रविलाई थुनामा पठाउने आदेशमा सर्वोच्चको चासो, कैफियत प्रतिवेदन झिकाउने आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेशमाथि सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई थुनाबाहिर राखेर पुर्पक्ष गर्न दिनुपर्ने माग गर्दै गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । लामिछानेका तर्फबाट निवेदन उनकी पत्नी निकिता लामिछानेले दर्ता गरेकी थिइन् । अदालतको आदेशका आधार, कारण र तर्क समेटिएको विस्तृत दस्तावेजलाई कैफियत प्रतिवेदन भनिन्छ, जसको अध्ययनपछि सर्वोच्चले थप निर्णय गर्नेछ । यसअघि १३ माघ २०८१ मा बुटवलस्थित रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, सो आदेशविरुद्ध सरकारी वकिल पक्ष र स्वयं लामिछाने उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले थुनामा पठाउनुपर्ने माग गरेका थिए भने लामिछानेले धरौटी आदेश खारेज गरी साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका थिए । दुवै निवेदन एकैसाथ उच्च अदालतको बुटवल इजलासमा सुनुवाइ हुँदा न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको निर्णयपछि लामिछानेले 'शरीरमा रगत रहेसम्म लडाइँ जारी रहने' प्रतिक्रिया दिएका छन् ।
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्। जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवद्र्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ। मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । ‘मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै कुनै स्थानमा शत प्रतिशतसम्म अकुपेन्सी पुगेको छ। केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ।’ देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् । त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौंडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन् । सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन् । संघीय राजधानी काठमाडौँ उपत्यका मात्रै नभइ देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भिडभाड छ । उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ । दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन्। नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए। व्यवसायी उत्साहित नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ । तपापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ् रद्ध गरेका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन/चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताए । ‘नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ । विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्’, उनले भने । उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन् । पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहोल बढेको छ । पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ । भैरहवास्थित सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ । नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उहाँको भनाइ छ । ‘भैरहवाका होटलमा विशेषगरी भारतीय पर्यटकले भरिभराउ छन् । आन्तरिक पर्यटक पनि बढेका छन् । होटलहरुले विभिन्न छुट र अफर दिएका छन् । सङ्घका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढसय भन्दा बढी होटल सञ्चालनमा छन् । पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन् । नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमानअध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन । ‘नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्’, उनले भने । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताए । उनले भने, ‘आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ।’ बोर्डको सक्रियता पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तरराष्ट्रिय प्रवद्र्धनको कार्य गरिरहएको जानकारी दिए । उनका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ । आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ । सुदूपश्चिम मार्टको तयारी भइरहेको छ । अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ । नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भलै ती दुई विमानस्थलमा अन्तरराष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ । सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ । नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताए । वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निरासा दुबै मिश्रित रहेपनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उनको विश्वास छ । उनले भने, ‘भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो,तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ । महँगो हवाई सेवा भएको वर्षको रुपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ।’ नयाँ वर्षको सन्दर्मा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमणवर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ । यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमणवर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पोखरामा फेवा महोत्सव सुरु भएको छ । नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमणवर्ष-२०८२ आयोजना हुदैछ । भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तालिका छ । नगरकोट क्षेत्रको प्राकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमणवर्ष हुन लागेको हो । समितिका अध्यक्ष नवीन गुरुङ्ले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गरे । सिबी अधिकारी/रासस
मन्त्री यादवको छड्केमा मेलम्ची खानेपानी विकास समितिका १६ कर्मचारी अनुपस्थित
काठमाडौं । खानेपानी, सरसफाइ तथा ढल निकासमन्त्री प्रदीप यादवको नेतृत्वमा गरिएको आकस्मिक छड्के अनुगमनमा मेलम्ची खानेपानी विकास समितिमा १६ कर्मचारी अनुपस्थित भेटिएका छन् । आइतबार बिहान मन्त्री यादव, सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरीसहितको टोलीले मन्त्रालय मातहतका विभाग, समितिहरूमा छड्के अनुगमन गरेको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी उपस्थित भेटिए पनि मेलम्ची खानेपानी विकास समितिमा भने १६ जना गैरहाजिर रहेको सहसचिव पुरीले जानकारी दिए । ‘मन्त्रीज्यूको आकस्मिक अनुगमनका क्रममा मेलम्ची समितिमा १६ जना कर्मचारी अनुपस्थित भेटिएका छन्,’ पुरीले भने, ‘कार्यालय समयभित्रको उपस्थिति र नियमितता सुनिश्चित गर्न अब विद्युतीय हाजिर प्रणाली लागू गरिनेछ ।’ मन्त्री यादवले वैशाख २ गतेदेखि विद्युतीय हाजिर प्रणाली अनिवार्य रूपमा सुरु गर्न निर्देशन दिएका छन्। साथै, कार्य समयमै कार्यालय बाहिर जानुपर्ने भएमा विवरण राख्ने लकबुक व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । छड्के अनुगमनका क्रममा मन्त्री यादवले उपस्थित कर्मचारीहरूसँग कार्यसम्बन्धी समस्या, सुविधा तथा व्यवस्थापनबारे जानकारी समेत लिएका थिए ।
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सकियो सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै गत शुक्रबार निवेदन दर्ता गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । लामिछानेका तर्फबाट उनकी पत्नी निकिता लामिछानेले निवेदन दर्ता गराएकी हुन् । यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सो आदेशविरुद्ध सरकारी वकिल र लामिछाने दुवै पक्ष उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले थुनामै राख्नुपर्ने माग गरे पनि लामिछानेले साधारण तारेखमा रिहा हुनुपर्ने दाबी गरेका थिए । उच्च अदालतले दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ गर्दै जिल्ला अदालतको धरौटी आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले अदालतको आदेशको सम्मान गर्ने बताएका छन् भने, 'शरीरमा रगत रहेसम्म लडाइँ जारी रहनेछ,' भन्दै आफू सत्यका पक्षमा अडिग रहेको स्पष्ट पारेका छन् ।
वर्षको अन्तिम दिन सेयर बजार घट्यो, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । २०८१ सालको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६६२ बिन्दुमा झरेको छ । आज ८८ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डीङसको भएको छ । सीइडीबीको ४५ करोड रुपैयाँ बढकिो कारोबार भएको छ । आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् । चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, राधी विधुत कम्पनीको ४३ करोड, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्ट बैंकको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
