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य गर्दै आएकी थिइन् । साथै, पीडितसँग कुनै सरोकार नभएका अन्य व्यक्तिहरूलाई समेत अश्लील, अपाच्य भाषा प्रयोग गरी आक्षेप लगाएको उजुरी साइबर ब्युरोमा दर्ता भएको थियो । साइबर अपराध अन्तर्गत अनुसन्धान गर्दै जाँदा परियार गोरखा नगरपालिका–६ सातधरे स्थायी ठेगाना भई हाल मलेसियामा रोजगार गर्दै आएकी थिइन् । उनीविरुद्ध २०८० साल माघ ३ गतेदेखि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दा दर्ता भई फरार थिइन् । उनको नाममा इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो । अन्ततः नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहकार्यमा चैत ३० गते उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको साइबर ब्युरोले जानकारी दिएको छ । साइबर अपराधविरुद्ध कडाइका साथ अनुसन्धान र कानुनी कारबाही जारी रहने प्रहरीको भनाइ छ ।