ट्रम्पको अटो शुल्कका बाबजुत पनि स्टेलान्टिस मसेराटी ब्रान्डप्रति प्रतिबद्ध
काठमाडौं । कार निर्माता स्टेलान्टिस मसेराटीजस्तो समस्याग्रस्त लक्जरी ब्रान्डप्रति अझै प्रतिबद्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी भन्सार शुल्कहरूले सम्पूर्ण अटोमोबाइल उद्योगलाई नै जटिल बनाइरहेको अवस्थामा पनि स्टेलान्टिस मसेराटीप्रति प्रतिबद्ध रहेको हो । यसै साता स्टेलान्टिसका एक प्रवक्ताले बताएअनुसार समूहले कन्सल्टेन्ट म्याकिन्सीलाई मसेराटी र अल्फा रोमियो ब्रान्डहरूका लागि हालै घोषणा गरिएका भन्सार शुल्कहरूको प्रभावबारे सल्लाह दिन नियुक्त गरेको छ, किनकि यी दुई ब्रान्डहरू भविष्यको योजना तयार गरिरहेका छन् । यो समाचारले फेरि मासेराटीको भविष्यबारे अड्कलबाजीलाई ताजा बनाएको छ, जसले २०२४ मा उत्पादन आधाभन्दा बढी घटाएर केवल ११ हजार ३०० गाडी मात्र बनायो र २६० मिलियन युरो (२९५.८३ मिलियन डलर) अपरेटिङ घाटामा गएको थियो । हाल मसेराटीको दायरामा ग्रानटुरिज्मो कूपे र यसको कन्भर्टिबल संस्करण ग्रानकाब्रियो, ग्रेकाले एसयूभी र कम मात्रामा उत्पादन हुने एमसी २० स्पोर्ट कार छन् । कम्पनीको कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना छैन र स्टेलान्टिसले गत वर्ष रोकिएको मसेराटीको व्यापार योजनाको पुनरावलोकन गरिरहेको छ ।
नयाँ वर्षको अवसरमा भोलि देशभर सार्वजनिक बिदा, बैंक र सेयर बजार बन्द
काठमाडौं । नेपाली पात्रो अनुसार भोलि वैशाख १ गतेबाट नयाँ वर्ष २०८२ सुरु हुँदैछ । नयाँ वर्षका अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएकाले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् । विक्रम संवत् अङ्ग्रेजी संवत् (ईस्वी) भन्दा ५६.७ वर्ष अगाडि सुरू भएको मानिन्छ । राजा विक्रमादित्यले चलाएको यो संवत् नेपालमा मल्लकालदेखि नै मौलिक संवत्का रूपमा प्रयोग हुँदै आएको हो । नयाँ वर्षको आगमनसँगै देश–विदेशमा रहेका नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक पर्व मनाउने परम्परा छ । यस दिन मेष संक्रान्ति र बिस्का जात्रा जस्ता सांस्कृतिक चाडपर्वहरू समेत रहेकाे छ । हरेक वर्ष झैँ यसपटक पनि नयाँ वर्षको दिन भोलि सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ ।
नेपालमा ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ को डेलिभरी सुरु
काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ भनेर चिनिने दिपल ई०७ को औपचारिक डेलिभरी नेपालमा सुरु गरेको छ । अब अटोमोटिभ उत्साही र ग्राहकहरूले ट्रान्सफर्म हुन सक्ने क्षमतायुक्त क्रान्तिकारी एसयुभीको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन् । कम्पनीका अनुसार एउटा बटन थिच्नेबित्तिकै लक्जरियस एसयुभीबाट बहुउपयोगी पिकअप ट्रक वा क्याम्पिङ भेहिकलमा रूपान्तरण हुनसक्ने विशेष क्षमता भएको ई०७ नेपाली बजारमा सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्रमै उत्साह सञ्चार भएको थियाे । दिपल ई०७ ले ‘इन्डस्ट्री फस्ट’ फिचर, अत्याधुनिक प्रविधि र बेजोड प्रदर्शनमार्फत अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको दाबी छ । हाल ‘रियर ह्विल ड्राइभ’ भेरियन्टको डेलिभरी सुरु भएको हो, जसमा १९० किलोवाटको मोटर, २५८ पीएस पावर, ३६५ एनएम टर्क र ८९.९ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ । यो सिंगल चार्जमा ५६६ किलोमिटर दूरी पार गर्न सक्षम छ । 'हामीले ई०७ को सार्वजनिक प्रदर्शनपछि बुकिङ सुरु गरेका थियौं र बजारबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौं,' एमएडब्लु वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने, 'पहिलो ब्याचको डेलिभरी दिइसकेका छौं र आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन नेपाली ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।' कम्पनीका अनुसार यस एसयुभीमा प्रयोग गरिएको 'सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म', २८.८६ इन्चको एआर हेडअप डिस्प्ले, १५.४ इन्चको सनफ्लावर टचस्क्रिन, पाँच प्रकारका क्रुज असिस्ट, १४ सुरक्षा प्रणाली, ५ क्यामेरा र १२ अल्ट्रासोनिक राडार लगायतका विशेषताहरू समावेश छन् । ई०७ मा समावेश 'गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री', 'एडाप्टिभ आयल कूलिङ सिस्टम' र 'सुपर पावर सेभिंग मोड' जस्ता प्रविधिहरूले अत्यधिक चिसो मौसममा समेत उच्च कार्यक्षमता र ऊर्जा बचत सुनिश्चित गर्छन् ।